भर्खरै :

आतसबाजी र पटाका आयातमा रोकौँ

तिहार नेपालको अर्को महत्वपूर्ण चाड हो । यो रङ्गीचङ्गी फूलको चाड हो । यो फलफुलको चाड हो । यो अन्नको मात्र होइन पन्छी, पशु र मानिसको पूजा गर्ने चाड हो । यो नेपाल संवत् फेरिने चाड हो । यो नाचगान गर्ने चाड हो । मानव जीवन या समाजमा सहयोग गर्ने, कुनै पनि पशुपन्छीको पूजा गर्नुपर्छ भन्ने सन्देश दिने चाड हो । यो झिलिमिली बत्ती बाल्ने चाड हो । यस चाडमा एक समय सूचना प्रवाह गर्ने, प्राकृतिक प्रकोप या कुनै डरलाग्दो जन्तु सहर बजार या खेत बस्तीमा पस्ता कराएर सतर्क बनाउने पन्छी कागको पूजा हुन्छ । घर या कुनै ठाउँमा कुनै अपरिचित व्यक्ति आउँदा भुकेर खबरदारी गर्ने या सूचना दिने कुकुरको पूजा हुन्छ । पोषिलो दूध दिने राष्ट्रिय जनावर गाई र खेत जोत्ने गोरूको पूजा हुन्छ । मान्छे आफैको पूजा हुन्छ ।
हो, यस्तो चाडलाई निरन्तरता दिनुपर्छ । तर मनोरञ्जनको नाममा यस्तो चाडमा आतसबाजी र पटाका पड्काइन्छ । आतसबाजी र पटाकाको मात्रै लाखौँ–करोडौँको व्यापार हुन्छ । आतसबाजी र पटाका अग्निजन्य वस्तु हो । यो पड्काएपछि आँखा गुम्ने र आगलागी हुने सम्भावना छ । विशेषगरी यो समय सुख्खा हुने हुँदा तराईजस्तो भुस–बाँसले बनाएको घरमा आगलागीको सम्भावना हुन्छ । आतसबाजी र पटाकाकै कारण प्रत्येक वर्ष तराईतिर आगलागी हुन्थ्यो । अतः आतसबाजी र पटाका पड्काउने काममा निषेध गर्नुपर्छ । त्यो निषेध गर्न आयातमै रोक्नुपर्छ । बेचबिखनमा रोख्नुपर्छ । नेपालमा आयात भएपछि बेचबिखनमा कडाइ गर्नुभन्दा आयातमै रोक्ने प्रयास गर्नुपर्छ । अहिलेदेखि नै कसैले पनि आतसबाजी र पटाकाजस्ता अग्नीजन्य वस्तु खरिद नगर्न, बिक्री वितरण नगर्न सरकारले आग्रह गर्नुपर्छ । यसले पनि दुर्घटना हुनबाट धेरै जोगाउँछ ।
चाडमा हुने नराम्रो पक्ष जुवा–तास खेल्नु पनि हो । जुवा–तास खेलमा लाखौँको हार–जीत हुन्छ । रक्सी नखाई खानै नखाएको जस्तो ठान्ने व्यक्ति, घूस नखाई कामै नगरेको जस्तो अनुभूति गर्ने कर्मचारीले झैँ कति युवाहरूलाई चाड आएपछि जुवा–तास नखेली मनै मान्दैन । यसरी नै जुवा–तासमा भुलेपछि पछि बानीजस्तै हुन्छ र फूर्सद मिल्यो कि खेल्नैपर्ने जस्तो अनुभूति हुन्छ । यसले बानी बिगार्छ । यो अर्को विकृति हो । यसले समाजमा राम्रो सन्देश दिँदैन । यो नियन्त्रण गर्न युवाहरू आफै सचेत हुनुपर्छ, प्रहरी प्रशासनको अनुगमन हुनुपर्छ र समाजका प्रबुद्ध वर्गको पनि जुवा तास नियन्त्रण गर्नेतर्फ ध्यान पुग्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *