शैक्षिक डामाडोलले देश ध्वस्त हुने !
- बैशाख ८, २०८३
आज हामी ‘आजको भारत–भारतीय लेखकहरूका दृष्टिमा’ पुस्तकको परिचर्चा गर्न उपस्थित भएका छौँ । विश्व सभ्यताको एउटा पुरानो देश अनि विश्वको सबभन्दा ठूलो प्रजातान्त्रिक देश मानिएको भारतलाई हामी विस्तारवादी देश भनेर चिन्दै आएका छौँ । तर, भारतका विभिन्न पेशा र क्षेत्रका लेखकहरूले आफ्नो देशलाई एक फासीवादी देशको रूपमा चित्रण गरेका छन् । एउटा ठूलो प्रजातान्त्रिक देश कसरी फासीवादी देशमा परिणत भएको छ भन्ने कुरालाई पुस्तकमा सविस्तार वर्णन गरिएको छ ।
पाँच खण्डमा ५६ शीर्षकका लेखहरूका रचनाकारहरूले नरेन्द्र मोदीको शासनकालमा फासीवादी नीतिलाई कसरी व्यवहारमा लागु गरिरहेको छ भन्ने कुरा उजागर गरेका छन् । जनजीवनका राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, शिक्षा, कानुन, प्रेस यावत पक्षमा फासीवादी नीतिलाई मोदी सरकारले मलजल गर्दै हुर्काइरहेको तथ्य पुस्तकको अध्ययनबाट बोध हुन्छ ।
नरेन्द्र मोदी भारतीय जनता पार्टीका नेता हुन् । भारतमा भाजपाले यसअघि पनि शासन गरिसकेको छ । तर, मोदी शासनमा जस्तो मुखरितरूपमा फासीवादको संज्ञा दिएर यति ठूलो र व्यापक विरोध भएको जस्तो लाग्दैन । हिन्दूवादी भाजपाको विरोध विगतमा पनि हुन्थ्यो । तर, अहिले अचाक्ली भएकैले विरोधीहरूको घेरा ठूलो हुँदै गएको छ । यो पुस्तक त्यसैको उपज हो ।
तथ्य के पनि हो भने नरेन्द्र मोदी निर्वाचित प्रधानमन्त्री हुन् । उनलाई निर्वाचन गर्ने भारतीय मतदाताहरूले फासीवादी नीति आफैमाथि लाद्न मत पक्कै दिएका थिएनन् । तर, अहिले फासीवादको बाघले घिच्याउन थालेपछि भारतीय मतदाताहरूको घैँटोमा घाम लाग्यो कि लागेन होला ? पुस्तक अध्ययन गर्दै जाँदा यो प्रश्न पाठकहरूमा पक्कै उठ्नुपर्छ । सायद ती भारतीय मतदाता पनि हाम्रा नेपाली मतदाताजस्तै होलान्– मत दिने बेलामा नसोच्ने, विजयी भएर कुशासन लादेपछि दैलो देख्ने !

यो स्थितिले पुँजीवादी देशहरूका मतदाताहरूको राजनीतिक चेतनास्तरमा खासै भिन्न नहुने बोध गराउँछ । अन्यथा बेलायती साम्राज्यवादविरुद्ध सङ्घर्ष गरेर स्वतन्त्र भएको र ‘विश्वको सबभन्दा ठूलो प्रजातान्त्रिक देश’ मा एउटा निर्वाचित लोकतान्त्रिक र गणतान्त्रिक सरकार कसरी फासीवादका सञ्चालक हुनसक्छ ? यसबाट राजनीतिक चेतनास्तर नउठेका मतदाताहरूको बाहुल्य भएको देशमा प्रजातन्त्र, चुनाव, सुशासन आदिको अपेक्षा मृगतृष्णामात्र हुने तथ्य बोध हुन्छ । त्यसैले नेपाल मजदुर किसान पार्टीले निर्वाचनलाई वर्गसङ्घर्षको एक रूप, मतदाताको राजनीतिक चेतनास्तर नाप्ने ब्यारोमिटर भन्दै आएको छ । यो कुरा भारतमा देखापरेको फासीवादी शासनले पनि प्रमाणित गरेको छ । यसबाट नेमकिपाको दृष्टिकोण व्यापक भएको प्रमाणित गर्नुका साथै सही पनि साबित गर्दछ ।
भारतमा फासीवादको कहर कोरोनाको कहरभन्दा कष्टकर छ । अनि त्यो कहर र समस्या भारत र भारतीयको हो । हामी नेपालीलाई खासै चासो हुनुनपर्ने जस्तो लाग्छ । तब, त्यतिका अनुवादक साथीहरूले मिहिनेत गर्नु, पुस्तकाकारमा प्रकाशन गर्नु अनि यहाँ भेला भएर परिचर्चा गर्नु आवश्यक छ र ? भन्ने पनि कसैलाई लाग्न सक्छ ।
फासीवादको दावानलमा झुल्सिरहेका भारतीय जनताप्रति हामी नेपाली जनताको मानवीय नाता र छिमेकीको सम्बन्ध छ । त्यसबाहेक हामी फासीवादका विरोधी हौँ । आज भारतमा निर्वाचित फासीवादी शासनको रोग भोलि हामी कहाँ सर्दैन भन्ने कुनै प्रत्याभूति छैन । त्यसैले नेपाली पाठकहरूलाई समयमै सचेत र सजग बनाउन यो पुस्तकले बत्तीको काम गर्नेछ, अनि फासीवादलगायतका प्रतिक्रियावादविरुद्ध सङ्घर्ष र आन्दोलनको लागि ऊर्जा प्रदान गर्ने आशा छ । अझ महत्वपूर्ण हामी अन्तराष्ट्रवादी भएकोले फासीवादको विरोध गर्नु, फासीवाद र विरोधीहरूलाई साथ र सहयोग गर्नु र तिनीहरूको सङ्घर्षप्रति समर्थन र ऐक्यबद्धता जनाउनु हाम्रो कर्तव्य हो । यस दृष्टिले यो पुस्तक आफैमा मोदी फासीवादको विरोधमा हाम्रो झन्डा हो । यो झन्डालाई अझ माथि उठाउन पुस्तक सबैले पढौँ, यसबारे छलफल र चर्चा–परिचर्चा गरौँ ।
अन्तमा, मोदी फासीवादलाई परास्त गर्न सङ्घर्षरत भारतीय जनताको हौसला बढाउन हामी आफ्नो स्थानबाट नैतिक बल प्रदान गरौँ भन्ने आग्रह गर्दछु ।
(पत्रकार समाज नेपालद्वारा शुक्रबार भक्तपुरमा आयोजित ‘आजको भारतः भारतीय लेखकहरूका दृष्टिमा’ पुस्तकमाथि परिचर्चा कार्यक्रममा व्यक्त मन्तव्यको सार–सङ्क्षेप–सम्पादक)
Leave a Reply