भर्खरै :

बजेटबारे वागीश्वरीमा अन्तरक्रिया

बजेटबारे वागीश्वरीमा अन्तरक्रिया

भक्तपुर, २७ जेठ । भक्तपुरका सामुदायिक कलेजमध्ये गुणस्तर अर्थात् क्यूएए प्राप्त गर्न सफल वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ म्यानेजमेन्टले हालै नेपाल सरकारले सार्वजनिक गरेको बजेटबारे अन्तरक्रिया कार्यक्रम गरेका छन् ।
आर्थिक वर्ष २०८३/८४ को बजेटबारे बुधबार आयोजित कार्यक्रममा विद्यार्थी, शिक्षक र अतिथिहरूले बजेटले गरिबलाई भन्दा धनी व्यक्तिहरूलाई फाइदा पुग्ने निष्कर्ष निकाले ।
कार्यक्रममा वाग्मती प्रदेशसभा सांसद सिर्जना सैंजुले सरकारले निकै विरोधाभाषपूर्ण बजेट ल्याएको बताउँदै सुनमा छुट र नुनमा कर लगाइएको भन्दै आलोचना गर्नुभयो ।
कृषि उत्पादन र उद्योगलाई प्राथमिकता नदिइएकोमा असन्तुष्टि व्यक्त गर्दै उहाँले देश ऋणको जालोमा फस्दै गएको टिप्पणी गर्नुभयो ।
उहाँले भन्नुभयो, “हेटौंडा कपडा उद्योगलगायतका सार्वजनिक संस्थानहरूलाई ब्युँताउनुपर्नेमा उल्टो निजीकरणलाई नै प्राथमिकता दिएर सरकारले पुँजीवादलाई प्रश्रय दिएको छ ।”
सरकारले पुँजीवादको सट्टा समाजवाद लागू गरे वास्तविक भुइँमान्छेलाई बजेटले समेट्न सक्ने धारणा राख्नुभयो ।
७ प्रतिशतको आर्थिक वृद्धि र ६ प्रतिशतको मुद्रास्फीति कायम गर्ने कुराको तादत्म्यता नमिलेको चर्चा गर्दै उहाँले सरकारले धनीलाई प्रश्रय दिएको छ भन्नुभयो ।
वागीश्वरी कलेज आफ्नै नीति र व्यवस्थाका कारण सफल हुन सकेकोमा उहाँले खुसी प्रकट गर्नुभयो ।
वागीश्वरी कलेज अफ म्यानेजमेन्टका प्राचार्य कृष्णप्रसाद धन्छाले वि.सं. २००८ माघ २१ गते तत्कालीन अर्थमन्त्री सुवर्ण मल्लले पहिलो बजेट ल्याएको स्मरण गर्दै आगामी आर्थिक वर्षको बजेटको बारेमा विद्यार्थीहरूले निकै सिर्जनात्मक ढङ्गले विश्लेषण गर्नुभएको बताउनुभयो । कर छुट दिँदा राजस्व सङ्कलन गर्न चुनौती हुने र मध्यावधि समीक्षामार्फत बजेट फेरि संशोधन गर्न सरकार बाध्य हुने धारणा राख्दै उहाँले भन्नुभयो, “सरकारले प्रस्तुत गरेको बजेट निम्नवर्गका जनतालाई नभई पुँजीपति र उच्चवर्गलाई लक्षित गरेर ल्याइएको छ ।”
वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले विद्यार्थीहरूमा सिर्जनशीलता र सिर्जनात्मकता विकास गर्न हरेक वर्ष कलेजले यस्तै कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिँदै यस्ता कार्यक्रमले विद्यार्थीलाई मात्रै नभई शिक्षकलाई पनि अर्थतन्त्रको विषयमा अपडेट हुने बताउनुभयो ।
अनुसन्धान र खोजको क्षेत्रमा पनि यस्तै छलफल र अन्तरक्रियाले सहयोग पुग्ने विश्लेषण उहाँको थियो ।
कलेजका संयोजक ज्ञानसागर प्रजापतिले विद्यार्थीलाई पाठ्यक्रम र कक्षाकोठामा मात्रै सीमित नगरी अर्थशास्त्रका सैद्धान्तिक कुरामा व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको र यस्ता कार्यक्रमले विद्यार्थीमा बजेट र अर्थतन्त्रलाई विश्लेषणात्मक ढङ्गले बुझ्ने क्षमता विकास गर्ने विश्वास राख्नुभयो ।
अर्थशास्त्रका शिक्षकहरू बालगोपाल श्रेष्ठले आ.व. २०८२/८३ र आ.व. २०८३/८४ को बजेटको तुलनात्मक विश्लेषण, मुरज दिदियाले बजेटको आलोचनात्मक विश्लेषण र पत्रकारिताका शिक्षक एवम् राजधानी दैनिकका आर्थिक पत्रकार पूर्णभक्त दुवालले पुँजीगत खर्च र बजेटको कमजोरीसँगै चुनौतीका विषयमा बोल्नुभएको थियो ।
बीबीएकी विद्यार्थी अनिशा किलम्बुले बजेटमा सूचना प्रविधि र कृत्रिम बुद्धिमताको क्षेत्रमा गरिएको विनियोजन, बीबीए चौथो सेमेस्टरकी विद्यार्थी निशा कार्कीले गुणस्तरीय शिक्षामा गरिएको विनियोजन र बीबीएस प्रथम वर्षका विद्यार्थी रघु नन्दन महतोले बजेटको आलोचनात्मक र सिर्जनात्मक विषयलगायतमा प्रस्तुतीकरण दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *