भर्खरै :

औपनिवेशिक बुद्धिको विकास यात्रा

(नेपाली शासकहरूको बुद्धि र जीवनशैली भारतका एक बेलायती शासक लर्ड म्याकालेले चाहेझैँ पश्चिमाहरूको औपनिवेशिक बनिसकेको छ । त्यसलाई यहाँ औपनिवेशिक बुद्धि (colonized mind) भनिएको छ । पहिले नेपाली शासकहरूको बुद्धिमा बेलायती उपनिवेशवादको धङधङी थियो, अहिले यसमा ह्यारी ट्रयुमेनकृत अमेरिकी विकासको नशा थपिएको छ । विकासको राजनीति र नेपालमा यसको मनोगत र वस्तुगत प्रभावबारे नन्दराज श्रेष्ठको पुस्तक ‘इन द नेम अफ डिभेलपमेन्टः अ रिफ्लेक्सन अन नेपाल’ को तेस्रो अध्यायको यहाँ सङ्क्षिप्त अध्ययन गरिन्छ ।)
औपनिवेशिक दमनपूर्ण हुन्छ र सामान्य देखिन खोज्छ । त्यो दमनले कब्जा गरेको देशका जनताको सांस्कृतिक जीवन बिथोलिहाल्छ ।… औपनिवेशिक व्यक्तिलाई आफ्नो संस्कृति तुच्छ छ भनी कबुल गराउन सबथोक गरिन्छ । यस्तो व्यवहार स्वविवेकजस्तो तुल्याइएको छ । आफ्नो ‘राष्ट्र’ अवास्तविक हो भन्ने महसुस गराइन्छ र अन्तमा यो चरमोत्कर्षमा पुग्छ । व्यक्तिले आफ्नै जैविक बनोट अपरिपक्व वा अन्योलपूर्ण छ भन्ठान्छ ।… बौद्धिक उन्मादी पाराले आफूलाई कब्जाकारी शक्तिको संस्कृतिमा भिजाउन लालायित हुन्छ । उसले आफ्नो राष्ट्रिय संस्कृतिको बद्ख्वाइँ गर्ने कुनै मौका छोड्दैन ।
–फ्रान्ज फानन
पश्चिमाहरूले भौतिकरूपमा एसिया र अफ्रिकाका आफ्ना उपनिवेशहरू छोडेका होलान्, तर उनीहरूले तिनलाई बजार बनाइराखेका छन् । त्यतिमात्र होइन, सोचको नक्सामा तिनलाई उनीहरूले अझै पनि नैतिक र बौद्धिक शासन गर्ने अखडा बनाएका छन् ।
–एडवर्ड सइद
युरोपेलीहरूले भौगोलिक ‘खोज’ को नाममा जसलाई आफ्नो उपनिवेश बनाए तिनलाई आज अविकसित वा अल्पविकसित देश भनिन्छ । ती देशहरूमा उनीहरूले अनेक शैलीमा उपनिवेश चलाउने गरेका छन् । अहिले सोच र विकास योजनाको नाउँमा औपनिवेशिक जालो चालू छ ।
उपनिवेश नीतिको मूल नारा थियो – युरोप र उपनिवेशको लागि उपनिवेशका स्रोतसाधनको उपयोग । तर, भित्री उद्देश्य युरोपका असङ्ख्य उद्योगहरूलाई कच्चा पदार्थ जम्मा गर्नु थियो । यसो गर्दा उपनिवेशका जनतालाई सस्तो ज्यामी बनाएर शोषण गरियो । उनीहरूलाई शारीरिक र मानसिक दुवै तवरले दास तुल्याइयो । उनीहरूको शरीर र मन दुवै कब्जा गरियो । यति नगरेको भए स्रोतसाधनको कमी भएको युरोपले आफूभन्दा धनी उपनिवेशहरू लुट्न वा प्रकृतिको मनपरी दोहन गर्न सक्थेन ।
युरोपले उपनिवेशविरुद्ध बहुमुखी युद्ध ग¥यो । उसले उपनिवेशका रैथानेहरूको समाज र संस्कृति छिन्नभिन्न पा¥यो । विद्रोहीहरूलाई मा¥यो । त्यहाँको प्राकृतिक अर्थतन्त्र भताभुङ्ग पा¥यो । यसो गर्दै उसले युरोपेलीहरू सर्वश्रेष्ठ जाति भन्न लगायो । आफ्नो दबदबालाई भौतिक, आर्थिक, राजनीतिक र सांस्कृतिकरूपमा स्थापित ग¥यो । यी सबै क्षेत्रमा एकखाले ‘सगोल युद्ध’ मच्चायो ।
युरोपेलीहरू रैथाने ‘अर्थसभ्य’ वा ‘बर्बर’ जातिलाई ‘सभ्य तुल्याउने’ ‘पवित्र दूत’ हुन् भनियो । आर्थिक लुटलाई ‘सभ्य तुल्याउने मिसन’ को नाम दिइयो । चिटिक्कका शब्दहरू प्रयोग गरेर युरोपेलीहरू आर्थिक र सामाजिकरूपमा अब्बल हुन् र रैथानेहरू तुच्छ हुन् भन्ने मनोवैज्ञानिक युद्ध चलाइयो । यो प्रचार उपनिवेशको तल्लो वर्गमा भन्दा पनि शासक वा सम्भ्रान्तहरूको मनमा बढी गइयो । यसको छाप आज पनि उस्तै छ । धेरैजसो अविकसित, अल्पविकसित वा विकासशील देशको योजना निर्माण र भौतिक जीवनमा उपनिवेशवादी सोच मरेको छैन ।
औपनिवेशिक योजना
इतिहासमा धेरैथरी युद्ध भएका छन् । युद्धपछि विजेताको धनमात्र बढ्दैन, हैकम, घमण्ड र अभिमान पनि बढ्छ । अर्कोतिर पराजित गरिब, निस्तेज र अपमानित हुन्छ । संसारभरिका उपनिवेशहरूमा युरोप पस्नुअघि ससाना विस्तारवादी घम्साघम्सी, लडाइँ वा युद्ध हुन्थे । तर, युरोपेलीहरूले गरेझैँ ती युद्धहरू ‘सगोल युद्ध’ थिएनन् ।
युरोपले संसारभरि उपनिवेश बनायो । तिनको नक्सामा युरोप सारा संसारको केन्द्र थियो, अरू सबै किनारमा थिए । यो साम्राज्यवादी सिद्धान्त, सोच वा नक्सा थियो । उनीहरूले युरोपलाई संसारको अब्बल वा सर्वोत्तम जाति भने र भन्न लगाए । सामाजिक डार्विनवाद, माल्थसवाद वा प्रकृतिमा जे हुन्छ ठिक्कै हुन्छ जस्ता अवैज्ञानिक सिद्धान्तमार्फत उनीहरूले युरोपले संसारभरि राज गर्नु प्राकृतिक नियम हो भनी प्रचार गरे । यो साम्राज्यवादी नक्सा जातिवादको नक्सा थियो । ‘तुच्छ’ माथि ‘सर्वोच्च’ जातिको नियन्त्रण र वर्चस्वको खाका थियो । उपनिवेशका जाति र प्रकृति दुवैमाथि शोषण, अत्याचार र हिंसा भयो । संसारभरिका जाति, प्रकृति र प्रविधिमा युरोप हाबी भयो ।
सामाजिक डार्विनवाद साम्राज्यवादको बौद्धिक हतियार थियो । विश्वको १० प्रतिशत जनसङ्ख्या भएको युरोपले आफूलाई ‘तर्कसङ्गत’ अर्थतन्त्र भन्यो । युरोपेलीहरूलाई बुद्धिमान ‘आर्थिक मान्छे’ भनियो । उपनिवेशका जाति जतिसुकै पुराना भए पनि तिनलाई अविकसित उपमानव ठानियो । तिनलाई कुकुर भनेर हेलाहोचो गरियो । कुकुर रतियो भने आज्ञाकारी हुन्छ, नरतिएको कुकुर खतरनाक हुन्छ, त्यसलाई मार्नु पशु मार्नुसरह हुन्छ । आफूलाई ‘उच्च’ र अरूलाई ‘तुच्छ’ भनेर युरोपले आफ्ना पशुवत् क्रूरता र बर्बरतामाथि ढाकछोप ग¥यो ।
युरोपले पशु, प्रकृति र उपनिवेशका जनतालाई समान व्यवहार ग¥यो । जसरी प्रकृतिको आफैमा कुनै मूल्य हुन्न । बजारको अदृश्य शक्ति वा ‘आर्थिक मान्छे’ ले जुन मूल्य दिन्छ, त्यही प्रकृतिको मूल्य हुन्छ । उपनिवेशका रैथानेहरूको पनि आफ्नै लक्ष्य वा मूल्य हुन्न । उपनिवेश गराउनेहरूले दिएको मूल्य नै उनीहरूको मूल्य हुनुपर्छ । उनीहरूले युरोपेली सम्पन्नता र चमकधमकको सेवा गर्नुपर्छ । नत्र, उनीहरूलाई पशुलाई जस्तै मारिनेछ, अङ्गभङ्ग गरिनेछ । अफ्रिका, भियतनाम आदि यसका उदाहरण हुन् । सभ्यता फैलाउने कति क्रूर तरिका ¤
एसियाको गरिबीबारे विद्वान मिर्दाल लेख्छन् – ‘गोराहरूको भार’ भनेको आफूलाई शासन गर्न नसक्नेहरूमाथि शासन गर्नु थियो । जातीय तुच्छताको सिद्धान्तले रैथाने जनताको जीवनस्तर उठाउन केही पनि गर्न सकिन्न भन्ने औपनिवेशिक सोच जनाउँछ । यो सिद्धान्तले तिनीहरूको दुर्दशा तिनको जैविक बनोटमै हुन्छ भनी बताउँछ । तिनको समाजलाई पनि त्यसरी नै हेरिन्छ । उपनिवेश चलाउने सरकारले सामाजिक वातावरणलाई बेवास्ता गर्छ । तुच्छताको सिद्धान्तले सामाजिक क्षेत्रमा लेसेज फेयर (खुला अर्थनीति वा सक्नेले लुट्ने परिपाटी) लाई टेवा दिन्छ ।
सारमा, युरोपेली उपनिवेशवाद आर्थिक लुटपाट गर्न जमिन कब्जा गर्दै हिँड्यो । त्यसको लागि रैथानेहरूको शरीर र बुद्धिमाथिको कब्जा कोशेढुङ्गा बन्यो । उपनिवेशको राष्ट्रिय संस्कृति र जीवनशैलीलाई जानाजान बर्बर भनेर निरुत्साहित गरियो र साम्राज्यवादी संस्कृति थोपरियो । आफ्नो संस्कृतिलाई अब्बल बताइयो । रैथाने बुद्धिलाई औपनिवेशिक बनाएपछि तिनको शरीरलाई सस्तो ज्यामीको रूपमा सोसियो । रैथाने सम्भ्रान्तहरूले उपनिवेशकारी जीवनशैलीको सर्वोच्चता शिरोपर गर्दा त्यसको मूल्य गरिबहरूले रगत र ज्यान दिएर चुकाए । यसप्रकार साम्राज्यवादी संस्कारले उपनिवेशहरूमा जरा गाड्यो । यो संस्कृतिले कब्जाकारीहरूको सेवा ग¥यो । त्यसैले झट्ट हेर्दा साम्राज्यवादीहरूले प्रत्यक्ष शासन गर्न छोडेको आधा शताब्दी नाघेका देशहरूको संस्कृति सोच, दृष्टिकोण, शिक्षा, साहित्य, जीवन पद्धति र अर्थतन्त्रमा पनि साम्राज्यवादी शक्तिको बलियो पकड कायम छ । आज सुकिलोमुकिलो चालले उपनिवेश गरिन्छ ।
नेपालजस्तो दुर्गम र हिमाली देशमा पनि साम्राज्यवादको सांस्कृतिक प्रभाव छ । नेपाल कहिल्यै बेलायतशासित भारतको अङ्ग थिएन । तैपनि यसलाई बेलायतकै प्रभावमा कसिएको थियो । खासगरी जहानियाँ राणा शासनमा त्यसो गरिएको थियो । राणाहरूले बेलायती संस्कृति अपनाए । राणाहरूले रोपेको त्यो पश्चिमा संस्कृतिको बीउ अहिले झाँगिएको छ । अहिले नेपाली शासक र सम्भ्रान्तहरूको बुद्धि उपनिवेशीकृत वा औपनिवेशिक छ । यसै रूपमा उनीहरूले पश्चिमाहरूको स्वार्थ पूर्ति गर्छन् ।
बार्बी डल : वास्तविकताको बिम्ब
१९८३ को वसन्तयाममा नन्दराज श्रेष्ठ नेपाल आएका थिए । ‘विकास’ परियोजनाहरूमा विदेशीहरूलाई सघाएर धनी बनेको एक परिवारसँग उनी बसे । त्यो परिवारले पश्चिमा रहनसहनमा आफूलाई भिजाएको थियो । लक्ष्मी र गणेशको तस्बिरसँगै बार्बी डल राखिएको थियो । बार्बी डल धनको प्रतीक हुनसक्थ्यो । नेपाली छालाको तुलनामा बार्बीको गोरो छाला सौन्दर्यको प्रतीक हुनसक्थ्यो । एक वर्षपछि बार्बीसँगै उसको केटा साथी केन पनि टेबलमा राखियो । यसले नेपाली विकासे सोचमा पश्चिमा संस्कृतिको प्रभाव जनाउँथ्यो ।
लेखक आफ्नै सोच र विकासे संस्कृतिबारे घोत्लिन थाले । यो संस्कृतिको जरा पश्चिमी समृद्धिमा थियो । लेखकलाई आफ्नै विगतले सताउन थाल्यो । आफूलाई उनले युरोपेली सोचमा रतिएको पाए । आफ्नो सत्ता टिकाउन र त्यसलाई तर्कसङ्गत देखाउन युरोपेली उपनिवेशवादीहरूले रैथानेहरूलाई आफ्नो दलाल वा एजेन्ट बनाउँछन् । रैथानेहरूको बुद्धि औपनिवेशिक बनाउँछन् । लेखकले आफूलाई त्यस्तै पाए ।
विकासपीडित अनगिन्ती नेपालीहरू भोकभोकै बस्नुपरेको छ, दुई छाक जुटाउन हम्मेहम्मे छ । यसको उल्टो केही मान्छे भोगविलासमा लिप्त छन्, आर्थिक सफलतामा रमेका छन् । विकासले कठोर पीडा दिए पनि त्यसको रौनक ओइलाएको छैन । नेपालीलाई विकासले लोभ्याउँछ, हन्तकाली भौतिक संस्कृतिले उक्साउँछ । यो उक्साहट वा लोभ नै हाम्रो सोच र भावनामाथिको संरचनात्मक हिंसा हो । उत्तेजना रमाइलो हुन्छ, तर फोस्रो हुन्छ । मान्छेले आफूमाथि हिंसा भएको मेसै पाउन्न । त्यसले मान्छेलाई हानिकारक र लज्जास्पद काम गराउँछ । लोभ, झिलिमिली वा उत्तेजना बल्छीको चारोजस्तै हो, धोका हो । विकासको उत्तेजक संस्कृतिले कति चोट पु¥याएको छ, हामीले कहिले बुझ्ने ? त्यो घाउ कसरी पुर्ने ?
यिनै प्रश्नसहित लेखक आफूलाई विकासले जन्माएको सम्भ्रान्तको रूपमा उभ्याउँछन् । आफ्नो औपनिवेशिक बुद्धिबारे चिरफार गर्छन् । आफ्नो उदाहरणमार्फत विदेशी आर्थिक सहयोग वा विकासको नाममा साम्राज्यवादीहरूले कसरी नेपाली शासक सम्भ्रान्तहरूका सांस्कृतिक मूल्यमान्यता, चिन्तन, व्यवहार र कामकारबाहीमा प्रभाव पार्छन् भनी औँल्याउँछन् ।
अल्पविकसित हुँदा
नन्दराज पोखराको एक गरिब किसान परिवारमा जन्मेका थिए । भौतिक आकाङ्क्षा मीठो खाना र राम्रो नानामा सीमित थियो । घरको छानो चुहिने थियो । पानी नलाग्ने एक एकड खेत थियो । तरकारी, मकै र कोदो फल्थ्यो । आमाले कोदोको रक्सी पार्नुहुन्थ्यो । जीवन धानिएको थियो । बाँच्नु नै ठूलो कुरा थियो । भोकै विद्यालय जाने कुरा सामान्य थियो ।
दसैँ दस दिनसम्म धुमधामले मनाइने चाड हुन्थ्यो । जताततै मासु र रगतको गन्ध हुन्थ्यो । गरिबले पनि अलिकति मासु जुटाइहाल्थ्यो । खासमा गरिबहरूले त्यसबेला बिरलै मासु खान्थे । दसैँ आडम्बरी चाड थियो । धनीको रोबरवाफ बेग्लै हुन्थ्यो । गरिबहरूमाथि ठूलो दबाब पथ्र्यो । छोराछोरीलाई नयाँ लुगा हालिदिनुपर्ने र मीठोमसिनो खाना जुटाइदिनुपथ्र्यो । धेरै आफ्नो खेतबारी वा गरगहना धितो राखेर ऋण काढ्नुपथ्र्यो । दसैँ यसै पनि महँगो चाड थियो । बुबाले दसैँलाई दशा भनेको नन्दराज सम्झिन्छन् ।
नन्दराज आफू आठ वा नौ वर्षको छँदाको घटना सम्झिन्छन् । दसैँ आएको थियो । देवी दुर्गालाई बलि दिनुपर्ने थियो । तर, उनीहरूसँग एउटा कुखुरा पनि थिएन । बुबाले नयाँ लुगा हाल्न सकेका थिएनन् । नन्दराज भावविह्वल हुन्छन् । उनले आफ्नो एक नातेदारकहाँ काम गरेका थिए । त्यहीँबाट पैसा ल्याएर जसोतसो परिवारले त्यो दशैँ कटाउँछ । समाजमा अपमानित हुनुपर्ने परिबन्धबाट जोगिन्छ ।
गरिबीलाई भाग्य वा कर्म मानिन्थ्यो, प्राकृतिक ठानिन्थ्यो । जान्नेसुन्ने, ठूलाबडाले त्यसै भन्थे । गरिबै भए पनि त्यसले मान्छेलाई अमानवीय बनाएको थिएन । गरिब र भोको भए पनि कोही अल्पविकसित थिएन । गरिब हुनु भनेको अल्पविकसित हुनु हो भन्ने सोचिन्नथ्यो । विकास नाउँको चराबारे धेरै नेपालीलाई थाहा थिएन । राणा शासनको अन्त्यसँगै नेपालमा विकासले भाउ पाउन थाल्यो । मान्छेलाई विकासी र अविकासीमा बाँड्न थालियो । कथित आधुनिक विज्ञान र प्रविधिको ज्ञान पाएका र ‘आधुनिक’ दृष्टिकोण बनाएकालाई विकासी भनियो । अरूलाई अविकासी र पाखे भनियो । छिटै समाजले विकासमा धेरै पैसा छ भन्ने बुझ्यो । त्यो पैसा विदेशी (आर्थिक) सहयोगको नाममा आउँथ्यो ।
विकास अब अवधारणामात्र रहेन । यो एउटा सामाजिक सिद्धान्त बन्यो । विश्वलाई ‘विकसित’ र ‘अल्पविकसित’ मा बाँडियो । यसले नेपालको विद्यमान वर्ग विभाजनलाई झन् कसिलो बनायो । शिक्षित र सत्तासीन धनीमानीहरूले आफूलाई विकासको पक्षमा उभ्याए । गरिबहरू अविकासी कहलिए । गरिबहरू अविकासी हुनाले गरिब भएका हुन् भनेर माल्थसको माला जपियो । उनीहरूमाथि विकासको हलो अड्काएको आरोप लगाइयो । यस्तो आर्थिक डार्विनवादको प्रचार गरियो । मिथकलाई यथार्थ भनियो ।
बाटोघाटो, विमानस्थल, बाँध, अस्पताल, झिलिमिली घर आदिलाई विकास भनियो । मानव पुँजी बनाउन शिक्षा दिनुपर्ने भनियो । विज्ञान र प्रविधिमाथि जोड दिने अङ्ग्रेजी शिक्षालाई हाईहाई गरियो । गहिरो अवलोकन र अनुभवमा आधारित रैथाने ज्ञानलाई तुच्छ ठानियो । ज्ञानको क्षेत्रमा ठूलो खाडल देखाप¥यो । नयाँ पुस्ता ‘शिक्षित’ बन्न थाल्यो । परिवारमा पुरानो पुस्ता अविकासी र नयाँ पुस्ता विकासी बन्न पुग्यो । नयाँ पुस्ताले व्यवहारिक ज्ञानलाई उपेक्षा गर्दै विज्ञानको सैद्धान्तिक ज्ञान हासिल ग¥यो । खासमा पुरानो पुस्ताको व्यवहारिक ज्ञानमा विवेक थियो । तर विकासीहरूको आँखामा त्यो ज्ञान पछौटे र पुरातन थियो । किताबी ज्ञान र अनुभवजन्य विवेकबीचको फरक छुट्याउनतिर कसैको चासो थिएन । नयाँ पुस्ताले ज्ञान पायो, तर विवेक लत्यायो । कतिपय छोराछोरीले सार्वजनिक स्थलमा आमाबुबासँग देखिन नपरे हुन्थ्यो भन्ठान्न थाले ।
विकासको आँखाबाट शारीरिक श्रम हेय थियो । शारीरिक श्रमलाई अविकासी हुनुको चिनारी मानियो र त्यसलाई तल्लो नजरले हेर्न थालियो । शारीरिक र मानसिक श्रमबीच ठूलो खाडल खनियो । यो उपनिवेशी सोचको प्रसार थियो । गोराहरूले उपनिवेशका जनतालाई यसरी नै हियाउँथे । यसप्रकार नयाँ शिक्षाले श्रमबारे नयाँ सोचको प्रसार ग¥यो । परम्परागत श्रम सम्बन्ध र रैथाने ज्ञानको जरा उखेल्नु नै यो सोचको लक्ष्य थियो । खासमा विद्यमान जगमा नयाँ सोच पलाउनुपर्ने थियो ।
श्रमलाई हेर्ने नयाँ शिक्षाको असर परिवारमा देखियो । खेतीपाती गर्नुपर्ने परिवारका छोराछोरी खेतमा जान छोडे । यो संस्कार विद्यमान अर्थतन्त्रको खिलाफमा थियो । नन्दराजका बुबाले छोरालाई स्कूल जान पर्दैन भने । खासगरी गरिब परिवारले आफ्ना छोराछोरीले सरकारी नोकरी पाउन सक्ने देखेका थिएनन् । त्यसबेलासम्म हुनेखानेले मात्र सरकारी जागिर खान्थे । त्यसैले गरिब किसानले नयाँ शिक्षाले आफ्ना छोराछोरीको श्रम खेर गएको ठाने । धेरै परिवारले छोराछोरीलाई विद्यालयबाट निकाले ।
शारीरिक श्रम पहिले नेपाली जनजीवन थियो । विकासको सिद्धान्त आएपछि शारीरिक श्रम नगरी विकास हुनसक्छ भन्ने भ्रम बाँडियो । केटाकेटीले गाउँठाउँ पुगेका पश्चिमा विकास कार्यकर्ता वा पीस कोर स्वयंसेवक देखे । तिनले शारीरिक श्रम गर्थेनन् । बरु नोकरचाकर राख्थे । उनीहरू राजारानीजस्तै विलासी जीवन बाँच्थे । उनीहरू सल्लाहकार थिए । त्यसैले समाजमा तिनको मानमनितो हुन्थ्यो । उनीहरूलाई अब्बल ठानिन्थ्यो । यो जीवनशैली पश्चिमा जीवनको प्रचार पनि थियो । नयाँ पुस्ताले तिनीहरूजस्तै बन्ने सपना देख्न थाले ।
त्यस्तो सपना आज झन् जब्बर बनेको छ । रोजगारीको अभावले गर्दा मात्र शिक्षितहरू बेरोजगार भएका होइनन् । बरु शारीरिक श्रमलाई हेला गर्नु पनि उनीहरूको बेरोजगारीको कारण हो । हुन त बाहुनवादी हिन्दू संस्कारले पनि शिक्षितलाई मात्र ठूलो देख्छ । माथिल्लो जातका मानिसहरूले निश्चित शारीरिक श्रमलाई हेय ठान्थे । तिनले हलो नजोत्ने, सिनो नफाल्नेजस्ता चलन यहाँ चलेकै थियो । शिक्षक र सरकारी अधिकारीहरूले शारीरिक परिश्रम रुचाउन्नथे । तैपनि, अरूचि अचाक्ली थिएन । विकासले श्रमको परिभाषा नै फेरिदियो ।
सबै परिवारले नयाँ शिक्षा बहिष्कार गरेनन् । शासन चलाउने अभिजात वर्गले नयाँ शिक्षालाई पश्चिमसँग नाल जोड्ने अस्त्र ठान्यो । बेलायतको उपनिवेशी प्रभाव छँदै थियो । नेपालका शासकहरू भारतमा बेलायतको सेवा गर्ने उच्च अधिकारी वर्गजस्तो बन्ने आकाङ्क्षा राख्थे । आफ्नो स्वार्थको लागि धनीमानीहरूले राष्ट्रिय हित त्यागे । साम्राज्यवादीहरूसँगको साइनो नचुँडाली तिनीहरू विकाससँग जोडिए । छोराछोरीलाई आधुनिक स्कूल वा पश्चिमी विश्वविद्यालयमा पढाउनु उनीहरूको लक्ष्य बन्यो । सेन्ट मेरी र सेन्ट जेभियर्समा छोराछोरी पढाउनु उनीहरूको रहर बन्यो । कुनै बेला इसाई पादरीहरूलाई लेखेटेको नेपालका सम्भ्रान्त शासकहरूले छोराछोरीलाई बाइबल पढाइएकोमा नाकनुक गरेनन् । ती विद्यालयलाई आधुनिक शिक्षाको मानक मानियो । किन ? किनभने त्यहाँ नेपाली सम्भ्रान्तहरूको स्वार्थ र आकाङ्क्षा पूरा हुन्थ्यो ।
बाँकी भोलिको अङ्क
प्रस्तुति : रमेश

Leave a Reply

Your email address will not be published. Required fields are marked *