देश र जनताको निःस्वार्थ सेवा नै नेमकिपाको राजनीति
- जेष्ठ २४, २०८३
भक्तपुर, २६ जेठ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले भदौ २३ र २४ गतेको घटनालाई देशी तथा विदेशीको नियोजित उपद्रोह बताउनुभएको छ । पार्टीको कर्णाली प्रदेश समितिले मङ्गलबार आयोजना गरेको अनलाइन प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेँले त्यो उपद्रोहलाई आन्दोलनको नाम दिइएको उल्लेख गर्नुभयो ।
शिक्षा र स्वास्थ्यमा जनतालाई सहुलियत दिनुपथ्र्यो भन्दै अध्यक्ष बिजुक्छेँले वर्तमान सरकार पनि प्रतिक्रियावादी नै भएको भनाइ राख्नुभयो । पुँजीवादी निर्वाचनमा हुने सबैखाले तिकडम काम हुनुमा कुनै आश्चर्य नभएको भन्दै उहाँले देश एक किसिमले गञ्जागोलको अवस्थामा रहेको विचार राख्नुभयो । उहाँले वर्तमान अर्थमन्त्रीले विगतमा एउटा पार्टीको घोषणापत्र लेखे तर निर्वाचनमा अर्कै पार्टीमा लागेको विश्वासघात थियो भन्नुभयो । उहाँले भन्नुभयो, ‘त्यस्तोले देशलाई पनि धोका दिन बेर छैन । देशको हितमा काम हुने आशा गर्न सकिन्न ।’ चीनबाट सस्तो बिजुलीको गाडी ल्याउन नदिने जालसाजी भइरहेको भन्दै उहाँले विदेशी शक्तिबाट सञ्चालितहरूबाट देशको हित हुँदैन भन्नुभयो ।
परराष्ट्र मन्त्रीले पहिलाको झोला बोक्दिन भन्नुको अर्थ पहिलाको निर्णय मान्दिनँ भनेको हो भन्दै अध्यक्ष बिजुक्छेँले देश कसैको व्यक्तिगत होइन, मनपरि बोल्न पाइँदैन भन्नुभयो । विगतमा आन्दोलनहरू भए, सरकारहरू बने र भत्किए तर नेमकिपा सरकारमा गएन भन्दै उहाँले नेमकिपा पुँजीवादी सरकारमा गए पनि राम्रो काम गर्न सकिन्न भन्ने कुरा निश्चित थियो भन्नुभयो । उहाँले भन्नुभयो, समाजवादी क्रान्ति नभएसम्म राम्रो हुन्न । उहाँले पुराना पार्टीका नेताहरूमा मन्त्री बन्ने मनमा रहेसम्म उनीहरूले केही गर्न नसक्ने बरु जनताको सेवा गर्ने उद्देश्य राख्नुपर्छ भन्नुभयो ।
भारतको मोदी सरकार फासीवादी सरकार हो भन्दै अध्यक्ष बिजुक्छेँले भारतीय जनता पनि दुःखमा छन्, भारतीय जनता र नेपाली जनताको मत एकै हुनुपर्छ भन्नुभयो । एक प्रश्नको जवाफमा अध्यक्ष बिजुक्छेँले संरा अमेरिकाले विश्वमा युद्धको व्यापार गरिरहेको भन्दै गरिब देशलाई थिचोमिचो गर्ने, सानो देशलाई उठ्न नदिने ट्रम्प पनि नेपोलियन सकिएजस्तै सकिने विचार राख्नुभयो । भेनेजुयला समाजवादी देश होइन, चुनावबाट आएको सरकार हो, लडाइँबाट आएको होइन भन्दै अध्यक्ष बिजुक्छेँले अमेरिकाले भेनेजुयलाको सेना हातमा लिएर राष्ट्रपति मादुरोलाई अपदस्थ गरेको भनाइ राख्नुभयो । उहाँले भन्नुभयो, त्यो सार्वभौम देशमाथि अमेरिकाले गरेको अपराध थियो ।
सजिलैसित केही हुन्छ, सरकारको भरमा केही हुन्छ भन्ने आशा गर्न नसकिने भन्दै अध्यक्ष बिजुक्छेँले नेमकिपा जनताकै भरमा रहने र जनता नै इमानदार हुनुपर्छ भन्नुभयो । उहाँले कार्यकर्ताले जनताको बिचमा काम गर्दै जानुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा नेमकिपाका सचिव प्रेम सुवालले नेपाल मजदुर किसान पार्टीका श्रद्धेय अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले लेख्नुभएको ‘राजनीतिक कार्यकर्ता बन्ने भाइबहिनीलाई चिट्ठी’ बरोबर अध्ययन गरेर पार्टीको सिद्धान्तप्रति प्रतिबद्ध हुनु आवश्यक छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “वर्तमान सरकारको पार्टीको विधानमा शोषणरहित समाज बनाउने उल्लेख गरियो भने निर्वाचन वाचापत्रमा आर्थिक उदारीकरण उल्लेख गरियो । आगामी आवको बजेटमा सरकारले गोरखाली रबर उद्योगसमेत सात ओटा सरकारी उद्योग व्यक्तिलाई बेच्ने प्रस्ताव ल्यायो । विधानमा एउटा, निर्वाचन वाचापत्र र बजेटमा अर्काे उल्लेख गरिनु पार्टी र सरकारको इमानदारिता होइन ।
नेमकिपाका केन्द्रीय सदस्य नन्दबहादुर शाहीले कार्यकर्ताले जनताको बिचमा रहेर काम गर्नुपर्ने धारणा राख्नुभयो । अन्तरक्रियामा प्रदेश समितिका सदस्यहरूले अध्यक्ष बिजुक्छेसमक्ष जिज्ञासाहरू राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन आयोजक समितिका संयोजक सरोजराज गोसाईले गर्नुभएको थियो ।
Leave a Reply