भर्खरै :

चीनको प्रगतिबाट सिक्ने केही कुरा

करभिका अक्टोबर १ अर्थात् छिमेकी देश जनवादी गणतन्त्र चीनको राष्ट्रिय दिवस । सन् १९४९ को अक्टोबर १ का दिन जनगणतन्त्र चीन स्थापनाको घोषणा भएको थियो । सन् १९२१ मा स्थापना भएको चिनियाँ कम्युनिस्ट पार्टीले तीस वर्ष लामो सघन सङ्घर्षपछि चिनियाँ भूमिबाट सामन्तवाद र उपनिवेशवादको जरा उखेलेर इतिहासको नयाँ अध्याय थालनी गरेको थियो । सन् १८४० को दसकमा भएको अफिम युद्धपछि विदेशी उपनिवेशवादी शक्ति हावी भएको चीनमा तेनआनमेन चोकमा सन् १९४९ को अक्टोबर १ का दिन माओ त्से तुङले नयाँ जनवादी व्यवस्था स्थापनाको घोषणा गरेको बिहानसम्म लगातार एक शताब्दीको अवधि विदेशी शोषण र उत्पीडन झेल्न बाध्य रह्यो । एकातिर सामन्त र युद्धसरदारहरूले चिनियाँ जनतामाथि थोपरेको शोषणको जाँतो अनि अर्कोतिर विदेशी शक्तिको उपनिवेशवादको मुसल । मानव सभ्यतामा एकसेएक अनुपम आविष्कार दिने चिनियाँ जनता दोहोरो शोषण र दमनको मारमा परेका थिए । तर, समय जतिसुकै कठोर भए पनि चिनियाँ जनता समयका हरेक भङ्गाला पार गर्दै आज संसारकै समृद्ध र विकसित देशको दौडमा अग्रस्थान हासिल गर्न सफल भएको छ । चीनले छोटो अवधिमा गरेको प्रगतिप्रति चीनलाई द्वैषी र दोषी आँखाले हेर्नेहरू समेत नतमस्तक छन् ।
आजको चीन चिनियाँ जनताको बलिदान र मिहिनेतको फल हो । चीन रातारात र कुनै जादु तुनाले आजको उचाइ हासिल गर्न सफल भएको होइन । समयले तेर्साएका हरेक परीक्षण उत्तीर्ण गर्दै, हरेक थरी असफलताको स्वाद चाख्दै चीन आज संसारको दोस्रो ठूलो अर्थतन्त्र र सबभन्दा तेज गतिमा विकास र समृद्धिको उकालो उक्लिरहेको देश बनेको छ । चीनको रातो झण्डामा साम्राज्यवाद, उपनिवेशवाद र सामन्तवादविरुद्ध बगेका लाखौँ लाख चिनियाँ योद्धा र वीरहरूको रगत सञ्चित छ । यो यात्रामा धेरै बेइमान र गद्दारहरू पनि देखिए । तर, आज देशको स्वाभिमान फर्काउने र सुखी जीवन बाँच्ने जनताको चाहनाले समयले जन्माएका फोहरलाई पाखा लगाउँदै उही गतिमा अघि बढ्दै गयो ।
चीनलाई मुक्त बनाउन र चिनियाँ जनतालाई सुखी बनाउने सपना बोकेर चीनमा धेरैथरी प्रयोग पनि भए । संसारका विभिन्न देशले गरेको राजनीतिक र आर्थिक अभ्यास चीनमा पनि भयो । डा. सन यातसेनको नेतृत्वमा सन् १९११ मा पश्चिमा ढाँचाको प्रजातन्त्र स्थापनाको प्रयास भयो । त्यत्तिबेला पश्चिमा प्रजातन्त्र नै संसारको सबभन्दा अब्बल शैलीको राजनीतिक व्यवस्था मानिन्थ्यो । तर, चीनको आफ्नै विशिष्ट परिस्थिति त्यो व्यवस्था सफल भएन । लगत्तै सन् १९१७ मा रुसमा भएको अक्टोबर क्रान्तिबाट जन्माएको समाजवादी व्यवस्थाको पनि अन्धानुकरणको प्रयास भयो । रुसमै जस्तो सर्वहारा वर्गको नेतृत्वमा क्रान्ति गर्ने प्रयास भए । तर, ती हरेक प्रयास असफल भए । हरेक असफलताको अर्थ हजारौँ मानिसको बलिदान र लाखौँ मानिसको समर्पण पानीमा मिल्थ्यो । यद्यपि, यस्ता हजार असफलताले छोडेका डोबहरूबाट सिक्दै चिनियाँ कम्युनिस्ट पार्टीले चीनको विशिष्टता बुझेर त्यहीअनुसारको मुक्तिको बाटो को¥यो । चिनियाँ कम्युनिस्ट पार्टीकै नेता र कार्यकर्ताबीच चीनको मुक्ति र पुनःजागरणको बाटोको विषयमा अनेकन मतान्तर थिए । तथापि, माओ त्सेतुङले चीनको इतिहास, तत्कालीन विश्व परिस्थिति, राजनीतिक शक्ति, चिनियाँ जनताको भावनाको सही विश्लेषण गरी बनाउनुभएको कार्ययोजना नै अन्ततः चीनको मुक्तिको बाटो प्रमाणित भयो । चीनको इतिहासबाट सिक्नुपर्ने महत्वपूर्ण पाठ भनेको कुनै पनि राजनीतिक सिद्धान्तको अन्धानुकरण नगर्नु, सुत्रको रूपमा नलिनु बरु क्रान्तिकारी विचारधारालाई आफ्नो परिस्थितिअनुकूल प्रयोग गर्नु हो ।
नेपालमा हामी चीनले हासिल गरेको जस्तो विकास र समृद्धि चाहन्छौं भने चीनको अन्धानुकरण गर्नु ठीक होइन । बरु चीनले आफ्नो परिस्थितिअनुकूल लागु गरेको कार्यक्रम र त्यस कार्यक्रमले दिएको अनुभवबाट सिकेर (अन्धनक्कल गरेर होइन) नेपालको आफ्नै विशिष्ट परिस्थितिमा परिवर्तनको प्रयास गर्नुपर्छ । त्यसको निम्ति नेपाललाई चिन्नु, नेपालको इतिहासलाई चिन्नु, नेपालको समग्र सामाजिक अवस्थाबारे गहन बुझाइ जरुरी हुन्छ । चीनको क्रान्तिको इतिहास हेर्दा त्यत्तिबेलासम्म सफल भएको देखिन्न, जतिबेलासम्म चीनका नेताहरूले आफ्नो वस्तुगत परिस्थितिअनुकूल परिवर्तनको खाका कोर्न सफल भएका थिएनन् ।
चीनको क्रान्तिबाट सिक्नुपर्ने अर्को महत्वपूर्ण कुरा आफ्नो गल्ती र कमजोरी स्वीकार्नु हो । निःसन्देह क्रान्ति र परिवर्तनको यात्रा आरामदायी यात्रा होइन । यो यात्रामा अनेकन कमी कमजोरी हुनु अस्वाभाविक होइन । क्रान्तिकारी बाटोमा अघि बढ्दा गल्ती गर्नु जति घातक कुरा हो, गल्तीलाई गल्ती वा कमजोरीको रूपमा स्वीकार्न नसक्नु अझ भयानक कमजोरी हो । जब आफ्नो कुनै कमजोरी वा गल्तीको कारण परिवर्तनको यात्रा प्रभावित भइरहेको छ भन्ने थाहा हुँदाहुँदै पनि सङ्कीर्ण चिन्तनको कारण त्यो कमजोरीलाई स्वीकार्न सक्दैन भने त्यस्तो प्रवृत्तिले पनि क्रान्तिको बाटोलाई छेकेको हुन्छ । क्रान्तिको बाटो छेक्नु नै क्रान्तिविरोधी हो । क्रान्तिकारी कुरा गरेर पनि कतिले यस्ता कमजोरीले क्रान्ति र परिवर्तनको बाटो रोकिरहेको हुन्छ ।
चीनमा कम्युनिस्ट पार्टीको नेतृत्वमा क्रान्ति सम्भव हुनु र क्रान्तिपछि पनि लामो समय त्यहाँको राजनीतिक नेतृत्वमा कम्युनिस्ट पार्टी टिक्नु र बलियो बन्दै जानुको मूल कारण संसारकै सबभन्दा ठुलो त्यो सत्तारुढ दल निर्मम ढङ्गले आफ्नो समीक्षा गर्न हिम्मत गर्छ । आफ्नो कमजोरी स्वीकारेर अघि बढ्ने फराकिलो मन त्यो पार्टीमा छ । आफ्नो कमजोरी थाहा पाएर पनि स्वीकार्न नसक्नु सामन्तवादी चिन्तनको निरन्तरता हो । सामन्तले मात्र कुनै पनि कमजोरी वा गल्तीलाई आफ्नो मान्दैन, बरु अरूको टाउकोमा दोष थोपरेर आफू साखुल्ये बन्ने प्रयास गर्छ । चिनियाँ नेताहरूले कमजोरी स्वीकार्दै, समीक्षा गर्दैै अघिको बाटोमा निरन्तर हिँड्दै गयो । त्यसकारण, चीनका आजको सफलता प्राप्त गर्न सफल भयो ।
चीन आफ्नो हितको निम्ति अरूबाट सिक्न कहिल्यै पनि पछि परेन । सोभियत सङ्घबाट उसले धेरै कुरा सिक्यो, पछि वैचारिकरूपमा पनि विपरीत ध्रुवको संरा अमेरिका र युरोपेली देशहरूबाट पनि आफूसँग नभएको कुरा लगातार सिक्यो । सिक्ने कुरामा उसले वैचारिक पूर्वाग्रह पालेन । तर, त्यसरी सिक्दै गर्दा उसले लआफ्नो वैचारिक र सैद्धान्तिक धरातल भने कहिल्यै पनि भुलेन । माक्र्सवाद, लेनिनवाद र माओ विचारधाराको वैचारिक आधारलाई बलियो बनाउँदै चीनले नयाँ परिस्थितिका नयाँ अनुभवलाई क्रमशः संस्थागत गर्दै लग्यो । देङ स्याओ पिङ विचारधारा, तीन प्रतिनिधित्वको सिद्धान्त, विकासको नयाँ सिद्धान्त हुँदै आजको सी चिनफिङ विचारधारासम्मको यात्राबाट हामीले सिक्नुपर्ने कुरा यही हो ।
गएको जुलाई महिनामा चिनियाँ कम्युनिस्ट पार्टीले आफ्नो शतवार्षिक स्थापना दिवस मनायो । एक सय वर्ष जेठो पार्टी चीनका युवाहरूबीच अझ लोकप्रिय बन्दै गएको र उनीहरूलाई चीनको क्रान्तिकारी इतिहासबारे लगातार प्रशिक्षण दिने काम चालु रहेको बताइयो । त्यसको अर्थ चिकपा समयको पदचापमा हिँड्न सिपालु पार्टी हो भन्ने देखापर्छ । एक सय वर्षको अन्तरालमा संसारको राजनीतिक क्यानभासमा धेरै पार्टी आए, गए । तर, चीनमा कम्युनिस्ट पार्टी चीनको आकाशमा रातो धु्रवतारा बनेर लगातार चमचमाइरहेको छ ।
चुनौतीका रङ र आकार फरक होलान् । तर, आज पनि चीनसामु चुनौतीका पहाडहरू अजङ्ग छन् । चीनले जति जति उचाइ हासिल गर्दै गएको छ, उसको खुट्टा तान्नेहरू पनि उही सङ्ख्यामा बढिरहेको छ । चीनको उदय र प्रगति देखेर आँत्तिएका शक्तिहरू आज चीनलाई हरेक उपाय प्रयोग गरे ढाल्ने कर्ममा लागेका छन् । तर, काँडाघारी छिचोल्न पोख्त चीनले यस्ता चुनौतीको सामना गर्दै चीनका जनतालाई नयाँ युगतिर डो¥याइरहेको छ । कुनैबेला भोकले शासन गर्ने देश आज गरिबीबाट मुक्त भएको छ । कुनै बेला पराधीनको विरह पोख्ने देश आज संसारलाई खुवाउने र न्यानो देश बनेको छ । कुनै बेला आफै एसियाको बिरामी देश कहलिएको चीन आज संसारलाई उपचार दिने देश बनेको छ । तर, चीनले आफ्नो प्रगतिलाई अरूमाथि दमन र उपनिवेश लाद्न दुरुपयोग गरेको छैन । चीनले आफूले उपनिवेशकालमा भोगेको कठिन समय बिर्सेको छैन । बरु आज पनि चीन साम्राज्यवादी शक्तिविरुद्ध लड्न उही ऊर्जाका साथ लागिरहेको छ ।
नेपालको भौतिक पूर्वाधार विकासमा सबभन्दा बढी सहयोग गर्ने चीन हो । चीनले आफ्नो प्रगति आफ्नै कोठाभित्र मात्र थुनेर राखेको छैन । बरु सबैलाई बाँडेर सबैलाई सुखी देख्न चाहेको छ । चीनले नेपालको कहिल्यै पनि कुभलो चिताएको छैन । बरु असल छिमेकीको व्यवहार गर्दै आएको छ । नेपाललाई दुःख र आपत पर्दा सहयोगको भारी बोकेर चीन सधैँ आउने गरेको छ । चीनको यस्तै सदाशयी व्यवहारकै कारण नेपाली जनता चीनप्रति सद्भाव राख्छन् । चीनको आकाशमा देखिएको प्रगति र विकासको तारा हेर्दै भृकुटी र अरनिको सम्झिरहेका हुन्छन् ।
सबै चिनियाँ जनतालाई चीनको राष्ट्रिय दिवसको अवसरमा हार्दिक शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *