भर्खरै :

सङ्कटको समयमा पत्रकारिताको महत्व

सबै पेसाका आफ्नै विशेषता हुन्छन् । पत्रकारिताको पनि छ । सङ्कटका समयमा यसको महत्व अझ बढी हुने भएकोले पनि यो पेसा विशेष नै हो ।
नेपालका हरेक ठूला राजनीतिक परिवर्तनका आन्दोलनमा नेपाली पत्रकारिताले पु¥याएको योगदान त घामझैँ छर्लङ्ग छ । पत्रकारिता र यसले दिएको सूचनाले आन्दोलनलाई सशक्त बनाई आन्दोलनलाई उचाइमा पु¥यायो । तिनै सकारात्मक प्रभावका कारण आज मुलुक लोकतान्त्रिक गणतन्त्र र सङ्घीयताको अग्रगमन पथमा छ ।
नेपाली पत्रकारिताले राजनीतिक आन्दोलनमा मात्र नभई हरेक प्राकृतिक विपत्ति र महामारीको समयमा समेत उत्तिकै योगदान दिएको छ । २०७२ सालको महाभूकम्प होस् वा बर्सेनि हुने बाढी र पहिरोका घटना नै किन होऊन्, यी सबैमा पत्रकारिताको माध्यमबाट प्रवाह भएको सूचनाले आम जीवनलाई ठूलो सहयोग पुगेको छ । सङ्कटको समय यिनै सूचनाले थुप्रैको ज्यान जोगिन सहयोग पुगेको छ भने यी सङ्कटबाट समस्यामा परेकालाई राहत दिलाउने विषयमा सरकारलाई घच्घच्याउन, स्थानीय निकायलाई जिम्मेवार बनाउनसमेत विशेष भूमिका खेलेको छ ।
यही क्रम कोभिड–१९ को समयमा पनि जारी भयो । तर, नेपाली पत्रकारिताका लागि भने यो समय आफैँमा चनौतीपूर्ण बन्यो । यसअघिका सङ्कटग्रस्त समयमा पत्रकारमात्र जोखिममा हुन्थे तर कोभिड १९ को समयमा यो जोखिम व्यक्तिमा सीमित नभई परिवार र पूरा टोल समाजलाई जोखिममा पार्ने अवस्थाको रह्यो, अझै छ । विश्वव्यापीरूपमा फैलिएको महामारीबाट जोगिएर पत्रकारिताको कर्म गर्नु छ । साथै महामारीबाट बच्दै काम गरेर समाजमा उदाहरण प्रस्तुत गर्ने दायित्व पनि छ । पत्रकारिता जगत् गैरजिम्मेवार हुँदा यसले समाजमा समेत नकारात्मक असर पर्ने खतरा देखिन्छ । सही सूचना प्रवाह गर्दै थप प्रभावकारी र मर्यादित बनाउने दायित्व पत्रकारको काँधमा छ ।
२०७२ सालको महाभूकम्पको समयमा केही समय आर्थिक गतिविधि प्रभावित भएको थियो । तर भूकम्पको धक्का कम हुन थालेसँगै अर्थतन्त्र र सामान्य जीवन चलायमान बन्यो । प्राकृतिक विपत्ति भएकोले त्यसबाट जोगिनु जरूरी भए पनि सूचनाको प्रवाहमै विशेष जोड दिनुपर्ने अवस्था थियो । सो समय पनि नेपाली पत्रकारिता जगतले सकारात्मक भूमिका खेलेको थियो कोभिड–१९ को महामारीको समयमा थप जिम्मेवारी आइपरेको छ ।
कोभिड–१९ को महामारीले यतिबेला सामाजिक, आर्थिकमात्र नभए थुप्रै मानसिक र व्यक्तिगत समस्या ल्याइरहेको छ । यो चुनौतीका बीच पनि थप ऊर्जाका साथ काम गर्नुपर्दा यो समय पत्रकारिता र योसँग जोडिएकाहरूलाई सहज भने छैन ।
हुन त यो अवस्था पत्रकारिताका लागि मात्र चुनौतीपूर्ण होइन । विश्व नै महामारीको चपेटामा परेको बेला सबै क्षेत्र यसको प्रभावमा परेको छ । तर, यस समयमा अधिकांश क्षेत्रले वैकल्पिक माध्यमलाई अपनाउँदै चनौतीसँग जुधिरहेका छन् । अझ भनौँँ, चनौती सामना गर्न सम्भव पनि भयो । विद्यार्थीको पढाइदेखि लिएर सभा र सम्मेलनसमेत यो समय अनलाइनमार्फत सञ्चालन भइरहेको छ । तर, पत्रकारहरू अग्रपङक्तिमा र कार्यालयमा नै उपस्थित भई काम गर्नको विकल्प रहेन । महामारीबारे नियमितरूपमा नयाँ तथ्यहरू आउने र महामारीको गम्भीर असरले आममानिस त्रसित भएको अवस्थामा समेत पत्रकारहरू भने नियमितरूपमा फ्रन्टलाइनमा बसेर काम गरिरहे । अहिले पनि गरिरहेका छन् ।
छापा माध्यमबाहेक अनलाइन, टेलिभिजन र एफएमहरूले यस समयमा अझ बढी सक्रिय भई समाचार सम्प्रेषण गरिरहे ।
यहीँबीच नेपालका कतिपय सञ्चारगृहले कर्मचारी कटौतीका नाममा पत्रकारहरूको बिचल्ली पार्ने काम पनि गरे । अन्यले पनि समयमा तलब नदिने, काम पूरा गरे पनि आधा तलब दिनेजस्ता निर्णय गरे र पत्रकारलाई थप पीडित बनाए । यतिमात्र नभई कोरोनाबाट जोगिन आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने विषयमा उदासीनता देखाए । यसले पत्रकारको मनोबल घटाउने काम गरेको यथार्थ हो । तर, विगतदेखि नै चुनौतीका बीच काम गर्दै आएका कारण पत्रकारको जोस कम भने भएन ।
सरकारले भने यस अवधिमा पत्रकारलाई खोप र स्वास्थ्य सामग्री वितरण गरेर भने राहत दिएको हो । कोभिड–१९ सङ्क्रमित पत्रकारलाई निःशुल्क उपचारको व्यवस्था गर्नेजस्ता कामले भने पत्रकारलाई हौसला दिई नै रह्यो ।
यस्तो उच्च जोखिममा पनि चुनौतीहरूको सामना गर्दै समाचार सम्प्रेषणमा लाग्ने काम गरेका पत्रकारहरूको योगदान वास्तवमै महत्वपूर्ण छ । यसको मूल्याङ्कन सरकारले केही हदसम्म गरे पनि सञ्चारगृहले भने गर्न सकिरहेको छैन ।
कोभिड–१९ महामारीको कारण जारी लकडाउनका समय इन्टरनेट सर्भिस प्रोभाइडरहरूले बाहिर निकालेको तथ्याङ्कअनुसार नेपालीहरूको इन्टरनेटको प्रयोग दर ह्वात्तै बढेको देखियो । विशेषगरी कोभिड– १९ सम्बन्धी सूचनाहरूसमेत बढी पढिएको र यससम्बन्धी चासो बढेको हामीले पनि बुझेको विषय हो । विश्वभर यही अवस्था नै थियो । यी सूचनाले आममानिसलाई कोभिड–१९ बारे बुझ्न यसको जटिलता र समस्याबारे जान्न सहयोग गर्यो । सङ्कटको समयमा सूचनाको प्रवाहमार्फत चेतना फैलाउनु समग्र पत्रकारिता पेसाको सार्थकता हो ।
सरकारी संयन्त्रबाट कोभिड–१९ सम्बन्धी सूचनाको प्रवाहलाई औपचारिकरूपमा मात्र गर्ने गरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रेस सम्मेलनमा सीमित गर्दा सूचनाको प्रवाह सङ्कुचित बनेको आरोप पनि यस समयमा लागेको हो ।
कतिपय कोभिड–१९ सँग जोडिएका घटनामा सञ्चारमाध्यमहरूले प्रतिस्पर्धा गर्दै सूचना प्रवाह गर्ने क्रम पनि देखिएकै हो । यसले पत्रकारितामा विकृत अभ्यास भएको उजागरसमेत भयो । अझ नेपालमा कोरोनाविरूद्धको औषधि बन्न सक्ने विषय र अन्तर्राष्ट्रियस्तरमा प्रयोग भएका औषधिका परीक्षण प्रक्रियाका बारेमा खासे समाचार बाहिर आउन सकेन । सरकारको तर्फबाट यस सूचनालाई बाहिर ल्याउन सहजीकरण नहुँदा यो अवस्था आएको हो । यस्तै खोप आयात, वितरण र खोपको वैज्ञानिक पक्ष र नेपालमा यसबारे भएको अध्ययन अनुसन्धानबारे पनि सरकारी निकायबाट खासै कुरा बाहिर आउन सकेको छैन । यस विषयमा अझै पत्रकारहरू जागरूक हुनुपर्ने देखिन्छ । यो चुनौती नै हो ।
तर, पनि विश्व नै कोरोना महामारीमा परेको समयमा समेत नेपाली पत्रकारिताले जति गरेको छ, त्यो प्रयास कम होइन । उच्च जोखिमको अवस्थामा आफ्ना जिम्मेवारी पूरा गर्न सक्नु पत्रकारिता जगतको लागि ठूलो उपलब्धि हो । सायद पुरानै ढर्रामा पत्रकारिता गरेको भए, कोभिडको समयमा थुप्रैले पत्रकारिता छोड्ने काम भइसकेको हुन्थ्यो भने थुप्रै सञ्चार संस्थाको ढोकामा ताला लागिसकेको हुन्थ्यो ।
तर, नेपाली पत्रकारिता जगत्ले अहिलेको चुनौती सामना गर्दै आफू गतिशील रहेको प्रमाणित गर्न सक्नाले यो क्षेत्र थप सबल भएको छ ।
नेपाली पत्रकारिता गतिशील छ । विगतमा सरकारी सञ्चारमाध्यम पत्रिका र टेलिभिजनमा रमाइरहँदा निजी क्षेत्रको पत्रकारिताले श्यामश्वेत पत्रिका प्रकाशन गरी सूचना दिने गरेको थियो । सो चरणबाट तीन दशकको अवधिमा अनलाइन पत्रिका, अनलाइन रेडियो र अनलाइन टेलिभिजनको अभ्यासले व्यापकता पाएको छ । यी सफलताका कारण पनि नेपाली पत्रकारिताले सङ्कटको यो समयमा समाज र मुलुकका लागि विशेष योगदान दिन सक्यो ।
छापा माध्यमहरूले पत्रिका प्रकाशन गर्न नसके पनि अनलाइन माध्यमले भने सूचना प्रवाहमा कुनै सम्झौता गरेनन् । अझ रोचक के छ भने स्थापित सबै छापा माध्यम अहिले अनलाइन पत्रिकाको जगत्मा समेत आइसकेका छन् । समयको मागलाई बुझ्दै अनलाइन संस्करणसम्म आउनुले पनि नेपाली पत्रकारिताको गतिशील क्षमतालाई दर्शाउँछ ।
सञ्चारको माध्यममा गतिशीलता सबैभन्दा राम्रो पक्ष भए पनि यसमा सुधार गर्नुपर्ने थुप्रै विषय देखिएका छन् । जस्तो कि सतही पत्रकारिताले यतिबेला ठूला साना, सबै सञ्चार संस्थालाई गाँजेको अवस्था छ । कोभिड विशेष अस्पतालमा भएका चरम लापरबाहीका घटनाहरू सञ्चार माध्यममा आउन सकेनन् । जनस्वास्थ्यजस्तो गम्भीर विषयमा गरिएको खेलवाडलाई बाहिर ल्याई सार्वजनिक गर्ने काममा सफलता पाउन सकेको भए यो अझ जनहितको पक्षमा ठूलो सफलता हुन्थ्यो । सरकारी निकायलाई खबरदारी गर्नसमेत सकिन्थ्यो ।
सूचनाका लागि फोनको भरपर्नुपर्ने र सम्बन्धित निकायका व्यक्तिहरूले फोन नउठाउने र स्वीच अफ गर्नेजस्ता व्यवहारले सूचना सङ्कलनको काम भने यस अवधिमा थप कठिन भयो । अन्य समयमा भए सम्बन्धित कार्यालयमै पुगेर पनि ती सूचना ल्याउन सकिन्थ्यो । तर, कोभिडको समयमा साधनको समस्या, कतिपय संस्थाहरू बन्द रहने जस्ता कारणले पनि सूचनाको प्रवाहमा समस्या आएको थियो । यस्तै कतिपय सूचनाको एक पक्षमात्र पाइने तर त्यसलाई सन्तुलित बनाउन अर्को पक्षको भनाइ र तथ्याङ्क लिन समस्या हुँदा पनि यो समय थप चुनौतीपूर्ण बन्यो । तर, यस अवस्थाले पक्कै पनि नेपाली पत्रकारितालाई थप शिक्षा दिएको छ, जसको उपयोग आगामी दिनमा हुन्छ भन्ने विषयमा ढुक्क हुन सकिन्छ । यसअघिका विश्वव्यापी स्पेनिस फ्लू र हैजा महामारीको समयमा नेपालको पत्रकारिता केही गर्नसक्ने अवस्थामा थिएन । अहिले भने एउटा महामारीको विभिन्न चरणमा फ्रन्टलाइनमा काम गरेको अनुभवसमेत भएकाले नेपाली पत्रकारिता थप परिपक्व भएको भन्न सकिन्छ ।
यस्तो समयमा आउने मुख्य चुनौती भनेको पत्रकारको नैतिकताको विषयमा छ । अहिले यसबारे पनि नेपालमा व्यापक बहस भएकाले समयक्रमसँगै यो सुधार हुँदै जाने अपेक्षा गर्न सकिन्छ । कतिपय सूचनाको प्राविधिक पक्षलाई मात्र लिन सकिदैन, हाम्रा सामग्री समाजका लागि भएकाले यसमा नैतिकताको पक्षसमेत जोडिन्छ । पहिला बन्ने दौड र रोचक बनाउने दाउमा नैतिक पाटोलाई बिर्सिन नहुने विषयमा सायद दुईमत नहोला ।
यस्तै रिपोर्टिङको क्रममा पीपीईजस्ता स्वास्थ्य सामग्रीको प्रयोग गर्न जनस्वास्थ्यविद्को सुझावहरू पालनामा समेत उदासीनता देखियो । यसमा सञ्चारगृहका सञ्चालक बढी दोषी छन् । उच्च जोखिम लिई काम गर्ने पत्रकारलाई यी सुविधा उपलब्ध गराउने दायित्व भए पनि जोखिमको समयमा समेत सञ्चारगृहले यथेष्ट सुविधा उपलब्ध नगराउँदा पत्रकारमात्र होइन, उसको पूरा परिवार नै जोखिममा परे । यो आलेख तयार पार्दासम्म नेपालका २४ पत्रकारको निधन र एक हजारभन्दा बढी पत्रकार कोभिड सङ्क्रमित भइसकेका छन् । स्वास्थ्य मापदण्ड पालना र स्वास्थ्य सामग्रीको उपलब्धता सहज भएको भए पक्कै पनि यो आँकडा यति ठूलो आकारमा हुने थिएन ।
पत्रकारितामा यही समय ठूला चुनौतीसमेत आयो । विशेषगरी गलत समाचार र पुष्टि नभएका समाचारको व्यापार गर्ने प्रवृत्तिका कारण आम जनमानस भ्रमित भए र यसैको फलस्वरूप वास्तविक पत्रकारसमेत विवादमा मुछिए । यसका लागि प्रेस काउन्सिल नेपालले पनि नियमन गर्दै फेक न्युजको खेती गर्नेलाई कारबाहीको दायरामा ल्याउँदा यस घटनामा केही कमी आए पनि यसलाई पूरै नियन्त्रण गर्न भने सकेन । आशा गरौँ, भोलिका दिनमा यस्ता गतिविधि नियन्त्रणमा प्रेस काउन्सिलको प्रयास थप प्रभावकारी हुनेछ ।
महामारीको समयमा विशेषगरी कोरोनाविरूद्धको खोप र सङ्क्रमणका विषयमा आएका गलत समाचारका कारण आममानिसको गलत धारणा बनिरह्यो । खोप लगाएका फलानाको मृत्यु भन्नेजस्ता समाचारका कारण आज पनि कतिपय मानिस कोरोनाविरूद्धको खोप लिन हच्किइरहेका छन् । कतिपय सञ्चारमाध्यमबाट आउने समाचार मनगढन्ते हुँदा यसले गम्भीर भ्रम सिर्जना गर्ने जोखिम रहन्छ । यसबारे पनि जनस्तरमा स्पष्ट पार्नुपर्ने थप जिम्मेवारी नेपाली पत्रकारिताको काँधमा आएको देखिन्छ । कम्तीमा समाचारको प्रभाव समाजमा कस्तो हुन्छ भन्ने सामान्य विषयमा हेक्का राख्नु आवश्यक देखिएको छ ।
वास्तवमा भन्नुपर्दा केही घटनामा सूचनाको गलत व्याख्याले अन्योल सिर्जना गरे पनि नेपाली पत्रकारिता कम्तीमा कुनै औषधि निर्माता कम्पनी र खोप वास्तवमा भन्नुपर्दा केही घटनामा सूचनाको गलत व्याख्याले अन्योल उत्पादक कम्पनीको प्रचारमाध्यम भने भएन । तर हामीले विश्व पत्रकारितामा यो गलत अभ्यास भने देखिरह्यौँ । जस्तैः मलेरिया सङ्क्रमणको समयमा प्रयोग हुने हाइड्रोक्सीक्लोरोक्विन नामक औषधिको व्यापक प्रचार अन्तर्राष्ट्रिय सञ्चार माध्यममा भइरह्यो । जनस्वास्थ्थविद्हरूले सो औषधि प्रभावकारी नभएको बताइरहँदा पनि एकोहोरो ती औषधिका पक्षमा माहोल बनाउने काम भइरह्यो । कतिपय साना मुलुकमा ती औषधि पठाउने र ती देशमा औषधिको अभाव भई कालोबजारी हुने अवस्थासमेत बन्यो । तर, ती औषधिका विरूद्ध भनिएका विज्ञको भनाइले भने उचित स्थान पाउन सकेन । यस्तै इबोलाको औषधिको हकमा पनि यही घटना दोहोरियो । यी औषधिको प्रयोगले कोरोना सङ्क्रमितमा प्रभावकारी भएका खबरहरू आए पनि यी अन्ततः झूट साबित भए ।
यी खबर आउनुका पछाडि ती औषधि निर्माता कम्पनीको प्रभाव रहेको चर्चा पनि चल्यो । तर, कम्तीमा नेपालमा त्यो अभ्यास भएन परिपक्व हुने क्रममा रहेको नेपाली पत्रकारिताले धेरै कुरा सिक्न बाँकी छ तर अहिलेसम्म मानव स्वास्थ्यलाई जोखिममा पार्ने प्रायोजित समाचारलाई स्थान दिने अभ्यास भने छैन । मूलधारको मिडियाले यसमा विशेष ध्यान दिएकै छ ।
यस्तै खोपकै विषयमा पनि छिमेकी मुलुक भारतमा चिनियाँ खोप प्रभावकारी नभएको र खोप लगाउनेको मृत्यु भएको भन्नेजस्ता प्रायोजित समाचारको निरन्तर प्रवाह भयो । भारत चीन भूराजनीतिको कारण भएको यो प्रचारकारिता नेपालमा भने भएन । खोपका समाचारहरू सबै मिडियाले प्राथमिकताका साथ प्रसारण गरे । यस अर्थमा पनि नेपाली पत्रकारिताले गर्व गर्नुपर्छ । हामीले कतै प्रभावित नभई सूचना सम्प्रेषणमा इमानदारिता पेस गर्नसक्यौँ । आम जनमानसको चासोलाई प्राथमिकतामा राखेर हामीले काम गर्नसक्यौँ । यो ठूलो उपलब्धि हो ।
वास्तवमा भन्नुपर्दा यस समयमा नेपाली पत्रकारिता अहिलेसम्मकै सबैभन्दा बढी सार्वजनिक सेवा बन्न सक्यो । राज्यको चौथो अङ्गको रूपमा रहेको पत्रकारिता र यस क्षेत्रमा आफ्नो जीवन दिइरहेका पत्रकारकै मिहिनेत र इमानदारिताले कठिन समयमा भ्रमपूर्ण र गलत समाचारलाई गुणस्तरीय समाचारबाट नै निर्मूल गर्न सकिन्छ भन्ने उदाहरण कायम भयो । अहिले जसरी सञ्चार माध्यमहरूको उदय हुने, स्थापित हुने क्रम छ, यसले आगामी दिन अझै सुनौलो रहेको देखिन्छ ।
हरेक समस्याले नयाँ शिक्षा दिएर गएको हुन्छ । कोभिड–१९ को विश्वव्यापी महामारी आएपछि पनि हरेक क्षेत्रमा जस्तै पत्रकारिता जगत्लाई नयाँ शिक्षा दियो । अनि, नयाँ शैली सिक्ने अवसर पनि ।
प्रत्यक्ष भेट हुन नसक्ने अवस्थामा पत्रकार सम्मेलनसमेत जुम एपबाट भयो । समाचारका बाइट लिने कामसमेत जम र भाइबरको प्रयोग भए । अझ अन्तर्वातासमेत जुमबाट लिन सक्ने अवस्थाका कारण सुरक्षितरूपमा समाचार प्रवाह सम्भव भयो । कोभिड–१९ महामारीको विषयमा सबैले थाहा पाए पनि कोभिडजस्तै अन्य सङ्क्रामक रोगको प्रकोप सधैँ नै हुन्छ । अहिलेको महामारीले यस्तो अवस्थामा कसरी सतर्क भई काम गर्न सकिन्छ, फिल्डमा जाँदा हुनसक्ने सम्भावित जोखिमबारे थुप्रै कुरा सिकायो । तर, विडम्बना ! ती सबै सिकेका विषयलाई निरन्तरता दिन भने हामी चुकेका छौँ, त्यो स्पष्टै देखिन्छ ।
विगतमा एउटा कार्यक्रममा जाँदा हुने शैलीकै भीडभाड अहिले पनि देखिन्छ । टेलिभिजनले आफ्नो बुम माइक तेर्साउने र अनलाइन पोर्टलले मोबाइलबाट लात् दिने प्रतिस्पर्धा गर्दा कोभिड–१९ को समयमा सिकेको स्वास्थ्य प्रोटोकल फेरि बिर्सिइसकेको जस्तै देखिन्छ । जनस्वास्थ्यविद्हरू अझै पनि महामारीको जोखिम भएको बताइरहेका छन् ।
फेरि स्वास्थ्य प्रोटोकलले कोभिडमात्रै होइन, अन्य सङ्क्रामक रोगबाट समेत जोगाउन सक्छ । तर, यस पक्षलाई बिल्कुलै बेवास्ता गरिँदा कोभिडको समयमा सिकेको शिक्षा उपयोग हुन सकेन । पश्चिमा मुलुकमा जस्तै पत्रकार सम्मेलनका आयोजक एकातिर बस्ने र प्रश्न सोध्ने पत्रकार एक लहरमा पालैपालो प्रश्न सोध्ने शैलीलाई नियमित बनाउन सक्नु आजको आवश्यकता हो । यसले खराब भाषा र शैलीमा प्रश्न सोध्नेलाई दुरूत्साहित गर्छ भने भद्र शैलीलाई प्रोत्साहन गर्छ । यसले समग्र पत्रकारिता जगतलाई सकारात्मक फाइदा नै पुग्छ ।
पछिल्लो समय नेपाली पत्रकारितामा देखिएको आकर्षण र नयाँ मिडिया आउने क्रमको तीव्रताले अब भने यो पेसा थप जिम्मेवार र प्रतिस्पर्धात्मक हुनुपर्ने देखिन्छ । महामारी र ठूला राजनीतिक परिवर्तनमात्र होइन, नेपाली पत्रकारितालाई आममानिसको दैनिक जीवनसँग नै जोडेर यसलाई अझ उचाइमा पु¥याउनु जरूरी छ ।
यस्तै समाचारका विषयवस्तु र यसको प्रभावलगायतका विषयमा अध्ययन हुनु आवश्यक छ । अहिले स्वास्थ्य टिप्स दिने नाममा इन्टरनेटमा भेटिएका सामग्रीलाई चिकित्सकबाटै आएको भनाइझैँ प्रस्तुत गर्ने अभ्यास बढिरहेको छ । यसको प्रभाव नकारात्मक छ कि सकारात्मक यसको अध्ययन हुनुपर्छ । यस्तै हत्या र आत्महत्याको विषयमा लेखिने समाचार र यसको सामाजिक प्रभाव पनि लेख्नैपर्ने हुन्छ । यीबाहेक व्यक्तिगत जीवनसँग सम्बन्धित समाचार र यसको प्रभावबारे पनि अध्ययन र बहस हुन आवश्यक छ । अन्यथा, समाचार बिकाउने बहानामा विकृत अभ्यास मौलाउँदै जाँदा भविष्यमा यसलाई नियन्त्रण गर्न कठिन हुन सक्छ ।
अहिले जसरी पत्रकारितामा क्रान्ति भइरहेको छ, यसले समग्र पत्रकारितामा यो बहस चलिरहेको छ । नेपाली पत्रकारिता क्षेत्रले पनि यसबारे बहस चलाउन आवश्यक भइसकेको छ । समाचारले समाजमा पार्ने प्रभाव र कस्ता समाचार आमदर्शक/श्रोता/पाठकको प्राथमिकतामा छन् भन्ने अध्ययनले पक्कै पनि नेपाली पत्रकारितालाई नयाँ उचाइमा पु¥याउँछ भन्ने विश्वास गर्न सकिन्छ ।
समस्या र चुनौती सबै क्षेत्रमा छ । नेपाली पत्रकारितामा नहुने कुरै भएन । तर, यसले अवसरको बाटो पनि खोल्छ भन्ने तथ्यलाई भुल्नुहुदैन । नेपाली पत्रकारिता व्यावसायिक हुँदै जाने क्रममा अझै पत्रकारलाई शोषण गर्ने र न्यूनतम पारिश्रमिकबाट समेत वञ्चित गर्ने प्रवृत्ति पूरा हट्न सकेको छैन । आफैँ व्यावसायिक भई पत्रकारहरूले यस प्रवृत्तिलाई निरूत्साहित गर्नुपर्छ । पत्रकारिता पेसामात्रै होइन, जिम्मेवारी पनि हो । यसलाई बहन गर्न चाहनेहरूको सङ्ख्या बढिरहेको छ, जसले गर्दा नेपाली पत्रकारिता नयाँ उचाइमा पुगेको देख्न धेरै समय कुर्नुपर्ने छैन ।
(लेखक शिलापत्र डटकममा कार्यरत पत्रकार हुनुहुन्छ ।)
स्रोतः ‘संहिता’, असोज २०७८

Leave a Reply

Your email address will not be published. Required fields are marked *