नेपाली समाज किन फासीवादउन्मुख भयो ?
- असार ९, २०८३
केही राजनीतिक पक्ष नेपालमा राजतन्त्र पुनः स्थापनाको हल्ला गर्दै छन् । हल्ला गर्नुको दुई कारण हुनसक्छ – एक, नेपालका सत्ताबाट हटाइएका राजावादी र सामन्ती तत्वहरू आ–आफ्नो निहीत स्वार्थको निम्ति राजतन्त्रलाई केही महिनाको लागि भए पनि पुनः स्थापना गर्न चाहन्छन् ।
दोस्रो, अन्तर्राष्ट्रिय प्रतिक्रियावादीहरू सत्तासीन राजनीतिक दलहरूलाई आ–आफ्नो पुरानो दलीय भावनालाई बिर्सी एक ढिक्का हुन नसके राजतन्त्र पुनःस्थापना गरी भारत र संरा अमेरिका मिलेर नेपालमा अमेरिकी कठपुतली सरकार बनाउने धम्की दिएर तर्साउँदै छन् ।
डेढ–दुई वर्ष पहिलेको इतिहास हेर्दा जहाँ र जुन देशमा संरा अमेरिका पस्छ– ती क्षेत्र र देशलाई धुजा–धुजा गरेरमात्रै संरा अमेरिका फिर्ता भएको छ । अफगानिस्तान संसारको एक विकट देश हो, जुन देशमा एक बेला जारकालीन रूस र बेलायती साम्राज्यवाद दुवैले हात हाल्ने सम्झौता गरेका थिए ।
तर, संरा अमेरिकाले भियतनामको बदला लिन रूसलाई अफगानिस्तानमा फसायो र रूसलाई खानु न ओकल्नुको ठाउँमा पु¥यायो । त्यही खाल्डोमा अमेरिका आफै खसेको देख्दा सबैले व्यङ्ग्य गरे – रोप्नु भनेको राम्रो रोप्नुपर्छ, काँडा रोपेपछि काँडै हुर्कनेछ !
जनताको इतिहास जनताले लेख्ने !
अमेरिकी राष्ट्रपति मुनरोले ल्याटिन अमेरिकालाई ‘आफ्नो करेसाबारी’ घोषणा गरी ‘अमेरिका अमेरिकीहरूको निम्ति हो’ भनी युरोपेलीहरूलाई एक एक गरेर धपाए । तर, हिजो युरोपेली साम्राज्यवादीहरूले आ–आफ्नो क्षेत्रफल र जनसङ्ख्याको दोब्बर–तेब्बर तथा धेरै गुणा क्षेत्रफल भएका देशहरूलाई उपनिवेश बनाउँदै ‘सूर्य नडुब्ने राज्य’ को घमण्ड गरे । आखिर, पहिलो र दोस्रो विश्वयुद्धपछि युरोपेली देशहरूले आ–आफ्नो उपनिवेशहरूलाई एक–एक गरेर छोडे र तिनीहरूले त्यो इतिहासबाट सिके– कसैलाई आफूले इँटाले हाने अरूले ढुङ्गाले हान्नेछन् । तर, पुराना उपनिवेशी शक्तिहरूसँग ‘हिङको टालोको गन्ध’ सुँघ्ने बानी परेजस्तै फेरि फेरि एसिया, अफ्रिका र ल्याटिन अमेरिकी देशहरूमा स्थापित हुने सपना पनि देख्छन् । तर, तिनीहरू भियतनाम र अफगानिस्तानको नियतिको सम्झनाले सपनामा पनि तर्सन्छन् होला ¤ अमेरिकासमेत ‘भो अब भियतनामबाट मात्र होइन अफगानिस्तानबाट पनि सिकौँ’ भन्ने स्थितिमा पुग्यो । त्यसमा ‘नाटो’ देशका मित्रहरूमाथि ‘सहयोग’ नगरेको आरोप लगाउँछ ।
बुढो बाघले बटुवाहरूलाई सुनको बाला देखाउँदै आफ्नो सिकार बनाउने कथा जस्तै अमेरिका कहिले बेलायत र अस्ट्रेलियासँग मिलेर ‘गोरा’ संसारको ‘वर्चस्व’, ‘गौरव’ को धाक लगाउँदै छ भने कहिले दोस्रो विश्वयुद्धभन्दा पहिले ‘एसियाको गोरा’ सम्झिने जापानलाई समेत तानेर भारत र अस्ट्रेलियासमेतको चौकोणात्मक ब्युरो रचनाको कल्पना गर्छ ।
इराक, सिरिया र लिवियाको विध्वंसले जित्न सकिएन भने ध्वंस गर्ने अमेरिकाले ‘भस्मासुर’ को नीति लिएको प्रस्ट छ । यसले थाहा हुन्छ, ट्रम्पले नेतृत्व गरेको होस् वा बाइडेनले नेतृत्व गरेको होस्, मध्यपूर्वेली सभ्यतासँगै अमेरिकी साम्राज्यवादको शत्रुता छ । नाटो देशहरूसँग २–२ प्रतिशत रक्षा बजेट मागेको र मध्यपूर्वी देशहरूलाई संरा अमेरिकाले दिएको ‘धार्मिक आतङ्कवाद क्षम्य हुँदैन’ भन्ने धम्कीले नै अब अमेरिकाले मित्रताको होइन डाँकूको भाषा बोलेको भन्ने स्पष्ट छ, यसबाट सबै सतर्क भएको देखिन्छ ।
सन् १९६० तिरै कङ्गोली देशभक्त प्रधानमन्त्री पेट्रिस लुमुम्बाले भनेजस्तै अब अफ्रिकाको इतिहास युरोप र वासिङ्गटनले नलेखेर बरु अफ्रिकी जनताले नै आफ्नो इतिहास लेख्नेछन् । त्यस्तै, एसियाको इतिहास बेलायत र अमेरिकाले होइन एसियालीहरूले नै लेख्नेछन् ।
Leave a Reply