अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
संयुक्त राज्य अमेरिकाले संसारका स्वाधीन र सार्वभौम देशहरूमा आतङ्क मच्चाउँदै छ । आफरनो देशसँग विचार नमिल्ने तथा आफ्नो स्वार्थअनुकूल नचलेको आधारमा अमेरिकाले अरू देशमा आक्रमण, नाकाबन्दी र हस्तक्षेप गरिरहेको यथार्थ हो ।
संरा अमेरिकी थिचोमिचो र धम्कीको अगाडि झुक्न नचाहने प्रजातान्त्रिक गणतन्त्र कोरिया, समाजवादी देशहरू क्युवा, चीन, बोलिभिया, इराक, लिविया आदि देशहरूमा अमेरिकाले कहीँ आक्रमण गर्ने धम्की, कहीँ दबाब त कहीँ आर्थिक नाकाबन्दी गरेको थियो र गरिरहेकै छ । अमेरिकी हैकम, धम्की, दबाब, नाकाबन्दी र आक्रमणको विरोधमा संसारका समाजवादी तथा प्रजातान्त्रिक देश र आफरनो देशको स्वतन्त्रता र सार्वभौमसत्ता जोगाउन चाहने स्वाधीन देशहरू अमेरिकी साम्राज्यवादको विरोधमा सङ्घर्ष गर्दै छन् । यतिबेला अमेरिकी साम्राज्यवाद, भारतीय विस्तारवाद र राजतन्त्रको विरोधमा संसारका देशभक्त, स्वाधीन र सार्वभौम देशका जनता एकजुट हुँदै छन् ।
तेस्रो विश्वका देशहरू, गरिब देशका जनता तथा स–साना उद्योगधन्दालाई ध्वस्त पार्दै विश्व अर्थतन्त्रमा एकाधिकार कायम गर्न खोज्नु नै साम्राज्यवादीको देश अमेरिकाको चरित्र हो । सैनिक आक्रमण गर्नु, विश्व बैङ्क, अन्तर्राष्ट्रिय मुद्राकोष र बहुराष्ट्रिय कम्पनीहरूमार्फत कहिले निजीकरण त कहिले आफरनो प्रभाव पार्ने काममा अमेरिकाले नेतृत्व गरिरहेको छ । त्यसकोे एसिया, अफ्रिका र ल्याटिन अमेरिकी देशहरूले विरोध गरिरहेका छन् । अरू देशको तेल भण्डारमा आँखा गाड्ने र कब्जा गर्ने, अरू देशमा आर्थिक र राजनीतिक प्रभुत्व जमाउन दबाब दिने, धम्की र आक्रमण गर्ने अमेरिकाको नियत नै हो । क्युवा र प्रजग कोरियामा दशकौँदेखि गरिरहेको नाकाबन्दी असफल भइसकेर पनि अहिलेसम्म फिर्ता लिएको छैन । संसारका सबैजसो मुलुकले संयुक्त राष्ट्रसङ्घको महासभा बैठकमा पटक पटक नाकाबन्दी फिर्ता लिन निर्णय गरे पनि अमेरिकाले त्यो नाकाबन्दी फिर्ता लिएको छैन । यसले अमेरिका संसारका स्वाधीन देशहरूको विरोधमा रहेको थाहा हुन्छ । अमेरिका न्यायोजित माग नसुन्ने देश बनेको छ । अहिले विश्वमा उदय भइरहेको चीनको विरोधमा आर्थिक शक्तिको रूपमा अमेरिका उभेको छ ।
संयुक्त राज्य अमेरिकाले संसारका विकासशील स्वाधीन देशहरूमा एकैपटक हस्तक्षेप नगरी एकपछि अर्काे गरिरहेको छ । अफगानिस्तान, लिविया, इराकलाई ध्वस्त बनाएपछि अमेरिकाले अर्काे देशमा हात हाल्दै छ । अरू देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने, आन्तरिक कलह चर्काएर द्वन्द्व बढाउने, कमजोर पार्ने काम अमेरिकाले गरिरहेको छ । अहिले अमेरिका नेपालमा छिर्ने प्रयास गर्दै छ, छिर्न दबाब दिँदै छ । नेपालमा प्रवेशको लागि ५० करोड अमेरिकी डलरको एमसीसी परियोजनाको लोभ देखाएर असमान र अनैतिक सम्झौता गरेको छ । नेपाललाई खेल मैदान बनाएर गुप्तचरहरू छिराउने र अमेरिकाले चीनलाई घेरा हाल्ने षड्यन्त्र गर्दै छ । अतः साम्राज्यवादी अमेरिकाको यो कुचालको विरोधमा नेपालमा नेपाल मजदुर किसान पार्टीलगायत अन्य देशभक्त, स्वतन्त्रताप्रेमी र न्यायप्रेमी जनताले विरोध गरिरहेका हुन् । देशभक्त नेपाली जनता नेपालको सार्वभौमिकताको विरोधमा रहेको एमसीसी सम्झौता कुनै हालतमा खारेज गर्नुपर्छ भन्ने मागका साथ सङ्घर्ष गर्दै छन् ।
Leave a Reply