भर्खरै :

आदर निकेतनको आवश्यकता र चर्चा

कुनै व्यक्तिमा गरिने सम्मान वा सत्कारको भाव या कदर नै आदर हो । कुनै व्यक्तिप्रति अनुराग वा स्नेहका दृष्टिले गरिने सत्कार आदर हो । समाजका प्रतिष्ठित, इज्जतदार, देश र जनताप्रति समर्पित व्यक्ति आदर गर्न लायकका हुन्छन् । समाजमा आदर गर्न लायकका व्यक्तिहरू अनेक थरीका हुन्छन् । कोही समाजकै सेवा गरेर या समाजसेवी भएर ख्याति पाएका हुन्छन् । कोही अरूको दुःख सुखमा साथ दिन्छन्, सङ्कट पर्दा, आपत्विपत् हुँदा सहयोग गर्छन् । कसैले दुःखको आँसु पिएर जीवन बिताइरहेका मानिसहरूलाई कहिले खाद्यान्न, कहिले औषधि उपचार त कहिले आर्थिक सहयोग गरेर साथ दिन्छन् । कोही आफूसँग भएको ज्ञान, अनुभव, सीप साटासाट गरेर, अरूलाई दिएर या सिकाएर ख्याति पाउँछन् । आफ्नो पदको दुरूपयोग नगरी इमानदारीपूर्वक पालना गरेर या सेवा गरेर पनि नाम कमाइन्छ । यसरी आदर या सेवा गर्नुपर्ने व्यक्तिहरूमा वृद्धवृद्धाहरू पनि हुन् । उनीहरूकै हेरविचार, पालनपोषण गर्न आदर निकेतनको व्यवस्था गरिएको हुन्छ ।
वृद्धवृद्धाहरूको स्थिति सबै परिवारमा उस्तै छैन, उस्तै हुँदैन । कति परिवारमा परिवारका सदस्यहरूले वृद्धवृद्धाहरूको जे गर्नुपर्ने हो गरिरहेका हुन्छन् । त्यो गर्नु पनि पर्छ । कति घरमा छोराछोरी भए पनि छोराहरू भिन्न र छोरीहरूको विवाह भइसकेको हुन्छ र घरमा वृद्धृवृद्धाहरूमात्रै हुन्छन् । कति परिवारमा छोराहरू भिन्न नभए पनि आफ्नै काममा व्यस्त हुन्छन् । कुनै परिवारको सदस्य पसल, उद्योग, कलकारखाना, गाडी या अन्य कार्यालयमा व्यस्त हुन्छ । कति परिवारका सन्तानहरू विदेशमा हुन्छन् । कतिले चाहेर पनि समयको अभावमा घरमा आफ्ना मातापिता, बाजे बज्यैलाई हेर्ने समय नै हुँदैन । त्यसैले परिवारका सदस्यहरूमा वृद्धवृद्धालाई हेरविचार र पालनपोषण गर्ने स्थिति हुँदैन । त्यसैले वृद्धवृद्धाहरूको लागि छुट्टै बस्ने व्यवस्था गर्नुपर्ने हुन्छ । त्यसको लागि वृद्धाश्रम या आदर निकेतनको खाँचो हुन्छ ।
आदर निकेतन खोल्ने विषयमा फरक फरक मत पाइन्छ । आदर निकेतन खोलेपछि घरमा छोराछोरीले वृद्धवृद्धाहरूलाई त्यत्ति हेर्दैनन् भन्ने मत पनि छ । कोही भन्छन्, वृद्धवृद्धाहरूलाई पाल्नु सन्तानहरूको कर्तव्य हो, पाल्नुपर्छ, आदर निकेतन आवश्यक छैन । आदर निकेतन खोलेपछि सन्तानहरूमा वृद्धवृद्धाप्रतिको आस्था र विश्वास घट्ने हो कि भन्ने विचार पनि व्यक्त नभएको होइन । वृद्धवृद्धाहरूलाई घर परिवारले पाल्नुपर्ने कुरामा दुईमत छैन । तर, कतिले चाहेर पनि हेर्न सकिरहेको हुँदैन । धनसम्पत्ति छ तर हेर्ने मान्छे हुँदैन । कति परिवारमा बेमेलको कारण हेर्ने वातावरण मिल्दैन । जसको घरमा वातावरण मिल्दैन, घर–व्यवहार चलाउने स्थिति हुँदैन, त्यस्ता परिवारको लागि भए पनि आदर निकेतनको खाँचो हुन्छ भन्ने अर्को मत छ ।
अहिले यही कुराको महसुस गरी कहीँ व्यक्तिगत त कतिको संस्थागतरूपमा आदर निकेतन नभने पनि वृद्धाश्रमको रूपमा सञ्चालन भइरहेको पाइन्छ । तिनीहरूले सशुल्क पैसा लिएर वृद्धाश्रम सञ्चालन गरिरहेका छन् । सशुल्क पैसा लिएरै वृद्धाश्रम सञ्चालन भइरहेको हामी पाउँछौँ । वृद्धाश्रम ठाउँ र व्यक्तिअनुसार यसको बन्दोबस्त फरक फरक हुन्छ । त्यो स्वाभाविक पनि हो । आदर निकेतन या वृद्धाश्रम कुनै परिवारका वृद्धवृद्धाहरूलाई घरबाट पन्छाइने उद्देश्यले खोलेको हुँदैन । आदर निकेतन या वृद्धाश्रम खाँचो छ, खोल्नुपर्छ । तर, आदर निकेतन खोल्न सजिलो छैन । वृद्धवृद्धाहरूलाई हेरविचार, पालनपोषण र औषधिउपचार गर्नु त्यत्ति सजिलो छैन । यो मानवीय र सामाजिक सेवा भए पनि खर्चालु हुन्छ । वृद्धाश्रम या आदर निकेतनमा रहेका वृद्धवृद्धाहरूको आफ्नो दुःख पीडा हटाउन अनेक कार्यक्रम राख्नुपर्ने हुन्छ । जीवन बितेको पटक्कै चाल नपाउने गरी उनीहरूलाई नाचगान, भजनजस्ता मनोरञ्जनात्मक कार्यक्रम, स्वास्थ्य परीक्षण, सन्देशमूलक या शिक्षामूलक प्रवचन, घुमफिर आदिको बन्दोबस्त गर्नुपर्ने हुन्छ । खानपिन, पालनपोषण, औषधि उपचारमात्र होइन दिसापिसाब गर्ने गराउने काम पनि हेर्नुपर्ने हुन्छ । यी सबै बन्दोबस्त गर्नुपर्ने हुँदा आदर निकेतन खोल्दा या स्थापना गर्दा आफूले सोचेजस्तो सजिलो हुँदैन ।
भक्तपुर नगरपालिकाको पनि आदर निकेतन खोल्ने उद्देश्य छ । भनपाले आदर निकेतन खोल्ने तयारी गरिरहेको छ । यो स्वागतयोग्य छ । त्यसरी नै भक्तपुर बचत तथा ऋण सहकारी संस्थाले पनि आदर निकेतन खोल्ने तयारी गरिरहेको छ । भक्तपुर साकोसले संस्थाको रजत समारोहको अवसरमा आदर निकेतन खोल्ने तयारी गरिरहेको हो । बुझेअनुसार भक्तपुर बचत तथा सहकारी संस्थाले हाललाई दिवामात्र सञ्चालन गर्नेछ । संस्थासँग आदर निकेतन खोल्न ०–११–० जग्गा रहेको छ । संस्थाले आदर निकेतन खोल्न विभिन्न परामर्श लिने काम गरिरहेको छ । यसको लागि संस्थाले राजनीतिज्ञ, जनप्रतिनिधि, कानुनका ज्ञाता, स्थानीय बुद्धिजीवी, समाजसेवी तथा संस्थाका सल्लाहकार तथा पदाधिकारीहरूसँग छलफल गरिरहेको बुझिएको छ । यसबारे टोलका जिम्मेवार साथीहरूसँग छलफल गरिरहेको छ । संस्थाले आदर निकेतन खोल्ने कुरा उठाएपछि घर–घर, पसल–पसल र टोल–टोलमा चर्चाको विषय बनिरहेको छ । आदर निकेतन खोल्न गर्नुपर्ने काम र व्यवस्थापनबारे आ–आफ्ना अनुभवहरू सम्बन्धित संस्थामा गएर सल्लाह सुझाव दिएर, अािर्थक सहयोग गरेर साथ र सहयोग गर्न आवश्यक छ । आ–आफ्नो ठाउँबाट सबैको सहयोग, श्रद्धा र विश्वास भएमा आदर निकेतन खोल्न सकिन्छ, आदर निकेतनले सफलता पाउनेछ ।
यस्ता आदर निकेतनहरू राज्यले नै सञ्चालन गर्नुपर्ने हो । सबै स्थानीय तहले आदर निकेतन सञ्चालन गर्न सम्भव हुँदैन । सरकारले स्थानीय तहलाई आर्थिक सहयोग गरेर या आवश्यक स्रोत र साधन सहयोग गरेर आदर निकेतन खोलाउन सकिन्छ । तर, राज्यको यसतर्फ पटक्कै ध्यान गएको छैन । सरकारले आदर निकेतन खोल्ने, शिशु शाला, शिशु स्याहार केन्द्र खोल्ने चिन्तन पनि गरेको छैन । सत्तासीन दल र दलका नेताहरू व्यक्तिगत र दलगत स्वार्थ, भागबन्डा र देश र जनहितविपरीत काम गर्न अघि सर्छन् संविधान, स्वाधीन र सार्वभौम देशको ख्याल नगरी राष्ट्रघाती, जनविरोधी काम गर्न अघि सर्छन् । यो देशको दुर्भाग्य हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *