भर्खरै :

एउटै आमा नभए पनि एउटै बुबाबाट जन्मेको त हो नि !

एक दिन बिहानै घरको मूल ढोका ढक्ढकाएको आवाज सुनियो । घरमा घण्टी बिग्रेकोले ढोकामा ढकढक गरिएको थियो । श्रीमतीले झ्याल खोलेर हेरिन् । मैले मोबाइलमा घडी हेरेँ । भर्खर साढे पाँच बजेको रहेछ । टोलकै भाउजूको परिवार भेट्न आएको श्रीमतीले जानकारी दिइन् । एकाबिहानै किन भेट्न आएको होला भनी सोच्दै म फ्रेस हुन मुख धुन गएँ । श्रीमतीले मूल ढोका खोलिदिइन् र बैठक कोठामा भाउजूको परिवारलाई बस्न अनुरोध गरिन् । बैठक कोठामा आएपछि भाउजूले ‘नमस्कार बाबु, बिहानै डिस्टर्व गरेकोमा क्षमा पाउँ’ भन्दै कुरा सुरु गरिन् । कोठामा भाउजूको श्रीमान् र छोरा पनि रहेछ । छोरा मेरै विद्यार्थी थियो । मैले तीनै जनालाई ‘नमस्कार’ फर्र्काएँ । सबैलाई चिया ल्याउन श्रीमतीलाई अनुरोध गरेँ ।
टोलकै परिचित परिवार भएकोले भूमिका नबाँधिकनै मैले प्रश्न गरेँ, “बिहानै के कति समस्या लिएर आउनुभयो ? फेरि घरमै किन आउनुभयो ? ठूलै समस्या छ कि ? के भयो दाइ ?” दाइ र छोराको अलि कम बोल्ने बानी थियो । मलाई उहाँहरूको बानी राम्ररी थाहा थियो । मैले दाइलाई प्रश्न गरे पनि भाउजूले तुरुन्त जवाफ फर्काउनुभयो, “बाबु, समस्या नपरी त्यत्तिकै कहाँ आउँछौँ र ? हामीलाई त ठूलै आपत् प¥यो । भाइलाई राम्ररी थाहा नै छ, हाम्रो परिवारबारे । अहिले देवरले जग्गा बेचेर करिब दुुई करोड रुपैयाँ लिन लागेको छ । हामीलाई पनि एक भाग दिनुपर्छ नि होइन र ? पुख्र्यौली सम्पत्ति बेचेपछि दाजुलाई एक भाग नदिइकनै बेच्न लागेको खबर सुनेँ । बाबुले पनि सिफारिस दिन लाग्नुभयो भन्ने हामीले सुन्यौँ । यस्तो अवस्थामा त नामसारीको सिफारिस रोक्नुपर्ने होइन र ?”
भाउजूको कुरा सुनेबित्तिकै मेरो आङ्ग सिरिङ्ग भयो । कहीँ ठूलै गल्ति पो भयो कि भन्ने मनमा लाग्यो । मैले अलि सानो स्वरमा भनँे, “भाउजू, मैले त नामसारीको सिफारिसमा तोक लगाइसकेँ । अनि सरजमिन पनि भइसकेको छ । सरजमिन कागजमा सही गरेर नामसारीको सिफारिस पत्रमा मैले हिजै सही गरेँ । सायद तपाईँको देवरले त्यो सिफारिस कागज वडाबाट लगिसक्यो होला ।”
मेरो कुरा सुनेपछि भाउजू, उहाँको श्रीमान् र छोराको अनुहार अँध्यारो देखियो । मैले सोधिहालेँ, “किन के समस्या छ र सिफारिसमा ?”
भाउजूले अलि रिसाएको स्वरमा भन्नुभयो, “त्यही समस्या भएर त आएको बाबु । मेरो ससुरा बाको तीन वटी श्रीमती भएको बाबुलाई पनि थाहा छ । जेठी श्रीमती कालगतिले मरिन् । उनीबाट कोही सन्तान भएन । मेरो श्रीमान् माइली श्रीमतीको कोखबाट जन्मेको र देवर कान्छी श्रीमतीको कोखबाट जन्मेको हो । वि.सं. २०५५ सालमा हामीलाई थाहा नै नदिइकन दुवाकोटको तीन रोपनी जग्गा कान्छी आमाको नाममा शेषपछिको बकसपत्र दिएको छ । अहिले पनि दुई रोपनी जग्गा बेचेर हामीलाई एक पैसा नदिने भएपछि अन्याय भएन र ? के मेरो श्रीमान्को कुनै हक छैन ? मेरो विवाह भएको तीन महिनामै हामीलाई अलग राखियो । अलग बसेर पनि कलेज पढ्ने भइसकेका छोरा–छोरी हुर्काएँ । कति धेरै दुः ख भोगियो । खानलाई अलिकति खेतमात्र गर्न दिएको छ । सानो एउटा घर दिएको छ । अरू दसौँ रोपनी जग्गा देवरले गरिरहेको छ । देवरको ठूलो आर्थिक कारोबार छ । धेरै पैसा कमाउँछ । हाम्रोे केही कमाइ छैन । मेरो विवाहअघि पनि श्रीमान्लाई घरमा नराखिकन मामाघरमा राखिरहेको रहेछ । व्रतबन्ध गर्नलाई मात्र ल्याएको रे ¤ सम्पत्ति दिनुपर्ला भनेर विवाह नै नगरिकन राखेको भन्थे, टोलवासीहरू । मसँग विवाह गरिदिएपछि छोरा–छोरी भयो, अब के सम्पत्ति दिनुपर्दैन र ? जग्गा बेचेपछि पाउने तीन भागको एक भाग रकम हामीलाई दिलाई दिनुप¥यो । बाबुले सिफारिस दिएर हामीमाथि धेरै अन्याय भयो ।”
भाउजूले कुरासँगै आखाँबाट आँसु खसालिन् । श्रीमान् र छोरा केही नबोलिकन बसे । मेरो दिमागमा धेरै कुरा खेल्नथाल्यो । अनि अलि डर पनि लाग्यो । वडाध्यक्ष हुनु पनि गा¥हो रहेछ भन्ने अनुभव भयो । मलाई घरको यस्तो रामकहानी थाहा नै थिएन । टोलकै भए पनि सबै कुरा कहाँ थाहा हुन्छ र ¤ ठूलै गल्ति गरेछु कि भन्ने लाग्यो ।
मैले तुरुन्तै सचिवलाई फोन गरेँ र सोधेँ, “हिजो मेरो घरसँगैको रामप्रसाद सुवाल (नाम परिवर्तित) को निवेदनको सिफारिसमा हस्ताक्षर गरेर मैले तपाईँलाई दिएको थिएँ, त्यो सिफारिस कान्छो छोरालाई दिनुभयो ?” सचिवले जवाफ फर्काई हाले, “छैन सर, तपाईँले सही गरेपछि राजस्वको बिल काट्नै लाग्दा प्रिन्टर बिग्रेर सिफारिस दिन पाइएन । आज बोलाएको छु । आज दिइहाल्छु सर ।” म ढुक्क भएँ । मैले लामो सास तानेँ । ठूलै समस्याबाट मुक्त भएको अनुभव गरेँे । जिउ हलुका भयो । मैले अलि आत्मविश्वासका साथ बोलँे, “भाउजू, सिफारिसमा मेरो हस्ताक्षर भए पनि सिफारिस लगेको छैन रे ¤ यस विषयमा आज देवरसँग कुराकानी गर्छु । सिफारिस रोक्ने भए तपाईँले आजै तुरुन्त रोक्काको निवेदन दिनुहोस् । अनि टोलवासी राखेर छलफल गरौँला ।”
त्यस दिन म खाना खाएर समयमै वडा कार्यालय पुगेँ । भाइ हरिगोविन्द सुवाल (नाम परिवर्तित) पनि वडा कार्यालयमा आइपुग्नुभयो । उसको अनुहारमा अलि रिस झल्किन्थ्यो । मैले अनुहार हेरेर रिसाएको अनुभव गरिहालेँ । मैले सोफामा बस्न अनुरोध गरेँ । सोफामा बसेपछि उहाँले भन्नुभयो, “तपाईँले मेरो सिफारिस किन रोक्नुभएको ? सचिव सरले बिल काट्न नै मान्नु भएन । तपाईँको आदेश चाहिन्छ भन्छ त ?” मैले जवाफ दिँदै भनेँ, “हो, मैले आजै बिहान फोनमार्फत सिफारिस रोक्न निर्देशन दिएँ । तपाईँको दाइ–भाउजूले सिफारिस रोक्नको लागि अनुरोध गर्नुभएको छ । लिखित रोक्का निवेदन पनि ल्याउँछु भनेको छ । त्यसैले केही दिनको लागि सिफारिस रोकेको हुँ । तपाईँले यो जग्गा बेचेर दाइलाई पैसा नदिइकन आफै एक्लै लिन लाग्नुभएको छ रे ¤ कमसेकम तीन भागको एक भाग त दिनुपर्छ दाजुलाई । एउटै आमा नभए पनि एउटै बुबाका सन्तान त हो नि ¤ त्यसैले सिफारिस रोकेको हुँ ।” हरिगोविन्दले जवाफमा भन्नुभयो, “पैसा मैले लिन लागेको होइन । बुबाले नै लिन लाग्नुभएको हो । त्यसैले मैले दाइलाई एक भाग दिनुपर्ने होइन । बुबाले दिने नदिने म जिम्मा लिनसक्दिनँ । मेरो पनि एक भाग लिनुपर्छ बुबासँग । त्यसैले तपाईँ बुबासँग यसबारे बुझेर हेर्नुस् ।” उहाँको उत्तर सुनेपछि मैले भनँे, “सिफारिसको निवेदन पनि त तपाईँको होइन । तपाईँ सिफारिस लिन बुबालाई पठाउनुस् । म आफै बुबासँग कुरा गर्छु । तपाईँ जान सक्नुहुन्छ । तर, मेरो कुरालाई मनन गर्नुहोला ।” त्यसपछि उहाँ रिसाएर कार्यालयबाट निस्क्नुुभयो ।
शुक्रबारको दिन निर्वाचित समितिको नियमित बैठक बस्दै थियौँ । मैले छलफलको एजेन्डामा रामकुमार सुवालको निवेदन र सिफारिस सम्बन्धमा विषय अघि राखेँ । निर्वाचित पदाधिकारीहरूले टोलवासीहरूको बैठक बोलाउन सल्लाह दिए । सल्लाहअनुसार आइतबार बिहान सात बजे बैठक बोलाउन सचिवलाई निर्देशन दिएँ ।
आइतबारको दिनमा सातै बजे वडा कार्यालयको बैठक कक्षमा टोलवासीहरू सहभागी भए । म पनि समयमै वडा कार्यालय पुगेको थिएँ । बैठकमा प्रायः सबै घर अगाडिका दाजुभाइ, जनप्रतिनिधिहरू र पूर्वजनप्रतिनिधिहरूको उपस्थिति थियो । मैले सबैलाई नमस्कार र अभिवादन गर्दै बैठक विषयवस्तुबारे प्रस्ट्याएँ । त्यसपछि पालैपालो सबैलाई सल्लाह दिन अनुरोध गरेअनुसार सबभन्दा पहिले टोलकै पाको व्यक्तिलाई बोल्न सुरु गरँे ।
उहाँले भन्नुभयो, “रामप्रसाद र मेरो घरसँगै हो । अहिले जुन खेत बेच्न लाग्दै हुनुहुन्छ । त्यो खेतमा जेठो छोराको पनि उत्तिकै हक हुन्छ । आमाबुबाले कुनै पनि हालतमा जग्गा बेचेर कान्छा छोरालाई मात्र पोस्न पाइँदैन ।” पाको मान्छेको रायपछि अरूहरूले पनि पैसा तीन भाग लगाउनुपर्ने सल्लाह दिए । अन्तमा बुबा रामप्रसादलाई बोल्ने अनुमति दिएँ ।
उहाँले भन्नुभयो, “मलाई जेठो छोराले नहेरेकोले म कुनै पनि हालतमा पैसा दिन्न । भाइको व्रतबन्ध हुँदा स्वगं (सगुन) ल्याउनुपर्ने छोराले नल्याई मलाई अपमान गरेको थियो । मेरी कान्छी श्रीमतीलाई आमा कहिल्यै भनेन । पाँचजना छोरीहरूलाई कहिल्यै आफ्नी बहिनी भनेर घर व्यवहार गरेन । छोरीहरू पाँचै जनाको विवाह गर्दा दाजुबाट गर्नुपर्ने घर व्यवहार नगर्नेले अहिले तीन भागको एक भाग पैसा खोज्न मिल्छ ? म कुनै पनि हालतमा पैसा दिन्न ।”
कान्छा छोरालाई आफ्नो राय राख्न अनुरोध गरेअनुसार उहाँले भन्नुभयो, “वडाले कुनै पनि हालतमा सिफारिस रोक्न नमिल्ने र रोकेमा अदालत गएर भए पनि जग्गा बेच्छु । संवैधानिकरूपमा पाएको सम्पत्तिको अधिकारलाई वडाध्यक्षले रोक्न मिल्दैन । यो रोक्नु भनेको जनताको मानव अधिकारको उल्लङ्घन हो । यसको जवाफ वडाध्यक्षले टोलवासीसामु दिनुपर्ने हुन्छ । भोलि गएर तपाईँलाई वडामा उभ्याउन नपरोस् । सिफारिस रोक्ने वडाध्यक्षलाई अदालतमा उभ्याउन पनि सकिन्छ । त्यस्तो परिस्थिति नआओस् ।”
उहाँको कुरा सुनेपछि बैठकमा उपस्थित धेरै रिसाए र सबै जना भुनभुनाउन थाले । यसरी वडाध्यक्षलाई धम्क्याउन पाइँदैन भन्ने आवाज सुनियो । मैले सबैलाई शान्तसँग बस्न अनुरोध गरेँ र जनप्रतिनिधिहरूलाई बोल्न अनुरोध गरेँ । जनप्रतिनिधिहरूले पनि तीन भागको एक भाग पैसा जेठो छोरालाई दिनुपर्ने राय दिनुभयो ।
सबै व्यक्तिहरूको राय र सल्लाह सुनेपछि मैले रामप्रसाद सुवाललाई एक भाग पैसा जेठो छोरालाई दिन कागज गर्न अनुरोध गरेँ र पैसा पनि दिन अनुरोध गरेँ । तर, उहाँ सहमत हुनुभएन । त्यसपछि तीन भागको एक भाग पैसा दिने भएमात्र सिफारिस दिने निर्णय गरी बैठक समापन गरेँ । हालसम्म उक्त सिफारिस वडाले दिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *