सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ४
- असार १५, २०८३
तपाईँ ‘न्यू लेफ्ट रिभ्यू’ मा वर्षौँदेखि आबद्ध हुनुहुन्छ । यसको योगदानबारे केही लेखाजोखा गर्नुभएको छ कि ?
मलाई यो पत्रिका र यसमा मेरो संलग्नताप्रति गर्व लाग्छ । १९९० को पराजयपछि हामीले पत्रिकालाई अलि फरक तरिकाले अघि बढाउने मन बनायौँ । हामीले हाम्रो आलोचना र बहसको स्तर कायम राख्यौँ । हामीले यो व्यवस्थालाई कहिल्यै सकारात्मक मानेनौँ । हामीले यसबारे राजनीतिक, आर्थिक र सांस्कृतिक गरी सम्भव सबै कोणबाट विश्लेषण गरेका छौँ । हालसालै हामीले साइडकार नाउँको नयाँ ब्लग बनाएका छौँ । यसले दुइटा काम गरेको छ । पहिलो, यसले विश्वभरिबाट नयाँ पाठकहरू थपेको छ र तीमध्ये धेरैजसो हाम्रो पत्रिकाका ग्राहक पनि बनेका छन् । यसरी हामीले नवजीवनको प्रक्रिया पार ग¥यौँ र हामीसित ब्लगको जिम्मा लिने दुईजना युवा सम्पादक छन् । हामी संसारभरिका विषयहरूमा टिप्पणी गर्छौँ । त्यसैले तपाईँले यसो गर्नुपर्छ भन्ने अर्थमा नभई तपाईँले यो कुरा बुझ्नुपर्छ भन्ने अर्थमा यो एउटा विकल्प हो । हाम्रा समस्याहरू यिनै हुन् ¤ हामीले पत्रिकाको किनारमा ताइवान, चीन, इरान, फिलिपिन्सका फिल्म निर्माताहरूबारे लेख्नुको एउटा कारण के हो भने हामी बाँच्ने विश्वबारे केही गजबका आलोचनाहरू यिनै फिल्म निर्माताहरूबाट आउँछ । भारतबारे पनि मैले यस्तै भन्न पाउने आशा लिएको छु । १९५०, १९६० र १९७० को दशकमा त्यहाँ यस्तो परम्परा थियो । तर त्यो परम्परा अहिले हरायो । पाकिस्तानमा कहिल्यै फिल्मको परम्परा रहेन । बङ्गालमा फिल्म परम्परामा उत्कृष्ट कृति दिने सत्यजीत रेको विरासत थियो । यस्तो काम अहिले भारतमा हुँदैन ।
१९६० र १९७० को दशकतिर न्यू लेफ्ट रिभ्यूजस्ता केही पत्रिकाहरू थिए, तर अहिले तिनीहरू छैनन् । हामीले यो पत्रिका चालू राख्यौँ र वामपन्थीहरूमा यो चेत आवश्यक छ । सँगै यससँग एउटा प्रकाशन गृह जोडिएको छ– द न्यु लेफ्ट बुक्स÷भर्सो । हामीले विश्वभरिबाट महत्वपूर्ण पुस्तकहरू अनुवाद र प्रकाशन गर्दै आएका छौँ । म यी उपलब्धिहरूबाट अत्यन्त गौरवान्वित छु किनभने यो आफै भएको होइन । यो चिन्ता नलिई, बहस नगरी र फुट नल्याई भएको पनि होइन । सोभियत सङ्घको विघटनपछि न्यू लेफ्ट रिभ्यूमा ठुलो फुट आयो । सम्पादक समितिमा बसेकाहरूले साम्राज्यवाद वा युगोस्लाभियाको गृहयुद्धबारे हामीले लेख्ने लेखहरू रुचाउँदैनथे । त्यसैले उनीहरू झगडा गरेर बाहिरिए । तर हामीले पत्रिकालाई चालू राख्यौँ । अहिले पत्रिका चलाउने नयाँ युवा बौद्धिकहरू आएका छन् । म ढुक्क छु, पत्रिका र प्रकाशन गृह दुवैले यो शताब्दी सजिलै देख्नेछन् । हामी मरिसकेका हुनेछौँ, गइसकेका हुनेछौँ । तर तिनीहरू हुनेछन् ।
डिजिटल निगरानी र प्रजातन्त्र
वर्तमान विश्वमा डिजिटल निगरानीको सम्भावना ठुलो छ र यसलाई विभिन्न देशमा अभ्यासमा ल्याइएको छ । प्रजातन्त्रको निम्ति डिजिटल निगरानी कतिको खतरनाक देख्नुहुन्छ ?
प्रविधि अघि बढ्दै जाँदा यसका सबै रूपहरू फेरिँदै जान्छन् । यी प्रविधिहरू नहुँदा हुन् त जाती हुँदो हो भनेर कसैले भन्न सक्दैन । यो लरतरो विचार हो । तर, पक्कै पनि ठुलो मात्रामा निगरानी भइरहेको छ । प्रत्येक नागरिकहरू निगरानीमा हुनसक्छन् । हालैमात्र छानबिन आयोगमा एक प्रहरीले ४५ वर्षदेखि तिनीहरूले मेरो निगरानी गरिरहेको स्वीकार गरे । सरकारहरूले इतिहासमा धेरै वर्षदेखि निगरानी गर्दै आएका छन् । नाजी युगमा गुप्तचरी गर्ने जर्मन प्रहरीले ठुलो आकारमा निगरानी गर्ने गथ्र्यो । तिनीहरूले गर्ने निगरानी आजभोलिका बुद्धिमान मान्छेले गर्ने निगरानीको दाँजोमा केही पनि होइन । एडवर्ड स्नोडेनबारे सोचौँ । असल, कलिलो, अमेरिकी, गोरो अनुदार ठिटो राष्ट्रिय सुरक्षाका मान्छेहरूको काम गर्दागर्दा चिन्तामा डुबेछन् ! त्यो तहको निगरानी पचाउन गा¥है हुन्छ ।
विश्वका विभिन्न भूभागमा प्रजातन्त्र अहिले जलिसकेको बारुद बनेको छ । के डिजिटल निगरानीभन्दा अगाडि उन्नत प्रजातन्त्र थियो र ? अहँ थिएन । डिजिटर निगरानी आउनुभन्दा अघि जासुसीका विभिन्न तरिकाहरूको प्रयोग हुन्थ्यो । सबै प्रगतिशील आन्दोलनहरूमा घुसपैठ गर्ने, गुप्तचरी गर्ने सबथोक गर्थे यथास्थितिवादीहरूले । यसको मात्रा अहिले घिनलाग्दो छ । के भन्ने, प्रजातन्त्र आफै सीमित बनेको छ । सही हो, अहिले जो पनि चुनावमा उठ्न सक्छ, तर देशमा दुई वा तीन प्रमुख खेलाडीले मात्र जित्न सकून् भनेर राज्यले तारतम्य मिलाएको हुन्छ । मैले द एक्सिट्रीम सेन्टरमा लेखेझैँ तपाईँ दक्षिण–केन्द्र हुनुस् वा वाम–केन्द्र तपाईँ मूलतः एउटै काम गर्नुहुन्छ । तपाईँ पुँजी र त्यसको स्वार्थपछाडि लाग्नुहुन्छ । यो प्रजातन्त्र पहिले जुन देशहरूमा देखापरेका थिए, त्यहाँ यो झन्झन् कुँजिदै छ । धेरै खरबपतिहरूले चिनियाँ अर्थ व्यवस्था राम्रो छ भनिरहेका हुन्छन् र त्यहाँ उनीहरूले राजनीतिक व्यवस्थाको यो वा त्यो पक्षबाट झमेलामा पर्नुपर्दैन भन्छन् । तर, यी सबले गम्भीर प्रश्नहरू उब्जाउँछन् ।
सोभियत सङ्घको विघटनसँगै सामाजिक जनवादी विचारधारा पनि नस्ट भयो । तपाईँको विचारमा सामाजिक जनवाद र सामाजिक जनवादी विचारधारालाई यथास्थान राख्नुमा सोभियत सङ्घको प्रभाव कस्तो थियो ?
सोभियत सङ्घ छँदासम्म, उसलाई पश्चिमको लागि गम्भीर खतराको रूपमा हेरिँदासम्म पुँजीवादी विश्व धेरै हदसम्म सामाजिक जनवादमा निर्भर हुनुप¥यो । मेरो विचारमा सोभियत सङ्घ कहिल्यै गम्भीर खतरा थिएन । सोभियत सङ्घ र समाजवादी देशहरूले एकखाले समाजवादी सामाजिक ढाँचा कायम गरेका थिए । पश्चिममा १९८० को दशकसम्म सामाजिक जनवादी सोच हाबी भयो । सोभियत सङ्घ ढल्दाघरि त्यसो गर्नुपर्ने आवश्यकता रहेन । तिनीहरूले कोल्टो फेरेर पुँजीवादी भए पुग्यो । नवउदारवादी पुँजीवाद पुँजीवादका विभिन्न प्राविधिक चरणहरूमा अनेक तहमा विद्यमान स्थितितिरको पुनर्गमन हो । नयाँ अरबपति र खरबपतिहरूको भरमारसहित नयाँ युग देखाप¥यो । पुँजीको पकडभन्दा बाहिरका चीन र पूर्व सोभियत सङ्घ अहिले व्यवस्थाका अङ्ग भएका छन् । त्यसैले यो पुँजीको लागि ठुलो विजय हो । पहिलोचोटि तिनीहरूले पुँजीवादलाई पुँजीवाद भन्दै छन् र आफूलाई जनाउन उनीहरूले अब स्वतन्त्रता र प्रजातन्त्रजस्ता शब्दहरूको प्रयोग गर्नुपरेको छैन । अहिले पुँजीवादै पुँजीवाद छ । म प्रायः सोच्ने गर्छु, पश्चिमलाई प्रजातान्त्रिक बनाउने सोभियत सङ्घ थियो । सोभियत सङ्घ हराएसँगै प्रजातन्त्रले अर्थ राखेन । प्रजातन्त्र अहिले कर्मकाण्डसरह हो । यसलाई खोक्रो पारिएको छ । ठुला पुँजीपतिहरू र राजनीतिबीच घाँटी जोडिएको स्पष्ट देखिन्छ । त्यसैले पुँजीवादको निम्ति सोभियत सङ्घको विघटन अहिलेसम्म सहयोगी भएन । पछिलाई पनि यो सहयोगी हुनेछैन । यसैको झलक २००८ को वालस्ट्रीट सङ्कट र कोभिड–१९ महामारीमा देखिएको थियो ।
पुँजीवादको बदलिँदो रूपबारे के भन्नुहुन्छ ?
निश्चय नै पुँजीवाद बदलिएको छ । पुँजीवाद निरन्तर विकसित हुने र सधैँ शोषणकारी रहने व्यवस्था हो भनेर लेख्दा कार्ल माक्र्स पुँजीवादको समग्र चरित्रबारे स्पष्ट हुनुहुन्थ्यो । यो व्यवस्थामा नाफा र सम्पत्तिले नै कसले शासन गर्ने भन्ने निर्धारण गर्छ । संरा अमेरिकाको नेतृत्वमा भएको प्राविधिक क्रान्तिले इन्टरनेट ल्यायो र अहिले हामी त्यही विश्वमा बाँच्दै छौँ । पश्चिमा विश्वको औद्योगिक पुँजीवादमा वित्तीय पुँजी अग्रपङ्क्तिमा छ । पहिलेको पुँजीवाद औद्योगिक पुँजीवादमा आधारित थियो । पुँजीका दुई संस्करणहरू केही हदसम्म उस्तै हुन् । तर तिनको कार्यशैली एकदम फरक छ ।
रुस र चीनमा क्रान्तिको प्रकृति
तपाईँले पूर्व समाजवादी समाजहरूको वर्णन यसरी गर्नुभएको थियो : “मानिसहरू केही स्वाभाविक कारणहरूले गर्दा त्यो व्यवस्थामा फर्किन चाहँदैनन् । आर्थिकरूपमा त्यो कडीकडाउ थियो र जहाँ त्यस्तो हुन्थ्यो त्यो स्थान पिछडिएको थियो । ती समाजहरूको समग्र देन अभावले गर्दा सीमित थियो । श्रमको उत्पादकत्व न्यून थियो । राजनीतिकरूपमा ती अधिकांश देशलाई राज्य संयन्त्रको तानाशाहीले दबाएको थियो र त्यसले नागरिक स्वतन्त्रता खोसेको थियो ।”
तपाईँले देख्नुभएको यो कुरा हटाउन के गर्न सकिन्थ्यो ?
समस्याहरू ढाँचागत थिए । २० औँ शताब्दीका दुई महत्वपूर्ण समाजवादी क्रान्ति संसारका ठुला देशहरूमा भए । एउटा रुसमा, अर्को चीनमा । दुवैमा श्रमिक वर्ग तुलनात्मकरूपमा अल्पसङ्ख्यामा थियो । सुरुदेखि नै रुसी र चिनियाँ क्रान्तिहरू यी समस्यामा हेलिए । निश्चय नै रुसी क्रान्तिमा बोल्शेभिकहरूसँग बहुसंख्यक कामदार वर्गको साथ र समर्थन थियो र यसै कारण उनीहरू जिते । बिस्तारै उनीहरूले गरिब किसानहरूको समर्थन पाउन थाले । तर, खुलारूपमा जसरी उनीहरूले औद्योगिकीकरण गरे त्यसले सत्तालाई धेरै जनताबाट अलग्यायो । यसले राजनीतिक तहमा पनि समस्या ल्यायो । मैले सधैँ भन्ने गरेको छु, लेनिन अझ पाँच वर्ष बाँच्नुभएको भए सोभियत सङ्घको राजनीतिक बनोट एकदम फरक हुने थियो । किनभने, अन्तिम वर्षहरूमा लेनिन त्यहाँ भइरहेका विभिन्न घटना र खासगरी नयाँ व्यवस्थामा पुरानो जारकालीन कर्मचारीतन्त्रको शक्ति र हैकमले आक्रोशित हुनुहुन्थ्यो । कर्मचारीतन्त्रले उही पुरानो ढर्रामा काम गर्दै थियो । यसको एउटा कारण बोल्शेभिकहरूले तिनको स्थान लिन नसक्नु थियो ।
अर्को विषय त्यो देश आफै अल्पविकसित थियो । पश्चिमाहरूले नसघाएको भए गृहयुद्ध छिट्टै टुङ्गिने थियो । लामो गृहयुद्धले त्यस देशका सबैभन्दा उन्नत कामदार वर्गका योद्धाहरूको ज्यान लियो । यसरी किसानहरूबाट मजदुर बनेका थरीथरीका मानिसहरू भिन्दाभिन्दै राजनीतिक चेतनास्तरबाट आएका थिए । त्यसैले समस्याहरूका चाङ थिए । रुसी क्रान्तिलाई अर्कोतिरबाट पछि तान्ने कुरा के थियो भने क्रान्ति खालि पार्टी थिएन । क्रान्ति पार्टी र सोभियतहरूको योग थियो । सोभियतहरू लामो समयदेखि निर्वाचित अङ्ग थिए । तिनमा अन्य पार्टीहरूको बहुमत थियो । त्यसमा अनुदार क्याडेटहरू, मेन्शेभिकहरू, साना किसान पार्टीहरू आदि सामेल थिए । त्यहाँ सङ्घर्ष गरेर बहुमत ल्याएपछि मात्र बोल्शेभिकहरूले सोभियतले बहुसङ्ख्यक कामदार वर्गको प्रतिनिधित्व गर्ने पाएका थिए । बहुमत हासिल गरेपछि उनीहरूले क्रान्ति गर्ने निधो गरे । यसले रुस पिछडिएको देश थियो भन्ने कुरालाई गलत सावित गर्दैन । माक्र्स र कम्युनिस्ट घोषणापत्रलाई रुसी क्रान्ति र चिनियाँ क्रान्तिले गलत सावित गरे । क्रान्ति उन्नत कामदार वर्ग रहेको विकसित पुँजीवादी देशमा भएन । बरु कामदार वर्ग राजनीतिकरूपमा पिछडिएको सामाजिक वर्गको स्थितिमा रहेको देशमा क्रान्ति भयो । यसले पनि राजनीतिक ढाँचामा समस्या ल्याएको थियो ।
एउटा पार्टीले चलाउने राज्य व्यवस्थालाई गृहयुद्धको बेला अस्थायी समाधानको रूपमा हेरिएको थियो । पछि त्यो संस्थागत समाधान भएर जम्यो । यसले अन्ततः पोलिटब्युरो र एक नेताको प्रभुत्व पैदा ग¥यो । अलग परिस्थितिमा चिनियाँहरूले पनि यही मोडल पछ्याए । रुसीहरू सहरबाट गाउँहरूतिर पसे र औद्योगिकीकरणको बाटोबाट अघि बढे । यसको उल्टो चिनियाँ क्रान्तिलाई जापानी आक्रमण र कोमिन्ताङको आक्रामकताले गाउँबाट सहर पस्न बाध्य पा¥यो । कोमिन्ताङ बुर्जुवा राष्ट्रवादी पार्टी थियो र त्यसको मुख्य शत्रु जापानीहरू नभई साम्यवाद थियो । त्यसैले धेरै वर्षसम्म कम्युनिस्टहरूले जापानी कब्जाविरुद्ध लडे र प्रतिरोध गरे । पछि कोमिन्ताङ आयो र त्यतिबेला क्रान्ति गाउँबाट सहरतिर पस्दै थियो । यसले गर्दा किसानहरूसँग उनीहरूको नाता गाँसियो । रुसमा यस्तो कहिल्यै भएन । माओ त्सेतुङ र अन्य अगुवाहरू आफूले गाउँमा कोसित जुध्नुपर्छ भन्नेबारे सचेत थिए । त्यसैले उनीहरूले जबरजस्ती गरेनन् ।
रुस र चीनको राजनीतिक ढाँचा एउटै थियो– एउटै पार्टी, पोलिटब्युरोको नियन्त्रण र एक नेता । यो मोडललाई नक्कल गरेर विश्वका धेरै भागमा लागु गरियो । साम्राज्यवादी शक्तिहरूबाट मुक्ति खोजिरहेका तेस्रो विश्वका धेरै उपनिवेशहरूले आफूले प्रगतिशील मानेको ढाँचा र मोडल पछ्याए । रुस र चीनका क्रान्तिहरूलाई प्रगतिशील मानियो । ती दुवै स्वतःस्फूर्त जोडिए । आर्थिक ढाँचामा पनि समस्याहरू थिए । आदेशात्मक ढाँचा र अर्थतन्त्रको आवश्यकताहरू जोड्ने कुनै पुल हुन्थ्यो भने अर्थतन्त्रले फाइदा गर्ने थियो भन्नेमा शङ्का छैन । सही हो, सोभियतको केही ढाँचाको आलोचना गर्न सकिन्थ्यो र बहस चलाउन सकिन्थ्यो । तर, सबैतिरको समस्या एउटै थिएन ।
पूर्वी युरोपेली देशहरूका लागि यो राजनीतिक ढाँचा सोभियत सङ्घमा जस्तै घातक भयो । किनभने, उनीहरूको परम्परा बेग्लाबेग्लै थियो । यी देशमा रुसी मोडललाई ठाडै थोपरिएको थियो । स्तालिनको मृत्युपछि र शिथिलता आएपछि त्यो दबाब कम भयो । पूर्वी युरोपका देशहरूलाई म सामाजिक तानाशाही र निरङ्कुश राजनीतिक मोडल भन्छु ।
संरचनाहरूको व्यापक सुधार र पुँजी उन्मूलन गरी ल्याइएको सामाजिक रूपान्तरण, शिक्षा–स्वास्थ्यजस्ता क्षेत्रमा राजकीय दायित्व केही यस्ता विषय हुन् जसलाई आज यी देशहरूमा सम्झने गरिन्छ । नोस्टाल्जिया (बालसुखाभाष) यही पाइन्छ । मान्छेहरू सोच्छन् ऊबेला स्थिति खराब हुनसक्थ्यो, तर उनीहरू घरभाडा तिर्नसक्थे, बिजुलीको भाउमा राज्यले अनुदान दिन्थ्यो आदि । वर्षौँअघि म चेक गणतन्त्र गएको थिएँ । त्यहाँ पीएचडी गरिरहेकी एक युवतीले आफ्नो शोधपत्रमा हेनरी किसिन्जरलाई उद्धृत नगरेकैले प्रोफेसरले उनको कार्यपत्र बुझ्न मानेनछन् । त्यसैले कहिलेकाहीँ साथीहरू फेरिन सक्छन्, तर विचारधारा उस्तै रहनसक्छ । त्यसैले पनि धेरैले समाजवादलाई सदाका लागि विफल मान्छन् । त्यस्तो भन्नेलाई मेरो जवाफ यस्तो हुन्छ– समाजवाद एकचोटिमात्र विफल भएको छ, तर पुँजीवाद धेरैचोटि विफल भएको छ ।
समाजवादको कुनै औँठाछाप छैन । समाजवादको औँठाछाप भन्ने कसैले मान्छ भने त्यो कल्पनालोकमात्र हुनेछ । जसको पक्षमा व्यवस्था परिवर्तन गर्न खोजेको हो तिनीहरूसँगै मिलेर आर्थिक नीतिहरू बनाउनुपर्छ । यो काममा परम्परागत कम्युनिस्टहरूले कहिल्यै सफलता पाएनन् । यहीँनिर समस्याको ठुलो चाङ छ । सोभियत सङ्घमै पनि सोभियत सत्तालाई भङ्ग गर्नुपर्छ भनेर कुनै विशाल जनपरिचालन भएको थियो । बरु, दूरदृष्टि नभएका उच्च पदस्थहरूले सोभियत सङ्घको विघटन गरेका थिए । उनीहरू निरूपाय थिए र के गर्ने भन्ने उनीहरूलाई थाहा थिएन ।
अनुवाद : संयम
Leave a Reply