
राणा अयुब
गएको साता मुम्बईका विज्ञापन निर्माता मेरा मित्रले मलाई फोन गरे । उनी व्यापारिक विज्ञापन बनाउने काम गर्छन् । अहिले उनी एउटा विज्ञापन बनाउँदै रहेछन् । तर, केही दिनदेखि उनको काम रोकिएको रहेछ । राजनीतिसँग उनको कामको कुनै लिनुदिनु छैन । उनले बनाउँदै गरेको विज्ञापनको मुख्य पात्र भारतीय सेनाका एक जना सिपाही हुन् । त्यो पात्रको नाम मुसलमान राख्ने उनको विचार रहेछ । त्यही कारण उनको काम रोकिन गयो । यस्तै घटना केही समय अघि पनि भएको थियो । गत अक्टोबर महिनामा बहुराष्ट्रिय व्यापारिक सङ्गठन टाटाको गहना ब्रान्डको विज्ञापनमा एक जना हिन्दू महिला आफ्ना मुसलमान सासु ससुरासँग हिँड्दै गरेको देखाइएको थियो । विज्ञापनको त्यो दृश्यले सामाजिक सद्भाव प्रवद्र्धन गथ्र्यो । तर, यो अवधारणा मेरो साथीलाई काम दिने निकायलाई चित्त बुझेन । त्यसमा हेरफेर गर्न भनियो । मेरा मित्र त्यसको निम्ति तयार भएनन् । फलतः उनले त्यो काम पाएनन् ।
उनको भय अनपेक्षित थिएन । मेरा विज्ञापन निर्माता मित्रले काम नपाएको झण्डै एक सातापछि अक्टोबर १९ मा भारतको नेतृत्वदायी कपडा ब्रान्ड ‘फ्याब इन्डिया’ को विज्ञापनलाई दक्षिणपन्थी राष्ट्रवादीहरूले भत्र्सना गरेपछि त्यो विज्ञापन नै बन्द गरियो । त्यो विज्ञापनमा बहुलवाद प्रवद्र्धन गरेको र हिन्दू चाडमा उर्दू शब्दावली प्रयोग गरेको भनी दक्षिणपन्थी राष्ट्रवादीहरूले भत्र्सना गरेका थिए । भारतका कट्टर दक्षिणपन्थीहरू त्यस्ता गतिविधिलाई अल्पसङ्ख्यकहरूको बेइमानीको रूपमा लिन्छन् ।
सन् १९४७ मा विभाजनपछि भारतमा चह¥याएको घाउलाई कट्टर दक्षिणपन्थी समूहरूले साम्प्रदायिक ध्रुवीकरणलाई बढावा दिइरहेका छन् । ती समूहहरू भारतलाई हिन्दू राष्ट्र हुनुपर्ने मान्यता राख्छन् । भारतका अन्य सबै धर्म हिन्दू धर्मको अधीनमा हुनुपर्ने सोच्छन् । यही विचारधाराको आधारमा नरेन्द्र मोदीले चुनाव जितेका हुन् । मोदी दक्षिणपन्थी राष्ट्रवादी सङ्गठन राष्ट्रिय स्वयम्सेवक सङ्घका उत्पादन हुन् । महात्मा गान्धीको हत्या गर्ने नाथुराम गोडसे यही सङ्गठनका सदस्य थिए ।
सन् २०१४ यता मोदी भारतका प्रधानमन्त्री छन् । सन् २००४ को अप्रिलमा भारतको सर्वोच्च अदालतका एक पूर्व प्रधानन्यायाधीशले मोदीलाई ‘निसहाय बालबालिका र निर्दोष महिलालाई जिउँदै जलाउने आधुनिक समयका निरो’ भनी व्याख्या गरेका थिए । त्यसको एक वर्षअघि अदालतले गुजरातको मोदी सरकारप्रति विश्वास गुमेको बताएको थियो । सन् २००२ को फेबु्रअरीमा गुजरातमा मोदी सरकारकै पालामा हिन्दू राष्ट्रवादीहरूले महिनौँ महिना हजारौँ हजार मुसलमानहरूको हत्या गरेको थियो । अदालतको यही फैसला र मानवअधिकारवादीहरूको चर्को दबाबको कारण मोदीलाई संरा अमेरिकामा जान रोक लगाइएको थियो ।
तर, सन् २०१३ मा मोदी भारतीय जनता पार्टीको तर्फबाट प्रधानमन्त्री पदका उम्मेदवार बने । त्यसले भारतका अल्पसङ्ख्यक समुदायमा अझ जब्बर हिन्दू अतिवादको सम्भावना देखेर त्रास फैलिएको थियो । त्यतिबेला भारतमा भ्रष्टाचारविरोधी आन्दोलन चर्किरहेको थियो । त्यस परिस्थितिमा मोदीले भ्रष्टाचार र बेरोजगारीका समस्याबाट उकास्ने वाचा गरे । भारतका ठुला व्यापारीहरूले चलाएका मध्यपन्थी र उदारपन्थी सञ्चारमाध्यम विगतका कुरा बिर्सने रोग (अम्नेसिया) बाट ग्रसित भए । उनीहरूले सजिलै मोदीको विगतलाई बेवास्ता गरे र भारतीय जनतालाई समावेशी भारत बनाउने मौका नगुमाउन आह्वान गरे ।
आज मोदीको शासनकालमा महात्मा गान्धीको हत्या गर्ने नाथुराम गोडसे भारतमा एक प्रकारले राष्ट्रवादी नायक बनेका छन् । गान्धीको जन्म दिन अक्टोबर २ मा मोदीले गान्धीको महानताबारे मुखले ठीक्क पारे । तर, मोदीका भक्तहरू भने स्वतन्त्र भारतका प्रथम अतिवादी हिन्दू आतङ्कवादी नाथुराम गोडसेको प्रशंसा गरे । गान्धीको जन्म दिनमै भारतीय चलचित्र निर्माता महेश मञ्जरेकरले आफ्नो आउन लागेको चलचित्र ‘गोडसे’ को पोस्टर ट्वीट गरे । पोस्टरमाथि टिप्पणी गर्दै लेखिएको थियो, ‘जन्मको दिन हार्दिक शुभकामना, उही तपाईँको गोडसे ।’
आदर्श विश्वमा एक जना आतङ्कवादीलाई यसरी कदर गर्दा सर्वसाधारण जनताले तपाईँको अनुहारमा कालोमोसो दल्थे । तर, आजको भारतमा यस्तो काम (अनुहारमा कालोमोसो लगाउन दिने) अल्पसङ्ख्यक र नागरिक अधिकार रक्षा गर्न खोज्ने अभियन्ताको भागमा मात्र पर्ने गरेको छ । मुसलमानहरूसँग आफ्नो राष्ट्रियताको प्रमाण खोजी गर्ने विभेदकारी नागरिकता विधेयक र राष्ट्रिय नागरिक पञ्जीकरणविरुद्ध शान्तिपूर्ण प्रदर्शनमा सहभागी बनेको कारण देशद्रोह र आतङ्कवादको अभियोगमा विगत एक वर्षभन्दा बढी समयदेखि २८ वर्षका गुलफिशा फातिमा कैद जीवन बिताइरहेकी छिन् । भारतको उत्तरी राज्य उत्तर प्रदेशमा एक जना तल्लो जातकी बालिकाको सामूहिक बलात्कारको घटना ढाकछोप गर्न पत्रकार सिद्दिकी कप्पनलाई गिरफ्तार गरिएको छ । उनी एक वर्षदेखि जेलमा छन् । उनले मर्न लागेकी आफ्नी आमालाई पनि भेट्न पाइनन् । गुलफिशा र कप्पन दुवै जना अभियन्ता मात्र होइनन्, उनीहरू दुवैको थर पनि मुसलमान थर छ । अनि भारतमा यति भएपछि आतङ्कवादी कहलिन अरू कुनै कारण चाहिन्न ।
पत्यार लाग्दैन ? गत महिना मात्र भएका निम्न घटना हेर्नुस् ।
– गत शुक्रबार राजधानी नयाँ दिल्लीमा हिन्दू राष्ट्रवादीहरूले मुसलमानहरूको नियमित प्रार्थना बिथोले । हिन्दू राष्ट्रवादीहरूले सो क्रममा नारा लगाएका थिए,“मुसलमानलाई काट्दा भगवान रामको जय हुन्छ ।’
– छत्तीसगढमा तीन हजारको सङ्ख्यामा राष्ट्रवादीहरूको भीडले कफ्र्यु तोडेर तरबार, लाठी र अन्य हातहतियारसहित जुलुस गरे । उनीहरूले नारा लगाएका थिए–जय श्रीराम ¤ जुलुसले मुसलमानहरूका घर र गाडीमा हमला गरेका थिए । मुसलमानहरूका सम्पत्तिमा क्षति पु¥याएका थिए ।
– आसाम राज्यमा ३० र १९ वर्षका दुई मुसलमान पुरुषलाई एउटा प्रदर्शनमा सशस्त्र बलले निर्ममतापूर्वक गोली हानी हत्या ग¥यो । एक जना मुसलमान मारिँदा प्रहरीसँग मिसिएको एक जना फोटो पत्रकार मृतकको लासमाथि उफ्रेर लात मारेका थिए ।
– त्यही महिना भारतकै सबभन्दा ठुलो राज्य उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मुसलमानहरूको सार्वजनिकरूपमा खिल्ली उडाए । उनले सार्वजनिक समारोहमै मोदी सरकार भारतीय मुसलमानहरूको ‘अब्बाजान’ नभएको बताए । (हिन्दूस्तानी मुसलमानहरू पितालाई अब्बाजान भन्छन् ।)
– हिन्दू राष्ट्रवादीहरू मुसलमान पुरुषहरूमाथि ‘प्रेम युद्ध’ (लभ जिहाद) नामको जङ्गली षड्यन्त्रमा संलग्न भएको आरोपमा पक्राउ र हमला गर्छन् । ‘प्रेम विद्रोह’ को अर्थ मुसलमान प्रेमीसँग विवाह गर्न र धर्म परिवर्तन गर्न हिन्दू महिलालाई मोहित पार्नु हो । त्यसो गरेर सन् २०५० सम्ममा भारतमा मुसलमानहरूको जनसङ्ख्या बढाउने र भारतमाथि कब्जा जमाउने योजना रहेको हिन्दू राष्ट्रवादीहरूको बुझाइ छ । (इन्टरनेटमा सजिलै उपलब्ध हुन सक्ने जनसाङ्ख्यिक तथ्याङ्कको अध्ययनले भने त्यसो हुने देखिँदैन ।)
– अक्टोबर १ मा दक्षिणी कर्णाटक राज्यमा हिन्दू महिलासँग सम्बन्ध भएका अर्बाज अफताब मुल्लाहको निर्ममतापूर्वक मारिएको अवस्थामा भेटिए । उनका हात बाँधिएका थिए । शरीरका भाग टुक्रा टुक्रा पारेर रेलको बाटोमा फालिएको अवस्थामा भेटिएको थियो । कर्णाटक प्रहरीले सो घटनामा संलग्नताको आरोपमा ‘श्रीराम सेना’ नामको हिन्दूवादी समूहका ३३ जना मानिसलाई पक्राउ गरेको थियो ।
– बितेका दस दिनमा हिन्दू राष्ट्रवादी सङ्गठन बजरङ्गी दलले हिन्दूहरूको पर्व नवरात्रीको दिन शाकाहारी खाना खान र मासु नबेच्न भन्दै मुसलमानहरूका मासु पसल र घरमा हमला गरेको थियो ।
– ‘द वायर’ वेभसाइटमा प्रकाशित एक समाचारअनुसार अक्टोबर १८ मा एक जना हिन्दू राष्ट्रवादी नेताले रेलमा एक जना मुसलमान पुरुषको अपमान गरिरहेका थिए । त्यसरी अपमान गरिरहेको श्रव्यदृश्य आफ्नो फेसबुक पृष्ठमा पोस्ट गरेर उनले लेखेका थिए, ‘जिहादी सर्प मार्दै ।’
– मध्यप्रदेशमा हिन्दूहरूको मेलामा दस वर्षका एक जना मुसलमान बालकको उपस्थितिको कारण भड्किएको हिंसाका कारण दस दिन कफ्र्यु घोषणा गरिएको थियो भने दुई दर्जन मानिस पक्राउ गरिएका थिए ।
यी सबै गएको महिना भएका घटना हुन् । सन् २०१४ को मे महिनामा मोदीको सत्तारोहण यता मुसलमान समुदायमाथि भएका सबै हमलाको अभिलेखीकरण गर्ने हो भने एउटा पुस्तक लेख्न पुग्ने मनग्य सामग्री फेला पार्नुहुनेछ । मुसलमानहरूलाई सार्वजनिक सडकमा मात्र यस्तो व्यवहार भइरहेको छैन, हिन्दू चलचित्र उद्योगका चलचित्रहरूमा पनि उनीहरूलाई बर्बर हमलाकारीको रूपमा उपेक्षा वा बद्ख्वाईँ गरिएको छ । एक जना पाका चलचित्र निर्देशकले मलाई भनेका थिए, “आजको भारतमा मनोरञ्जन क्षेत्र (पपुलर कल्चर) लाई राजनीतिबाट अलग राख्न सकिन्न । हरेक ठुला चलचित्र निर्देशक, निर्माता, कलाकारविरुद्ध आयकर कार्यक्रममा सूचना तयारी अवस्थामा छ । उनीहरू सबैलाई बोलाइन्छ, घण्टौँ घण्टा राखेर सोधपुछ गरिन्छ, धम्की दिइन्छ । शान्तिसँग बस्न उनीहरूले सरकारको पक्षमा प्रचार सामग्री बनाउनुपर्छ । जसले त्यसो गर्दैन उनीहरूको मुख थुनिएको छ ।” तिनी निर्देशकले आफू देश छोड्न चाहिरहेको बताए । उनलाई आफूले कोही तानाशाहको भय अनुभव गरिरहेको बताए ।
मोदी सरकारसँग सहकार्य गर्न नमान्ने जो कोहीलाई सजाय दिइएको छ । भारतका चर्चित चलचित्र नायक शाहरूख खानले इस्लाम भय (इस्लामोफोबिया) लाई चुनौती दिने भूमिका खेलेका छन् । उनले भारतमा बढ्दो असहिष्णुताबारे बहादुरीका साथ बोलेका छन् । अक्टोबर २ का दिन खानका २३ वर्षका छोरा आर्यन खानलाई एउटा पानीजहाजबाट उनका साथीहरूसँगै भारतको लागूऔषध नियन्त्रण ब्युरोले पक्राउ ग¥यो । कथित लागूऔषध दुव्र्यसनीमाथि छापा मार्दा भारतीय जनता पार्टीका कार्यकर्ताहरूले सरकारी लागूऔषध अधिकारीहरूलाई ‘निर्देशन’ दिइरहेको मैले ‘द वाशिङ्टन पोस्ट’ मा समाचार पठाएको छु । पक्राउको क्रममा भाजपाका कार्यकर्ताहरूको उपस्थिति सिधा अवैधानिक हो । आर्यन खान बितेका आठ दिनदेखि जेलमा छन् । उनलाई अझै पनि तारिखमा छोडिएको छैन ।
खान भारतका सबभन्दा चर्चित भारतीय मुसलमान नायक हुन् । उनका समर्थकहरूको सङ्ख्या निकै ठुलो छ । उनीजस्ता मान्छेलाई त विरोध गरेबापतको मूल्य असुलिन्छ भने शाहरूख खानको जस्तो छवि पनि नभएका र अदालतमा मुद्दा लड्ने पैसा पनि नभएका सर्वसाधारण जनताको हालत के भयो होला ? नयाँ दिल्लीमा आयोजित विद्यार्थीहरूको प्रदर्शनमा सहभागी बनेकी विद्यार्थी कार्यकर्ता सफोरा जार्गर गर्भवती अवस्थामा पनि दिल्लीको तिहाड जेलमा कैद छिन् । संरा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प भारत भ्रमणमा आउन केही दिनअघि सन् २०२० को फेब्रुअरीमा भारतीय जनता पार्टीका नेता जस्तै कपिल मिश्रले एउटा जुलुसको आयोजना गरेका थिए । त्यहाँ उनीहरूले प्रष्टतः भारतीय मुसलमानहरूप्रति लक्षित गरी देशद्रोही र राष्ट्रविरोधीहरूविरुद्ध आक्रामक भाषण गरेका थिए । त्यही आक्रामक भाषणको कारण भारतमा मुसलमानविरुद्ध उपद्रव फैलियो । मुसलमानविरुद्ध उपद्रव मच्चिंदै गर्दा ट्रम्प र मोदी राजधानीमा भव्य समारोहमा खुसियाली मनाउँदै थिए । मोदीका प्रहरी उपद्रव मच्चाउन थप मसला भर्दै थिए । एउटा भिडियोमा प्रहरीले घाइते मुसलमान पुरुषहरूको एउटा समूहलाई कुट्दै भारतको राष्ट्रिय गान गाउन लगाइरहेका थिए । उनीहरूमध्ये एक जनाको पछि ज्यान गयो ।
तर, घटनाका दोषीलाई कार्वाही गर्नुको सट्टा दिल्ली प्रहरीले फैलिँदो महामारीबीच विभेदकारी नागरिकता विधेयकको विरोधमा प्रदर्शन आयोजना गरे बापत सफोरा जर्गरजस्ता विद्यार्थीलाई पक्राउ गरिरहेका थिए । जर्गरलाई चिसो भुईँमा सुत्न बाध्य बनाइएको थियो । गर्भावस्थामा पाउनुपर्ने सबै अधिकारबाट उनलाई वञ्चित बनाइएको थियो । पछि उनलाई तारिखमा रिहा गर्दा आफूलाई ज्यादै मुस्किलले मात्र जीवन जोगाउन सफल भएको मलाई बताइन् । उनी बेरोजगार छिन् । तारिख धाउँदै गर्दा उनले जीवनयापनको कुनै अर्को स्रोत पाउन सकेको छैन ।
‘आइ विल बियर विटनेस’ (म प्रत्यक्षदर्शी बन्न तयार छु) को भाग १ मा भिक्टर क्लिम्पेररले लेखेका छन्, “ठुला कुरा मात्र महत्वपूर्ण हुन्छन् भन्ने होइन । बरु निरङ्कुशताअन्तर्गत दैनिक जीवन कहिल्यै भुल्न नसकिने हुन्छ । एक मुक्का प्रहारभन्दा खराब हुन सक्छ, हजारौँ लामखुट्टेको टोकाइ । मैले लामखुट्टेको टोकाइ देखेको र भोगेको छु ।”
धन्य पूर्वाग्रही लामखुट्टेका टोकाइ । धेरै भारतीयहरू आज आफ्नै देशमा सन्त्रास अनुभव गरिरहेका छन् । सर्वसाधारण जनता आफ्ना मोबाइलमा सामान्य कुराकानी गर्न पनि सुरक्षित अनुभव गर्दैैनन् । बरु उनीहरू ह्वाट्स एप वा सिग्नल नामका सञ्चार एप प्रयोग गर्न रुचाउँछन् । उनीहरू सरकारको विषयमा कुनै पनि गुनासो रेकर्ड हुने वा आफूविरुद्ध प्रयोग हुन सक्नेमा डराउँछन् । भारतको साम्प्रदायिक ध्रुवीकरणविरुद्ध लड्न फेसबुक, इन्स्टाग्राम र ट्वीटरजस्ता सामाजिक सञ्जालले आज हामीले जे देखिरहेका छौँ, त्यसलाई रोक्न निकै कम मात्र प्रयास गरेका छन् । घृणा यति सामान्य विषय बनेको छ, अधिकांश पत्रकारहरू यस्ता विषयमा लेख्ने थोरै भद्रतासमेत देखाउन सक्दैनन् । आफ्ना लेख र स्तम्भमा यस्ता निर्ममताबारे लेख्ने हामीजस्ता पत्रकारहरूलाई वास्तविक घटनालाई अतिरञ्जनापूर्ण बनाउनेहरूको बिल्ला लगाइएको छ ।
फेसबुकका एक जना वरिष्ठ कर्मचारी फ्रान्सिस हौगनले गत अक्टोबरमा संरा अमेरिकी संसदमा भएको सुनुवाइका क्रममा दिएको व्याख्यानले हाम्रो भयलाई अझ निश्चित गरेको छ । हौगनले संसदमा मोदीको भाजपाको वैचारिक सङ्गठन राष्ट्रिय स्वयम्सेवक सङ्घ (आरएसएस) बारे बोलेका थिए । उनले भनेका थिए,“भारतमा आरएसएसले मुसलमानहरूविरुद्ध अपराध फैलाउन फेसबुक पृष्ठहरूलाई क्रुर सोचाइमा आधारित झुट फैलाउन प्रयोग गर्ने गरेको छ ।” सीबीसी समाचार वेभसाइटले प्रकाशन गरेको फेसबुकबाट चुहिएका दस्तावेजमा लेखिएको छ,“आरएसएस प्रयोगकर्ता, ग्रुप र पेजहरूले मुसलमानविरुद्ध डर पैmलाउँछ । हिन्दूपक्षधर जनतालाई लक्षित गरी हिंसा र उपद्रव फैलाउने मनसायबाट मुसलमानविरुद्ध प्रचार गर्ने गरेका छन् … मुसलमानहरूलाई ‘सुंगुर’ र ‘कुकुर’ सँग तुलना गरिएका अमानवीय पोस्ट पनि बग्रेल्ती छन् । मुसलमान पुरुषले आप्mनै परिवारका महिलाहरूलाई बलात्कार गरेकोजस्ता गलत सूचना पनि फैलाइएको छ ।
घृणाका कुरा सामाजिक सञ्जाल र ह्वाट्स एपमा मात्र सीमित छैन । भारतका हिन्दुहरूलाई कट्टर बनाइएको छ । यसले भारतका बाँकी हामीलाई समेत प्रभावित बनाएको छ । आसाममा एउटा मृत लासमाथि एक जना फोटो पत्रकार गहिरो घृणासहित नाच्दै गरेको दृश्यलाई कसरी व्याख्या गर्ने ? आसाम जहाँ हजारौँ मुसलमानहरूलाई आफ्नो पितापुर्खाको थलोबाट निष्काशन गरिएको थियो । यस्तो घृणा बहुमत हिन्दूका अधिकांश जनतामा फैलिएको छ । आज उनीहरूलाई दण्डहीनतालाई आवाज दिन अनुमति पत्र दिएको छ । मेरा आत्मीय छिमेकी, हाम्रा स्थानीय चिकित्सक, उही मित्रवत सौन्दर्यकर्मी र म बस्ने कोठाको पल्लो कोठामा बस्ने एउटा प्रतिष्ठित कलेजका प्राचार्यले हाम्रो समुदायको ह्वाट्स एप ग्रुपमा घातक र पूर्वाग्रही ह्वाट्स एप सन्देश पठाउने गर्छन् । प्राचार्यका नातिले मेरो भतिजालाई प्राचार्यले मुसलमानको घरबाट पानी पनि नपिउन भनेको सुनाएका रहेछन् । उनीहरूले हामीप्रतिको घृणालाई लुकाउन पनि छोडेका छन् । नागरिक बनिसकेका मेरो साथीहरू सामाजिक सञ्जालमा सार्वजनिकरूपमा आफ्नो घृणाभाव पोख्ने गरेका छन् । उनीहरूलाई थाहा छ त्यो पोस्ट मुसलमान र इसाइ साथीहरूले पनि हेर्ने कुरा ।
वर्षौँ वर्षसम्म भारतका हिन्दू राष्ट्रवादीहरूले मुसलमानहरूमाथि आफ्नो सर्वोच्चता जटाउन खोजिरहे । महात्मा गान्धी र नेहरूले प्रजातन्त्र र धर्मनिरपेक्षता स्थापना गरेर हिन्दू राष्ट्रवादीहरूबाट त्यो सर्वोच्चता खोसेका थिए । अहिले उनीहरू त्यो सर्वोच्चता स्थापना गर्ने दिन आएको ठान्दैछन् । आज उनीहरूका मान्छे सत्तामा छन् । फासीवादमा हाम्रो पतन अहिले पूर्ण भएको छ । भारत औपचारिक रूपमा अब फासीवादी हिन्दू कट्टरपन्थी राज्य बनेको छ । अमेरिका जस्तो निरीह महाशक्तिको हातमा त्यही फासीवादको रगत परेको छ । हिन्दू राष्ट्रवादका छुल्याहा सन्तान नरेन्द्र मोदीले अन्ततः आफ्नो सपना साकार बनाएका छन् ।
राणा आयुब भारतका पत्रकार र अभियन्ता हुनुहुन्छ ।
स्रोतः राणा आयुबको न्यूजलेटर
नेपाली अनुवादः सुशिला
Leave a Reply