आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
संरा अमेरिकाले स्पष्टरूपमा आफू रुसको ‘न्यूनतम रेखा’ मान्न तयार नभएको देखाइसकेको छ । संरा अमेरिका र ऊसँग मिलेका देशहरूले हाकाहाकी सुरक्षा सुनिश्चितताको लागि रुसले गरेको आग्रहलाई अस्वीकार गरिसकेको छ । उल्टो उनीहरूले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसहित रुसका उच्चपदस्थ सरकारी अधिकारीहरूविरुद्ध नाकाबन्दी थोपर्ने धम्की दिएका छन् ।
अब निर्णय गर्ने पालो रुसको हातमा छ । युक्रेन र जर्जियालाई उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) मा सामेल नगराउने विषयमा संरा अमेरिकाले वचन दिन मानेन । जेनेभा, ब्रसेल्स र भियनामा भएका सुरक्षा वार्ताहरूमा रुसले युक्रेन र जर्जियालाई नाटोमा सामेल नगराउने विषयलाई आफ्नो मुख्य माग बनाएको थियो । नाटोको पूर्वतिर विस्तारबारे रुसको ‘चेतावनी’ को प्रतिक्रियामा संरा अमेरिकाको विदेश मन्त्रालयअन्तर्गत राजनीतिक मामिलाका उपमन्त्री भिक्टोरिया न्युल्यान्डले स्वीडेन र फिनल्यान्डलाई पनि नाटोमा सामेल बनाउने विषयमा कुरा गर्न संरा अमेरिका तयार भएको बताइन् । अमेरिकी अधिकारीको यस्तो अभिव्यक्ति रुसको लागि ‘गालामा झापड’ सरह हो । तथापि, रुसले यो विषयमा कडा प्रतिक्रिया जनाएको छैन ।
“रुस स्वीडेन र फिनल्यान्डको सार्वभौमिकताप्रति सम्मान गर्छ । यी दुई देशलाई नाटोमा धकेल्न खोजिरहेका देशहरूले भने उनीहरूको सार्वभौमिकताको सम्मान गरिरहेका छैनन्”, जनवरी १४ मा मस्कोमा आयोजित वार्षिक पत्रकार सम्मेलनमा बोल्दै रुसी विदेश मन्त्री सर्गेई लाभ्रोभले भने ।
त्यसको अर्थ के रुसले यी दुई देशलाई नाटोमा सामेल हुनबाट रोक्न खोजिरहेको छ ? एक क्षणलाई मानौँ, स्वीडेन र फिनल्यान्ड नाटोमा सामेल भए, मस्कोले क्युवा र भेनेजुयलाजस्ता देशलाई रुसी नेतृत्वको सामूहिक सुरक्षा सन्धि सङ्गठन (सीएसटीओ) को पूर्ण सदस्य बनाउन सक्छ । अथवा, ती देशहरूमा रुसले आफ्नो मिसाइलसमेत राख्न सक्छ । यद्यपि, अहिलेको अवस्था हेर्दा रुस त्यहाँसम्म जाने देखिँदैन ।
“हामीले उचित समय सीमाभित्र हाम्रो प्रस्तावमाथि रचनात्मक प्रतिक्रिया नपाए र रुसमाथि आक्रामक व्यवहार जारी नै रहे, हामीले रणनीतिक सन्तुलन कायम गर्न र हाम्रो राष्ट्रिय सुरक्षामाथि अस्वीकार्य चुनौती परास्त गर्न आवश्यक कदम चाल्नुपर्ने हुन्छ”, युरोपस्थित सुरक्षा र सहकार्य सङ्गठन (ओएससीई) का लागि रुसका स्थायी प्रतिनिधि अलेक्सान्द्र लुकाशेविचले ओएससीईको ढाँचाअन्तर्गत रुस र पश्चिमा देशहरूबीचको वार्तापछि भने ।
गहिरो मतान्तरबीच रुसले भने अझै पश्चिमा साझेदारहरूसँग मेलमिलापको बिन्दु पाइने आशा मारेको छैन । संरा अमेरिकाले रुसप्रति कुनै नरम व्यवहार गर्ने छाँटकाँट नदेखिए पनि रुसी विदेश मन्त्री लाभ्रोभ अझै सुरक्षा सुनिश्चितताको मामिलामा संरा अमेरिका र नाटोले लिखितरूपमा प्रतिबद्धता दिने आशा पालेर बसेका छन् । संरा अमेरिकी ‘अस्वीकार’ को कुन हिस्सा रुसले अझै पनि बुझ्न चाहेको छैन, अद्यापि स्पष्ट छैन ।
नाटोका महासचिव जेन्स स्टोल्टनबर्गले पटक–पटक नाटोले युक्रेनलाई सहयोग गरिरहने, युक्रेनी सेनालाई तालिम दिन र हतियारबद्ध बनाउन मद्दत गर्ने र युक्रेनी सेनालाई नाटोको स्तरमा उकास्न सहायता बढाउने भन्दै हिँडिरहेका छन् । रुस र नाटोबीचको पछिल्लो चरणको बैठक जनवरी १२ मा भएको थियो । त्यो बैठकमा दुई पक्षबीच मेलमिलाप हुने कुनै सङ्केत देखिएको थिएन । त्यही कारणले रुसी अधिकारीहरूले निकट भविष्यमा कुनै नयाँ सुरक्षा वार्ता हुने सम्भावना नभएको कुरा जोडका साथ भनेका थिए ।
यसैबीच संरा अमेरिका र रुसी महासङ्घबीचको सम्बन्धमा थप तनाव बढ्ने अपेक्षा गरिएको छ । त्यसको अर्थ दुई देशबीच लडाइँ सुरु भइहाल्छ भन्ने होइन । न त यसको अर्थ रुसले युक्रेनमाथि हमला गरिहाल्छ भन्ने हो । महिनौँदेखि पश्चिमा देशहरूले यस्तै हल्ला गर्दै आएका छन् । बरु मध्य एसियादेखि बाल्कन देशहरूसम्म रुस र संरा अमेरिकाबीच स्वार्थ बाझ्न सक्छ । पश्चिमा देश र तत्कालीन सोभियत सङ्घबीच भएको शीतयुद्धमा छद्म लडाइँ युद्धका नियमको हिस्सा थियो । अहिले पनि नयाँ शीतयुद्धको अवस्था बन्दै छ । यस्तो परिस्थितिमा अरू छद्म युद्ध हुनसक्छ ।
युक्रेनको राजधानी किभस्थित संरा अमेरिकी दूतावासले अमेरिकी नागरिकलाई युक्रेनको भ्रमणमा ननिस्कन जारी गरेको सार्वजनिक सूचनामाथि विचार गर्दा संरा अमेरिकी सरकारले पूर्वी युरोपेली देशहरूको अवस्थालाई गम्भीरतापूर्वक लिएको देखिन्छ । रुसले वर्षौंदेखि पश्चिमा शक्तिहरूको आड प्राप्त युक्रेनसँगको द्वन्द्व सकभर टार्ने कोसिस गर्दै आएको छ । तर, कदाचित डनबसमा द्वन्द्व बढे रुसले युक्रेनमा हस्तक्षेप गर्नसक्छ । यदि त्यसो भए संरा अमेरिकाले आफ्नो वाचाअनुसार रुसी अधिकारीहरूले कडा नाकाबन्दी थोपर्ने अपेक्षा गर्न सकिन्छ ।
यस्ता कदमले दुई देशबीचको सम्बन्धमा गम्भीर प्रभाव पार्नेछ । सम्भवतः रुस पश्चिमा वित्तीय संस्थाहरूबाट अलग बन्नेछ । तर, संरा अमेरिकाले पुटिनमाथि नाकाबन्दी थोपरे पनि रुस र मस्कोले कुनै न कुनै माध्यमबाट संवाद भने जारी नै राख्नेछ । रुस जाने सबै पुल जलाउन पश्चिमा देशहरू तयार हुनसक्दैनन् । त्यसो भन्नुको अर्थ केही युरोपेली देशहरूले मध्यस्थकर्ताको भूमिका खेल्नेछन् । रुसको कोणबाट हेर्दा रुसी ऊर्जा कम्पनीहरूमाथि आर्थिक नाकाबन्दी थोपर्दाको नोक्सान युक्रेनमा रुसी महासङ्घको संरा अमेरिकासँगको द्वन्द्वमा भन्दा बढी हुनेछ ।
बाल्टिक सागर हुँदै जर्मनी र रुसलाई जोड्ने नोर्ड स्ट्रिम २ प्राकृतिक ग्यासमार्गमाथि नाकाबन्दी थोपर्न संरा अमेरिकी सिनेटमा ऐन पारित गर्ने प्रयास असफल हुनुले संरा अमेरिका–रुस सम्बन्धमा दखल पु¥याउन संरा अमेरिका तयार नभएको सङ्केत गर्छ । तर, यदि युक्रेन र रुसबीच तनाव बढे विकल्पका सबै ढोका खुला हुनेछन् । यसैबीच पश्चिमा देशहरूले आफूले रुसका कति वटा न्यूनतम सर्त मान्नुपर्ने हो, हेर्दै जानुपर्नेछ ।
लेखक सर्वियाका स्वतन्त्र पत्रकार हुुनुहुन्छ ।

(सीजीटीएनबाट नेपालीमा अनुदित सामग्री)
Leave a Reply