नेपाली समाज किन फासीवादउन्मुख भयो ?
- असार ९, २०८३
देशका सबै जिल्लाहरूमा जालीफटाहा, शोषक, सामन्त र भ्रष्टाचारीहरूले मजदुर, किसान र जनतालाई थिचोमिचो, अन्याय, अत्याचार र शोषण गरे । ती सबै काम पञ्चायती प्रजातन्त्रको नाममा भए । मजदुर, किसान, युवक, विद्यार्थी र सबै गाउँले जनता मिलेर त्यस अन्याय–अत्याचार, थिचोमिचो र शोषणको विरोध गरेका थिए । विरोध प्रदर्शन, हडताल, कालोमोसो दलेर गाउँ घुमाउने, सभा, गोष्ठी र छलफल गर्दै गए । तर, हाम्रा एकथरी पुराना कामरेडहरू शोषण, अन्याय, अत्याचार, भ्रष्टाचारविरोधी गतिविधिहरूलाई मन पराउँदैनन् । तिनीहरू यस्ता सबै गतिविधिलाई स्थगित गर्न चाहन्थे । तिनीहरू कार्यकर्ता साथीहरूलाई भन्ने गर्थे– “क्रान्ति आफै आउँछ, तिमीहरू दौडधुप गरेर क्रान्ति हुँदैन । गाउँ–गाउँमा जानु पर्दैन ।
सशस्त्र सङ्घर्षको ठम्याइलाई स्वीकार गर्दागर्दै फलाका र उत्ताउला कम्युनिज्मसँग हामी एकमत हुन नसकेजस्तै हाम्रा ती पुराना कामरेडहरूको सेवा, त्याग र अनुभवको सकारात्मक पक्षलाई स्वीकार गर्दागर्दै पनि ‘क्रान्ति आफै आउँछ’ भन्ने ठम्याइसँग हामी पटक्कै सहमत छैनौँ । यो ठम्याइ त मानिसलाई प्रकृतिको विकासको स्वाभाविक क्रम मान्ने कोरा भौतिकवादी ठम्याइ हो । मानिसले त्यस ठम्याइलाई नाघिसकेको छ र मानिसको चेतनाले ऐतिहासिक र आर्थिक परिस्थितिमा आधारित वातावरणलाई नै फेर्न सकेको छ । नत्र ‘क्रान्ति आफै आउँछ’ भन्ने ठम्याइ घुमाइफिराइ कुनै अज्ञात शक्तिले गर्छ भन्ने आदर्शवादी सिद्धान्तकै टुङ्गोमा पुग्नेछ । हामी माक्र्सवादी हौँ अथवा हामी द्वन्द्वात्मक भौतिकवादी हौँ । मानिसको चेतनाको अगुवाइ नस्वीकार्ने, परिवर्तन प्रकृतिको स्वाभाविक विकासमात्रै सम्झने फायरबाखको कोरा भौतिकवादसँग हामी सहमत छैनौँ । किनभने, मानिस प्रकृतिको स्वचालित यन्त्र होइन । मानिस वातावरणको कमारो होइन । ऊ आफ्नो वातावरण र परिस्थितिलाई फेर्न पनि सक्छ । तर, उसको त्यो अगुवाइ ऐतिहासिक र आर्थिक परिस्थितिमा आधारित हुनुपर्छ ।
त्यस्तै हेगेलले वस्तुको उत्पत्ति, परिवर्तन र विकासलाई नाससँगै जोड्ने द्वन्द्वात्मक तरीकालाई अगाडि सारे । तर, त्यसका सञ्चालनकर्ता या मुख्य तत्व परम ब्रह्म, आत्माजस्ता अवास्तविक तत्वलाई माने, जसमाथि मानिसको नियन्त्रण छैन । त्यसको उत्पत्ति, परिवर्तन, विकास र नास हुने परस्परविपरीत तत्वको अस्तित्व अथवा द्वन्द्ववादलाई स्वीकारे पनि उनको ब्रह्म, आत्मा र ‘अज्ञात’ सञ्चालकजस्ता कुरालाई स्वीकार गरिएन । स्वीकार गर्नुको अर्थ हो ‘क्रान्ति त्यस अज्ञात शक्तिद्वारा आफै गर्छ’ भन्ने कुरालाई मान्नु । यसरी भौतिकवाद र आदर्शवादको अन्तिम निचोड क्रान्ति वा परिवर्तन ‘प्रकृतिको विकासको स्वाभाविक क्रम’ अथवा ‘ब्रह्म वा अज्ञात शक्तिद्वारा त्यसै गर्ने’ एक काम हुनेछ, जसमा मानिसको इच्छा, शक्ति र अगुवाइको कुनै अर्थ छैन । माक्र्सवादी–लेनिनवादीहरू यसका विरोधी छन् । माक्र्सवादीहरू वर्गसङ्घर्षलाई स्वीकार्छन् । वर्गसङ्घर्ष परिवर्तन र क्रान्तिलाई अगाडि बढाउने यन्त्र सम्झन्छन् । जसको चालक शक्ति मानिस स्वयं हो । ‘मानिस संसारका सबै वस्तुहरूमध्ये सबभन्दा अमूल्य वस्तु हो ।’ मानिसमा परिवर्तन, क्रान्ति र निर्माणको अपार शक्ति लुकेको हुन्छ । यसकारण, ‘क्रान्ति आफै आउँछ’ भन्ने कुरामा हामी सहमत छैनौँ । माक्र्सवादी साहित्यमा त्यस्ता विचारलाई ‘अवसरवादी विचार’ भनिन्छ । त्यस विचारले क्रान्तिको धारलाई बङ्ग्याउँछ र क्रान्तिलाई पछाडि घचेट्छ । यो नौलो कुरो होइन । संसारको कम्युनिस्ट आन्दोलनमा यस्ता धेरै उदाहरण देखिन्छन् ।
‘क्रान्ति आफै हुन्छ, गाउँमा जानुपर्दैन, केही वर्ष जुलुस प्रदर्शन, विरोध, कालोमोसो, सभा र गोष्ठी गर्नुपर्दैन’ भन्नुको अर्थ सर्वहारा वर्गको राजनीति अथवा क्रान्तिकारी राजनीतिलाई रोक्नु र ‘सन्न्यास लिनु’ भन्नु हो । राजनैतिक गतिविधि रोक्ने वा ‘सन्न्यास लिने’ सिद्धान्त माक्र्सवादसँग एकदमै मेल खाँदैन । फेरि कामदार र थिचिएका जनताको विरोधलाई रोक्नुको अर्थ शोषक वर्गको सेवा गर्नु हुन्छ ।
२१ सेप्टेम्बर १८७१ को अन्तर्राष्ट्रिय मजदुर सङ्घको लण्डन सम्मेलनमा ‘मजदुर वर्गको राजनैतिक गतिविधिबारे’ को भाषणमा एङ्गेल्सले भन्नुभएको थियो, “राजनैतिक गतिविधिबाट पूर्ण सन्न्यास लिनु असम्भव छ । सन्न्यासवादी खबर कागत हरेक दिन राजनीतिमा भाग लिन्छ ।” प्रश्न खालि यो हो, कसले त्यसमा कसरी भाग लिन्छ र कुन राजनीतिमा ऊ भाग लिन्छ । अरू जे होस्, सन्न्यास हाम्रो निम्ति असम्भव छ । अहिलेसम्म धेरैजसो देशहरूमा मजदुर वर्गको पाटीले एक राजनैतिक पार्टीको रूपमा काम गर्दछ र राजनैतिक सन्न्यासको सिद्धान्त प्रचार गरेर त्यसलाई खतम गर्नेमा हामी छैनौँ । अहिलेका सरकारहरूले राजनैतिक दमनले मजदुर वर्ग आफूलाई राजनीतिमा भाग लिन कर लगाउँछ, चाहे तिनीहरूले चाहून् वा नचाहून्, चाहे त्यो राजनैतिक वा सामाजिक उद्देश्यको निम्ति होस् । मजदुर वर्गलाई राजनीतिबाट सन्न्यासको शिक्षा दिनुको अर्थ तिनीहरूलाई पुँजीवादी राजनीतिको काखमा धकेल्नु हो । पेरिस कम्युनपछि जसले सर्वहारा वर्गलाई राजनैतिक सङ्घर्षको कार्यक्रममा भित्र्याइदियो, राजनीतिबाट सन्न्यास लिने प्रश्न एकदमै उठ्दैन ।
हामी वर्गहरूलाई जरैदेखि उखेल्न चाहन्छौँ । त्यसलाई पूरा गर्ने उपाय के हो ? सर्वहारा वर्गको राजनैतिक प्रभुत्व नै त्यसको एकमात्र उपाय हो । यी सबै प्रस्ट भइसकेपछि, यस कुरालाई अहिले सबैका सबैले मानिसकेपछि, हामीलाई राजनीतिमा हात नहाल्नु भनिन्छ । सन्न्यास लिनेहरू आफूलाई क्रान्तिकारी ठान्छन्, यहाँसम्म कि सबभन्दा क्रान्तिकारी ठान्छन् । तर, क्रान्ति सबभन्दा उँचो राजनैतिक गतिविधि हो र जसले क्रान्ति मनपराउँछ, उसले त्यसलाई प्राप्त गर्ने उपाय पनि मनपराउनै पर्छ, त्यो हो राजनैतिक सङ्घर्ष, जसले क्रान्तिको बाटो तयार पार्छ र मजदुरहरूलाई क्रान्तिकारी तालिम पु¥याउँछ, जसको बिना तिनीहरू लडाइँको भोलिपल्ट फाब्रेस र प्यातजस्ता विश्वासघातीहरूका पञ्जामा फस्ने निश्चित छ । जे भए पनि हाम्रो राजनीति मजदुर वर्गको राजनीति हुनुपर्छ । मजदुरहरूको पार्टी कहिले पनि कुनै पनि पुँजीवादी पार्टीको पिछलग्गू हुनुहुन्न, यो स्वतन्त्र हुनुपर्छ र यसको आफ्नै उद्देश्य र आफ्नै नीति हुनुपर्छ ।
“राजनैतिक स्वतन्त्रताहरू, सभा र सङ्गठन गर्ने अधिकार, छापाखानाको स्वतन्त्रता हाम्रा हतियारहरू हुन् । यदि कसैले हामीसँग ती स्वतन्त्रताहरू खोस्ने कोसिस गर्छ भने के हामी चुप लागेर बस्छौँ र राजनीतिबाट सन्न्यास लिन्छौँ ?”
माथि भनिएजस्तै हामीले आफ्नो गतिविधिलाई रोक्ने, अलग रहने वा सन्न्यास लिने कुरो एकदिनको निम्ति पनि मान्य हुनसक्दैन । हाम्रो पार्टी न पुँजीवादी न त राजावादी गुट र पार्टीको पिछलग्गू बन्ने छ । हाम्रो एक स्वतन्त्र पार्टी हुनुपर्छ, जसको स्वतन्त्र उद्देश्य र नीति रहनेछ ।
पहिलो विश्वयुद्धभन्दा पहिले पनि दोस्रो इन्टरनेसनलले अवसरवादी नीति लियो । दोस्रो इन्टरनेसनलका अवसरवादी नेताहरूले क्रान्तिकारी सङ्घर्ष छोड्ने कुरा प्रचार गर्न थालेका थिए । तिनीहरूले ‘शान्तिपूर्ण ढङ्गबाटै, पुँजीवादको विकासबाटै समाजवाद हुनेछ’ भन्ने सिद्धान्तलाई प्रचार गरे । लेनिनले त्यस खोटो सिद्धान्तको विरोध गर्नुभयो र तिनीहरूलाई नङ्ग्याई दिनुभयो । उहाँले क्रान्तिलाई अगाडि लैजानुभयो ।
के आज हाम्रा एकथरी पुराना कामरेडहरूले ‘क्रान्ति आफै हुन्छ, गाउँमा जानुपर्दैन, अहिले राजनैतिक गतिविधि रोक्नुपर्छ’ भनेर अघि सारेको सिद्धान्त माक्र्सवाद र लेनिनवादविरोधी छैन ? यसकारण, सच्चा माक्र्सवादी–लेनिनवादीहरूले त्यसको विरोध गर्नुपर्छ ।
मजदुर पार्टीमा केही प्रतिशत बुद्धिजीवीहरू पनि हुने गर्छन् । हाम्रो पार्टीमा पनि बुद्धिजीवीहरू नभएका होइनन् । सामन्ती, अर्ध–सामन्ती, उपनिवेश र अर्ध–उपनिवेश देशहरूमा तिनीहरूको महत्वलाई अस्वीकार गर्न सकिन्न । जे होस् ‘लाटाको देशमा गाँडा तन्नेरी’ हुने नै भयो । तर, देश–विदेशको परिस्थितिलाई अरूको तुलनामा छिट्टै बुझ्ने भएका हुनाले सामन्तवाद र साम्राज्यवादविरोधी सङ्घर्षमा तिनीहरू छिट्टै आकर्षित हुन्छन् । तर, सङ्घर्षको समयमा वा सामन्त र पुँजीपति वर्गले केही सहुलियत दिएको खण्डमा तिनीहरू ढल्मलिन्छन् र क्रान्तिकारी चरित्रलाई त्याग्छन् । यो तिनीहरूको पुरानै वर्ग चरित्र हो । तिनीहरू खास गरेर मध्यम र सानो पुँजीपति वर्गबाट आएका हुन्छन् ।
सानो पुँजीपति वर्गको तहमा मालिक या मध्यम किसान, मालिक कालिगढ, विद्यार्थी, प्राथमिक र माध्यमिक स्कूलका शिक्षकहरू, तल्ला सरकारी अधिकारीहरू, अड्डाका कारिन्दाहरू, कागज लेख्ने स–साना कानुन व्यवसायीहरूजस्ता तल्लो तहका बुद्धिजीवीहरू र स–साना व्यापारीहरू आउँछन् । यसको आकार र वर्ग चरित्र दबैले गर्दा, यस वर्गमाथि सा¥है राम्रो ध्यान दिनु आवश्यक छ । मध्यम किसान र मालिक कालिगढ दुवै सानो आकारका उत्पादनमा लागेका हुन्छन् । (यहाँनिर लेनिनको यस वाक्यलाई सम्झनु सुहाउँछ– “पुँजीवादको उदय स–साना आकारको उत्पादनबाट भएको हो । यही सानो आकारको उत्पादनबाट लगातार पुँजीवादको विकास भएको हो । स–साना आकारको अर्थव्यवस्था र स–सानो आकारको मालसामानको उत्पादनलाई पूरै नमेटाएसम्म पुँजीवाद बाँचिरहन्छ ।) यस वर्गका सबै तहहरू एउटै साना पुँजीवादी आर्थिक स्तरमा रहे तापनि, तिनीहरू तीन फरक–फरक भागमा बाँडिएका छन् । पहिलो भागमा तिनीहरू आउँछन् जसले शारीरिक वा मानसिक श्रम गरेर हरेक वर्ष बढी कमाउँछन् र आफूलाई एक वर्ष खाएर पनि केही पैसा या अन्न बचाउन पाउँछन् । यस्ता मानिसहरू सा¥है धनी हुन चाहन्छन् र तिनीहरू कुबेर, लक्ष्मी, सरस्वती र भीमसेनको पूजा गर्छन् । सम्पत्ति जोड्ने मौका देखेपछि तिनीहरू मध्यम पुँजीपति वर्गको तहमा उक्लिन सधँै इच्छा गर्छन् । ती साना–साना पुँजीपतिहरूमाथि पाइने मान्यता देखेर तिनीहरूको मुखमा पानी आउन थाल्छ । यसप्रकारका मानिसहरू कातर हुन्छन्, सरकारी हाकिमहरूसँग डराउँछन् र क्रान्तिदेखि अलि डराउँछन् । तिनीहरूको आर्थिक स्तर मध्यम पुँजीपति वर्गसँग एकदम नजिक भएको हुनाले तिनीहरू आफ्नो प्रचारमा सा¥है विश्वास गर्छन् र क्रान्तिमाथि पनि शङ्कालु हुन्छन् । साना पुँजीपति वर्गमा यो भाग अल्पमतमा छ र त्यस वर्गको दक्षिणपन्थी विचारको प्रतिनिधित्व गर्छ । (हेर्नुस् माओ त्सेतुङ्गका चिनियाँ समाजको वर्ग विश्लेषण)
हाम्रा केही बुद्धिजीवी साथीहरू यस्तै ड्याङमा परेका छन् । तिनीहरू आफूले पार्टीलाई धेरै गुण गरेको, क्रान्तिलाई धेरै त्याग गरेको र आफू ठूला हौँ भन्ने सम्झन्छन् । पद र नाफा बढी देखेर अथवा सङ्घर्षमा दुःख कष्ट पाउने देखेर पुच्छर लुकाएर भाग्न खोज्छन् । आलोचना गर्दा तिनीहरू नभए पार्टी नै चल्दैन भन्न थाल्छन् । तर, कुरो ठीक उल्टो छ । २१ अगष्ट १८९० मा ओटोबयोनिग्कलाई लेख्नुभएको चिठीमा एङ्गेल्सले भन्नुभएको थियो, “हामीलाई अहिले पनि प्राविधिज्ञहरू, कृषि वैज्ञानिकहरू, इन्जिनियरहरू, रसायन शास्त्रीहरू, खप्पिस शिल्पकारहरू आदिको आवश्यकता छ । यो साँचो हो, तर यदि स्थिति सा¥है धेरै बिग्रियो भने हामी तिनीहरूलाई पुँजीपतिहरूले सधैँ किनेजस्तै किन्न सक्छौँ र यदि त्यसभित्रका केही विश्वासघातीहरू, तिनीहरूमा विश्वासघातीहरू त हुन्छन् नै सँग कडाइको उदाहरण अघि सारिदिएमा तिनीहरूले देख्नेछन् कि हामीसँग राम्रो व्यवहार गर्दा तिनीहरूकै फाइदा हुन्छ । तर, यी विशेषज्ञहरूबाहेक, तिनीहरूमा म स्कूलका शिक्षकहरूलाई पनि लिन्छु, हामी अरू “बुद्धिजीवीहरूबिना पनि राम्रै काम चलाउन सक्नेछौँ ।”
अँ, हो ! एङ्गेल्सले भन्नुभएजस्तै हाम्रा तथाकथित बुद्धिजीवी र शिक्षकहरू हामीलाई विश्वासघात गर्दै छन् । तिनीहरूसँग मुलाहिजा गर्ने प्रश्न उठ्दैन । नत्र झन्झन् मिच्नेछन् र सर्वहारा पार्टी नै सानो पुँजीपति वर्गको पार्टीमा फेरिदिनेछन् । क्रान्तिकारी गतिविधिलाई तिनीहरूले ‘लाज्या’ (फुर्सति काम) मा फेरिदिनेछन् ।
तिनीहरू त्यसो हुनुको मुख्य कारण के हो ? “… पुँजीपतिहरूले सीप जान्ने मजदुरहरूको माथिल्लो स्तरलाई खुलमखुला घुस दिएका थिए । तिनीहरूलाई मजदुर बाबु साहेब भन्थे । बढी तलब दिएर वा यस्तै अर्कै टुक्रो फालेर तिनीहरूलाई घुस दिइन्थ्यो ।”
बस, हाम्रा माक्र्सवादीहरू पनि त्यस्तै भइरहेका छन् । जागीर, बढी तलब, पदोन्नति, (मास्टरबाट हेडमास्टर पद, प्राइमरी स्कूलको मार्सापबाट हाइस्कूलको मार्साप, हाइस्कूलबाट कलेज) को झुटो देखावटी आदर र छोरा, नाति–भाइ, भतिजालाई स्कलरसिप (विदेशको छात्रवृत्ति) को घुसले तिनीहरू मध्यम पुँजीपति वर्गमा उक्लने दाउ गर्दै छन् र पार्टीलाई पछाडिबाट चुपीले हान्दै छन् । यस्ता विश्वासघाती र बेइमानीहरूलाई जनताको अगाडि नङ्ग्याउनैपर्छ र तल्लो वर्गबाटै क्रान्तिकारी बुद्धिजीवीहरू तयार पार्दै पनि लानुपर्छ ।
स्रोत : नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटा विचारहरूको खण्डन
Leave a Reply