भर्खरै :

चित्रकार र पत्रकार रोएको हृदय विदारक पहिलो कथा !

पण्डितहरूले रामायण र महाभारतका कथाहरू वाचन गर्दैगर्दा सीता र द्रौपदीमाथि आइपरेको दुःख – पीडा सुनेर महिलाहरूको गहभरि आँसु हुन्थ्यो । उनीहरू सुस्केरा हाल्थे । रावणका धेरै छोराहरू राम–लक्ष्मणसँगको युद्धमा मारिँदा दरबारमा बसेका आमाहरूको आँखामा आँसुको धारा बहेको हुन्थ्यो । त्यसबेला इन्द्रजीत भन्थे– “दरबारमा कसैले आँसु बगाउनु हुन्न । लङ्काका हरेक घरका नागरिकहरू बलिदान दिइरहेका छन्, दरबारमा बहेको एक थोपा आँसुले देशमा आँसुको सागर बन्न सक्छ । जनमानसले दरबारको एक सुस्केरा पनि दुःख–पीडाको आँधीबेहरीको रूपमा लिन सक्छन् । त्यस्तै महाभारतमा घटोत्कच र अभिमन्युको वीरताका प्रत्येक शब्दले कथा सुनिरहेका युवाहरूमा कर्तव्यको भावना जगाएको अनुभव हुन्छ । त्यस्तै बेलायती पुँजीवादी क्रान्तिमा राजा चाल्र्स पहिलोलाई त्यहाँको टुँडिखेलमा ल्याएर ज्यान सजाय दिँदा सामन्तवाद र विदेशी हस्तक्षेपविरोधी बेलायती जनता तथा क्रामवेलका गणतन्त्रवादी सेनामा रक्त सञ्चार तीव्र हुन्थ्यो ।
तर, जर्ज वाशिङ्गटनले अमेरिकी स्वतन्त्रता सङ्ग्राममा हिउँले ढाकेका दुर्गम क्षेत्रहरूमा खटिएका आफ्नो लडाकुहरूको खुट्टामा जुत्ता नदेख्दा एक्लै रोएको कथा सुनेपछि अमेरिकी युवाहरू बेलायती साम्राज्यवादप्रति घृणा जाहेर गर्थे । फ्रान्सेली राज्य क्रान्तिमा विदेशी हस्तक्षेपलाई आमन्त्रण गरिएको राजाको पत्र भेट्टाउँदा आगो बनेका क्रान्तिकारी ज्याकोविनहरूले सम्राट लुई परिवारलाई ग्यालोटिनमा हालेर ज्यान सजाय दिँदै गर्दा जनतामा देशभक्तिको भावना उम्लिएको थियो । त्यस्तै रुसी अक्टोबर क्रान्तिको बेला वोल्सेभिकभित्रै बसेर देशको विखण्डनको निम्ति षड्यन्त्र गरी सत्तामा पुग्ने त्रोत्स्की, कामेनेभ, जिनोवित्, बुखारिनजस्ता नेताहरूप्रति सचेत क्रान्तिकारी जनता घृणा जाहेर गर्थे र ती विश्वासघातीहरूलाई ज्यान सजायको घोषणा गरे, त्यतिबेला जनताले सन्तोषको सास फेरेका थिए । सन् १९१७ को क्रान्तिको सिलसिलामा पूर्वी रुसको ब्लाडिभोस्टक सहरमा साम्राज्यवादी र प्रतिक्रियावादीहरूबाट भएका हत्या र हिंसालाई सम्झेर विजय जुलुस र सभामा नेताहरू गएर भाषण दिन नसकेको कुरा २० औँ वर्ष अमेरिका बसेर फर्किएका रुसी लेखक तथा पत्रकार विलियमले लेखेका छन् ।
बेलायती साम्राज्यवादविरोधी चिनियाँ जनताको अफिमयुद्ध, ताइपिङ्ग किसान क्रान्ति, चीनको सुधार आन्दोलन र बक्सर आन्दोलनको क्रममा चिनियाँ जनता तथा देशको विरोधमा शासक वर्ग तथा विदेशी मालिकहरूको सेवा गर्ने आफ्नै देशका दलालहरूकै कारणले देशले अत्यन्त दुःख, कष्ट, बलिदान र हार व्यहोर्नुपरेको सुन्दा र पढ्दा हरेक देशका इमानदार र सच्चा देशभक्तहरूमा साम्राज्यवादीहरू सँगसँगै आफ्नै देशलाई घात गर्ने दलालहरूप्रति चिनियाँहरूको घृणा र आक्रोशको सीमा रहन्न ।
जापानी आक्रमणको विरोधमा चिनियाँ कम्युनिस्ट पार्टीले गरेको देशभक्तिपूर्ण लडाइँमा साथ दिने रोगीको सेवा गरी क्यानाडाका चिकित्सक डा. नर्मन बेथुन र भारतीय युवा चिकित्सक डा. द्वारिकानाथ कोटनिसको समर्पण तथा निःस्वार्थ सेवाबारे सुन्दा, बुझ्दा र पढ्दा उनीहरूप्रति मानिसमा ठूलो श्रद्धा र सम्मानको भावना उर्लन्छ ।
देशमाथि जापानी आक्रमण हुँदै थियो र राष्ट्रवादी (कोमिङताङ) भनिने च्याङ काई–सेकले कम्युनिस्टहरूको लाल इलाकाहरूमाथि बारम्बार आक्रमण गर्दै थियो । देश टुक्राएर जापानलाई बुझाउने च्याङ काई–सेकको नियत बुझेर कम्युनिस्टहरूले चीनबाट जापानलाई ‘निकाल्न’ ‘लामो हिँडाइको अभियान’ चलाए । त्यस हन्डरै–हन्डरको बाटो ठूल्ठूलो लडाइँ लड्दै आफ्नो गन्तव्यसम्म पुग्दा लालसेनाले आफ्ना दुईतिहाइ साथीहरू गुमायो । घाइते साथीहरूलाई दुर्गम क्षेत्रमा छोड्नुपर्दा, घाइते भएर हिँड्न नसकेपछि आफ्नो कारणले साथीहरूलाई दुःख भएको ठान्ने योद्धा र लड्न अगाडि बढ्ने साथीहरूको मनोदशा र आँसुको के बयान गर्ने होला ! त्यस्तै लालसेनाले तानु नदी पार गर्दैगर्दा दलदल र घाँसे मैदानमा पाएको दुःख–कष्टको के बयान हुन सक्छ र ! यसबाट हरेक पाठकको मनमस्तिष्कमा क्रान्तिकारी भावनाले जीउ सिरिङ्ग हुन्छ ।
१८ अक्टोबर १९३४ को दिन सुरु भएको ‘लामो हिँडाइ’ ले १९३५ सेप्टेम्बर महिनामा २६८ औँ दिनमा आफ्नो गन्तव्यमा भेट्टयो । लालसेनाले दिनरात नभनी २६८ दिन हिँड्यो, ४४ ठाउँमा बास बस्यो र लगभग दिनको १२ कोश हिँड्यो । त्यो लामो रणनीतिक यात्राले ११ प्रान्तका २० करोड जनजातिमा कम्युनिस्टको सङ्घर्षको सन्देश पुग्यो ।
बेलायती साम्राज्यवादको विरोधमा भगतसिंहजस्ता समाजवादी क्रान्तिकारीहरूले बम परीक्षण गर्ने क्रममा र रेलमा बम पड्काउँदा, सङ्गठनलाई जोगाउने उद्देश्यले घाइते आफ्नै साथीहरूलाई चिन्न नसक्ने गरी छोड्दा कस्तो मन रोएको थियो होला । निःस्वार्थरूपले देश र जनताको सेवा गर्ने क्रममा र समाजमा आमूल परिवर्तनको निम्ति भएको हरेक देशको सङ्घर्षले कहालीलाग्दा अनुभवहरू बटुलेको अध्ययनले बताउँछ ।
सन् १९४९ मा जनगणतन्त्र चीनको स्थापनापछि पनि चीन र चिनियाँ जनताले अनेक राजनैतिक र सैद्धान्तिक सङ्घर्षहरू झेले र संरा अमेरिकाजस्तो विज्ञान, प्रविधि, आर्थिक र सैनिकरूपले शक्तिशाली देशसँग व्यापारयुद्ध झेल्दै छन् । चिनियाँ राष्ट्रपति सिचिन फिङले अमेरिकी राष्ट्रपतिसँग कोभिडविरुद्ध मिलेर लड्न आह्वान गरे । तर, अमेरिकी राष्ट्रपतिले चीनको आह्वानलाई लत्याएर उल्टै ‘चिनियाँ भाइरस’ र ‘उहान भाइरस’ भनेर निन्दा गर्न थालेपछि चिनियाँ कम्युनिस्ट पार्टी, चिनियाँ सरकार र चिनियाँ जनताले आफ्नै खुट्टामा उभिएर युद्धस्तरमा नयाँ महामारीको नियन्त्रण गर्ने नीति लिए ।
चीनले अभूतपूर्व ढङ्गले उपचारको विधि अपनाएर चिकित्सक, स्वास्थ्यकर्मी र प्राविधिकहरूलाई एकजुट गरी बिरामीको उपचार ग¥यो, नयाँ अस्पतालहरू बनायो साथै आफ्नो अनुभव र भौतिक उपचार सामग्रीसमेत मित्र देशहरूसँग आदानप्रदान ग¥यो । संसारका सबै जनतामा सहयोग पु¥याउने काममा चीन र चिनियाँ जनताले आफ्नो गहकिलो अन्तर्राष्ट्रिय कर्तव्य पूरा गरे ।
अचानक अभूतपूर्व ढङ्गले फैलिएको त्यस महामारीको विरोधमा भएका सङ्घर्षका कथाहरूबारे बिस्तारै संसारका जनताले जानकारी पाउँदै जानेछन् ।
कोरियायुद्ध (१९५०–१९५३), भियतनामको मुक्तियुद्ध र चीनको मुक्तियुद्धका अनेक सङ्घर्षका कथा लेखिएका अनेक पुस्तकहरू छन् । त्यस्तै विकास, सुख र प्रगतिका कथाहरू पनि अनेक छन् ।
तर, कोभिड– १९ को उहानको घटनामा समर्पित चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको बयानले मन चहराउँछ र थाहै नपाई आँसु झर्छ ।
पहिले पहिले हेर्न र पढ्न पाइने ‘आजको चीन’ (China Today), पेइचिङ रिभ्यू (BEIJING REVIEW) र नयाँ पत्रिका ‘वर्तमान संसार’(Contemporary World) ३ माघ २०७८ को दिन अर्थात् (17 Jan, 2022) को दिन हात लाग्दा आश्चर्य र खुसी लाग्यो । ६ माघ २०७८ (20 Jan, 2022) को दिन पेइचिङ रिभ्यू पाएँ । यो अङ्क झन्डै कोरोना भाइरसकै अङ्कजस्तो देखियो । ‘वीरहरूप्रति श्रद्धाञ्जली’ शीर्षकको लि फाङफाङको उहानको कोभिड–१९ का लडाकुहरूबारे चित्रकारहरूको एक दलको संस्मरणमा ३९ वर्षीय चित्रकार ल्यू ओ चिकुन (Liu-Jikun) ले कोरोना महामारीबाट बचाउन सङ्घर्ष गर्ने जनताका सचित्र कथाहरू कोरिरहँदा बितेका महिनामा कति पटक आफै रोएको सम्झना उनलाई थाहा भएन भन्ने कुरा उल्लेख छ ।
उनका तस्बिरहरू उहानका सफाइ मजदुरहरूको भूमिकालाई केन्द्रित गरेर कोरिएका थिए । ७६ दिनसम्म पूर्ण बन्दाबन्दी भएको उहान सहर ८ अप्रिलको दिन खुल्यो । चीनमा त्यसको सा¥है सकारात्मक चर्चा भएको थियो । कलाकारको चित्र चिनियाँ सामाजिक सञ्जाल बेइबोमा राखेको केही घण्टामै २० लाख जनताले हेरे । त्यस सामाजिक सञ्जालका हजारौँ सदस्यहरूले त्यस चित्रको चर्चा गर्दै उहानका जनताको शीघ्र स्वास्थ्यलाभको कामना गरे ।
घटनासँग सम्बन्धित वीरहरूको निम्ति पत्रकार र चित्रकारहरू रोएको हृदयविदारक रचना पहिलोचोटि पढेँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *