भर्खरै :

देशमा वैदेशिक हस्तक्षेप कायम रहेको छ : अध्यक्ष रोहित

देशमा वैदेशिक हस्तक्षेप कायम रहेको छ : अध्यक्ष रोहित

भक्तपुर, २५ जेठ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ(रोहित) ले देशमा वैदेशिक हस्तक्षेप कायम रहेको बताउनुभएको छ ।
भदौ २३ र २४ गतेको घटनाको तयारी तीनचार महिनाअगाडि नै भएको हुनुपर्ने भन्दै उहाँले दुईदिनभित्र सिंहदरबारलगायत देशभरका सयौँ संरचना ध्वस्त गराउन कम्तीमा ३ लाख मानिस नभई हुन्नथ्यो, यी सबैको निम्ति गुप्त योजना बनाइएको बताउनुभयो ।
संस्थागत विद्यालय सङ्घ नेपाल (इसान) ले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष रोहितले विगतमा सरकारमा बसेका पार्टीहरूका एकतिहाइ केन्द्रीय सदस्यहरू विदेशीका गुप्तचर भएको प्रस्ट पार्नुभयो । उहाँले रुसी कम्युनिस्ट पार्टीमा समेत विदेशीको गुप्तचर पुगेर स्तालिनलाई विष प्रयोग गरेको र स्तालिनपछिको सम्भावित नेता किरोभको हत्या गरेको उदाहरण प्रस्तुत गर्नुभयो ।
अध्यक्ष रोहितले अहिलेको सरकार आएपछि विदेशी ऋण झन् बढेको उल्लेख गर्दै भदौ २३ र २४ मा १ खर्ब रुपियाँभन्दा बढीेको क्षतिपूर्ति गर्न अझ ऋणको भार थपिने उल्लेख गर्नुभयो । उहाँले ऋण दिएर घरखेत हडपेजस्तैको हालत नेपालीको हुने धारणा राख्नुभयो । नयाँ मानिसको नाममा जालसाजी भइरहेको चर्चा गर्दै अध्यक्ष रोहितले केही नबुझ्ने नयाँको अर्थ नभएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “नयाँ पुस्ता आउँदैमा राम्रो हुन्छ भन्ने कुराको ग्यारेन्टी हुँदैन, मुख्य कुरा योग्य हुनुप¥यो ।”
कार्यक्रममा इसानका संस्थापक अध्यक्ष एवम् सल्लाहकार सरोजराज गोसाईले सरकारले शिक्षामा अत्यन्तै न्यून बजेट विनियोजन गरेको उल्लेख गर्दै देशको संविधानको मर्मविपरीत शिक्षा कर फेरि लागू गरेको बताउनुभयो ।
इसानका उपाध्यक्ष सनकमान महर्जनले सरकारले सबै संस्थागत विद्यालयलाई एउटै डालोमा राखेर हेर्नु गलत भएको तर्क गर्नुभयो ।
इसानका कोषाध्यक्ष उकेश कवांले शिक्षा करविरूद्ध एकजुट हुनुपर्ने भनाइ राख्नुभयो ।
आयोजक समितिका अध्यक्ष प्रेमजन थापाश्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य लिसा प्रजापतिले शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा इसानअन्तर्गतका विद्यालयबाट २०८२ को विद्यालय शिक्षा परीक्षामा उत्कृष्ट नतिजा ल्याउने प्रत्येक विद्यालयका विद्यार्थीलाई प्रशंसापत्र वितरण तथा १० वर्षभन्दा बढी सेवा गर्ने शिक्षक तथा कर्मचारीलाई धन्यवाद पत्र वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *