नेपाली समाज किन फासीवादउन्मुख भयो ?
- असार ९, २०८३
‘श्रमिक’ साप्ताहिकमा छापिएका जोरालका लेखहरूको सङ्कलन ‘प्रतिपक्षी कलम’ प्रकाशित भएकोमा खुसी लागेको छ । यसमा लेखक जोराल भन्दा बढी पाठकहरू खुसी भएका हुनुपर्छ । जोराल र जोरालका पाठकहरूलाई हार्दिक बधाई ज्ञापन गर्दछु ।
‘श्रमिक’ साप्ताहिकको दोस्रो अङ्कमा प्रकाशन भएदेखिका रचनाहरूको सङ्कलन गर्नु सजिलो काम थिएन । कम्प्युटर युगमा प्रवेश गर्नुअघिका रचनाहरूसमेत एकत्रित पारी पुस्तकाकारको रूपमा ल्याउनु सराहनीय काम हो । ‘प्रतिपक्षी कलम’ मा सङ्कलित रचनाहरूले तत्कालीन राजनीतिक स्थितिमा नेपाल मजदुर किसान पार्टीको भूमिका, दृष्टिकोण र नेमकिपाबारे विपक्षीहरूको प्रतिक्रिया, धारणा आदि बुझ्न सहज बनाएको अनुभव गरेको छु । नेपालको राजनीतिक इतिहासका अध्येताहरूको लागि तत्कालीन राजनीतिक स्थितिमा नेमकिपाको विचार–दृष्टिकोणबारे अध्ययन गर्न यो महत्वपूर्ण र आधिकारिक स्रोत बनेको छ । नेमकिपाको सिद्धान्त र व्यवहार बुझ्न चाहने नयाँ पुस्ताको लागि यो गहकिलो खुराक बन्ने छ ।
‘प्रतिपक्षी कलम’ का केही रचनाहरूबारे आफ्नो पठन अनुभूति प्रस्तुत गर्न चाहन्छु । ‘एमालेको मण्डले चाला’ (२०५२।७।७) लेख आजभन्दा २६ वर्षअघि लेखिएको हो । २६ वर्षअघिको लेख पढ्दा एमालेको आजकै चरित्र चित्रण गरिएको जस्तो लाग्छ । इतिहास दोहोरिन्छ फरक ढङ्गबाट भनेजस्तै २६ वर्षअघि पनि दलबदलको मुद्दा पेचिलो बनेको थियो । आज एमालेबाट निष्काशित सांसदहरूलाई कारबाही नगरिएको भन्दै संसदमा नाराबाजी गरिँदै छ । यस सन्दर्भमा अदालतमा मुद्दा चलिरहेको छ । तर हिजो, २६ वर्षअघि दल बदलेको सांसदलाई कारबाही त के नेमकिपाको घोषणापत्रका आधारमा निर्वाचित सांसदले दल बदलेको सूचना संसद्मा दिएको समाचार गोरखापत्रमा प्रकाशित भएकोमा समेत एमालेले आपत्ति जनाएको थियो । एमालेका अगाडि ‘कायल बाबा’ भएका सभामुख रामचन्द्र पौडेल संसद्को नियमावलीअनुसार सांसदको स्थान रिक्त भएको सूचना जारी गर्नु त परै जाओस् समाचारको लागि सूचनासमेत आफूले नदिएको भनी तर्किन खोजेका थिए । त्यतिबेला दलबदल गरेका सांसदहरूलाई कारबाही नगरिँदा आज स्वयम् एमाले खाल्डोमा परेको छ । कुमालेको चक्र घुमिरहन्छ, पालो सबैको आउँछ । मुढेबलको आधारमा काम गर्ने एमालेको यो मण्डले चाला अझै कायम छ ।
पुस्तकमा सङ्ग्रहित अर्को एक रचनामा वृद्ध र विधवाहरूलाई २–४ सय भत्ता दिएर पूर्वप्रधानमन्त्रीको नाममा पञ्चायतकै पूर्वप्रधानमन्त्रीहरूलाई समेत लाखौँलाख रकमको सुविधा दिने ‘पुँजीवादी छलकपट’ लाई उदाङ्गो पारिएको छ । विदेशी ऋणका परियोजनामा हस्ताक्षर गर्दा लाखौँ कमिसन खाएका पूर्वप्रधानमन्त्रीहरूको लागि जनताको रगत पसिना खर्च गर्नु दुरुपयोग भएको ठहर लेखक जोरालले गरेका छन् ।
गङ्गालाल श्रेष्ठ, दशरथ चन्द र धर्मभक्त माथेमालाई मार्ने ‘जल्लाद’ नरशमशेरको गोरखापत्रको फिचर न्युजबारे एउटा लेखमा पनि टिप्पणी गरिएको छ । लेखमा ‘जल्लाद’ नरशमशेरप्रति असीम घृणा व्यक्त गरिएको छ । उनले बनाएको ‘माइतीघर’ चलचित्र किन हेरिएछ भन्ने जोराललाई लागेको रहेछ । अर्को एक लेखमा ‘सन्डे डिस्पाय्च’ पत्रिकामा राजदरबारसम्बन्धी फोटोमा गलत क्याप्सन राखिएको बारे क्षमायाचना गर्दा पनि प्रहरी प्रशासनले दुःख दिएपछि ‘पत्रकारलाई किन तर्साउने ?’ भनी लेखकले प्रश्न गरेका छन् ।
जोरालले एमालेको दोहोरो चरित्रबारे पनि चर्चा गरेका छन् । नेमकिपाले ‘एमाले मित्र होइन’ समेत भन्यो । साथै, एमालेका नेताहरूले केन्द्रीय समितिको निर्णय लत्याएर आफ्नै नातागोतालाई राज्यका विभिन्न अङ्गमा नियुक्त गरेको र त्यसको अपजसबाट बच्न नेमकिपाका अध्यक्ष रोहितले केन्द्रीय समितिको निर्णय पनि नमानेको हल्ला गरेको बारे चर्चा छ । नौ महिने सरकारबाट बाहिरिएको तीन महिनामै दिनको भोक पनि सत्ता नै, रातको निद्रा पनि सत्तामै केन्द्रित भएका एमालेका महासचिव माधव कुमार नेपाल पुनः सरकारमा जान दामोदर शमशेरको शरणमा परेको तथ्य खुलाएका छन् लेखक जोरालले ।
प्रधानमन्त्री देउवाले सानोतिनो सभा गर्न पुग्ने सङ्ख्यामा मन्त्रिमण्डल गठन गरेको विषयमा केन्द्रित एउटा लेख छ । सांसदहरूको काम देश र जनताको हितको निम्ति कानुन बनाउने हो तर सांसदहरू संसद् बैठकमा समेत नगएकाले कोरम नै नपुगेको अवस्थाको वर्णन गरिएको छ । लेखक जोरालको प्रश्न छ, भत्ता पाउने बैठकमा त पुँजीवादी सांसदहरूले कर्तव्य पालना गर्दैनन् भने आफै खर्च गर्नुपर्ने र दुःख गर्नुपर्ने ठाउँमा कति उपस्थित होलान् ? संविधानसभाको बैठकको बेला पनि संविधानसभा छोडी धेरै भत्ताको लागि एनजीओ–आइएनजीओको बैठकमा जाने गरेको समाचार आएकै थियो ।
नेपालजस्तो देशमा कम्युनिस्ट पार्टीले अपनाउने नीति पुँजीवादी नीति नै हो भन्न लाज नमान्ने एमालेले कमसेकम पार्टीको नाम फेरेको भए कम्युनिस्टहरूको बदनाम नहुने जिकिर एउटा रचनामा उल्लेख गरिएको छ । लेखक जोरालले काङ्ग्रेस र एमालेको दोहोरो चरित्र उदाङ्ग्याउनुको साथै पञ्चायती व्यवस्थामाभन्दा काङ्ग्रेस, एमाले र संयुक्त सरकारको पालामा भएका भ्रष्टाचार र लुटको कारण बेइमानी गर्नेहरूमा डर हराएको सन्दर्भ पनि उल्लेख गरेका छन् । संसद्को लेखा समितिले पञ्चायतको लुटलाई पनि बाहिर ल्याएको भए पञ्चायतको विरोध गर्न पञ्चायती गृह मन्त्रालयको पैसाबाट पालिएका थुप्रै ‘सच्चा’ बहुदलवादी नेताहरूको अनुहार पनि चिनिने तर्क गरेका छन् ।
टनकपुर र महाकाली सन्धिका सन्दर्भमा लेखिएका रचनाहरूले एमसीसी सम्झौताको सन्दर्भमा पनि एमालेले त्यस्तै दोहोरो भूमिका खेलेर संसद्बाट पास गराउने हो कि भन्ने शङ्का उत्पन्न हुन्छ । टनकपुरलाई राष्ट्रघाती सन्धि मान्ने र ‘पानी आधा आधा’ भन्ने अनि आफ्नो ९ महिने सरकारको पालामा सिन्कासमेत नभाँच्ने एमाले थियो । महाकाली सन्धिको बेलामा पनि सुरुमा एमालेले समर्थन गरेको थियो । बीचमा परिमार्जन गर्नुपर्छ भन्यो । पार्टीमा १६ का विरुद्ध १७ मतले महाकाली सन्धि पारित गर्ने निर्णय ग¥यो । केही सदस्यले बैठक नै बहिष्कार गरेका थिए । (एमालेका मोहनचन्द्र अधिकारी, हिरण्यलाल श्रेष्ठ र पद्मरत्न तुलाधरले मात्र महाकाली सन्धिको विपक्षमा मतदान गरेका थिए ।) एमालेकै कारणले महाकाली सन्धि दुवै सदनको दुईतिहाइ बहुमतबाट पास भएको इतिहास हेर्दा एमसीसी प्रकरणमा पनि त्यही प्रवृत्ति दोहोरिने आशङ्का छ । एमालेले सरकारमा छँदा एमसीसी पास गर्नुपर्छ भन्यो । कहिले परिमार्जनसहित एमसीसी पास गर्नुपर्छ भन्ने एमालेले मौकामा सुटुक्क पास गर्न ह्वीप लगाउन पनि बेर छैन ।
पुस्तकमा समावेश गरिएका रचनाहरूले आजको सन्दभसँग तुलना गरेर हेर्न र शासक दलहरूको प्रवृत्तिबारे पूर्वानुमान लगाउन मद्दत पु¥याँउने छन् । पत्रपत्रिकामा नेमकिपाबारे गरिएका अनर्गल टीकाटिप्पणीहरूको खण्डन पनि छ पुस्तकमा । कामदार जनताको प्रजातन्त्र स्थापना गर्न अविरल, अविचल, कठोरतापूर्वक मिहिनेत गरिरहेको, वर्र्षाँैवर्षसम्म पटक्कै झिँजो नमानी व्यापक जनतालाई राजनीतिकरूपमा सचेत र सङ्गठित पार्न लागिपरेको नेमकिपाका गतिविधि र दृष्टिकोण आफ्नो स्वार्थ अनुकूल नहुनासाथ नेमकिपाविरुद्ध हिलोछ्याप्ने शासक दलहरूको नानीदेखिको बानी बुझ्न ‘प्रतिपक्षी कलम’ ले सघाएको छ । यसकारण, आजको सन्दर्भमा पुस्तक प्रकाशन हुनु समय सान्दर्भिक देख्दछु ।
पुनः ‘प्रतिपक्षी कलम’ प्रकाशन कार्यमा संलग्न सैबलाई हार्दिक बधाई ज्ञापन गर्दछु । यस विशेष समारोहमा आफ्नो पठन अनुभूति राख्ने मौका दिनुभएकोमा आयोजक साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दछु ।
(लक्ष्मणराज जोशी ‘जोराल’ लिखित ‘प्रतिपक्षी कलम’ सार्वजनिकीकरण कार्यक्रम (२०७८ असोज २७) मा व्यक्त मन्तव्य)
Leave a Reply