युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव सङ्कलन
- जेष्ठ २८, २०८३
–नीरज
भक्तपुर, १ साउन ।
काठमाण्डौं लगन टोलका हिराकाजी महर्जन(५८) लाई धेरै कुरा भन्न आउँदैन । तर नेपालमा दोस्रो कलेजो प्रत्यारोपण गरेको व्यक्तिको ‘तक्मा’ भिरेर आइतबार उनी मानव अंग प्रत्यारोपण अस्पतालबाट डिस्चार्ज भएर घर जाँदैछन् । उनीभित्रको खुसी मास्कले आधा ढाकिएको अनुहारमा लुक्न सकेको थिएन । आँखाका काप–कापबाट खुसी पोखिएको थियो ।
सात महिनाअघि नेपालमै पहिलो पटक कलेजो प्रत्यारोपण गरेको इतिहास बनाउन सफल मानव अंग प्रत्यारोपण अस्पतालले चौध दिनअघि हिराकाजी महर्जनलाई दोस्रो पटक कलेजो प्रत्यारोपण गरेको हो । आइतबार अस्पतालमा आयोजित पत्रकार भेटघाटमा अस्पतालका निर्देशक डा.पुकारचन्द्र श्रेष्ठ सगौरव दोस्रो प्रत्यारोपण अघिल्लो प्रत्यारोपण जस्तै शतप्रतिशत सफल भएको खुसी सहभागी राजनीतिक दलका नेता, पत्रकार, चिकित्सक र कर्मचरीहरुबीच साटिरहेका थिए ।
हिराकाजी महर्जनलाई उनकै २४ वर्षकी छोरी सरिता महर्जनले आफ्नो कलेजोको आधा भाग दिएकी थिइन् । सरिताको दश दिनअघि नै अस्पतालबाट डिस्चार्ज भइसकेको छ ।
‘मनखुस छ’

झण्डै साढे एक वर्षअघि हिराकाजीको परिवारलाई थाहा भयो–उनलाई कलेजोसम्बन्धि रोग लागेको छ भनेर । त्यसअघि उनलाई एक पटक हृदयघात भएको थियो । उनको उपचार मनमोहन हृदयरोग केन्द्र महाराजगञ्जमा भइरहेको थियो । उपचारकै शिलशिलामा उनको कलेजोमा पनि खराबी भएको थाहा भयो । त्यहाँका चिकित्सकहरुले कलेजो प्रत्यारोपणको लागि भारतमा जान सल्लाह दिएका थिए । भारतमा त्यसको लागि साढे एक करोड रुपैयाँ लाग्ने बताइयो ।
‘मध्यमवर्गीय नेपाली परिवारको लागि साढे एक करोड पैसा खर्च गर्न सम्भव हुने कुरै भएन । हामीले त आशा मारिसकेका थियौं ।’, हिराकाजीकी छोरी सरिताले भनिन् ।
आशा मारिसकेको विरामी भएर हो कि मनमोहन हृदयरोग अस्पतालले त्यत्ति ध्यान दिएन –हिराकाजीलाई । अनि उनीहरु विकल्पको खोजीमा भौंतारिए ।
‘बुवालाई बचाउने बलियो इच्छाशक्ति थियो’, सरिताले सुनाइन् । त्यही बीच उनीहरु पुगे निदान अस्पतालमा । त्यहाँ हिराकाजी महर्जन परिवारको भेट कलेजो विशेषज्ञ डा. दिपेश गुरुवाचार्यसँग भयो । अनि डा.पुकारचन्द्र श्रेष्ठसँग । त्यहीबाट शुरु भयो–दोस्रो कलेजो प्रत्यारोपण गरेका हिराकाजी महर्जनको नयाँ जीवन यात्रा ।
साढे एक करोड रुपैयाँ लाग्ने भनिएको प्रत्यारोपण २० लाख रुपैयाँमा आफ्नो घरभन्दा करिब ३० किमि टाढाको अस्पतालमा भयो ।
‘मनखुस छ ।’,हिरकाजीले भने, ‘मर्न लागेको बुवालाई मेरी छोरीले बचाइन् । म खुसी छु । उनी पनि खुसी छिन् ।’
उनले मानव अंग प्रत्यारोपण अस्पतालका चिकित्सक र नर्सहरुको खुलेर प्रशंसा गरे । ‘त्यत्रो शल्यक्रिया हुँदै थियो । मैले चिन्ता लिएको देखेर डाक्टर‘साबहरुले चिन्ता नलिनु भन्नुहँुदा म ढुक्क बसें । अस्पतालमा बस्दा ‘रिल्याक्स’ भयो ।’, उनले भने ।
कथा उस्तै
पहिलो पटक कलेजो प्रत्यारोपण गरेका बलराम नागाले आफ्नो कलेजो बिग्रनुको प्रमुख कारण २०७२ सालको भूकम्प भनेका थिए । भूकम्पमा आफ्नी दिदी घरभित्र पुरिएर बिते पछि तनावका कारण रक्सी पिउने बानी लागेको र त्यसैले आफ्नो कलेजो बिगारेको नागाको अनुभव थियो ।
दोस्रो पटक कलेजो प्रत्यारोपण गरेका हिराकाजीको अनुभव पनि लगभग उस्तै छ । २०७२ सालको भूकम्पसँगै तनाव कम गर्न भनी उनले पनि रक्सी सेवनको मात्रा बढाए । त्यसैले आफ्नो कलेजो बिग्रेको महर्जनको अनुभव छ ।
‘भूकम्पमा सबै परिवार लथालिङ भयो । घर चर्कियो । भूकम्प र पराकम्पनको समयमा भएको भागाभाग, परिवारका दुःखका कारण बढेको तनाव कम गर्न रक्सी खाइयो । कलेजो खत्तम ।’, महर्जनले सुनाए, ‘अब त म आफूले खाने कुरै भएन । अरुलाई पनि पटक्कै रक्सी नखान सल्लाह दिन्छु । सगुन लिंदा पनि रक्सी नखान भन्छु । बरु जुस खाने नि ।’
छोरी हुनु सरिताजस्ती
२४ वर्षकी सरिताले आफ्नो बुवाको जीवन रक्षा गर्न आफ्नो कलेजो नै दिन तयार भइन् । हिराकाजीको लागि सरिताको कलेजो नै ‘म्याच’ भयो । सरितालाई त लागेको थियो, बुवाको जीवन अब धेरै लामो छैन । तर कसरी बचाउने ? तर अन्ततः आफ्नो बुवाको जीवन रक्षाको लागि आफ्नै कलेजो काटेर दिने दिन पनि आयो । शुरुमा त उनको ध्याउन्न बुवाको जीवन रक्षामै थियो । तर शल्यक्रियाको दिन शल्यक्रिया कक्षमा भित्र लग्दा उनलाई डर लाग्यो ।
‘ के होला, कसो होला भनी निकै डराएको थिएँ । तर अहिले ठिकै छु । मलाई सन्चो छ ।’
सरिताको मानसिक शक्तिको शल्यक्रियामा प्रत्यक्ष संलग्न डा.दिपेश गुरुवाचार्यले खुलेर प्रशंसा गरे । शल्यक्रिया सफल हुनुका केही कारणबारे चर्चा गर्दै उनले सरिताको मानसिक शक्ति पनि एउटा कारण भएको बताएका थिए ।
स्वस्थ बलराम

सात महिनाअघि पहिलो कलेजो प्रत्यारोपण गरेका भक्तपुर सूर्यबिनायकनिवासी बलराम नागा (३६) अहिले स्वस्थ जीवन बिताइरहेका छन् । उनको अहिले रंग पसलको व्यवसाय थालेका छन् । औषधिको डोज क्रमशः कम हुँदै गएको छ । शुरुमा त महिनाको ३० हजारको औषधि सेवन गर्नुपथ्र्यो । अहिले लगभग १० हजारको औषधि खान परेको छ । यो मात्रा क्रमशः घट्नेछ तर औषधि भने लामो समयसम्म सेवन गर्नुपर्नेछ ।
उनको दिनचर्या विरामी पर्नुअघि जस्तो थियो, आज त्यस्तै बनेको छ । आफूजस्तै रोग लागेका व्यक्तिहरु अब विदेश जानु नपर्ने र आफ्नै देशमा प्रत्यारोषण गर्न सक्ने खुशी उनी सबैसँग बाँड्न चाहन्छन् ।
नागालाई उनकी कान्छी दिदीले आफ्नो कलेजो दिएकी हुन् । उनी आफ्नी आमा, श्रीमती र छोरा–छोरीसँग सुखी जीवन बिताइरहेका छन् । आफूजस्तै अरु पनि बिरामीहरुको कलेजो प्रत्यारोपण भएकोमा उनी खुशी छन् ।
सबभन्दा जटिल शल्यक्रिया
चिकित्सा विज्ञानमा जीवित व्यक्तिको कलेजो अर्को व्यक्तिमा प्रत्यारोपण गर्नु सबभन्दा जटिल प्रक्रिया मानिन्छ । एक जना स्वस्थ व्यक्तिको आधा कलेजो काटेर अर्को मान्छेमा प्रत्यारोपण गर्नु निसन्देह खतरापूर्ण काम हो । मस्तिष्क मृत्यु भएको मानिसबाट लिनु फरक कुरा भयो । त्यसमा कम खतरा हुने गर्दछ ।
‘तर जीवित मानिसमा त खतरा हुने नै भयो’, नेपालमा मानव अंग प्रत्यारोपण कर्मका आदि व्यक्तित्व डा. पुकारचन्द्र श्रेष्ठले भने,‘त्यसकारण पनि अबका केही २–३ कलेजो प्रत्यारोपण हामी विदेशी चिकित्सक टोलीको सहयोगमा गर्नेछौं ।’
हालसम्म भएका दुई वटा प्रत्यारोपणमध्ये अघिल्लो दक्षिण कोरियाली चिकित्सक टोलीको सहयोगमा भएको थियो भने दोस्रो प्रत्यारोपण भारतको म्याक्स अस्पतालको चिकित्सक टोलीको सहयोगमा भएको हो । म्याक्स अस्पतालका चिकित्सक डा. सुवास गुप्ताको नेतृत्वमा आएको १० जनाको चिकित्सक टोलीले हिराकाजी महर्जनको शल्यक्रिया गरेको हो । सो टोलीमा २० जना नेपाली चिकित्सक र स्वास्थ्यकर्मीहरुको सहभागिता रह्यो ।
मानव अंग प्रत्यारोपण अस्पतालले एक वर्षका लागि दक्षिण कोरियाली सामसुङ मेडिकल अस्पताल र भारतको म्याक्स अस्पतालसँग आपसी सहयोग र आदानप्रदानको समझदारी(एमओयु) गर्न लागेको डा.श्रेष्ठले भने ।
उनले अब प्रत्येक महिनाको एउटा कलेजो प्रत्यारोपण गर्न अस्पताल सक्षम भएको जानकारी दिए । त्यस्तो कलेजो प्रत्यारोपणका लागि २० देखि २५ लाख रुपैयाँ लाग्नेछ ।
‘हामी फैलिन चाहन्छौं’

शुरुमा मृगौला प्रत्यारोपण अस्पतालको रुपमा स्थापना भएको अस्पतालको कार्यक्षेत्र आज निकै फराकिलो बन्दैछ । क्षेत्र फराकिएसँगै अस्पतालसँग भएको एक सय शैय्या निकै साँधुरो बन्दैछ । कलेजो र मुटुको उपचारको काम बढेसँगै मृगौलाका विरामीहरुको शैय्या घटाएर कलेजो र मुटु रोगीहरुलाई उपलब्ध गराइरहनु परेको छ ।
‘मृगौला रोगीहरुको चाप पनि अझ उत्तिकै छ । अघिल्लो एक वर्षमा मात्र अस्पतालले १३२ वटा मृगौला प्रत्यारोपण ग¥यो । यति धेरै संख्यामा मृगौला प्रत्यारोपण गर्ने अस्पताल युरोपमा पनि कम छ । भारतमा पनि एकाध मात्र छ । नेपालमा विश्वकै यो स्तरको अस्पताल हुनु खुशीको कुरा हो तर नेपालमा वार्षिक ३ हजार नेपालीको मृगौला फेल हुने गरेको छ । त्यस हिसाबमा १३२ भनेको समुद्रमा एक थोपा पानी जस्तै हो ।’, डा. पुकारको भनाई छ ।
‘तसर्थ अस्पतालको शैय्या बढाउने विषयमा नीति निर्माण तहमा रहेका महानुभावहरुले सहयोग गर्नुप¥यो ।’, आइतबारको पत्रकार भेटघाटमा सहभागी राजनीतिक दलका नेताहरुसमक्ष उनले भने ।
अस्पताललाई हाल बिस्तार गर्न जग्गा र भवनको अभाव प्राथमिक छन् । हाल अस्पताल सञ्चालनमा रहेको भवन बाहेक अस्पतालको कुनै जग्गा वा भवन छैन ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले हालको अस्पताल भवनसँगैको नेपाल सेनाको मातहतमा रहेको जमिनमा अस्पतालको भवन बनाउन पहल गर्नुपर्ने सुझाव दिए ।
साथै उनले भक्तपुर अस्पताल, मानव अंग प्रत्यारोपण केन्द्र र भक्तपुर अर्बुद्ध रोग निवारण अस्पताललाई एकै व्यवस्थापन समितिअन्तर्गतल्याई चिकित्सा अध्ययन प्रतिष्ठान बनाउन अघि बढाएको प्रक्रिया सिंहदरबारमा रोकिएको बताए ।
‘त्यसो गर्न सके पनि अस्पताललाई अझ फराकिलो बनाउन सकिन्छ । यसमा सरकारमा जाने र गएका दलहरुले ध्यान दिनुप¥यो’,सुवालले भने ।
सरकारले चाहे अस्पताललाई तत्काल ३०० देखि ५०० शैय्यासम्मको बनाउन सकिने डा.श्रेष्ठको भनाइ छ ।
कार्यक्रममा सांसद रामेश्वर ढुंगेल र एमाले नेता महेश बस्नेत पनि सहभागी थिए ।
Leave a Reply