भर्खरै :

शीतकालीन ओलम्पिकभित्र विश्व राजनीति

फेब्रुअरी ४ बाट चीनमा सुरु हुन लागेको शीतकालीन ओलम्पिक २०२२ को लागि आफू पूर्णरूपमा तयार भइसकेको चिनियाँ आयोजकले बताएको छ । चीनको लागि यो खेल महोत्सव साधारण खेलकुद गतिविधिमा मात्र सीमित छैन । कोभिड–१९ महामारी र संरा अमेरिकासँगको द्वन्द्व उकालो लागिरहेको परिस्थितिमा हुन लागेको ओलम्पिकको सफल आयोजनाले विश्व राजनीतिमा चीनको उचाइ अझ अग्लिनेछ । अन्तर्राष्ट्रिय क्षेत्रमा चीनको आत्मविश्वास अझ बढ्नेछ । विशेषतः विज्ञान–प्रविधिको क्षेत्रमा चीन शक्तिशाली भइसकेको अथवा विकसित देशको दाँजोमा पुगिसकेको वास्तविकता पुष्टि गर्ने राम्रो अवसर यो ओलम्पिक हुनसक्छ । त्यसकारण, चीनले प्रतिकूलताका हजार पहाड छिचोलेर ओलम्पिकको तयारीमा दिलोज्यान लगाएको छ ।
ओलम्पिकको सफल आयोजनापछि अन्तर्राष्ट्रिय क्षेत्रमा चीनले हासिल गर्ने उचाइबारे संरा अमेरिकालाई राम्रो बोध छ । त्यसकारण संरा अमेरिका नेतृत्वका केही पश्चिमा देशहरूले ओलम्पिकलाई असफल बनाउने वा फितलो बनाउने अनेक बहाना खोजिरहेका छन् । के निहुँ पाउँ, कनिका बुकाउँ भन्दै पश्चिमा देशहरू चीनमाथि यही बेला नानाथरी आरोप थोपरिरहेको छ । सिन्च्याङमा हुँदै नभएको ‘मानवअधिकार हनन’ को बात लगाएर संरा अमेरिका, बेलायत र अस्टे«लियाजस्ता देशहरूले ओलम्पिकको कूटनीतिक बहिष्कार गर्ने भएका छन् । उनीहरूले सिन्च्याङलाई बहाना बनाएका हुन् । त्यो नहुँदा उनीहरूले अरू नै कुनै बहानामा ओलम्पिक बहिष्कार गर्ने थिए । तर, चीनले कूटनीतिक बहिष्कार बेतुकको भएको भन्दै ओलम्पिक सफल बनाउने अभियानमा कुनै कसर बाँकी नराख्ने भनिसकेको छ ।
पश्चिमा देशहरूले ओलम्पिकजस्तो संसारको साझा दबुलाई सङ्कीर्ण राजनीतिको थलो बनाएका छन् । ओलम्पिक कुनै देशको देन होइन, बरु मानव सभ्यतासँग गाँसिएको मानवताको साझा दबु हो । यसमा कुनै पनि शक्तिले जालझेल गर्नु अथवा कसैमाथि दबाब र दमन गर्ने माध्यमको रूपमा दुरुपयोग गर्न खोज्नु दुःखदमात्र होइन, निन्दनीय कुरा हो ।
संरा अमेरिकी शासक वर्गले आफ्नो तखतमा नचल्ने भएपछि खेलकुद, स्वास्थ्यजस्ता सिङ्गो विश्व र मानवतासँग जोडिएका क्षेत्रलाई समेत हतियारको रूपमा प्रयोग गर्ने गरेको छ । विश्व स्वास्थ्य सङ्गठन आफूले चाहेजस्तै कुनै देशविरुद्ध हिलो छ्याप्न तयार नभएपछि संरा अमेरिका त्यो बहुपक्षीय स्वास्थ्य निकायबाट हात झिकेको थियो । ट्रम्प सरकारले गरेको निर्णय बाइडेन सरकारले सच्याए पनि अझै पनि विश्व स्वास्थ्य सङ्गठनलाई अमेरिकाले दिंदै आएको रकम सुरु गरेको छैन । आफ्नो प्रभुत्ववादी राजनीतिको अर्को शिकार अब पश्चिमा देशहरूले ओलम्पिकलाई पनि बनाउन खोजिरहेको छ ।
चीनको उदयले संसारमा आफ्नो एकछत्र प्रभुत्ववाद कमजोर हुने अथवा खोसिने भयको कारण उनीहरू यस्तो व्यवहार गरिरहेका छन् । उनीहरू फेरि पनि विश्वलाई एकध्रुवीयताको कैदी बनाएर संसारका गरिब र विकासशील देशलाई अविकास र गरिबीको रसातलबाट माथि उठ्न दिन चाहँदैनन् । त्यसकारण, चीनजस्तो तेस्रो विश्वको देशले ठुलो सफलता पाएको उनीहरू फुट्या आँखाले पनि हेर्न तयार छैनन् । ओलम्पिकको सफलता व्यवहारतः संरा अमेरिका नेतृत्वको एकध्रुवीय विश्वको अन्त्यको घोषणासिद्ध हुनेछ । त्यसो भएको पश्चिमा देशहरू कदापि चाहँदैनन् ।
तर, ओलम्पिकको सफल आयोजनाले चीनमा बढ्ने आत्मविश्वासले संसारका विकासशील देशको निम्ति ठुलो हौसला हुने पक्का छ । एकध्रुवीय विश्वको कारण संसारले सामना गरिरहेको युद्ध, हस्तक्षेप र दमनको शृङ्खला अन्त्य गर्न साम्राज्यवादी मोर्चालाई धक्का दिने धेरै प्रहारमध्ये शीतकालीन ओलम्पिक पनि हुने संसारका प्रगतिशील र साम्राज्यवादविरोधी जनताको भावना हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *