भर्खरै :

स्वास्थ्यमन्त्रीलाई खुलापत्र

स्वास्थ्यमन्त्रीजी,
सलाम !
कोरोना महामारीबीच जनताले कठिन जीवन बिताइरहेको यस घडीमा तपार्ईँं स्वास्थ्यमन्त्री नियुक्त हुनुभयो । तपार्ईँंसामु स्वास्थ्यसम्बन्धी चुनौतीको पहाड खडा छ । थाहा छैन, तपार्ईँंले ती चुनौतीहरू सामना गर्न सक्नुहुन्छ या हुन्न । त्यो त समयले नै बताउनेछ । तपार्ईँं नयाँ पार्टीको नयाँ मन्त्री हुनुहुन्छ । पार्टी सङ्गठन बनाउनमै व्यस्त हुनुपर्ने तपार्ईँको बाध्यता होला ¤ तर, त्यो सुविधा तपाईँलाई छैन किनकी तपाईँ अहिले देशको स्वास्थ्यमन्त्री हुनुहुन्छ । जनताको स्वास्थ्योपचारलाई पहिलो प्राथमिकता दिनु तपार्ईँको कर्तव्य हो । तर, निकट भविष्यमा स्थानीय तहको र अबको एक वर्षपछि सङ्घ तथा प्रदेश तहको निर्वाचन हुँदै छ । त्यो निर्वाचनमा आफ्नो अस्तित्व देखाउन पनि तपार्ईँ र तपार्ईँको पार्टी सरकारमा बस्नैपर्ने बाध्यता हामी सामान्य नागरिकले पनि बुझ्छौँ । नेपालमा सरकारमा जानु भनेकै राज्य कोष लुटेर निर्वाचन खर्च जुटाउनकै लागि हो भन्ने जनताको धारणा रहिआएको छ ।
मन्त्रीजी, तपार्ईँंको विगत अलिकति कोट्याऊँ ¤ जतिखेर तपार्ईँ काठमाडौँस्थित नेपाल ल क्याम्पसको स्ववियुको पदाधिकारी हुनुहुन्थ्यो । तपार्ईँमा भएको खस अहङ्कार र कामदार वर्गलाई हेला गर्ने भावना त्यतिखेरै हामीले बुझिसकेका थियौँ । अहिले नेकपा (एस) को तर्फबाट स्वास्थ्यमन्त्री जस्तो जिम्मेवारी पाउँदा हामीलाई आश्चर्य लाग्यो । तपार्ईँले भक्तपुरका जनतालाई त्यसबेला गरेको अपमानको लागि भत्र्सनायोग्य शब्द हामीसँग छैन । तपार्ईँले गरेको जातीय अहङ्कार र भक्तपुरका जनताको अपमान भक्तपुरको ढुङ्गा –माटोले समेत बिर्सनेछैन । त्यो घटना तपार्ईँले त बिर्सनुभयो होला ! हामी सम्झाउँछौँ । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको तर्फबाट नेपाल ल क्याम्पसमा चुनावी सभा राखिएको थियो । हामीले अखिल पाँचौँको सैद्धान्तिक आलोचना गरेका थियौँ । अरूको आलोचना सुन्ने बानी नपरेको तपार्ईँ हाम्रो आलोचनाको सैद्धान्तिक जवाफ दिनुको सट्टा भौतिक आक्रमणमै उत्रिनु भयो । विद्यार्थी सङ्गठन भनेकै अखिल पाँचौँमात्रै भन्ने तपार्ईँमा घमण्ड थियो । नेक्राविसङ्घको नाम पनि सुन्न चाहनुभएन तपार्ईँंले । नेक्राविसङ्घले आयोजना गरेको त्यस सभा सम्पन्न हुनासाथ हाम्रै मञ्चबाट हाम्रै माइक खोसेर तपार्ईँंले हामीलाई देखाउँदै “यी भक्तपुरका ज्यापुहरूको हातखुट्टा भाँचेर भित्ता भित्तामा टाँगिदिन्छु” भन्नुभयो । त्यतिबेला तपार्ईँको साथमा थुप्रै अखिलका ‘गुन्डाहरू’ थिए र हामीले तत्काल भौतिकरूपमा प्रतिकार गरेनौँ । तपार्ईँले निकै ठूलो विजय नै पाएजस्तो व्यवहार गर्नुभयो । हामीले त्यही बेला वक्तव्य प्रकाशित गरी कलेजकलेजमा प्रचार गरेर रचनात्मक विरोध गरेका थियौँ । सायद तपार्ईँंले बिर्सनुभयो होला ¤ हामीले बिर्सेका छैनौँ । त्यसैले त भनिन्छ, खुकुरीको चोट अचानोले बिर्सँदैन ।
अब देशको स्वास्थ्य स्थितिकै कुरा गरौँ ! नेपालको संविधानले आधारभूत स्वास्थ्य उपचार निःशुल्कको व्यवस्था गरेको छ । तर, अहिलेसम्म आधारभूत के हो स्पष्ट परिभाषासमेत गरेको पाइँदैन । यसअघिको सरकारले स्वास्थ्य क्षेत्रमा केही परिवर्तन ल्याउन खोजेको थियो । एकैदिन ३०९ वटा अस्पतालको शिलान्यास पनि गरियो । ती अस्पतालहरूको स्थिति अहिले जे–जस्तो भए पनि सामुदायिक अस्पतालहरूको निर्माण स्वयम् सकारात्मक कदम मान्न सकिन्छ । ती अस्पतालहरूको निर्माणलाई निरन्तरतामात्रै होइन दक्ष जनशक्ति, आवश्यक स्वास्थ्यसामग्री र औषधीको व्यवस्था गरी गरिब जनताको लागि राम्रो उपचारको व्यवस्था गर्नेतर्फ यहाँले ध्यान दिने आशा गर्दछौँ ।
कर्णाली प्रदेशमा १ सय ६१ चिकित्सकको दरबन्दी भएकोमा जम्मा २८ जनामात्रै कार्यरत रहेको र ८ सय स्वास्थ्यकर्मी दरबन्दी भएकोमा २ सय ९६ जनाले मात्रै सेवा दिइरहेको जस्ता समाचारहरूले देशको स्वास्थ्य स्थितिको तस्बिर देखाइरहेका छन् । जनताले अब त्यस्तो समाचार सुन्न नपरोस्, यही हाम्रो अपेक्षा हो  ।
अझ हाँसो उठ्दो कुरा त के हो भने, केपी ओली सरकारलाई हटाएर गठन भएको देउवा सरकारले झन्डै ३ महिनापछि मात्रै पूर्णता पायो । २ महिनाअघि स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका उमेश श्रेष्ठ ‘चेन अस्पतालका लगानीकर्ता’ भएको खुल्न आएको छ । ५ वटा निजी अस्पतालको मालिक नेपालको स्वास्थ्य राज्यमन्त्री नियुक्त भएबाट अबको स्वास्थ्य नीति कस्तो हुन्छ भन्ने अनुमान गर्न गा¥हो छैन । तपार्ईँं स्वास्थ्यमन्त्री नियुक्त भएपछि मकवानपुरको निर्वाचन क्षेत्रलाई नै देश नसम्झनुहोला ! विगतमा जस्तोसुकै ‘पाप’ कर्म गरेको भए पनि इमानदारीपूर्वक जनताको सेवा गरेर ‘पाप पखाल्ने’ आशा गर्छौँ ।
यो वर्ष अस्पतालहरूमा अक्सिजन प्लान्ट र भेन्टिलेटरका लागि छुट्याइएको रु. ‘३ अर्बभन्दा बढी फ्रिज’ भएको समाचार सार्वजनिक भयो । यसको जिम्मेवार को को हुन् ? अक्सिजन अभावले कैयौँ कोरोना पीडितको ज्यान गयो । त्यसको लागि त तपार्ईँंहरू जिम्मेवार हुनुहुन्छ नि होइन ? कोरोना महामारीको बेला बिरामीहरू अक्सिजनको अभावमा अस्पतालको शøयामा छट्पटिरहँदा तपार्ईँंहरू कुर्सीको लागि लडिरहनुभएको थियो । अस्पतालहरूमा चिकित्सकहरू, स्वास्थ्यसामग्री र आवश्यक औषधीहरू थिएनन् । ‘बिरामीको मृत्यु भएमा अस्पताल जिम्मेवार हुने छैन’ भनी निजी र सरकारी अस्पतालहरूले बिरामीको आफन्तलाई कागज गराउँदै गर्दाको क्षण सम्झिँदामात्र पनि जिउ सिरिङ भएर आउँछ । कैयौँ बिरामीका आफन्तले भक्कानिँदै आफन्तको ‘मृत्युपत्रमा’ हस्ताक्षर गरेको दृश्य हाम्रो मानसपटलमा ताजै छ । ती बिरामीका आफन्तहरूको पीडा के तपार्ईँले कल्पना गर्नु भएको छ ?
सरकारका सुरक्षा निकाय प्रमुख प्रजिअले निषेधाज्ञा जारी गरिरहँदा त्यसलाई चुनौती दिँदै तपार्ईँं सम्मिलित गठबन्धनका दलहरूले २०।३० हजार मानिस जम्मा गरेर विशाल सभाहरू गरे । त्यसैको कारण थप हजारौँ जनता सङ्क्रमित भएको चिकित्सकहरूको भनाइ छ । तपार्ईँं र तपार्ईँंजस्ता सांसद अनि मन्त्रीहरूका लागि त उच्चस्तरीय सेवा सुविधासहित उपचार सम्भव थियो होला तर सर्वसाधारण जनताको नि ? अहिलेसम्म मृत्यु भएकामध्ये अधिकांश नागरिक सामान्य परिवारकै छन् । त्यसरी कोरोनालाई खेलाँची गरेर मृत्युदर बढाउने कामको जिम्मेवारी तपार्ईँं र तपार्ईँंको दलसहित गठबन्धनमा रहेका दलका नेताहरूले लिने कि नलिने ?
कोरोनाको बहानामा धेरै ठाउँका जनप्रतिनिधिहरूले राज्यकोषमाथि ब्रह्मलुट गरेको पनि सुनिन्छ । जनतालाई सङ्कट परेको बेला सहयोग गर्नु जनप्रतिनिधिहरूको परम कर्तव्य हो । गलत काम गर्ने जनप्रतिनिधि होस् या कर्मचारी कुन दलको कार्यकर्ता र कसको नातेदार भनेर अनुहार हेरेर होइन उसको अपराधअनुसार दण्ड दिने काममा मन्त्रीजी पछि हट्नु हुन्न । माओवादी र मधेसी दलले जहिले पनि स्वास्थ्य मन्त्रालयको दाबी गर्नुको कारण औषधी तथा स्वास्थ्यसामग्री खरिदमा कमिसनकै लागि हो भन्ने चर्चा पनि छ । अरू ठूल्ठूला काम नगरे तापनि स्वास्थ्यसामग्री र औषधी खरिदमा हुने कमिसनमात्रै कम गर्न सकेमा जनताले ठूलो राहत महसुस गर्नेछन् ।
धरानस्थित बीपी मेमोरियल अस्पतालको आर्थिक बेथितिले निरन्तर चर्चा पाइरहेको छ । त्यसबारे उचित छानबिन गरी दोषीमाथि कडा कारबाही गर्नुपर्ने जिम्मेवारी पनि मन्त्रीजीकै काँधमा आएको छ । सङ्कटको बेला मन्त्री भएकाहरूले अन्य सामान्य अवस्थाका मन्त्रीहरूले झैँ रिबन काट्ने र भवनहरूको शिलान्यास गर्ने काममा समय व्यतित गर्नु उपयुक्त हुँदैन ।
सरकारी अस्पताललाई जनताले आफ्नो अस्पताल ठान्छन् । सर्वसाधारणहरू सरकारी अस्पतालमै उपचारको लागि पुग्छन् । त्यहाँ सँधैँ एक्स रे, सीटी स्क्यान बिग्रिएको भन्दै चिकित्सकहरूले बाहिर निजी क्षेत्रमा महँगोमा उपचार गर्न पठाउँछन् । कमिसनकै कारण त्यसरी निजीमा उपचार गर्न पठाउने कुराको मन्त्रीजी आफै पनि जानकार हुनुहुन्छ ।
जनताले स्वास्थ्य बिमा गराएका छन् । त्यसबापत सरकारी अस्पतालहरूले बिमाका बिरामीलाई निःशुल्क उपचार र औषधी वितरण गर्नुपर्दछ । सरकारले बिमाबापत दिनुपर्ने पैसा सरकारी अस्पतालहरूलाई नपठाउँदा ती अस्पतालहरूले बिमाका बिरामीहरू जाँच्न बन्द गर्दै छन् । मध्यपुरको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले २०७८ असोज १ गतेदेखि बिमाका बिरामी जाँच्नै बन्द गरिसकेको छ । त्यहाँ बिमाबापत सरकारले ९ करोड रुपैयाँ भुक्तानी बाँकी भएको मेयरको भनाइ छ । धुलिखेल अस्पतालले २६ करोड बिमाबापत लिन बाँकी भएपछि त्यो अस्पताल पनि चरम आर्थिक सङ्कटमा परेको समाचार छ ।
अन्त्यमा, ख्वप अस्पतालबारे पनि मन्त्रीजीको ध्यानाकर्षण गराउन चाहन्छु । भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप अस्पतालले दैनिक ५०० भन्दा बढी बिरामीलाई सेवा प्रदान गर्दै आएको छ । बिमाबापत सरकारले दिनुपर्ने रकम समयमै भुक्तानी नहुँदा सेवा प्रभावित हुने गरेको छ । गत आवमा रु. ६ करोड बिमाबापत सरकारले दिनुपर्ने पैसा नदिएपछि जनप्रतिनिधिहरूले जनताबीच सहयोगको आह्वान गर्नुभयो । १ महिनाको अवधिमा ६ करोडभन्दा बढी पैसा नगरपालिका कोषमा जम्मा गरेर नगरपालिकालाई जनताले साथ दिए । ख्वप अस्पतालले कोभिडका सबै बिरामीको निःशुल्क उपचार ग¥यो । हालसम्म ४५५ बिरामीको उपचार गरिसकेको छ । अक्सिजन प्लान्ट राखेर स्थानीय जनताको लागि निःशुल्क अक्सिजन वितरण गरिरहेको छ । ख्वप अस्पताल भवन निर्माण कार्य पनि अन्तिम चरणमा छ । त्यसको लागि पनि भक्तपुरका जनताले मन्त्रीजीबाट सहयोगको अपेक्षा गरेका छन् ।
स्वास्थ्य क्षेत्रका बेथितिका कुरा जति लेखे पनि सकिँदैन । तर, देशको राजनीतिमै प्रभाव पार्ने खालका ओम्नी गु्रुपजस्ता काण्डका नाइकेहरूलाई कमसे कम कारबाही गरेर देखाउन सके तपाईँ स्वास्थ्यमन्त्री भएको सार्थक हुनेछ ।
जनताको सेवाको लागि प्रेरित हुनुहोस् भन्ने उद्देश्यले केही कुरा लेख्ने प्रयास गरेको हुँ । तपार्ईँंलाई पनि थाहा छ नि ¤ सत्य तीतो हुन्छ । हो, औषधी पनि तीतै हुन्छ । यसर्थ, मन्त्रीजीले पत्रमा उल्लिखित विषयलाई पूर्वाग्रही भावनाले नलिई सुझावको रूपमा लिने विश्वासका साथ आजलाई यतिमै कलम बन्द गर्दछु । आगामी दिनमा निरन्तर लेखिरहनेछु ।
तपार्ईँको साथी, उही
सुमन

Leave a Reply

Your email address will not be published. Required fields are marked *