भर्खरै :

समाजवादी देश क्युवामा खोप लगाउनेको दर झन्डै ६० प्रतिशत

हवाना, १९ अक्टोबर । समाजवादी देश क्युवामाथि संरा अमेरिकाले थोपरेको दशकौँको नाकाबन्दीबीच आफ्नो कुल जनसङ्ख्याको झन्डै ६० प्रतिशतलाई कोभिड–१९ को पूर्ण मात्रा खोप लगाउन सफल भएको छ ।
क्युवाको जनस्वास्थ्य मन्त्रालयले अक्टोबर १२ मा जारी गरेको तथ्याङ्कअनुसार ६५ लाख ७ सय ४३ जना क्युवालीहरूले पूर्ण मात्रा खोप लगाइसकेका छन् । त्यो सङ्ख्या भनेको क्युवाको कुल जनसङ्ख्या झन्डै १ करोड ११ लाख ८० हजारको ५८.१ प्रतिशत हुन जान्छ ।
पूर्ण खोप लगाएका क्युवालीहरूमध्ये कसैले अब्दाला खोपको तीन मात्रा, सोबेराना ०२ को दुई मात्रा खोपसहित सोबेराना प्लसको अतिरिक्त (बुस्टर) खोपका साथै एकै मात्रा लगाए पुग्ने सोबेराना प्लस लगाएका छन् । ती सबै खोप क्युवा आफैले नै आविष्कार र उत्पादन गरेका हुन् । क्युवामा १९ वर्ष र सोभन्दा माथिका जनता र २ देखि १८ वर्षका बालबालिका, किशोरकिशोरीलाई खोप लगाइएको छ ।
क्युवामा कम्तीमा एक मात्रा खोप लगाउने जनसङ्ख्या ८६.३ प्रतिशत पुगेको छ । त्यसको अर्थ क्युवामा अहिले ९६ लाख ५४ हजार ४५३ जना मानिसले पहिलो मात्रा खोप लगाइसकेका छन् । उनीहरूले आफुले लगाएको खोपअनुसार थप मात्रा खोप लगाउनेछन् । त्यसपछि क्युवामा खोप लगाउने मानिसको दर अझ बढ्नेछ ।
आवर वल्र्ड इन डाटा इन्फर्मेसन प्लेटफर्मको तथ्याङ्कअनुसार संसारमा प्रति एक सय मानिसमध्ये बढी सङ्ख्यामा खोप लगाउने देशमा युएईसँगै क्युवा अर्को देश हो । ल्याटिन अमेरिका र क्यारिबिया क्षेत्रमा क्युवा नै सबभन्दा बढी खोप लगाउने देश हो । क्युवाले सन् २०२१ को अन्त्यसम्ममा आफ्ना सबै नागरिकलाई खोप लगाउने लक्ष्य निर्धारण गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *