भर्खरै :

अमेरिकी प्रजातन्त्रको सीमा र कमजोरी – २

(मानवअधिकार र अध्ययन समाज चीनले सन् २०२१ को डिसेम्बरमा जारी गरेको आलेखको नेपाली अनुवाद)
ख) अमेरिकी प्रजातन्त्रको दोहोरो मापदण्ड
मानवअधिकार, स्वतन्त्रता र प्रजातन्त्रजस्ता मूल्यबारे संरा अमेरिकाले निकै कुरा गर्ने गर्छ । अमेरिकाले आफूलाई प्रजातन्त्रको रक्षकको रूपमा प्रस्तुत गर्ने गर्छ । तर, प्रजातन्त्रको रक्षकको रूपमा संरा अमेरिकाको छवि निकै पाखण्डीपूर्ण छ । कुनै पनि देशको कथित प्रजातान्त्रिक आन्दोलनले संरा अमेरिकी स्वार्थमा तलमाथि पारे संरा अमेरिका लाजै नमानी प्रजातन्त्रको विरोधमा उभिन्छ । अमेरिकी प्रजातन्त्रबारे दोहोरो मापदण्ड सडक राजनीति र प्रेस स्वतन्त्रताप्रति उसको व्यवहारमा प्रस्ट अभिव्यक्त हुने गरेको छ । प्रथमतः, संरा अमेरिकाले सडक राजनीतिप्रति दोहोरो मापदण्ड राख्ने गर्छ । लामो समयदेखि प्रजातन्त्रको वकालत गर्दै आएको अमेरिकामा अमेरिकी मतदाताले मतदान गर्दा तर्कपूर्ण लेखाजोखा गर्ने अपेक्षा गरिएको हुन्छ । निर्वाचनका उम्मेदवारले पनि चुनावका नियम मान्ने र निर्वाचन परिणाम स्वीकार्ने विश्वास गरिएको हुन्छ । तर, सन् २०२० मा भएको संरा अमेरिकी राष्ट्रपति निर्वाचनमा भएको घटनाले अमेरिकी प्रजातन्त्रका पक्षधरलाई जिल्ल पारेको छ । ‘नियमसङ्गत चुनाव’ बारे उनीहरूको विवेकपूर्ण पूर्वानुमान वास्तविकतामा उल्टोपाल्टो भएको छ । चुनावमा हार स्वीकार्न नमानेर ट्रम्पले डेमोक्रेटिक पार्टीले मतगणनामा धाँधली गरेको आरोप लगाए । उनले सामाजिक सञ्जाल प्रयोग गरी मानिसहरूलाई सडकमा उत्रन उक्साए । ट्रम्पका समर्थकहरू लाटो रिसमा संसद् भवनतिर हानिए । त्यहाँ चुनावी परिणामको प्रमाणीकरण गर्ने संसद् बैठक उनीहरूले बिथोले । भद्र र विवेकवान ठानिएको अमेरिकी प्रजातन्त्र हिंसात्मक सडक राजनीतिमा बदलियो । के संरा अमेरिकाले आधुनिक प्रजातन्त्रको सडक राजनीतिलाई पनि समर्थन गर्छ ? यसको प्रस्ट उत्तर दिन जो कोहीलाई असजिलो लाग्नेछ ।
ट्युनिसियामा भएको जस्मिन क्रान्तिबाट सुरु भएको ‘अरबी बसन्त’ ले मध्यपूर्वमा उथलपुथल निम्त्यायो । त्यहाँदेखि युक्रेनमा चर्केको राजनीतिक सङ्कटसम्म अमेरिकी नेताहरू ती आधुनिक देशहरूको प्रजातान्त्रीकरणप्रति ‘निकै चिन्तित’ भएको देखिन्छ । चीनको हङकङमा बाह्य शक्तिको सहायता प्राप्त पृथकतावादीहरूले संसद् भवनमाथि हमला गर्ने, प्रहरी र सोझासाधा जनतामाथि प्रहार कुटपिट गर्ने र हङकङ विशेष प्रशासनिक क्षेत्रमा केन्द्रीय जनसरकारको सम्पर्क कार्यालयको भवन कब्जा गर्नेजस्ता उपद्राहा गतिविधि गरे । उनीहरूले खुलमखुल्ला ‘एक देश, दुई व्यवस्था’ को आधारभूत पक्षलाई नै चुनौती दिए । केही अमेरिकी नेताहरू यस्तो अवस्था देखेर खुशीले नाचे । उनीहरूले हङकङमा पृथकतावादीका उपद्रवलाई ‘हेर्नै पर्ने सुन्दर दृश्य’ समेत भने । संरा अमेरिकी संसद्मा हङकङका उपद्राहाहरूलाई जोगाउन एउटा विधेयक नै प्रस्तुत भयो । अमेरिकाको यस्तो कदमप्रति चिनियाँ जनतालाई चित्त बुझेको छैन । चिनियाँ कूटनीतिक अधिकारीहरूले त्यसको विरोध गरेका छन् । हङकङमा भएको उपद्रव र जङ्गली सडक राजनीतिको रक्षा गर्न हङकङको मुद्दाबारे सुन्न अमेरिकी संसदमा अराजक तत्वका मुख्य मान्छेहरूलाई बोलाएर जालसाझी ग¥यो । विदेशको सडक राजनीतिबारे अमेरिकी नेताहरूका शब्द र कामले उनीहरू सडकमा त्यस्ता गतिविधिको पक्षधर रहेको देखाएको छ । सडकका त्यस्ता गतिविधिलाई नै उनीहरूले प्रजातान्त्रिक सिद्धान्त र अभ्यास ठानेको देखियो ।
विडम्बनाको कुरा के हो भने हालैका वर्षमा संरा अमेरिकामा भएका सडक गतिविधिलाई भने त्यहाँका सरकारले निर्ममतापूर्वक दबाउने गरेको छ । वित्तीय सङ्कटको कारण विपन्न अमेरिकी जनताले सामाजिक न्यायविरुद्ध चर्को आवाज उठाइरहेका छन् । धनी र गरिबबीचको फराकिलो दुरीको विरोध गर्दै उनीहरूले वालस्ट्रिट कब्जा आन्दोलन थाले । अमेरिकी नेताहरूले त्यो आन्दोलनलाई भीड भनी बद्नाम गरे । अमेरिकी प्रहरीले विभिन्न हिंसात्मक तरिकाबाट आन्दोलनकारीमाथि दमन गरे । जर्ज फ्लोड नामका एक जना अमेरिकी नागरिकलाई बीस डलरको एउटा नक्कली पैसा प्रयोग गरेको बहानामा गोरा प्रहरी अधिकारीहरूले निर्ममतापूर्वक हत्या गरे । जातिवादको यो सामाजिक रोगको विरोधमा अमेरिकी जनताले सडकमा प्रदर्शन गरे । जवाफमा अमेरिकी नेताहरूले सडक प्रदर्शनलाई ‘उपद्रव’ को संज्ञा दिएर भत्र्सना गरे । ट्रम्पको पराजयबाट असन्तुष्ट केही मानिसहरूले संसदभवन कब्जा गर्दा पेलोसीजस्ता नेताहरूले बिना सङ्कोच ‘हिंसात्मक सङ्घर्ष’ र ‘विद्रोह’ भनिदिए ।

सडक राजनीतिबारे संरा अमेरिकाले दोहोरो मापदण्ड राख्ने गरेको छ ः एकातिर, संरा अमेरिकाले अरू देशहरूमा सडक राजनीतिलाई बढावा दिन विपक्षसँग गोप्य सम्बन्ध राख्नुका साथै प्रयोग पनि गर्ने गरेको छ । उनीहरूमार्फत ती देशमा हिंसात्मक विरोध प्रदर्शनको निम्ति संरा अमेरिकाले मद्दत गर्ने गर्छ । अर्कोतिर, आफ्नै नागरिकलाई भने जबरजस्ती दमन पनि गर्दै आएको छ । संरा अमेरिकाले सडक आन्दोलनप्रति घरभित्र एउटा व्यवहार र घरबाहिर अर्को व्यवहार गर्दै आएको छ । यसले अमेरिकी प्रजातन्त्रको दोहोरो चरित्र प्रस्ट पार्दै आएको छ ।
दोस्रो, संरा अमेरिकामा प्रेस स्वतन्त्रताले पनि अमेरिकी प्रजातन्त्रको दोहोरो मापदण्ड उजागर गर्छ । सञ्चारमाध्यमले सामाजिक घटनाक्रमलाई वस्तुगतरूपमा सम्प्रेषण गर्नुपर्छ । स्वस्थ राजनीति प्रवद्र्धन गर्न सञ्चारमाध्यमले निष्पक्षरूपमा समाचार सम्प्रेषण गर्नुपर्छ । तथापि, प्रेस स्वतन्त्रताको आवरणमा अमेरिकी सञ्चारमाध्यमले अमेरिकालाई अनुकूल नभएका सूचनामाथि रोक लगाउने दोहोरो व्यवहार गर्दै आएको छ । त्यसो गर्दा जनमतलाई प्रस्टतः गलत दिशातिर डो¥याउने गरेको छ । अमेरिकी प्रजातन्त्रका पक्षधरहरूले प्रेस स्वतन्त्रताको मूल्यलाई जोड दिए पनि र अमेरिकी सञ्चारमाध्यमको निष्पक्षता र वस्तुनिष्ठताको वकालत गरे पनि अमेरिकी सञ्चारमाध्यमले उस्तै खालका विषयमा समाचार लेख्दा पनि फरक फरक मान्यता अङ्गीकार गर्ने गरेको छ । उदाहरणको लागि अमेरिकी सञ्चारमाध्यमले कोही गोरा नागरिक बेपत्ता भएको घटनालाई धेरै दिनसम्म प्रचार गर्ने गर्छ । तर, कोही अल्पसङ्ख्यक समूहको कोही व्यक्ति बेपत्ता भए त्यसप्रकारको प्राथमिकता दिइँदैन । सन् २०१९ मा हङकङमा उपद्रव चर्किंदा अमेरिकी सञ्चारमाध्यमले प्रस्टतः आफ्ना क्यामेरा प्रहरीतिर तेर्साउने गर्थे र प्रहरी तथा नागरिकमाथि हङकङका उपद्राहाहरूले गरेको हमलाप्रति उनीहरू आँखा चिम्लिएका हुन्थे । हङकङमा ‘प्रजातान्त्रिक आन्दोलनमाथि हिंसात्मक दमन’ भएको भन्दै हङकङ प्रहरीको छवि नकारात्मक बनाउन उपद्राहाहरूले त्यस्ता हमला गर्थे । सन् २०१९ मा कोभिड–१९ को महामारी फैलिंदा संरा अमेरिकी सञ्चारमाध्यमले त्यसलाई निसङ्कोच ‘चिनियाँ भाइरस’ को नामकरण गरेका थिए । उनीहरूले चिनियाँ अमेरिकीहरूविरुद्ध घृणापूर्ण शब्द र काम गरेर उत्तेजना फैलाएका थिए । महामारी रोकथाम र नियन्त्रणमा संरा अमेरिकाको कमजोर प्रस्तुतिलाई बेवास्ता गर्दै ब्लुमवर्गले तथाकथित ‘कोभिड सामना वर्णानुक्रम’ प्रकाशित गरेको थियो । त्यो वर्णानुक्रममा महामारी नियन्त्रणमा संरा अमेरिकालाई सबभन्दा माथि राखिएको थियो । प्रेस स्वतन्त्रताबारे यस्तो दोहोरो मापदण्ड आधुनिक प्रजातान्त्रिक समाजको लागि न्यूनतम साझा बुझाइ र आचारसंहिताविपरीत छ । यसले राजनीतिक स्वार्थ र अभिप्रायः बाट परिचालित अमेरिकी सञ्चारमाध्यमले उनीहरूले दाबी गरेजस्तै निष्पक्ष र वस्तुगत नभएको देखाएको छ ।
ग) पैसाको प्रभावमा चल्ने अमेरिकी प्रजातन्त्र
अमेरिकी प्रजातन्त्रका पक्षधरहरू सामान्यतः स्वतन्त्र निर्वाचनलाई अमेरिकी प्रजातन्त्रको गौरव र सकारात्मक पक्षको रूपमा व्याख्या गर्छन् । उनीहरू निर्वाचनले जनतालाई स्वतन्त्र रूपमा आफ्ना राजनीतिक प्रतिनिधि चुन्ने र सार्वजनिक जिम्मेवारी सम्हाल्ने जनताको समान अधिकार सुनिश्चित गर्ने मान्यता राख्छन् । चुनाव जित्न चाहने उम्मेदवारले आफ्नो योग्यता प्रदर्शन गरेर जनतासमक्ष आफ्ना विचार विस्तृत रूपमा राख्ने र त्यस आधारमा मतदाताले उम्मेदवारको क्षमता र शासन गर्ने प्रस्तावको लेखाजोखा गरेर मतदात गर्छन् ।
तर, पैसाले चल्ने अमेरिकी प्रजातन्त्रमा स्वतन्त्र चुनाव खोक्रो कुरामात्र हो । संरा अमेरिकी चुनावमा चुनावको तयारी र त्यसपछिको अवधिमा आर्थिक चन्दा अपरिहार्य हुन्छ । सञ्चारमाध्यममा चुनाव प्रचार, कार्यकर्ताको खर्च र प्रचार अभियानको लागि आवश्यक पर्ने खर्च सबै उम्मेदवारले बेहोर्नुपर्छ । चुनाव अभियान जति लामो हुन्छ, त्यत्ति नै चुनाव खर्च बढ्छ । उदाहरणको लागि, सन् २००४ मा संरा अमेरिकाको चुनाव खर्च झन्डै ४ अर्ब अमेरिकी डलर, सन् २००८ मा ५ अर्ब अमेरिकी डलर, सन् २०१२ मा ६ अर्ब अमेरिकी डलर, सन् २०१६ मा ७ अर्ब अमेरिकी डलर र सन् २०२० मा १४ अर्ब अमेरिकी खर्च भएको थियो । यो तथ्याङ्कले समकालीन अमेरिकी प्रजातन्त्रको पैसासँगको निकट सम्बन्ध प्रस्ट पार्छ । स्वतन्त्र चुनाव उम्मेदवारको खल्तीमा भएको पैसामा निर्भर रहन्छ । यसले अमेरिकी राजनीतिको परिचालनलाई आकार दिने गरेको छ ।

राजनीतिक नेताहरूलाई चन्दा दिने विषयमा कुनै रोकतोक र सीमा नभए पछि अमेरिकी राजनीति अझ बढी पैसाले चल्न थालेको छ । पहिला संरा अमेरिकाले चन्दाको स्रोत र त्यस्ता चन्दाको प्रयोगमा कडाइ थियो । केही राजनीतिक नेताहरू चुनावमा स्वार्थ समूहको संलग्नताले प्रजातन्त्रलाई कमजोर बनाउनेबारे सचेत थिए । त्यही भएर निजी क्षेत्रबाट राजनीतिक दललाई चन्दा दिन निषेध गरिएको थियो । सन् १९०७ मा संरा अमेरिकाले टिम्यान ऐन, १९०७ लागु गरेर कानुनी व्यक्ति (संस्था) लाई सङ्घीय चुनावमा प्रत्यक्ष राजनीतिक चन्दा दिन निषेध गरिएको थियो । वाटरगेट काण्डपछि सङ्घीय चुनाव अभियान कानुन, १९७४ मा धेरै कुरा थपियो । प्रथमतः प्रत्येक उम्मेदवारलाई दिने व्यक्तिले दिने चन्दा १ हजार अमेरिकी डलरभन्दा बढी हुन नहुने र उम्मेदवार, राजनीतिक दल र राजनीतिक कार्यसमितिको लागि वार्षिक चन्दा २५ हजार अमेरिकी डलरभन्दा बढी नहुने उल्लेख छ ।
दोस्रो, कम्पनीहरूको समूहले चन्दा उठाउन राजनीतिक कार्यसमिति गठन गर्न सक्छन् । दुईदलीय चुनावी अभियान ऐन, २००२ ले स्थानीय र आम निर्वाचन दुवैका हरेक उम्मेदवारलाई व्यक्तिले दिने चन्दा २ हजार अमेरिकी डलरभन्दा बढी हुन नहुने र हरेक राजनीतिक दलको केन्द्रीय समितिलाई व्यक्तिले बढीमा २५ हजार अमेरिकी डलर मात्र चन्दा दिन सक्ने सीमा तोक्यो । हालैका वर्षमा संरा अमेरिकाले राजनीतिक चन्दामाथि यस्तो सीमा हटाएको छ । राजनीतिक चन्दामा सीमा राख्नु वाक् स्वतन्त्रतामा निषेध गर्ने बाटो हुने आधारमा यस्ता सीमा हटाइएको हो । उदाहरणको लागि सन् २०१० मा अमेरिकी सर्वोच्च अदालतले कम्पनी र ट्रेड युनियनहरूले राजनीतिक पार्टी र समितिलाई बिनारोकतोक चन्दा दिन सक्ने फैसला गरेको थियो । सन् २०१४ मा सर्वोच्च अदालतले सङ्घीय चुनावका उम्मेदवार र राजनीतिक दललाई चुनावी अभियानमा समर्थन गर्ने व्यक्तिले दिन सक्ने अधिकतम चन्दाको सीमा हटाइयो । चन्दामाथिको रोक हटाइनुले पैसा र राजनीतिको सम्बन्ध जोड्न सहज बनाएको छ । त्यसो गर्दा स्वार्थ समूहले वैधानिक रूपमै प्रजातान्त्रिक चुनावमा हस्तक्षेप गर्ने बाटो खुल्यो ।
पैसाले चल्ने अमेरिकी प्रजातन्त्रले मतदाताको हितलाई कमजोर बनायो । चिनियाँमा एउटा भनाइ छ, ‘यदि तिमीले घुस लिए तिमीले घुस दिनेको पाप पनि खेप्नुपर्छ ।’ स्वार्थ समूहले स्थापित गरेको ‘राजनीतिक सहमति’ को रक्षा गर्न निर्वाचित उम्मेदवारले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा स्वार्थ समूहको सेवा गर्ने गर्छ । यो कुरा निम्न पक्षमा देखिन्छ : पहिलो, चन्दाअनुसारको पुरस्कार । निर्वाचित प्रतिनिधिले व्यक्तिगत नियुक्तिमार्फत स्वार्थ समूहको काम गरिदिन्छ । उदाहरणको लागि, राष्ट्रपति पदभार ग्रहण गरेपछि ओबामाले आफ्नो चुनावी अभियानमा आर्थिक सहयोग गर्ने व्यक्तिहरूलाई राजदुत पदमा नियुक्ति गरेका थिए । दोस्रो, नीतिगत लाभ । निर्वाचित प्रतिनिधिले पदभार ग्रहण गरेपछि स्वार्थ समूह अनुकूल नीति लागु गर्छ । संरा अमेरिकी संविधानले नागरिकलाई हतियार किन्ने र बोक्ने अधिकार दिन्छ । बन्दुक नियन्त्रणको लागि खुकुलो नीतिको कारण संरा अमेरिका संसारमा सबभन्दा धेरै बन्दुक भएका मानिसको देश बनेको छ । संरा अमेरिकाका सबै राष्ट्रपतिहरूले बन्दुक हिंसाबाट मारिने र घाइते हुनेहरूप्रति गहिरो दुःख पोख्नुबाहेक हिंसा नियन्त्रणको लागि केही गरेका छैनन् । त्यस्ता घटना बारम्बार हुने गरेको छ । अमेरिकाको राष्ट्रिय राइफल सङ्गठनले ट्रम्पलाई चुनाव जित्न ३ करोड अमेरिकी डलर चन्दा दिएको थियो । त्यही भएर ट्रम्प राष्ट्रपति बनेपछि सरकारले बन्दुक नियन्त्रण नगर्ने विधेयक प्रस्तुत गरेको थियो । राजनीतिक चन्दालाई वैधता दिँदा नीति निर्माणमा पुँजीपति वर्गलाई ‘खुला’ हस्तक्षेप गर्ने बाटो चौडा भएको छ । पुँजीपति वर्गले राजनीतिक अवस्थामा चन्दा दिन विशेष रुची राख्ने गरेका छन् । चुनावमा जिताउन त जनताको मतले जितेको जस्तो देखिए पनि खासमा चुनावको जीत हार स्वार्थ समूहको हातमा रहने गरेको छ । स्वार्थ समूह र मतदाताका स्वार्थ बाझिएको अवस्थामा निर्वाचन प्रतिनिधि अन्योलमा पर्ने गर्छ र मतदाताको हितलाई धोखा हुने गरेको छ ।
पैसाले राजनीतिलाई अपहरण गर्छ । पुँजीले जनताको मतलाई अन्यत्र मोड्छ । अमेरिकी प्रजातान्त्रिक चुनाव त्यस्तो कुस्तीको खाल हो जहाँ पुँजीपति वर्गको शक्तिको लागि प्रतिस्पर्धा हुन्छ । अमेरिकी प्रजातान्त्रिक राजनीति क्रमशः ‘पैसा बोल्ने’ राजनीति बनेको छ ।
नेपाली अनुवाद : सुमन

Leave a Reply

Your email address will not be published. Required fields are marked *