क्रान्तिकारी चेतना र उत्पादनको मोर्चा : क्युवाली अनुभवको सन्दर्भ
- जेष्ठ २८, २०८३
(नन्दराज श्रेष्ठको पुस्तक ‘इन द नेम अफ डिभेलपमेन्टः अ रिफ्लेक्सन अन नेपाल’ बाट भावानुवाद ।)
पाउललाई युएसएड र मिशिगान स्टेट युनिभर्सिटीको संयुक्त कार्यक्रमअनुसार त्यहाँ पढाउन पठाइएको थियो । पाउललाई बसोबासको लागि रामपुरमा एउटा बङ्गला दिइएको थियो । परिवार काठमाडाँैमा हुनाले अनुसन्धान चल्दासम्म उसले मलाई आफूसँगै बङ्गलामा बस्न भन्यो । उसको प्रस्तावले म खुसी भएँ । मलाई बस्ने थलो त चाहिएको थियो नै, ऊसँग बस्दा मैले उसको उत्साहप्रद बौद्धिक सङ्गत पनि पाउने थिएँ । त्यसमाथि उसको सङ्गतले मलाई एक्लोपना मार्न सघायो । लामो र अलगअलग स्थानमा गरिने फिल्डको काममा एक्लोपनाले सताउने गर्छ । पाउलले मलेसिया र फिलिपिन्सका गाउँहरूमा फिल्ड रिसर्च गरेको थियो । उसको अनुभवले मलाई सजिलो बनायो । उसले मानवशास्त्रीय अनुसन्धानको तालिम लिएको थियो र मैले भौगोलिक अनुसन्धानको तालिम लिएको थिएँ । यसरी हाम्रो रूचि एकआपसमा गाँसिएको थियो । फिल्डमा उसले मेरो बौद्धिक दिशासूचकको काम ग¥यो । उसले गरेका गल्तीहरू मैले दोहो¥याइनँ । एक महिनापछि अमेरिकी मूलकी मेरी पत्नी आउँदा उसको घर सुविधाजनक साबित भयो ।
एक बिहान म चियाँ पिउँदै र बिहानी बतासको आनन्द लिँदै बार्दलीमा बसेको थिएँ । मनसुन आउन बाँकी थियो । १० बजेपछि त्यहाँ उखर्माउलो गर्मी हुने निश्चित थियो । पाउलले मलाई अर्को कथा भन्यो । यो सत्य घटना थियो । केही वर्षअघि रामपुर आएका अमेरिकी सल्लाहकार यस कथाका मूल पात्र थिए । हर्स–शू खेलका सौखिन थिए । उनका नेपाली कामदारलाई कसैलाई पनि त्यो खेल आउँदैनथ्यो । उनीहरूलाई त्यस खेलमा चाख पनि थिएन । तर, यो समस्याले ती अमेरिकी सल्लाकारलाई खेल्नबाट रोकेन ।
जिन्दगीको आनन्दबाट बन्चित ‘अचेत’ नेपालीहरूलाई त्यो खेल सिकाउने अठोट लिएर उनले कामदारहरूलाई हर्स–शू पीट बनाउन भने । दिउँसोपख अक्सर ती अमेरिकी सल्लाहकारले तिनीहरूलाई जम्मा गर्थे । जस्तो अमेरिकी काउबोय वा गोठालोले साँझपख आफ्ना वस्तुभाउ जम्मा गर्ने गर्छ । त्यसपछि उनले तिनीहरूलाई आफूसँगै हर्स–शू फाल्न भन्थे । उनीहरू खेल्न चाहन्छन् वा चाहँदैनन् भन्ने कुरामा उनको चासो थिएन । नेपाली कामदारहरूलाई खेल सिकाउन सकेकोमा उनी बडो सन्तुष्ट थिए । यसलाई उनी रामपुर र त्यहाँका नागरिकहरूमाथिको आफ्नो महत्वपूर्ण देन ठान्थे । बिचरा नेपाली कामदारहरू ¤ त्यो उनीहरूको लागि देन थिएन । बरु झमेला थियो । तैपनि, अमेरिकी सल्लाहकारलाई खुसी राख्न र उनको मनोरञ्जन गर्न उनीहरूले खेल खेल्नै पथ्र्यो । त्यो खेल खेल्नुपर्दा वाक्क लागे पनि उनीहरूले अमेरिकीहरूबाट पाएको जीवनकै र सभ्यताकै महान् उपहारको रूपमा त्यस खेलमा रमाएको अभिनय गर्नुपथ्र्यो । एक अमेरिकीसँगै गजबको अमेरिकी खेल खेलिरहेकोमा उनीहरूले सम्मानित भएको स्वाङ पार्नुपथ्र्यो । अझ खेल्दै गर्दा उनीहरूले मुहारमा एउटा बनावटी र लुरे मुस्कान तयार पार्नुपथ्र्यो । अमेरिकीहरूको सेवा गर्ने मौका पाएकोमा अनुगृहित र आनन्दित भएको भाव ल्याउन त्यस्तो मुस्कान ओँठमा बेलाबेला टाँसिरहनुपथ्र्यो । यो दमन र अत्याचारको उपनिवेशी संस्कृतिको, अमेरिकी र नेपालीहरूबीचको अनमेल शक्ति सम्बन्धको स्पष्ट खुलासा थियो । बेखुसी र चिन्तित अनुहारलाई अमेरिकी र पश्चिमाहरूले शङ्कालु आँखाले हेर्छन् । आफ्नो मालिकप्रति कृतघ्न प्राणीका रूपमा त्यस्तो अनुहार उनीहरूको दिमागमा नाच्न थाल्छ । त्यस्तो अनुहारलाई उनीहरू आफ्नो बडप्पन, सर्वोच्चता वा सत्ताको लागि खतरा ठान्छन् ।
त्यो जण्ड अमेरिकी साँढेभन्दा फरक ती गरिब नेपाली कामदारहरूले सल्लाहकारहरूको विरोध गर्नसक्दैनथे । किनभने, तिनको राम्रो आमदानी हुने र ‘इज्जतिलो’ नोकरी दाउमा थियो । उनीहरूले अमेरिकी सल्लाहकारको आदेशमा आफैले खनेको हर्स–शू पीटमा आफ्नो गरिमा र आत्मसम्मानलाई धुलिसात पार्नुपथ्र्यो । उनीहरू दिनभरिको ड्यूटी सकिएपछि घर जान, जहानपरिवारलाई सघाउन र छोराछोरीसँग खेल्न पाउन्नथे । उनीहरू थप एक दुई घण्टा त्यही अल्झिनुपथ्र्यो, ती कुइरे खुसी नहुँदासम्म उनीसित हर्स–शू खेल्नुपथ्र्यो । त्यो खेलबाट बच्न कि त उनीहरू कुनै अर्को अमेरिकी सल्लाहकारको काममा जानुपथ्र्यो वा उनको आँखाबाट टाढै बस्नुपथ्र्यो । उनको आँखाबाट टाढा बस्न सजिलो थिएन किनभने बंगलामा पर्खाल लगाइएको थियो । आफ्नो जीवन र स्थानमाथि नेपाली कामदारहरूको नियन्त्रण थिएन । रामपुरजस्तो गाउँले इलाकामा यो कुरा झन् सत्य थियो । त्यहाँ एकजना चिच्याएपछि पूरै गाउँले सुन्थ्यो । खासमा स्थानले शंकास्पद काम गथ्र्यो । शक्ति र नियन्त्रणको सम्बन्धमा स्थानीय निकटता एउटा श्राप हो । यसले गर्दा खासगरी शक्ति संरचनाको तल्लो तहमा बस्नेहरूको स्वतन्त्रता टाक्सिन्छ । अमेरिकीहरूले आफूले चाहेको बेला रैथानेहरूबाट छुट्टिएर आरामको मजा लिन आफ्नो कोठामा पस्न पाउँथे । नेपाली कामदारहरू भने दिन होस् वा रात, अमेरिकीहरूले डाक्दाघरि उनीहरूसामु हाजिर हुनुपथ्र्यो । अमेरिकीहरूसँगको शक्ति सम्बन्धमा उनीहरूले आफ्नो घरले पनि दसगजाको काम गर्न सक्दैनथे । एक कल फोनको भरमा चौबिसै घण्टा उनीहरू आज्ञापालन गर्न तम्तयार रहनुपथ्र्यो । स्थानीय निकटताको क्रुरता भनेको यही होला ।
कथा एउटा रोचक मोडमा टुङ्गिन्छ । सल्लाहकारको यूएसएडको करार म्याद सकियो । रामपुरको बसाइ सकियो । उनी अमेरिकास्थित आफ्नो विश्वविद्यालयमा फर्किनुपर्ने भयो । हर्स–शूका खेलाडीलाई नेपाली गाडी चालकले काठमाडाँै जाने विमान चढाउन २० माइल टाढा विमानस्थल लग्यो । त्यहाँ जानुभन्दा अगाडि उसले नेपालीमै साथी कामदारहरूलाई त्यो हर्स–शू पीट सदाको लागि पुर्न भन्यो । ती अमेरिकीले दुईवर्षे बसाइमा नेपाली भाषा सिकेका थिएनन् । चालकले हर्स–शूको नामनिसान देख्न चाहँदैनथे । उसले आफूहरू बङ्गलाबाट निस्किनेबित्तिकै काम सुरु गर्न भन्यो । त्यसपछि यो संसारबाट त्यो खाडल नामेट भयो । त्यो अमेरिकी सल्लाहकारले आफ्नो जीवनमाथि गरेको तालाबन्दीविरुद्ध ससानो विद्रोह थियो । कुनै पनि अमेरिकीले नेपाली कामदारको मन छाम्ने टन्टै लिन्नन् । त्यसैले तिनको अरूचि वा तिक्तताको पनि भेउ पाउन्नन् । तिनको सदा मुस्काउँदो मुहार र आज्ञाकारी व्यवहारको खोलभित्र आक्रोश थेग्रिएको हुन्छ ।
विमानस्थलबाट फर्केपछि चालक सीधै खाल्डो पुरियो कि पुरिएन भनी हेर्न गयो । त्यो पुरिएको थियो । अमेरिकी सल्लाहकारको आफ्नो सभ्य तुल्याउने अभियानमा आनन्दपूर्ण जीवनको चिनारी दिने हर्स–शू खेलको तालिम रामपुरको धुलोमा परिएको थियो । खेलका खेलाडीहरूले नै त्यसको अन्त्येष्टि गरेका थिए । पानीमा परेको पाइलाको डोबझैँ त्यो सदालाई विलीन भएको थियो । खाल्डोमुनि केही तीता क्षणहरू पुरिएका थिए । दुई वर्षसम्म आफूलाई सताएको गथासोबाट चालक मुक्त भयो । मनमनै मैले कल्पना गरेँ, त्यो चालकले त्यसबेला विजयको अनुभूति गरेको हुनुपर्छ, उसले घर फर्किसकेको अमेरिकीभन्दा शक्तिशाली महसुस गरेको हुनुपर्छ । र, ठूलो स्वरमा भनेको हुनुपर्छ, ‘साला गयो’ नेपाली कामदारहरूले आनन्दको सास फेरे ।
माथिका सजीव कथाहरूबाट नेपालको विकास नीति अहिले जति नै दिगो भनी दाबी वा हल्लाबाजी गरिए तापनि दिगोपन, व्यवहारिकता वा औचित्यसँग जोडिएको छैन भन्ने स्पष्ट हुन्छ । बरु यो त भव्यता र चमकधमकसँग जोडिएको छ । विश्व बैङ्क र युएसएडजस्ता पश्चिमा दाताहरू र तिनका सहायक नेताहरूको राजीखुसीसँग जोडिएको छ । ती दाताहरूले नेपाललाई जे ठीक होला भन्ने चाहन्छन् वा सोच्छन्, त्यो चाहना वा सोचसँग जोडिएको छ । सर्वसाधारणहरूलाई हियाएर भए पनि पश्चिमा मूल्यमान्यता र आनीबानीलाई भव्य देखाउनुसँग जोडिएको छ । नेपालीहरूबीच विकासको नाममा जे प्रसार गरिन्छ, त्यसमा धेरैजसो पश्चिमा आधुनिकता हुन्छ । हरेक विकास योजनाको रूपरेखा यही भावभूमिमा आधारित हुन्छ । धेरै विकास परियोजनाहरू तिनको वास्तविक महत्ता र जनताले पाउने लाभमा भन्दा देखावटीपन र रोबरवाफमा आधारित हुन्छन् ।
पूर्वी नेपालको अरूण तेस्रो परियोजनालाई नै लिउँ । यसलाई ‘विकास’ र ‘प्रगति’ को संवाहक र ‘राष्ट्रिय क्षमता अभिवृद्धि’ को माध्यम भनी हल्ला गरिएको छ । निरन्तरको जनविरोधले गर्दा सौभाग्यवश यो परियोजना रद्द भएको छ । विश्व बैङ्कले यसको लागि झन्डै एक अर्ब अमेरिकी डलर छुट्याइसकेको छ । त्यो नेपालको गार्हस्थ उत्पादनको २५ प्रतिशत हुन आउँछ । परियोजना सकिँदासम्म मुद्रास्फितिले गर्दा त्यसको लागत बढ्नेछ । अरूण परियोजना अघि बढाइएको हुन्थ्यो भने नेपालले ठूलो बाँध पाउने थियो । तर, यसले भोका जनताको आवश्यकता पूरा गर्न सक्दैनथ्यो । बरु, यसले देशको आर्थिक आधार भताभुङ्ग पार्ने थियो । यसले हजारौँ परिवारहरूलाई उठीबास लगाउने थियो र स्थानीय पर्यावरण र दुर्लभ खेतीयोग्य जमिन ध्वस्त पार्ने थियो । यी सबथोक फोस्रो विकासको नाममा हुने थिए । नेपाललाई आफ्नो गाउँघरलाई उज्यालो बनाउन र देशलाई बिजुलीमय बनाउन यस्तो महँगो र खर्चालु बाँध चाहिन्न । सिँचाइकै लागि पनि यस्तो बाँध चाहिन्न । यी लक्ष्यहरू थोरै खर्चमा अझ कारगर तवरले हासिल गर्न सकिन्छ । त्यसको लागि गाउँठाउँ र मूल्यवान स्रोतसाधन डुबाउनु पर्दैन । अरूण परियोजनाले उत्पादन गर्ने बिजुली नेपालले लिनसक्ने भन्दा दोब्बर हुन्थ्यो ।
अरूण तेस्रो तुहिएपछि पश्चिम नेपालमा महाकाली बाँध परियोजनाको प्रस्ताव आयो । यसको खर्च विदेशी ऋणबाट पूर्ति गर्ने र भारतसँगको सहकार्यमा यसको निर्माण गर्ने भनियो । यसको लागत मात्र एक अर्ब अमेरिकी डलर हुन आउँछ । यसले निम्त्याउने पर्यावरणीय र मानवीय क्षति वा खर्च पनि अचाक्ली हुने देखिन्छ । फेरि पनि नेपाललाई यस्तो खर्चिलो परियोजनाको आवश्यकता छैन । सरकारले यो परियोजनालाई अघि बढाउँदै छ । प्रस्तावलाई संसद्मा अघि सार्दै जलस्रोत मन्त्री पशुपति शमशेर राणाले दाबी गरे, “महाकाली सन्धिले नेपालको द्रुत विकासको ढोका खोल्नेछ ।” संसद्ले सन्धि पारित गरिसकेको छ । पश्चिमा आधुनिकता र चमकधमकको लेप लागेको परियोजनामा लट्ठिएर नेपाली शासक वर्गले आफ्नो होसचेत गुमाएको छ । विकास भनेको जनताको लागि हो, प्रविधिदेव स्थापना गर्ने मन्दिर होइन । शासकहरूले मितव्ययिता र दिगोपनको पाठ कहिल्यै नसिक्ने देखिन्छ ।
नेपालजस्तो देशमा विकास एउटा साङ्गोपाङ्गो प्रक्रिया हुन सकेको छैन । मौलिकरूपमा स्थानीय ज्ञान र स्रोतसाधनको गाँसिदो अन्तरक्रियाको माध्यमबाट फल्नफुल्न सकेको छैन । विकास पश्चिमाहरूको आर्थिक सोचको अब्बलता र प्रविधिपुजनको तालमा परिभाषित र निर्धारित हुन्छ । पश्चिमा आर्थिक सोचको कथित अब्बलतामाथिको खुलमखुला जोडले नै स्थानीय जीवनशैली र अर्थतन्त्रलाई होच्याएको हो । यसैबाट नेपालमा परनिर्भर विकासको संस्कार जन्मेको र मौलाएको हो ।
केही वर्षयता विकास वृत्तमा युरोपेली शैलीको विकासभन्दा अघि बढेर गुमनाम भएको रैथाने ज्ञानको जगलाई ब्युँताउन स्थानीयतामा जोड दिनुपर्ने आवाज घन्केको छ । वास्तवमा धेरै गैरसरकारी संस्थाहरू यो उलटफेर वा विकासको नौलो झुकावको अग्रपङ्क्तिमा देखिएका छन् । पूर्वी युरोप र सोभियत सङ्घबाट साम्यवादको पतन र खुला बजार अर्थनीतिको विजयसँगै विश्व विकास संस्थानहरूले जोडतोडका साथ दिगो विकासको अवधारणा प्रचार गर्दै छन् । उनीहरूले उद्यमशीलता वा ‘आत्मसघाउको संस्कृति’ र सशक्तीकरणको कुरा गर्दै छन् । तर यी नयाँ शब्दावली र विकास शैलीको खोलभित्र ठूलो झूट र गोप्य एजेन्डा लुकेको छ । यसभित्र विकराल अन्तरविरोध र छलछाम छ । यो नयाँ नारा विश्वका गरिब र अल्पविकसित देशहरूमाथि विश्व बैङ्क र यूएसएडले थोपरेको ठूलो झूट हो । अर्को शब्दमा, यो कुरा उपनिवेशवाद उपनिवेश देशहरूको लागि हितकारी थियो भन्ने नैतिक (वा अनैतिक) दाबीजस्तै हो ।
गरिबहरू वा ‘गरिब’ देशहरूलाई किन चाहियो दिगो विकास ? त्यसको अर्थ के हो ? जेरेमी सिब्रुकको शब्दमा ‘दिगोपन’ को सग्लो अवधारणा औद्योगिक समाजको वैचारिक वर्चस्व कायम राख्न बुनिएको हो र यसले औद्योगिक समाजलाई सम्भावित विश्वव्यापी पर्यावरणीय क्षतिबाट जोगाउँछ । उनी तर्क गर्छन् – यसको अर्थ धनी र शक्तिसम्पन्नहरूको विशेष अधिकार दिगो बनाउनु हो । ‘दिगोपन’ को अर्थ पर्यावरणीय स्रोतसाधनमाथि निर्भर जनताको बाँच्न पाउने अधिकार जोगाउनु होइन । उदाहरणको लागि संरा अमेरिकामा विश्वको कुल जनसङ्ख्याको ५ प्रतिशत मानिस बसोबास गर्छन्, तर तिनले विश्वको ३० प्रतिशत स्रोतसाधनको उपभोग गर्छन् । स्रोतसाधनको अचाक्ली उपभोग प्रतिव्यक्ति फोहर उत्पादनका आधारमा नाप्न सकिन्छ । संरा अमेरिकाको एक औसत व्यक्तिले नेपालजस्ता देशहरूको औसत व्यक्तिले भन्दा ५ गुणा बढी फोहर फाल्छ ।
खासमा विकसित देशहरूको चासो विश्वभरिको स्रोतसाधनमाथिको निर्बाध पहुँच र नियन्त्रणमा छ । सिद्धान्तको कुरा गर्ने हो भने पश्चिमा अर्थशास्त्रको आधारभूत नियम यस्तो छ – आवश्यकताहरू असीमित र स्रोतसाधन सीमित छन् । यस मानेमा अर्थशास्त्रको मूल उद्देश्य आवश्यकता र स्रोतसाधनबीचको उल्टो रितलाई मिलाउनु वा भरथेग गर्नु हो । तर त्यो पनि सिद्धान्तमै हुन्छ । इतिहास पल्टाउँदा पुँजीवादले स्रोतसाधनहरूलाई सीमित छन् भनी व्यवहार गरेको देखिन्न । साथमा पुँजीवादी संस्कृतिले असीमित आवश्यकतालाई मलजल गरेको गरै छ । हालैका वर्षहरूमा पुँजीवादी सोचाइमा केही फेरबदल देखिएको छ । कम्तीमा पुँजीवादको पाले विश्व बैङ्कले यसरी हेर्दै छ । विश्व नीतिको दृष्टिकोणमा डरको भावना बढ्दै गएको छ । पुँजीवादका अगुवा देशलाई आफ्नो भड्किलो जीवनशैली कायम राख्न संसारको सस्तो स्रोतसाधन उही मात्रामा उपलब्ध नहुने चिन्ताले सताएको छ । संसारभरिका सबै गरिब देशका झन्डै ७० प्रतिशत जनताले औद्योगिक देशका धनी नागरिकहरूले जस्तै स्रोतसाधनको उपभोग बढाएको खण्डमा प्राकृतिक स्रोतसाधनको आयु छोटिनेछ । उष्ण देशका वनपैदावारको दोहन ह्वात्तै बढ्नेछ । यो कहालीलाग्दो कल्पना साकार भयो भने पुँजीवादको विश्वयात्रा एकाएक ठप्प हुनेछ । यस्तो दिन नआउला भन्नेहरू थोरै छन् ।
मलाई स्रोतसाधनको दोहन खतराको तहसम्म पुगिसकेको लाग्दैन । कम्तीमा विश्वभरिको स्थिति नियाल्दा त्यस्तो देखिन्न । तर, स्थानीय तहमा, विभिन्न देशमा यस्तो खतरा देखिइसकेको छ । विश्वको स्रोतसाधनबारे विकसित देशहरूले योजनाहरू बनाइसकेका छन् भनी दाबी गर्नु अस्वाभाविक छैन । विलाशको भोक बढ्दै जाँदा, विलाशको मोल पनि बढ्नेछ । अझ महत्वको कुरा, ती देशका कथित मध्यम वर्ग र कामदार वर्गका जनताले पनि दुःख झेल्दै जानेछन् । यो दुःख कति पीडादायी होला, अहिल्यै भन्न सकिन्न । तर उनीहरूले पुराना उपनिवेशहरूबाट आउने सस्ता स्रोतसाधनको फलबाट मजा लिन सक्नेछैनन् । अहिलेसम्म उनीहरूले जन्मजात पाएको वा आफ्नो प्राकृतिक अधिकार मानेको भौतिक विलाशबाट वञ्चित भएपछि मध्यम वर्ग र कामदार वर्गको ठूलो जनसमूह विकराल असन्तुष्टिको स्रोत बन्न सक्छ । आक्रोशित भिड ज्वालामुखीजस्तै पड्किन सक्छ । त्यस्तो स्थितिमा विकसित देशहरूले सामाजिक भाँडभैलो भोग्नुपर्नेछ । तिनकै उपनिवेशहरूमा पनि ठूलो अशान्ति मच्चिन सक्छ । यसले तिनको कथित प्रजातान्त्रिक परम्परा खतरामा पर्ने निश्चित छ ।
सारमा, पुँजीवादले यत्तिका वर्षसम्म गरेको विकराल पर्यावरणीय दोहन र विध्वंशविरुद्ध पुँजीवादसँग प्रकृतिले अन्ततः साटो फेर्नेछ । पुँजीवादको शक्तिशाली जरा सभ्यता स्रोतसाधनको हन्तकाली उपभोगमा हुन्छ । यो जब्बर पुँजीवाद बुढो डायनासोरमा फेरिनेछ, लोपोन्मुख हुनेछ, जसरी विगतमा विश्वका अन्य सभ्यताहरू लोप भएका थिए । यसकारण, गरिबहरूका लागि दिगो विकासको नारा अन्तर्राष्ट्रिय विकास संस्थापनको लागि जल्दोबल्दो विषय बनेको छ । यसको नेतृत्व विश्व बैङ्क र यूएसएडले गर्दै छन् । गरिबहरूले प्राकृतिक स्रोतसाधनको भौतिक प्रयोग घटाऊन् वा रोकून् भन्नु नै आजको मूल नियम बन्न पुगेको छ । पुँजीवादको लागि विश्वको स्रोतसाधन पातलिनु अलच्छिन हो किनभने त्यसबिना पुँजीवाद फस्टाउन सक्दैन । त्यसैले विश्वका तमाम अविकसित मुलुकको आर्थिक मलमको रूपमा पछिल्लोपल्ट यूएसएड र विश्व बैङ्कले दिगो विकासको मन्त्र बाँडिरहेका छन् ।
गान्धीलगायत ‘सादा जीवन’ का अन्य धेरै पक्षधरहरूले भनेझैँ उपयोग गर्ने हो भने दिगो विकास सराहनीय अवधारणा र उद्देश्य हो । यो धेरै मुलुकको उचित विकासको लागि प्रभावकारी दृष्टिकोण हुनसक्छ । यो नेपालजस्तो सीमित स्रोतसाधन भएको देशको लागि उपयुक्त मोडल हुनसक्छ किनभने यो व्यवहारिक र ग्राह्य छ । तर, अहिले अन्तर्राष्ट्रिय विकास संस्थापनले विकासलाई गान्धीवादी ढर्रामा प्रस्तुत गर्दै छ । उनीहरूले गान्धीलाई उँधो मुन्टो झुन्ड्याएका छन् । दिगो विकासको नाममा जसको प्रचार हुँदै छ, त्यसमा केही पनि दिगो छैन । यो विकसित पुँजीवादी देशहरूको उपयोगको लागि प्राकृतिक स्रोतसाधन जोगाउने छलछाम हो, कपटी हो । जब कि उनीहरूले संसारभरको स्रोतसाधन घिचेको घिचै छन् । तैपनि, लाजै नमानी उनीहरू दिगोपनको उपदेश बाँडिरहेका छन् । मुखले जेसुकै भने पनि दिगो विकास नेपालजस्ता गरिब देशहरूलाई सघाउन आएको हुँदै होइन ।
Leave a Reply