यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
(पत्रकार समाज नेपालको आयोजनामा कार्तिक १२ गते शुक्रबार आयोजित ‘स्तालिनसँग’ पुस्तकको अन्तरक्रिया कार्यक्रममा व्यक्त मन्तव्य)
सर्वहारा वर्गका महान् नेता एवम् समाजवादी क्रान्तिको अग्रमोर्चामा रही विश्वका जनतालाई समाजवाद व्यवहारिकरूपमा लागु गर्नुहुने जेभी स्तालिनका अङ्गरक्षक ए.टी. रेविनद्वारा लिखित ‘स्तालिनसँग’ पुस्तकबारे आज हामी अन्तरक्रिया कार्यक्रम गर्दै छौँ ।
सन् १९९२ मै प्रकाशित यो पुस्तकलाई ‘नर्थस्तार कम्पास’ का प्रधानसम्पादक माइकल लुकासले रुसी भाषामा अनुवाद गर्नुभएपछि संसारका विभिन्न भाषामा अनुवाद भइसकेको छ । यस मौलिक कृतिलाई २९ वर्षपछि नेपालीमा अनुवाद गरी पत्रकार समाज नेपालले पाठकसमक्ष पस्किसकेको छ । ढिलै भए पनि विश्व कम्युनिस्ट आन्दोलनका महान् नेता जेभी स्तालिनबारे तथ्यपरक वास्तविक कुरा नेपाली जनताले केलाउन पाउनु गौरवको विषय भएको छ । पुस्तकाकारमा प्रकाशित हुनुअघि ‘मजदुर’ दैनिकमा यसको धारावाहिक प्रकाशन भएको थियो । पुस्तकको भूमिकामा रुसी क्रान्तिका नायक र खलनायकहरूको छोटो छोटो परिचयसहित पाठकहरूको निम्ति विचारोत्तेजक विवरणहरू दिएर पुस्तकलाई बुझ्न सहज र रोचक बनाउनुहुने नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) प्रति पत्रकार समाज नेपाल आभार व्यक्त गर्दछ ।
पुँजीवादीहरू आफ्नो सञ्चारमाध्यम र प्रकाशनहरूमार्फत स्तालिन बितेको ६८ वर्षपछि पनि उहाँलाई हत्यारा, आतङ्कवादी, नरसंहारकारी भनी अनर्गल प्रचार गर्दै एक जना विश्व कम्युनिस्टको बदनाम गर्ने र समाजवादी व्यवस्थाकै बदख्वाइँ गर्ने धृष्टता गर्दै छन् ।
समाजवाद रक्षात्मक अवस्थाबाट गुज्रिरहेको बेला मक्किसकेका पुँजीवादका हिमायतीहरूले शोषण, उत्पीडन, दमन र लुटको माध्यमबाट कायम गरेको आफ्नो ‘स्वर्ग’ लाई जोगाउन अनेक माध्यमहरू अपनाउनु स्वाभाविकै हो । पुँजीवादी मुलुकका शोषक, फटाहाहरूजस्तै नेपालका ‘कम्युनिस्ट’ र बुद्धिजीवी’ भनाउँदाहरू त्यस्ता हल्लामा लागेर स्तालिनको नाउँ लिनेबित्तिकै नाक खुम्च्याउने, झूटा अभिव्यक्ति दिएर भ्रमको खेती गर्दै छन् । पञ्चिमाहरूले विभिन्न मुलुकहरूमा स्थापना गरेका संस्थान र अस्पतालहरूमा समेत धर्म र मानवताको नाउँमा समाजवाद र का. स्तालिनको विरोधमा प्रचार–प्रसार गरेको पाइन्छ । वि.सं. २०४६ सालतिर आमाको उपचारको सिलसिलामा यस पङ्क्तिकार दक्षिण भारतस्थित भेलोरको मिसन हस्पिटल पुग्नु परेको थियो । त्यहाँ रहेको पुस्तकालयमा पनि का. स्तालिनलाई राक्षस, दानव, आम नरसंहारकारी र हत्याराको रूपमा चित्रण गरिएका पुस्तकहरू पाइयो । त्यहाँ दक्षिणपूर्वी एसियाकै विभिन्न मुलुकका मानिसहरू उपचारकै निम्ति पुग्थे । उनीहरू स्तालिनबारे भ्रमहरू पालेर जान्थे । ती पुस्तकहरूमा लाखौँ रुसीहरूलाई ज्यानको सजाय दिएको, आफ्नै श्रीमतीलाई गोली हानेर मारेको, शङ्का लागेकै भरमा ‘कम्युनिस्ट’ नेताहरूको समेत हत्या गर्न योजना बनाएको आदि कपोकल्पित झूटा कुराहरू वर्णन गरी स्तालिनलाई सन्काहा र क्रूर शासकको रूपमा चित्रण गरिएको थियो । पुँजीवादी प्रचारमाध्यमहरूको बोलवाला भइरहेको अवस्थामा कम्युनिस्ट नेताहरूको बदनाम गर्दै समाजवादको खोइरो खन्ने काम जताततै भइरहेको महसुस हुन्थ्यो । ठाउँ–ठाउँमा जनतालाई समाजवादप्रति गलत र भ्रामक धारणा छरिरहेको थियो । यही बेला जेभी स्तालिनका अङ्गरक्षक ए.टी. रेबिनले यो पुस्तक प्रकाशमा ल्याउनु अत्यन्त सार्थकसिद्ध भएको छ । अङ्गरक्षकले दिएका सबै सूचना यसअघि संसारलाई थाहा थिएन । सोभियत सङ्घको जीवनमा स्तालिनले खेल्नुभएको भूमिकालाई बदनाम गर्ने प्रयासविरुद्ध स्तालिनको नाममा कालोमोसो दल्ने शत्रुका सबै प्रयासविरुद्धको एक महत्वपूर्ण दस्तावेज भएको छ यो ‘स्तालिनसँग’ पुस्तक । यसभन्दा अघि वर्कर्स पब्लिकेसनद्वारा प्रकाशित ‘गुप्त दस्तावेज’ ले पनि स्तालिनबारे पुँजीपति वर्गले फैलाएका भूmटहरू यसरी नै उदाङ्ग्याउने काम गरेको थियो । इतिहासलाई जतिसुकै बङ्ग्याउन खोजिए पनि सत्य तथ्य कुराहरू एक दिन बाहिर आउने नै छन् ।
विश्वासघातीहरूले दशकौँसम्म लुकाएका ऐतिहासिक दस्तावेजहरूको खोज अनुसन्धान गरी कम्युनिस्ट आन्दोलनमा लागेका इमानदार, सिद्धान्तनिष्ठ नयाँ पुस्तालाई कम्युनिस्ट र का. स्तालिनबारेका भ्रमहरू चिर्न यस पुस्तकले मद्दत गर्ने विश्वास छ । कम्युनिस्ट पार्टीभित्र लुकेर बसेका शत्रुहरूविरुद्ध शुद्धीकरण अभियान बारम्बार नथालिएमा विश्व कम्युनिस्ट आन्दोलनमै क्षति पुग्न सकिने हुनाले नेपालको सन्दर्भमा यो पुस्तक त्यतिकै महत्वपूर्ण छ । अन्तरक्रियामा भाग लिनुहुने विद्वत् वर्गबाट पुस्तकमा रहेका घटनालाई केस्रा–केस्रा केलाएर कार्यक्रममा सहभागी महानुभावहरूबीच कामरेड स्तालिनबारे शत्रुहरूले फैलाएको भ्रमलाई छयान्न–ब्यान्न पार्न मद्दत पुग्ने विश्वास छ ।

(लेखक मजदुर दैनिकका कार्यकारी सम्पादक हुनुहुन्छ ।)
Leave a Reply