भर्खरै :

जर्मनी राजदूत र युनेस्कोका प्रतिनिधि भक्तपुरमा

भक्तपुर, २ कार्तिक । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग नेपालका लागि मित्र राष्ट्र जर्मनीका राजदूत डा. थोमस प्रिन्ज र नेपालका लागि युनेस्कोका प्रतिनिधि माइकल क्रोप्टसहितको टोलीले मङ्गलबार भेट गरेको छ ।
विश्व सम्पदामा सूचिकृत भक्तपुरका सम्पदा क्षेत्र अवलोकनको क्रममा भक्तपुर पुगेको उक्त टोलीले भक्तपुर नगरपालिकामा भएको भेटमा नगरपालिकाले हालसम्म शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माण, सरसफाइलगायतका क्षेत्रमा गरिरहेको कार्यहरूबारे जानकारी लियो ।
भेटमा नगर प्रमुख प्रजापतिले उक्त टोलीलाई नगरपालिका र नगरवासीहरूको तर्फबाट स्वागत गर्दै सांस्कृतिक सहर भक्तपुरको पहिचान र विशेषताहरूबारे अवगत गराउनुभयो ।
विगतमा भक्तपुर नगरको सरसफाइ, सडक निर्माण, ढल निकास व्यवस्थापनलगायतमा जर्मन सरकारले पु¥याएको सहयोगप्रति आभार प्रकट गर्दै प्रमुख प्रजापतिले भूकम्पबाट भत्किएका सम्पदा पुनःनिर्माणको लागि जर्मनी सरकारबाट सहयोग प्रस्ताव भएको तर प्राविधिक कारणले उक्त सहयोग ग्रहण गर्न नसकिएको उल्लेख गर्नुभयो । उहाँले भक्तपुर नपाले जनताको आर्थिक सहयोग, भूकम्पले क्षति पु¥याएका जनश्रमदानबाट १०८ वटाभन्दा बढी सम्पदाहरू पुनःनिर्माण तथा जीर्णोद्धार गरिसकेको बताउनुभयो । उहाँले भक्तपुर दरबार क्षेत्रमा अवस्थित पचपन्न झ्याल
दरबारसँगै जोडिएको सिंहध्वाका दरबार (हाल राष्ट्रिय कला सङ्ग्रहालय) रहेको लाल बैठकसहितको भवन पुनःनिर्माण कार्य मल्लकालीन शैलीमै गर्न युनेस्कोको प्रधानकार्यालय पेरिसमा अनुमतिको लागि पुरातत्व विभागमार्फत अनुरोध गरी पठाएकोमा विभिन्न कानुनी र प्राविधिक समस्याका कारण हालसम्म अनुमति प्राप्त नहुँदा उक्त भवन संरक्षण गर्न नसकिरहेको जानकारी गराउनुभयो ।
भक्तपुर नगरपालिकाले शैक्षिक क्षेत्रमा पु¥याइरहेको योगदानबारे चर्चा गर्दै ‘एक घर एक स्नातक’ नारालाई सार्थक बनाउँदै शिशुस्याहार सञ्चालनदेखि विश्वविद्यालय सञ्चालन गर्न आवश्यक पहल भइरहेको बताउनुभयो ।
नेपालका लागि जर्मनी राजदूत डा. थोमस प्रिन्जले नेपालको विकासमा जर्मनी सरकारको निरन्तर सहयोग रहने जनाउँदै नेपाल—जर्मनीबीचको जनस्तरसम्म फैलिएको सम्बन्धलाई अझ विस्तार गर्न आगामी दिनहरूमा पनि सहयोग गर्न तत्पर रहेको बताउनुभयो ।
उहाँले भक्तपुरका सांस्कृतिक एवम् पुरातात्विक सम्पदाहरूको आफ्नै विशेषता रहेको बताउँदै यसको संरक्षण र संवद्र्धनले नगरको सुन्दरतालाई पृथक पहिचान दिने बताउनुभयो ।
नेपालका लागि युनेस्कोका प्रतिनिधि माइकल क्रोप्टले विश्व सम्पदा सूचीमा सूचिकृत सम्पदाहरूको आफ्नै विशेषता हुने बताउँदै भूकम्पबाट क्षतिग्रस्त सम्पदाहरू विभिन्न कारणबाट पुनःनिर्माण हुन नसकेकोमा पुनःनिर्माणको लागि आवश्यक पहल र समन्वय गर्न आफू सकारात्मक रहेको बताउनुभयो । उहाँले विश्व सम्पदामा सूचिकृत सम्पदाहरूको संरक्षण गर्दा विभिन्न संरक्षण नीति तथा नियमको पालना गर्नुपर्ने बाध्यात्मक व्यवस्था रहे तापनि मुख्यतया स्थानीय नागरिकहरूको हितको लागि यसको सदुपयोग हुनुपर्नेमा जोड दिनुभयो ।
भेटपश्चात् प्रतिनिधिमण्डलले भक्तपुर दरबार क्षेत्रमा अवस्थित राष्ट्रिय कला सङ्ग्रहालय, पचपन्न झ्याल दरबार, तलेजु मन्दिर परिसर, टौमढी अवस्थित पाँचतले मन्दिर, दत्तात्रय क्षेत्रलगायतको स्थलगत अवलोकन भ्रमण गरेको थियो ।
भेटमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, भनपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकला, कार्यपालिका सदस्य रोशनमैंया सुवाल, प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ, प्रशासकीय अधिकृत दामोदर सुवाललगायत उपस्थित हुनुहुन्थ्यो । उक्त भ्रमण टोलीमा जर्मनी राजदूतावासबाट अनुजा प्रिन्ज र ग्रेगर गाजा, युनेस्को कार्यालय काठमाडौँ संस्कृति विभागका निपुणा श्रेष्ठ, राष्ट्रिय कला सङ्ग्रहालय प्रमुख मोहनसिंह लामा, सम्पदा संरक्षण कार्यालयका सुनिता भँडेल पनि उपस्थित हुनुहुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *