भर्खरै :

खोप छ, सिरिन्ज छैन

देशभर यतिबेला कोभिड–१९ विरूद्ध खोप अभियानलाई तीव्रता दिइएको छ । ओमिक्रोन भेरियन्टको नयाँ लहर दैलोमा आइसकेको हुनाले सम्भावित जोखिम रोक्न वा न्यूनीकरण गर्न सरकारले जोडतोडका साथ खोप अभियानलाई अघि बढाइरहेको छ । हालसम्म देशभर ३२ प्रतिशत मानिसले पूर्ण मात्रा खोप लगाइसकेका छन् । १२ देखि १८ वर्ष उमेरका व्यक्तिहरूलाई हाल मोडर्ना खोप लगाउने अभियान चालु छ । सो उमेर समूहका व्यक्तिहरूलाई खोप लगाउने अभियान सम्पन्न भएपछि देशभर खोप लगाउने मानिसको प्रतिशत अझ बढ्नेछ । तथापि, दक्षिण एसियाली देशहरूमध्ये खोप लगाइसकेका मानिसको प्रतिशत नेपालमा कम छ ।
सरकारले नेपाललाई आवश्यक मात्रा खोपको जोगाड गरिरहेको बताएको छ । विडम्बना ¤ खोप लगाउने सुई अथवा सिरिन्ज भने नेपालमा अभाव भएको विभिन्न जिल्लाबाट जानकारी प्राप्त भएको छ । सिरिन्ज नभए खोपमात्र हुनुको कुनै अर्थ हुँदैन । संसारभर खोप अभियान तीव्रगतिमा अघि बढेसँगै सिरिन्जको माग पनि बढेको हो । विश्वभर अधिकांश देशमा सिरिन्जको प्रयोग अत्यधिक भएपछि बजारमा अभाव भएको छ ।
सरकारले तत्काललाई सिरिन्जको अभाव नभए पनि तोकिएको मात्रा सिरिन्ज तोकिएको समयमा नेपाल नआए खोप कार्यक्रम पनि प्रभावित हुनेछ । पूर्ण मात्रा खोप लगाउनेको प्रतिशत बढाउने सरकारको योजनालाई त्यो अभावले विफल बनाउनेछ । भारतमा कोभिड–१९ को दोस्रो सङ्क्रमण व्यापक बनेसँगै नेपाललाई पठाउन निश्चित भएको अक्सफोर्ड–अस्ट्राजेनेका खोपसमेत पठाइएको थिएन । त्यो विगतबाट सिकेर सरकारले तत्काल सिरिन्जको व्यवस्था र आपूर्ति सुनिश्चित गर्नुपर्छ ।
विडम्बना ¤ नेपालले सबै कुरा मागेर नै मात्र यस्तो विपत्ति सामना गर्नुपर्ने भएको छ । खोप, मास्क, सिरिन्जलगायत सबै स्वास्थ्य सामग्री विदेशबाट ल्याउनुपर्ने दुःखद अवस्था अझै सकिएको छैन । महामारी सुरू भएको दुई वर्ष बितिसकेपछि पनि कुनै पनि स्वास्थ्य सामग्रीमा देशलाई आत्मनिर्भर बनाउने विषयमा सरकारले केही पनि सोचेको छैन । सबै कुरा विदेशबाट मागेरमात्र चलाउनुपर्ने अवस्था छ ।
क्युवाजस्तो जनसङ्ख्या र भौगोलिकरूपमा सानो देशले समेत आफ्ना जनताको निम्ति आवश्यक खोपदेखि सबै पूर्वाधार राज्य आफैले विकास गरेको छ । संसारका धनी देशहरूले मात्र बनाउन सकेको कोभिडको खोप क्युवा सरकार आफैले बनायो । त्यही खोपको भरमा क्युवाले कोभिड–१९ विरूद्ध उदाहरणीय लडाइँ लड्यो । नेपाल सरकारले भने सधैँ विदेशी दाताकै अघि भिक्षापात्र फैलाएर बस्नुलाई नै जनताप्रतिको आफ्नो कर्तव्य पूरा भएको ठानेको छ । नेपालकै स्रोतसाधन र जनशक्ति प्रयोग गरी सम्भव पूर्वाधार भए पनि विकास गर्न राज्यले ध्यान दिनुपर्ने थियो । मास्क, सिरिन्जजस्ता नेपालमै बनाउन सकिने पूर्वाधार र सामग्रीको लागि नेपाल सरकारले नै पहल गर्नुपर्ने थियो । त्यसको निम्ति मित्र राष्ट्रबाट आवश्यक प्रविधि र प्राविधिक जनशक्ति ल्याएर नेपाली युवाहरूलाई तालिम दिँदा देश आत्मनिर्भरमात्र होइन, मित्र देशहरूलाई पनि पर्दा सहयोग गर्नसक्छौँ । तर, छोटो अवधि र सधैँ मागेर नै चलाउने मनोवृत्तिका कारण देशले यस्ता विषयमा सोच्ने र तयारी गर्न सकेन ।
खोप अभावको कारण खोप बनिसकेको साढे एक वर्षपछि पनि बहुमत नेपाली जनताले खोप लगाउन पाएका छैनन् । अहिले खोप छ, तर सिरिन्ज अभाव हुँदा भएको खोप पनि खेर जाने दुःखद अवस्था आउन सक्ने देखियो । सरकारले तत्कालको लागि मात्र होइन, सुदूर भविष्यसम्मको विचार गरेर पनि योजना बनाउन जरूरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *