भर्खरै :

मूल्यवृद्धि बिचौलिया र ठूला व्यापारीले कमाउने धन्धा !

नयाँ पत्रिकाले १९ माघ २०७८ मा ‘किसानले प्रतिलिटर दूधको मूल्य ५६ रूपैयाँ पाउने : उपभोक्ता मूल्य पनि बढाइँदै भन्ने शीर्षकमा समाचार प्रकाशित ग¥यो । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले किसानले पाउँदै आएको मूल्यमा प्रतिलिटर ६ रूपैयाँ ५२ पैसा वृद्धि गर्ने निर्णय गरेको छ । सरकारले किसानको नाउँमा बढाएको पैसा वास्तविक किसानको हातमा पुग्ने भनेको प्रतिलिटर १÷२ रूपैयाँ होला । त्यसमा पनि गुणस्तरीय दूध भएमा मात्र किसानको हातमा केही रूपैयाँ पर्ने होला । किसानले दूध बिक्री गर्दा गुणस्तरीय भए पनि दुग्ध उद्योगीहरूले फाइदाको निम्ति विभिन्न पदार्थको मिसावट गरी उपभोक्तालाई बिक्री गरेको पाइन्छ ।
समयसँगै पशुहरूलाई खुवाउने दाना र परालको मूल्य बढेको छ । पशुहरूमा विभिन्न प्रकारका रोगहरू लागेर किसानलाई आफ्नो लागत खर्च उठाउन मुस्किल भएको हुँदा पशुपालन पेशाप्रति किसानहरू निराश छन् । पशुहरूमा देखिने रोगहरूको बारेमा किसानहरूलाई जानकारी नहुँदा समयमै उपचार नपाउनाले पशु समस्या बढ्दै छ । वर्षाैँ लगाएर पालेका पशुहरू छिनभरमै मर्छन्, १ लाख ५० हजारदेखि २ लाख पर्ने भैँसी र गाई मरेपछि साधारण किसानको उठिबास नै भएको पाइन्छ । पशुपालनसम्बन्धी ज्ञान र सीपको कमीले गर्दा दिन रात परिश्रम गरेका किसानहरूको अवस्थामा सुधार नभएपछि पशुपालनप्रति किसानहरूको आशा निराशामा बदलिएको पाइन्छ । सरकारले उपभोक्ताहरूलाई मारमा पर्ने गरी मूल्य बढाउनुको सट्टा किसानहरूलाई पशुपालनसम्बन्धी तालिमको व्यवस्था, पशुहरूलाई खुवाउने दाना परालको मूल्यलाई सस्तो गराए हुन्थ्यो । दूधबाट प्राप्त पैसा सीधै पुँजीपति र उद्योगीहरूको हातमा पर्ने हो । अहिले नै दानाको मूल्य बढी छ । दूधको मूल्य बढाउनासाथै व्यापारीहरूले दानाको मूल्य पनि वृद्धि गर्नेछन् । मूल्यवृद्धिले किसान र उपभोक्ताहरूलाई माछा–माछा भ्यागुतो बनाउनेमात्र हो । गरिब जनताले किने पनि बेचे पनि नोक्सान । फाइदा त बीचमा बस्ने बिचौलिया र ठूला व्यापारीले लिने हो । ‘गाउँ–गाउँमा सिंहदरबार’ को नाउँमा शासक नेता, ठेकेदार, दलाल, लोभी, जालीफटाहाले दाइँ गरिरहेका छन् । परिश्रम गरेर होइन बेइमानी गरी छिट्टै धनी बन्ने लहर बढ्दै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *