नबिर्सौँ, अर्को पक्ष !
- असार ४, २०८३
बुक स्टोरको सबभन्दा कुनामा रहेको ‘नेपाल स्टडी’ सेक्सनमा टाउको ठाडो पारेर आलमारीको सबभन्दा माथिल्लो तलामा राखिएका पुस्तक नियाल्दै गर्दा मैले उनलाई पहिलो पटक देखेको थिएँ । ‘नजिकको स्टुल तानेर त्यसमाथि चढेर हेरेको भए घाँटी त्यत्ति तन्काउनुपर्ने थिएन’, उनको चाला देखेर मेरो मनमा लागेको थियो । साँवलो वर्णकी उनले कुर्ता सलवार लगाएकी थिइन् । बायाँ कुममा झुन्ड्याएको झोलाको अगाडिपट्टि कुनै आदिवासी समुदायको मौलिक कला झल्काउने चित्र छापिएको थियो । उनले बोकेजस्तो झोला बजारमा साधारणतया पाइँदैन । त्यस्तो झोला कारखानामा बनाइँदैन । कुनै आदिवासी समुदायका महिलाले घरमै बुनेको र कार्चोपी भरेको झोला हुनुपर्छ त्यो । सम्भवतः कुनै स्थानीय उत्पादनको मेलामा किनेको हुनसक्छ ।
घाँटी तन्काउँदै पुस्तक नियाल्दै गरेकी उनलाई निकै अल्छि भयो कि भन्ने महसुुस हुन्थ्यो । तथापि, मसिनो सुनौलो लकेट चेनले उनको तन्किएको घाँटीको असहजता छापेझैँ लाग्थ्यो । मलाई नजिक देखेपछि उनी मतिर हेरेर मुस्काइन् । अघिदेखि तन्किएको घाँटीले सम्भवतः त्यही बहानामा आराम पायो । साँवलो अनुहारमा सेता दन्तलहर देखाउँदै उनले भनिन्, “हेलो !”
खासमा म उनी उभिएको ठाउँबाट पारि जान खोजेको थिएँ । त्यसकारण, उनलाई बेवास्ता गरेर जान सक्ने अवस्था थिएन । मैले जवाफ फर्काएँ, “हाई !”
उनले आलमारीतिर हलुकासित टाँसिएर मलाई बाटो छोडिन् । म पनि अर्कोतिरको आलमारीतिरबाट चेपिएर पारि गएँ । अनि, पल्लो आलमारीका पुस्तकहरू नियाल्न थालेँ ।
मलाई लाग्यो, उनी नेपालको पूर्वी तराईको कुनै जिल्लाकी छात्रा हुनुपर्छ । अझ उनी पक्कै पनि समाजशास्त्र वा मानवशास्त्रकी विद्यार्थी हुनुपर्छ । किनभने, सामान्यतः नेपाल सेक्सनमा तिनै विषयका विद्यार्थी वा अध्येता आलमारीका पेटारो फुकाउँदै गरेका देख्छु ।
“एक्सक्यूज मि, मे आई डिस्टर्ब यू ?”, लिओ ई रोजले नेपालको राजनीतिक इतिहासबारे लेखेको पुस्तक सुमसुम्याउँदै गर्दा उनले मलाई ‘के म तिमीलाई डिस्टर्ब गर्न सक्छु’ भनेर सोधिन् । उनको स्वर उनको अनुहारबाट परावर्तित कोमलताभन्दा ठ्याक्कै नमिल्ने खालको थियो । सामान्यतः जसलाई हामी कोमल स्वर भन्छौँ, त्यस्तो थिएन उनको स्वर ।
“एस ! प्लिज”, उनको अङ्ग्रेजी सम्बोधनको मैले पनि उही भाषामा प्रतिक्रिया जनाएँ– “अँ भन्नुस् !”
“कुड यु प्लिज सजेस्ट मि सम बुक्स अन द चेन्जेज नेपाली सोसाइटी इन्काउन्टर्ड आफ्टर अर्थक्वेक ?”, भूकम्पपछि नेपाली समाजमा आएको परिवर्तनबारे केही पुस्तक भए नाम सिफारिस गर्न उनको आग्रह फेरि पनि अङ्ग्रेजीमै सुन्दा मलाई उनी नेपाली होइनन् कि भन्ने मनमा लाग्यो ।
त्यस विषयमा बुक स्टोरको आलमारीमा कुनै पनि पुस्तक थिएन । त्यो विषयमा नेपाली भाषामा एकाध पुस्तक र केही अखबारी लेख त मैले पनि पढेको छु । तर, अङ्ग्रेजी भाषामा त्यो विषयमा लेखिएको कुनै पुस्तक प्रकाशन भएको मलाई पनि थाहा छैन । (मेरो अल्पजानकारीलाई धिक्कार छ !) आलमारीमै भएको भए त उनले मलाई त्यो प्रश्न सोध्ने नै थिइनन् । त्यो विषयको अरू कुनै पुस्तकको तस्बिर झट्टै मेरो दिमागमा आएन पनि । म बिखलबन्दमा परेँ । अलि सम्झेँजस्तो निधार थोरै मुजा पारेँ ।
“अहँ मलाई त अहिले त्यो विषयमा लेखिएको कुनै पुस्तक याद भएन । काउन्टरमा गएर सोध्नु न ! उनीहरूलाई थाहा हुन्छ”, मैले भनेँ । (यहाँबाट सबै संवादलाई नेपालीमै लेखेँ है !)
उनी केहीबेर उतै लागिन् । चार आलमारी परको काउन्टरमा अङ्ग्रेजीमै केही संवाद भएको सुनियो । कुराकानी मेरो कानमा ठोक्किँदा के कुरा भयो, प्रस्ट भएन । पुस्तक पसलको एक जना सहयोगीसँगै उनी फेरि उही आलमारीमा आइन् । पसलेले केहीबेर यताउता हे¥यो । ऊ कुनै पुस्तक खोज्दै थियो । केही बेर खोजेपछि उसले पनि खोजेको पुस्तक नभेटाएकोमा अफसोच पोख्यो ।
“भोलि आउनुस्, म खोजेर राख्छु । एउटा पुस्तक छ कि जस्तो लाग्या छ”, पसलेले आफ्नो टुक्रे अङ्ग्रेजीमा भन्यो । अलि नमिठो मान्दै उनले भनिन्, “ओके ।”
दसैँको तलब आउनै बाँकी छ । त्यसकारण, आज एकाध पुस्तकमै चित्त बुझाउनुपर्ला भन्ने लाग्यो । टीआर वैद्यका दुई ठेली इतिहासका पुस्तक बोकेर काउन्टरमा गएँ । वैद्यका पुस्तक सरल भाषामा लेखिएको हुनाले मलाई पढ्न सजिलो लाग्छ । पुस्तक झोलामा राखेर ढोकामा राखेको स्यानिटाइजर दलेर बाहिर निस्केँ । पार्किङमा राखेको मोटरसाइकल निकाल्दै गर्दा पछाडिबाट उही आवाज आयो, “के म तिमीसँग परिचय गर्नसक्छु ?”
मोटरसाइकल तान्दै गरेको म टक्क रोकिएँ र उनको कुरा सुनेर मुस्कुराउँदै भनेँ, “अवश्य ! मेरो नाम … । म पत्रकार हुँ ।”
“ओहो ! ढुङ्गा खोज्दा देउतै भेट्टाएछु”, उनले अलि फुर्काउँदै भनिन् ।
म फिस्स हाँसेँ ।
“म सोनप्रिया । भारतको पश्चिम बङ्गालबाट”, मेरो अघिको अनुमान ठ्याक्कै मिल्यो । उनी विदेशी नै रहिछन् ।
“के हामी चिया पिउन सक्छौँ ?” उनको यो फरासिलो प्रस्ताव सुनेर म अवाक् भएँ । जीवनमा धेरैलाई चिया र कफीको प्रस्ताव गर्दा उक्त प्रस्तावलाई धेरैले नालीमा मिल्काइदिएको तिक्तताले भरिएको मेरो मन एक जना परदेशी चेलीको यो प्रस्ताव सुनेर चकित पर्नेबाहेक अर्को के विकल्प छ र ¤ म एकछिन अलमलमा परेँ । तर, सहृदयताको त्यो प्रस्तावलाई नाइँ किन भन्नु ¤
“हुन्छ नि”, भन्दै मैले मोटरसाइकल पुनः पार्क गरेँ र नजिकैको चिया पसलमा गई बेन्चीमा बस्यौँ । खासमा त्यो एउटा सानो किचेन टेबुलमाथि ग्यासको चुल्हो राखेर चलाइएको पसल थियो । ग्यासमा पानी नपरोस् भनेर होला, किचेन टेबुलमाथि बाक्लो कार्टुनले छानो छाइएको थियो । किचेन टेबुलको भित्री तख्तामा चिया, चियापत्ती र दूधका पोका राखिएका थिए । टेबुलमाथि बाँसको एउटा ¥याक पनि राखिएको थियो । त्यसमा चुरोट, खैनी, चकलेट, मास्क, सुकमेल, ल्वाङ, चाउचाउ र पानीका बोटल सजाएर राखिएका थिए । वरपर दुई वटा बेन्ची थिए । बेन्चीमा दुई जनामात्र बस्न मिल्थ्यो । तीन जना बस्न अलि असजिलो हुन्थ्यो । पसलमा सरकारी कार्यालयमा दर्ता चलानी गर्ने कर्मचारी र फाइल ओसार्ने पियनदेखि विद्यार्थी, बटुवा, वरपरका पसलमा काम गर्ने मजदुरहरू आएर चिया चुरोट खान्थे । मैले दुई कप चिया अर्डर गरेँ ।
“तिम्रो समय लिएँ है माफ गर ¤ खासमा म काठमाडौँ पहिलो पटक आएकी हुँ । म मेरो विश्वविद्यालयको शोधको निम्ति काठमाडौँमा आएको हुँ । सन् २०१५ को भूकम्पपछि नेपाली समाजमा के कस्तो परिवर्तन आयो भन्ने विषयमा शोध गर्न मेरो प्राध्यापकले मलाई सल्लाह दिनुभएको छ । त्यसैको स्रोत र सम्भाव्यताको खोजीको निम्ति म आएकी हुँ । तर, आज दिनभरको प्रयासबाट भने मैले विषय परिवर्तन गर्नुपर्छ कि जस्तो लागिरहेको छ”, उनले भनिन् ।
म उनको कुरा सुनिरहेँ । जिन्समाथि कुर्ता, अनि स्पोट्र्स सुज, हातमा डिजिटल घडी, घाँटीमा मसिनो लकेट चेन । कुरा सुन्दै मैले उनलाई ध्यानपूर्वक नियालेँ । उनको कुरा र लवाइबाट मैले उनी सक्रिय स्वभावकी केटी हुनुपर्ने अनुमान गरेँ । उनको अङ्ग्रेजीको धारा प्रवाह मैले अनुभव गरिसकेको थिएँ । आफ्नो त अङ्ग्रेजी नै खराब ¤ अङ्ग्रेजी बोल्न नजानेर जीवनमा धेरै दुःख पाएको छु, धेरै अवसर गुमाएको छु । कति ठाउँमा त अपमानितसमेत भएको छु । त्यसैले सोनप्रियासँग लामो समय कुराकानी गर्न नसकिने कुरा मनमा खेलिसकेको थियो । अङ्ग्रेजी साहित्यको विद्यार्थी भएर पनि बोल्न नजान्दा मेरो जस्तो कन्तबिजोग त शत्रुले पनि भोग्न नपरोस् ! तैपनि टुक्रे अङ्ग्रेजी जिन्दावाद !
(मैले अङ्ग्रेजी संवाद पनि नेपालीमा लेख्ने भन्नु पछाडिको चलाखी त बुझ्नुभयो नि !)
“तपाईंसँग भेट्दा खुसी लाग्यो । भारतको कुन विश्वविद्यालयमा पढ्नुभएको ?”
“जेएनयू, नाम सुन्नुभएको होला नि !”
“किन नसुन्नु ! नेपालमा सबभन्दा चर्चित भारतीय विश्वविद्यालय नै जेएनयू हो ।”
उनी मुसुक्क हाँसिन् । चिया आयो । दूध चिया । पसलेले चुरोटको बट्टा पनि लिएर आयो । थालमा ल्याएको चिया लियौँ । थालमा पोखिएको चिया यताउता दौडिरहेको थियो । ‘चुरोट पर्दैन’ भन्यौँ ।
चिया चुस्की लिँदै सोनप्रियाले सोधिन्, “जेएनयू किन चर्चित त ?”
“नेपालको राजनीतिमा जेएनयूको बेलाबेला चर्चा हुने गर्छ । कहिले एसडी मुनीसँग जोडिएर त कहिले बाबुराम भट्टराईसँग जोडिएर”, टुक्रे अङ्ग्रेजीमा मैले उनलाई प्रस्ट पार्न खोजेँ ।
उनी टाउको हल्लाउँदै चियाको कप रित्याउनतिर लागिन् ।
“पछिल्लो समय जेएनयूको विद्यार्थी राजनीतिबारे पनि नेपालमा बेलाबेला चर्चा हुने गरेको छ । विद्यार्थी नेताहरूमाथिको दमन, धरपकड र मोदी सरकारको हिन्दू फासीवादी गतिविधिको विरोधमा भएका सङ्घर्षबारे नेपालका साना तर वैचारिक रूपमा प्रस्ट पत्रपत्रिकाले लेख्ने गरेका छन्”, मेरा शब्दहरू नसकिँदै सोनप्रियाको अनुहारमा फरक कान्ति छाएको अनुभूति भयो ।
“साँच्चै !”, उनले निकै जिज्ञासु पाराले भनिन् । चियाको अन्तिम घुट्को निल्दै मैले टाउको हल्लाएँ ।
“तर, तिमी यो कुरा सुनेर किन यति उत्साहित ?”, मैले मेलोमेसो नपाएर सोधेँ । सोनप्रिया मुस्काइन् । उल्टै मलाई सोधिन्, “तिमी कुनै राजनीतिक विचारसँग नजिक छौ ?”
उनको प्रश्नले मलाई असहज अनुभव भयो । सामान्यतः नेपालीले यही आशयको प्रश्न सोधेको भए उसले सोध्ने थियो, “तिमी कुनै पार्टीमा लागेका छौ ?’ तर, सोनप्रियाको प्रश्न फरक खालको थियो ।
कुरा यति चाँडै यो गहिराइमा पुग्ने मैले अनुमान पनि गरेको थिइनँ ।
“म कुनै बेला एउटा वामपन्थी विद्यार्थी सङ्गठनको सदस्य थिएँ । विश्वविद्यालयको पढाइपछि म पत्रकारितामा लागेँ”, मैले भनेँ ।
“त्यसो भए तिमी ‘कामरेड’ हौ !”,उनले भनिन् ।
‘कामरेड’ शब्द ज्यादै प्यारो शब्द हो । तर, नेपालमा त्यो जसले पनि लगाउने आकार बिग्रेको टोपीजस्तै बनिसकेको छ । त्यही भएर कतिबेला कामरेडभन्दा पनि सङ्कोच लाग्छ । खासमा त्यसो नहुनुपर्ने हो ।
मैले अलि सङ्कोच मानेर भनेँ, “अँ एकप्रकारले” ।
“लौ नेपालमा आएर कमरेड पाउँदा खुसी लाग्यो । म जेएनयूको क्रान्तिकारी विद्यार्थी सङ्गठनको सचिव हुँ । तिमीले भनेका आन्दोलनको एक जना गौरवान्वित सदस्य म पनि हुँ”, सोनप्रियाले उत्साहित हुँदै भनिन् ।
मेरो मनमा पनि महत्वपूर्ण मान्छेसँगै भेटेको रहेछु भन्ने गौरवभाव दौडियो ।
सोनप्रियालाई चियाको धीत मरेको रहेनछ । अर्को एक–एक कप चिया खाने कुरा भयो । यो पटक भने मैले कालो चिया मगाएँ । उही ग्यास्ट्रिकको कारण !
“मेरो परिवार वामपन्थी पृष्ठभूमिको हो । आमा र बुबा दुवै कम्युनिस्ट पार्टीका सदस्य हुनुहुन्थ्यो । सन् १९७५ सम्म झोला बोकेरै हिँड्नुहुन्थ्यो रे ! तर, पछि कम्युनिस्ट आन्दोलनमा आएको विभाजनपछि सक्रिय गतिविधि त्याग्नुभएछ । यद्यपि, वामपन्थी साहित्यको लेखन, अध्ययन, अनुवाद र प्रकाशनमा लगातार लाग्नुभयो । स्तालिनको विषयमा पार्टीभित्र मतान्तर भएपछि पार्टीको औपचारिक सदस्यता त्याग्नुभएछ । बुबा–आमा स्तालिनको योगदानलाई न्यूनाङ्कन गर्न नहुने पक्षमा हुनुहुन्थ्यो, पार्टीले स्तालिनबाट गल्ती भएको भनेर पश्चिमा र संशोधनवादी प्रचारकै पछि लागेदेखि उहाँहरू बाहिरिनुभएछ । बुबा त अहिले स्तालिन सोसाइटीको सदस्य पनि हुुनुहुन्छ । आमा सांस्कृतिक फाँटबाट पार्टीमा सामेल हुनुभएको थियो । धेरै पछिसम्म अभिनय गर्नुहुन्थ्यो । अहिले त उमेरले पनि गा¥हो छ । तर, कविता र नाटक लेखन, सम्पादन अनि अनुवाद गर्नुहुन्छ”, सोनप्रियाले म पनि ‘कामरेड’ भएको निश्चय भएपछि विश्वासपूर्वक कुरा राखिन् ।
(वर्गीय र वैचारिक सम्बन्ध दुई कप चियाको अन्तरालमै पनि कति गहिरो हुने रहेछ है !)
मलाई कीर्तिपुर जानु थियो । सिनास पुगेर केही पुराना किताब लिनु थियो । गोविन्द भट्टले चीनको राजनीतिक व्यवस्थाबारे लेख्नुभएको एउटा पुरानो किताब चाहिएको थियो ।
“त्यसो भए तिमी पनि कामरेड !” मैले जिस्किँदै सोनप्रियालाई भनेँ ।
उनले मतिर हात बढाइन् । मैले पनि हात बढाएँ । कसिलो गरी हात जोडियो । “लौ अब स्यानिटाइजर लगाऔँ”, झोलामा झुन्ड्याइएको स्यानिटाइजरको बिर्को खोल्दै उनले भनिन् । हामीले हातमा मज्जाले स्यानिटाइजर लगायौँ ।
कुरा गर्न अझ धेरै बाँकी छ कि जस्तो लाग्दै थियो, सम्भवतः दुवैलाई । कोही पुरानो मिल्ने मान्छे भेट्दा हुन्छ नि हो, त्यस्तै ।
मैले आफू कीर्तिपुर जान लागेको बताएँ । उनले पनि आजलाई अरू कुनै काम नभएकोले विश्वविद्यालय हेर्न जाने बताइन् । मोटरसाइकलमा कालीमाटी हुँदै कीर्तिपुर लाग्यौँ । विश्वविद्यालय झन्डै सुनसान थियो । सेमेस्टर प्रणाली लागु हुँदादेखि त्रिवि मलाई कसो कसो शून्य शून्य लाग्छ । पहिला हाटबजारजस्तो लाग्ने त्रिवि हिजोआज नेपाल बन्द हुँदाको सडकजस्तै लाग्छ ।
विश्वविद्यालयका पुस्तक पसलमा केही, कमर्स विभागअघिको चिया पसलमा केही, पुस्तक पसलपछाडिको चमेनागृहमा केहीबाहेक सडकमा मान्छे नै कोही थिएन । घण्टाघर भवनअघिको बगैँचामा हालसालै राखिएका फलामका बेन्चीमा एक जोडी प्रेमीप्रेमिका वरपरको पर्वाह नगरी मस्त गफिँदै थिए ।
मोटरसाइकल सीधै सिनास भवनअघि रोकेँ । सोनप्रिया मोटरसाइकलबाट उत्रेर वरपर निकै उत्सुकताका साथ हेरिरहेकी थिइन् ।
“कस्तो लाग्यो त हाम्रो विश्वविद्यालय ?”, मैले अलि व्यङ्ग्य मिसाएर सोधेँ ।
“राम्रो लाग्यो”, उनले सहृदयता प्रदर्शन गरिन् ।
“जेएनयूजस्तो त राम्रो छैन है”, जेएनयूबारे पढेका केही कुराको आधारमा मैले भनेँ ।
“विश्वविद्यालयको मूल्याङ्कन भवन हेरेरमात्र गरिन्न । यहाँको प्राज्ञिक गतिविधि कस्तो छ, मलाई थाहा छैन । तर, तिमीजस्तो असल मान्छे बनाउने विश्वविद्यालय पक्कै राम्रो हुनुपर्छ”, बङ्गालीहरू क्या मज्जाले बोल्छन् है ! मख्खै म त !
सिनासको पुस्तक भण्डारमा ताला लगाइएको थियो । पियनलाई सोध्दा पुस्तकको जिम्मेवार व्यक्ति बिदामा बसेको बताए । त्यस्तो अवस्थामा मजस्तो मान्छेसँग एउटै विकल्प हुन्छ–फर्किने । सोनप्रियालाई सङ्कोच मान्दै त्यही कुरा बताएँ । उनले कत्ति पनि अप्ठ्यारो नमानी भनिन्, “यो त भारतको पनि समस्या हो नि !”
सिनासबाट फर्किएर केही बेर विश्वविद्यालयका विभागहरू घुम्यौँ । कोरोना महामारीलाई ध्यानमा राखेर पुस्तकालयमा परिचय पत्रधारी विद्यार्थीलाई पुस्तक साट्नमात्र खुला गरिएको थियो । हामीलाई त्यो सुविधा पनि प्राप्त भएन । पुस्तकालयअघिको जाकिर हुस्सेन बगैँचामा केही माली महिलाहरू टाउको खास्टोले छोपेर घाँस उखेल्दै थिए ।
सोनप्रियाले त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु कार्यालय भवन हेर्ने चाहना राखिन् । तर, झन्डै एक दशकअघि जलेको स्ववियु भवनको भग्नावशेषमात्र देखाएँ ।
“नेपालको विद्यार्थी आन्दोलनको अवस्था अहिले कमजोर छ । विश्वविद्यालय र क्याम्पसमा स्ववियु चुनाव नभएको पनि आधा दशक भइसकेको छ । विद्यार्थी र जनजीविकाका मुद्दा तथा राजनीतिक विषयमा विद्यार्थीहरूको सक्रियता कमजोर नै देख्छु अथवा कम्तीमा पहिलेजस्तो छैन”, घण्टाघर भवनबाट तल ओर्लिँदै गर्दा मैले सोनप्रियालाई भनेँ । उनले आफ्नो झोला कुम फेर्दै टाउको हल्लाइन् ।
“खासमा मोदी सरकारले पनि भारतीय विद्यार्थी आन्दोलनलाई कमजोर बनाउन सबै सम्भव प्रयास गरिरहेको छ । विशेषतः हिन्दूवादी अतिवादीहरूले कुनै न कुनै बहाना र निहुँमा वामपन्थी विद्यार्थीलाई दबाउने काम गरिरहेका छन् । जेएनयूमा पनि धेरै साथीहरू उनीहरूको कोपभाजनमा परे । भिजिलान्तेहरू प्रयोग गरेर छात्रावासमै पटक–पटक हमला भयो । प्रहरी प्रशासनले पनि हिन्दू अतिवादीहरूलाई नै साथ दिइरहेका छन् । प्रहरीको हुलबीचमा हिन्दू अतिवादीहरू आएर विद्यार्थीहरूमाथि मारपिट गरिरहेका छन् । यद्यपि, भारतका विद्यार्थीहरू लड्न छोडेका छैनन् । जति दमन हुन्छ, त्यत्ति नै प्रतिरोधका गतिविधि भइरहेका छन्”, सोनप्रियाले यति भन्दै गर्दा हामी पुस्तक पसलपछाडिको चमेना गृहमा पुगिसकेका थियौँ । मैले दुई वटा समोसा र एक प्लेट पकौडा मगाएँ । सोनप्रियाले अघिको चिया सम्झँदै चिया पनि मगाउन भनिन् । फेरि एक कप दूधको र अर्को एक कप कालो चियाको माग थपियो ।
सोनप्रियाको अनुहार अलि थकित देखिन्थ्यो । उनी अनामनगरको एउटा होटेलमा बसेकी रहिछन् । यो पटक एक हप्तामात्र काठमाडौँ बस्ने योजना रहेछ । भूकम्पले धेरै क्षति पु¥याएको ठाउँको बासिन्दा हुनुको नाताले उनको शोधमा मैले पनि केही सहयोग गर्ने वाचा गरेँ । त्यसको निम्ति पर्सि फेरि बुक स्टोरमै भेट्ने टुङ्गो लाग्यो । चिया खाँदै गर्दा आधा घण्टाजति मुसलधारे पानी प¥यो । दिउँसोको चर्को गर्मीबाट अलि त्राण पाएको अनुभव भयो । कीर्तिपुरमा साँझको चिसो हावा चल्न थालिसकेको थियो । बाइकमा दुवै जना कीर्तिपुरबाट फर्किरहँदा मलाई कोही प्रिय मान्छेसँग दिनभर समय व्यतीत गरेको अनुभूत भयो । सायद सोनप्रियालाई पनि !
Leave a Reply