भर्खरै :

चिनियासँग बिहे गरेका नेपाली महिलाका छोराछोरीको चीनमा रमाइलो तिहार

काठमाडौँ, २१ कार्तिक (सीआरआई) । सधैँझैँ यो वर्ष पनि आन्हुई प्रान्तकी १२ वर्षीय चिनियाँ फुच्ची चियाङ रुइसुएले आफ्नो ८ वर्षको भाइ चियाङ रुइसियाङलाई भाइटीका लगाइदिइन् । भाइको गलामा सयपत्रीको माला लगाएर मसलाको पोको कोसेली दिइन् । रुइसियाङले आफ्नी दिदीको खुट्टामा ढोगेर दक्षिणा दिए । रुइसुए र रुइसियाङ यसरी नै हरेक वर्ष तिहार मनाउने गर्छन् । उनीहरू युट्युबमा तिहारका नेपाली गीतमा नृत्य पनि गर्छन् ।
रुइसुए र रुइसियाङकी आमा नेपाली हुन् । सन् सन् २००८ मा चिनियाँ युवा चियाङ छुसँग सोलुखुम्बुकी रविना राई चीन आएपछि उनीहरू जन्मिएका हुन् । चीनको मध्य भागमा पर्ने आन्हुई प्रान्तमा उनीहरू बसोबास गर्छन् ।
त्यसो त उनीहरू तिहारमात्र होइन दसैँ पनि मनाउँछन् । यो वर्ष भाइटीका शनिबार परेकाले उनीहरू अत्यन्त हर्षित थिए  । तिहार अथवा दसैँ शनिबार वा आइतबार परेमा उनीहरू मज्जाले चाड मान्न पाउँछन् । अरुबेला त बिहानै खाजा खाएर स्कूल दगुर्नु परिहाल्छ । उनीहरूकी आमा रविना राई पनि अरुबेला काममा व्यस्त हुँदा छोराछोरीसँग चाडबाडमा रमाउन पाउँदिनन् ।
“यसपटक त भाइटीका शनिबार परेकाले खुब रमाइलो भयो”, रविनाले भनिन्, “नानीहरू शुक्रबार साँझ स्कूलबाट आएदेखि नै सयपत्रीको माला उनेर तिहारको तयारीमा जुटेका थियौँ ।” रविनाका छोराछोरी युट्यबुमा हेरेर देउसी भैलोको नक्कल गर्दै रमाइलो गर्छन् ।
दसैँ तिहार बिदाको दिन नपरेमा साँझमात्र चाड मनाउन पाउने गरेको रबिनाले सुनाइन् । चीनमा शनिबार र आइतबार सार्वजनिक बिदा हुने गर्छ । “के गर्नु नानीहरूले आफ्नो मावली देशको संस्कृति अलिअलि भए पनि सिकून् भनेर कामचलाउ चाड मनाउने गरेकी छु”, रविनाले रमाइलो मान्दै भनिन्, “आफ्ना त छोराछोरी चिनियाँ र नेपालीको हाइब्रीड अनि चाडपर्व पनि हाइब्रीड तरिकाले नै मनाउने गरिएको छ ।”
चाडबाड मनाउँदा उनका छोराछोरीले नेपाली पोशाक लगाउने गरेका छन् । आफ्नी आमाबाट थोरै थोरै नेपाली बोल्न पनि सिकेका छन् उनीहरूले । नेपाली चाडपर्वसँगै नेपाली संस्कार पनि सिक्दै आएका छन् । माइतीले चेलीको खुट्टामा ढोग्नुपर्छ, टीका लगाएपछि टाउकामा फूल सिउरिनुपर्छ, झुकेर नमस्ते गर्नुपर्छ भन्ने कुरा उनीहरूलाई थाहा छ ।
त्यसो त रविनाले छोराछोरीको नाम पनि ‘हाइब्रीड’ नै बनाएकी छन् । चियाङ रविनाको श्रीमान्को थर हो । श्रीमान्को थरसँगै आफ्नो माइतीको थर राईलाई जोडेर उनले छोराछोरीको नाम जुराएकी हुन् । चिनियाँमात्र भएको भए यी बालबालिको नाम चियाङ सुए र चियाङ सियाङ हुने थियो तर रविनाले बीचमा राई जोडेर ‘रुइसुए’ र ‘रुइसियाङ’ बनाएकी हुन् ।
‘रुइ’ राईबाट चिनियाँमा आगन्तुक हुँदा अपभ्रंश भएको हो । चिनियाँ भाषामा सुएको अर्थ पवित्र र सियाङको अर्थ समृद्ध हुने गर्छ । आफ्ना छोराछोरीले कालान्तरसम्म आफ्नो नामको अर्थमा मावली थर पनि जोडिएको छ भन्ने कुरा थाहा पाऊन् भनेर रविनाले चलाखीपूर्वक उनीहरूको नाममा आफ्नो माइतीको थर जोडेकी हुन् ।
आन्हुई प्रान्तमा मात्र होइन शाङहाईको दक्षिणपश्चिममा पर्ने चच्याङ प्रान्तको निङपोमा पनि दुई हाइब्रीड बालबालिकाले भाइटीका लगाएका छन् । ११ वर्षीया युसिनले आफ्नो ८ वर्षीय भाइ युनिङलाई टीका लगाइदिइन् । युसिन र युनिङ नेपाली युवती माया मगर र चिनियाँ युवा छन् । हुइचुनका छोराछोरी हुन् ।
माया मगरले १२ वर्ष अगाडि छन हुइचिनसँग बिहे गरेकी हुन् । गत बिहीबार साँझ नेपालका यी भान्जाभान्जीहरूले लक्ष्मी पुजेर उनीहरूकी मावलकी हजुरआमालाई भिडियोमा कुराकानी गर्दै भैली गीत गाएर सुनाएका मायाले बताइन् ।
सिन्धुपाल्चोककी माया मगरले चिनियाँ युवासँग बिहे गरेर चच्याङ प्रान्तको निङपोमा बसोबास गर्न थालेको पनि १२ वर्ष नाघेको छ । मायाले आफ्ना छोराछोरीको कोठामा नेपालको झन्डासँगै नेपालको नक्सा पनि टाँसेकी छन् । उनका छोराछोरी सानो सानो नेपाली झन्डा हातमा लिएर तोतेबोलीमा सयौँ थुङ्गा फूलका हामी एउटै माला नेपाली नेपालको राष्ट्रिय गान गाउँछन् । उनीहरूको उच्चारण सुन्दा आफूलाई हाँस उठ्ने माया बताउँछिन् ।
माइतीदेशबाट टाढा रहेर आफूहरूले तिहारको टीका लगाउन नपाए पनि छोराछोरीले टीका लगाएको हेर्दा रमाइलो लागेको रविना बताउँछिन् । तिहारमा त माइती नै चाहिने र आसपासमा अन्य नेपाली नभएकोले निधार खाली राखेको रविनाले बताइन् । मायाका दाजु त व्यवसायका सिलसिलामा नेपाल र चीनको यात्रा गरिरहने भएकोले प्रायः तिहारमा मायाको हातको टीका लगाउन चीन आइपुग्थे । दुई वर्षदेखि कोरोना महामारीले गर्दा मायाका दाजु चीन आउन पाएका छैनन् ।
माया र रविनाको परिवारमा पहिले पहिले दसैँ–तिहारका बारेमा खासै थाहा थिएन । हिजोआज छोराछोरी बढ्दै गएपछि उनीहरूले चाड मान्न थाले र परिवार तथा छरछिमेकलाई पनि दसैँ र तिहारबारे जानकारी हुनथाल्यो ।
तिहारमा उनीहरू सेलरोटी पनि पकाउने गर्छन् । चीनमा बिहे गरेर बसोबास गरेका नेपाली चेलीहरूमा माया र रविना आफूलाई भाग्यमानी ठान्छन् किनभने उनीहरूका छोरा र छोरी दुई सन्तान छन् । अन्य नेपाली चेलीका कि छोरा छन् कि छोरी । चीनका फरक फरक भूगोलमा बस्ने भएकाले अन्य नेपाली चेलीका छोराछोरीले आपसमा भाइटीका लगाउन पाउँदैनन् । नेपाली संस्कृति र संस्कारलाई आफ्ना छोराछोरीमार्फत चिनियाँ समाजमा फैलाउने काम गर्दै छन् माया र रविना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *