भर्खरै :

‘प्रतिपक्षी कलम’ : आंशिक चर्चा

‘प्रतिपक्षी कलम’ जोरालले ‘श्रमिक’ साप्ताहिकमा स्तम्भकारका रूपमा लेख्नुभएका लेखहरूको सँगालो हो । पुस्तकमा ०५० सालदेखि ०५५ सालसम्मका लेखहरू समेटिएका छन् । यहाँ ०५०, ०५१ र ०५२ सालका लेखहरूबारे चर्चा गरिनेछ । जोरालीय शैलीभन्दा अलग रहेर थोरै भूमिका बाँधौँ ।
जोरालसँगको हाम्रो परिचय ‘श्रमिक’ मा आज जहाँ प्रज्जवलको लेख आउँछ, त्यही कुनाबाट भएको थियो । सङ्गठनका सुरुआती वर्षहरूदेखि नै श्रमिकको त्यो कुनो हाम्रो प्रिय थियो । यसका विविध कारणहरू थिए । एक, विद्यार्थीहरूलाई रहस्यले लोभ्याउँछ । ‘जोराल’ नाम हाम्रा लागि कौतुकमय थियो । दुई, जोरालका लेखहरूको भाषिक मजबुन शास्त्रीय र प्रभावशाली थियो । दायाँबायाँका कुरा नगरी मर्ममै प्रहार गर्नसक्नु तेस्रो विशेषता थियो । जोरालकै लेखहरू पढेर हामीले व्यङ्ग्य कसरी लेख्नुपर्छ भन्ने भेउ पायौँ भन्दा अतिशयोक्ति नहोला । हाम्रो आलोचनात्मक चेतको निर्माणमा उहाँको पनि योगदान छ । यस अर्थमा जोराल हाम्रा गुरु हुनुहुन्छ, आदरणीय अग्रज हुनुहुन्छ । जोरालको पूरा नाम लक्ष्मणराज जोशी हो भन्ने कुरा हामीले पार्टीको पाँचौँ महाधिवेशनमा थाहा पायौँ । प्रज्ञा प्रतिष्ठानको सभाहलमा उहाँले उद्घाटन सत्र सञ्चालन गर्नुभएको थियो । थोरै शब्दमा विचारलाई चोटिलो पारामा व्यक्त गर्ने खुबी परिपक्व लेखनीमै हुनसक्छ । उहाँको व्यक्तित्व लेखनीजस्तै लाग्यो ।
पुस्तकको पेज १ बाट लहरै २०५० सालका ८ वटा, ०५१ सालका ३१ वटा र ०५२ सालका ३७ वटा लेखहरू परेका छन् । यी ७६ लेखहरूले नेपाली काङ्ग्रेसका गिरिजाप्रसाद कोइरालाको बहुमतको सरकार, एमालेको अल्पमतको सरकार र शेरबहादुरको संयुक्त सरकारको शासनकाल समेटेका छन् ।
पहिले ०५० सालका लेखहरूबारे चर्चा गरौँ । पुँजीवादी निर्वाचनबारे नेमकिपाको धारणाबाट पुस्तक आरम्भ हुन्छ । जनता राजनीतिकरूपले सचेत नभएसम्म पुँजीवादी निर्वाचनमा पैसाको खोलो बग्ने निश्चित भएको उहाँको धारणा छ । चुनावमा ‘जित्नेलाई मत दिनुपर्ने, नत्र मत खेर जाने’ भनी हल्ला गर्ने दुई कौडीका बुज्रुकहरूलाई उहाँले प्रहार गर्नुभएको छ । तिनलाई उहाँ ‘पर्दा पछाडिका जनविरोधी र पुँजीवादी प्रचारक’ भन्नुहुन्छ । सत्ताको खोसाखोस देखेर उहाँ लेख्नुहुन्छ – मौलिकरूपमा कुनै हेरफेर नआउने वर्तमान कलह र समाधानले राजनीतिलाई साधारण खेलमात्र बनाएको स्पष्ट छ । जनतालाई भेडाबाख्रा देख्ने शासकहरूको सोचको खण्डन गर्दै उर्हा भन्नुहुन्छ – जनता त विश्व इतिहासका निर्माता हुन् । ‘अब त अचाक्ली भयो’ भन्दै उहाँ आमूल परिवर्तनका निम्ति जनतालाई आह्वान गर्नुहुन्छ । जनतालाई अर्ती उपदेश दिएर नथाक्ने पुँजीवादी शासकहरूले दुईदलीय तानाशाही चलाएको उहाँको ठहर छ । अहिलेसम्म सत्तामा गएका नेपाली शासकहरू एउटै ड्याङका मूला भएको र तिनीहरूले सत्य बोल्न कहिल्यै हिम्मत नगर्ने लेखकको निष्कर्ष छ । यहीनिर उहाँ गिरीजाप्रसाद कोइरालाले जनआन्दोलनको समाप्तिमा भनेको कुरा सम्झिनुहुन्छ । त्यतिबेला कोइरालाले भनेका थिए – यो बहुदलवादीको मात्र होइन, पञ्चायतको पनि जीत हो । ०५० सालमै सत्तासीन नेपाली काङ्ग्रेस र प्रतिपक्षी एमालेका चर्तिकलाहरू देखेर आजीत हुनुभएका लेखक लेख्नुहुन्छ – प्रजातन्त्रलाई संस्थागत गर्न स्वस्थ राजनीतिक संस्कार आवश्यक हुन्छ । विडम्बना ¤ आजसम्म यो कामना पूरा हुन सकेको छैन । काङ्ग्रेसभित्र गिरिजाप्रसाद र कृष्णप्रसादबीचको झगडाले नेपालमा भारतीय हस्तक्षेप बढेको अर्को घटनाको वर्णन छ । उनीहरूको झगडा मिलाउन भारतले कसरत गरेकैले उसले नेपाली सार्वभौमिकता मिच्दा नेपाली काङ्ग्रेस चुप लागेको थियो । भारतीय विस्तारवादले धमिलो पानीमा माछा मार्छ भन्ने नेमकिपाको ठम्याइ लामो अनुभवबाट निस्केको प्रस्ट हुन्छ ।
०५१ सालका धेरैजसो लेखहरू विकासको बेथिति र एमाले सरकारमा केन्द्रित छन् । केही लेखमा नेपाली काङ्ग्रेसका गणेशमान सिंहको चर्चा छ । गणेशमान सिंहलाई नेकाले पार्टी उकास्न उपयोग गरेर अन्त्यमा ज्यामी चुसेर फाल्ने पुँजीवादले झैँ किनार लगाएको बताइएको छ । पश्चिमा सहयोगमा आधारित विकासको खोल लेखकले च्यातेर मिल्काइदिनुभएको छ । पश्चिमाहरूबाट ‘नेपालमा विकास भएको छ, मानवअधिकार छ’ भनी माग्ने शासकहरूतिर देखाउँदै लेखक भन्नुहुन्छ, “देशको विकास झिलिमिली ग्राफमा होइन जनताको अनुहारमा प्रतिबिम्बित हुनुपर्छ । स्वाभिमानरहित विकास चाहिँदैन ।” अमेरिकी दूतावास र कूटनीतिज्ञहरूसँग सतर्क रहनुपर्ने एमालेले निर्णय गरेको अर्को रोचक प्रसङ्ग छ । दुःखको कुरा, दिनभरि ‘अमेरिकी साम्राज्यवाद मुर्दावाद’ भनी नारा लगाएर अमेरिका भ्रमणको भीख माग्ने, छोराछोरीलाई छात्रवृत्ति माग्ने एमालेको चरित्रमा पछिसम्म पनि परिवर्तन आएन । लेखकले ‘ब्रेन ड्रेन’ लाई अमेरिकाको ‘बौद्धिक डकैती’ भन्नुभएको छ । विदेश पलायन हुनेहरूतिर औँला सोझ्याउँदै लेखक भन्नुहुन्छ, “जन्मेको देश र सभ्यतालाई लात मारेर विदेशीको नोकर बन्न उत्साहित कथित शिक्षित भनाउँदाहरूले छातीमा हात राखेर आफू देशद्रोही होइन भन्न नसक्ने स्थितिमा पुगेका छन् । यसले देशभक्ति र स्वाभिमानको चेतना दिने शिक्षानीतिको अभावलाई पनि स्पष्ट गरेको छ ।” आज देशको शिक्षानीति रसातलमा गइसकेको छ । विदेश भासिनु नै आजका विद्यार्थीहरूको मूल उद्देश्य बन्न पुगेको छ ।
कथित राष्ट्रिय पार्टी बन्न ३ प्रतिशत मत ल्याउनुपर्ने प्रावधान राख्ने काङ्ग्रेसीहरूलाई लेखक जोराल ‘बहुदलीय प्रजातन्त्रका सञ्चालक बनेका निर्दलवादीहरू’ भन्नुहुन्छ । कम्युनिस्ट भनाउँदा एमालेका चर्तिकलाहरू हेर्दै जोराल लेख्नुहुन्छ – शोषणविरोधी राजनीतिप्रति पनि वितृष्णा फैलाउने घृणित षड्यन्त्र भइरहेको छ । संसद्मा गएर नेमकिपाले एमालेका बचेखुचेका इमानदार सांसदहरूमा राजनीतिक संस्कार भर्नसक्ने खतरा देखेर माधवकुमार नेपालले नेमकिपाको ‘जरा उखेल्ने’ धम्की दिएको अर्को प्रसङ्ग छ । एमाले सत्तासीन भएपछि उसले ‘कम्युनिस्टदेखि नडराऊ’ भनेको कुरालाई जोराल व्यङ्ग्य गर्नुहुन्छ । यो भनाइ जनतालाई नभई रिझाउनुपर्ने विदेशी शक्तिहरूलाई भनेको खुलस्त पार्नुहुन्छ । उहाँ लेख्नुहुन्छ – आज देशभित्र एमालेलाई हामी कम्युनिस्ट हौँ भन्ने प्रमाणित गर्नुपरेको छ भने विदेश र विदेशीलाई हामी कम्युनिस्ट होइनौँ भन्ने विश्वास पनि दिलाउनु परेको छ ।

धेरै व्यक्तिलाई मन्त्री बनाउने प्रवृत्तिको विरोधमा लेखक प्रश्न गर्नुहुन्छ – ‘मन्त्री भएपछि सांसदको असन्तोष त घट्छ, जनताको असन्तोष घटाउने कामचार्हि खोइ ?’ एमालेको कुकर्महरूबारे केही उदाहरण – सत्तामा जान एमालेका ‘कम्युनिस्ट’ नेताहरूले गणतन्त्रको नारा परित्याग गरेका थिए, टनकपुर मामिलालाई ‘सीआइए’ बाट प्रभावित भने पनि सत्तामा छँदा केही गरेन, महाकाली सन्धिमा काङ्ग्रेसलाई सघायो, काङ्ग्रेससँगको सहमतिलाई ‘ऐतिहासिक’ भन्यो । पछिल्लो चरणमा माओवादीका नेता प्रचण्ड यस्तै अवतारमा देखिन्छन् । कथित माओवादी ‘जनयुद्ध’ बारे पुस्तकमा सैद्धान्तिक मतभेद राखिएको छ । सत्तासीनहरूको कानुनी डकैतीविरुद्ध जनताले विद्रोह गर्छन् भन्दै लेखकले नेमकिपा छोडेका विनोद शाहीलाई जनताले कालो मोसो दल्दा सरकारले बचाउ गरेको तस्बिर उतार्नुभएको छ ।

एमाले सरकार नेकाको सरकारभन्दा कम भ्रष्ट नभएको बताउँदै उहाँ सुस्केरा पोख्नुहुन्छ – राजनैतिक बन्दोबस्त फेरियो तर दुःख र विडम्बनाको कुरा पञ्चायती संस्कार फेरिएन । बरु काङ्ग्रेस र एमाले छलछाम र बेइमानीमा पञ्चायतलाई पनि माथ दिएको लेखकको निचोड छ । ‘लुटको प्रतिस्पर्धा’ शीर्षकमा लेखक लेख्नुहुन्छ – “हिजो पञ्चहरूलाई बहुदलवादीहरूको केही डर थियो, तर बहुदलवादीहरूमा त्यो डर पनि देखिएन ।” फरक नेताका फरक विचार हुने, भाइभतिजा र पत्नीलाई स्वकीय सचिव राखेर पैसा खाने, पत्नीलाई नै कार्यकर्ता बनाई विदेश घुमघाम गर्ने, वृद्धभत्ताको नाममा जनतालाई १२ सय रूर्पैया बाँडेर सांसदको तलबभत्ता १२ हजार माथि बढाउँदै लग्ने, अरूलाई गाउँ फर्क भन्दै आफूले राजधानीमा गगनचुम्बी महल बनाउने आदि प्रवृत्तिलाई व्यङ्ग्य गर्दै जोरालले एमाले सरकारको उछितो काढ्नुभएको छ ।
०५२ सालका लेखहरूमा एमालेको अल्पमतको सरकार र शेरबहादुर देउवाको संयुक्त सरकारबारे चर्चा छ । पुस्तकमा एमाले नेतृत्व बाहुनवादी रहेको, सत्तामा जान दामोदर शमशेर, राजेश्वर देवकोटा र राजाको ज्यूहजुरी गरेको, सीआईए शैलीमा अरू दल फोर्न सिपालु रहेको र तुच्छ नारा लगाउन काङ्ग्रेसभन्दा कम नभएको टिप्पणी छ । त्यस्तै एमालेका नेताहरू भाषणबाज रहेको, तिनमा हल्लैहल्ला गरेर जस सोहोर्ने प्रवृत्ति रहेको र गोयवल्सको जस्तो प्रचारमुखी स्वभाव रहेको खुलासा छ । यसबारे लेखकले धेरै उदाहरण पस्किनुभएको छ । लेखक प्रश्न गर्नुहुन्छ – बिनाकर्तव्य वा परिश्रमको तलबभत्ता वा पारिश्रमिक, जोसुकैले खाओस् त्यसलाई एक प्रकारको लुट वा डकैतीको संज्ञा दिन मिल्छ कि मिल्दैन ? सत्तालिप्सालाई छोप्न गरिने शासक दलहरूको दलबन्दीलाई ‘राष्ट्रिय सहमति’ भन्न मिल्दैन भन्ने लेखकको तर्क छ । चुनावको अपराधीकरण, सञ्चारमाध्यमको दलीयकरणजस्ता कुरा देशमा बढ्दै गएको औँल्याउँदै लेखक लेख्नुहुन्छ – नेपाली जनताको नियति विडम्बनापूर्ण छ, कम्युनिस्ट होइन नक्कली कम्युनिस्टको शासन छ । पुँजीवादीको होइन कर्मचारी पुँजीवादको शासन छ । आफ्नो दुनो सोझ्याउन शासकहरूले संसद, अदालत र संविधानको मानमर्दन गरेकोमा लेखक आक्रोश पोख्नुहुन्छ । नेमकिपाका संसद्को चोरी हुँदा सभामुख रामचन्द्र पौडेलले कारबाही नगरेर संविधान उल्लङ्घन गरेको उदाहरण दिइएको छ । दलबदलीको विरोधमा नेमकिपाले गरेको कानुनी सङ्घर्षलाई लेखकले संसदीय मर्यादा अक्षुण्ण राख्ने प्रयास भन्नुहुन्छ ।
धेरै व्यक्तिलाई मन्त्री बनाउने प्रवृत्तिको विरोधमा लेखक प्रश्न गर्नुहुन्छ – ‘मन्त्री भएपछि सांसदको असन्तोष त घट्छ, जनताको असन्तोष घटाउने कामचार्हि खोइ ?’ एमालेको कुकर्महरूबारे केही उदाहरण – सत्तामा जान एमालेका ‘कम्युनिस्ट’ नेताहरूले गणतन्त्रको नारा परित्याग गरेका थिए, टनकपुर मामिलालाई ‘सीआइए’ बाट प्रभावित भने पनि सत्तामा छँदा केही गरेन, महाकाली सन्धिमा काङ्ग्रेसलाई सघायो, काङ्ग्रेससँगको सहमतिलाई ‘ऐतिहासिक’ भन्यो । पछिल्लो चरणमा माओवादीका नेता प्रचण्ड यस्तै अवतारमा देखिन्छन् । कथित माओवादी ‘जनयुद्ध’ बारे पुस्तकमा सैद्धान्तिक मतभेद राखिएको छ । सत्तासीनहरूको कानुनी डकैतीविरुद्ध जनताले विद्रोह गर्छन् भन्दै लेखकले नेमकिपा छोडेका विनोद शाहीलाई जनताले कालो मोसो दल्दा सरकारले बचाउ गरेको तस्बिर उतार्नुभएको छ ।
‘प्रतिपक्षी कलम’ वास्तवमै एउटा सशक्त प्रतिपक्षी आवाज बन्न सफल भएको छ । क्रान्तिकारी संसद्वादको अभ्यासलाई पुस्तकले ओजिलो बनाएको छ । लेखकको जानकारीको दायरा ठूलो देखिन्छ । उखान, लोककथा, आहान आदिले अभिव्यक्ति रसिलो बनेको छ । जस्तो भूमिकामा लेखिएको छ – रचनाहरू कतिपयलाई कटु र ‘छुच्चो’ लाग्ला तर गैँडालाई फूलले हिर्काएर तह लगाउने मूर्खतामा आत्मसन्तोष लिन खोजिएको छैन । यसरी पुस्तकको भूमिकामै गागरमा सागर अटाएको छ । त्यस्तै एमालेलाई दलाल पुँजीको ‘दास’ भन्नु, भारतलाई ‘विभूति चोर’ भन्नु, ‘अबको प्रदर्शनमा घोडा फेरिन्छ कि फेरिँदैन ?’ चोटिला अभिव्यक्तिका उदाहरण हुन् । अभिव्यक्तिमा व्यङ्ग्य मात्र नभई विनोद पनि छ । भाषा सालिन, सन्तुलित र संयमित छ । जनताको आक्रोश र आवेग समेट्न हेलचेक्र्याइँ गरिएको छैन । पुस्तकको उद्देश्यबारे लेखक लेख्नुहुन्छ – पच्चीस वर्ष ढुङ्ग्रोमा राख्दा पनि नसोझिएको पुच्छरजस्तो नसुध्रिएको पुँजीवादी मानसिकताले देशको विकास र जनताको सम्रग हित नगर्ने तथ्य र यथार्थको जानकारी भई विकल्पमा समाजवादी गणतन्त्रको आवश्यकता बोध हुने अपेक्षा छ ।
पुस्तकमा शुद्धाशुद्धीको समस्या देखिने खालको छ । प्रथम लेखको प्रथम वाक्यमा दिइएको मितिले पाठकलाई अलमल्याउँछ । सम्पादनमा भाषालाई अझ छरितो बनाउने ठाउँहरू प्रशस्त देखिन्छन् । खासगरी ‘लाई’, ‘यदि’, ‘कुरा’ जस्ता शब्दहरूको अनावश्यक प्रयोग भएको छ । कताकति वाक्यविन्यासमा समस्या छ । पुस्तकको पुछारमा तत्कालीन घटनाक्रमको सङ्क्षिप्त सूची दिइएको भए सुनमा सुगन्ध हुने थियो कि ¤ जेहोस्, समकालीन इतिहासको सरस दस्तावेजको रूपमा यो पुस्तक पठनीय छ । लेखक, पत्रकार, शिक्षक, विद्यार्थी र राजनीतिक विश्लेषकलाई मात्र नभई कवि, वक्ता र व्यङ्ग्यकारलाई पनि यो पुस्तक राम्रो खुराक बन्न सक्छ । यसले पाठकको आलोचनात्मक चेत तिखार्ने निश्चित छ । नयाँ पुस्ताका कार्यकर्ताहरूलाई यसले बहसमा उत्रिन सघाउने तर्कहरू सिकाउनेछ । पार्टीको सङ्घर्षगाथा सुनाउनेछ र लड्न उत्साहित गर्नेछ । पार्टी साहित्य लेख्नेहरूलाई मार्ग निर्देशन गर्नेछ । पुस्तकको अर्को खण्ड आउने अपेक्षा छ । लेखक तथा प्रकाशकलाई धन्यवाद !

Leave a Reply

Your email address will not be published. Required fields are marked *