भर्खरै :

सक्वको म राजदास–१२२ / किन भत्किन्छन् बन्दै गरेका नयाँ नयाँ पुलहरू नेपालमा

पोखराको सेती नदी माथि हालसालै निर्माण पूरा भई परीक्षण गर्नु अगावै भत्किएको ६ करोड लागतमा बनेको पुल
नेपाल धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाले भरिपूर्ण भए पनि नेपाली जनजीवन अस्तव्यस्त छ, कष्टकर छ, गरिखाने मान्छेलाई गा¥हो छ, इमानदार भई बाँच्न मुस्किल छ । जताततै भ्रष्टाचार नै भ्रष्टाचार छ, सुन्दासुन्दै वाक्कदिक्क लाग्छ । त्यसैले मानिसहरू विदेशिन खोज्छन्, विदेशिँदै छन् । एक छाक राम्रो खान र लाउन, कुनै कामको अवसर पाउन र आफ्नो छोराछोरीको भविष्य उज्ज्वल देख्न एक न एक सपना बोकी आफ्नो देशको माया र ममता त्याग्छन् ।
हो, यहाँ दिनदिनै भ्रष्टाचार, अन्याय, अत्याचारका कुरा सुनिन्छ । सुखद खबर विरलै सुन्न पाइन्छ । नेपाल गरिब मुलुक होइन यहाँ प्राकृतिक सम्पदा यथेष्ट छन् । तर, विडम्बना ! जताततै आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक र स्वास्थ्य क्षेत्रमा अनियमितता छ ।
नेपालमा खानी तथा भूगर्भ विभाग भन्ने एक सरकारी निकाय छ । वर्षको अरबौँ रूपैयाँको बजेटअन्तर्गत खनिज पदार्थको अध्ययन अनुसन्धान भइरहन्छ । पेट्रोल खानीको खोजी हुन्छ । सुन खानीको खोजी हुन्छ । ढुङ्गा र बालुवा खानीको अन्वेषण हुन्छ । थुप्रै ठाउँमा मूल्यवान खानीहरू पनि भेटिएका छन् । चुन ढुङ्गा, मार्बल, डोलोमाइट, माग्नेसाइट, खरिढुङ्गाजस्ता बहुउपयोगी बहुमूल्य खानीहरू पनि भेटिएका छन् । तर, कुनै पनि खानी देश र जनताको हितमा सदुपयोग भइरहेको देखिएको छैन ।
नेपालको उत्तरी पूर्वी क्षेत्रमा अवस्थित दोलखा जिल्लामा विश्वकै विरलै पाइने उच्च गुणस्तरयुक्त खरीढुङ्गा, म्याग्नेसाइट, स्लेट ढुङ्गाको अध्ययन अनुसन्धान भएको छ । अरर्बौँ रुपियाँको लगानी गरी कारखाना पनि स्थापना गरिएको थियो । जर्मनी सरकारको सहयोगमा प्राविधिक सम्भाव्यता अध्ययन गरी म्याग्नेसाइट खानी उत्खनन गरी अरबौँ रूपैयाँ लगानी गरी म्याग्नेसाइट उत्खनन गरी ‘डेड बन्र्ट’ म्याग्नेसाइट उत्पादन गर्ने उद्योग पनि स्थापना गरियो । विश्वकै एक प्रतिष्ठित औद्योगिक राष्ट्र जर्मनीबाट औद्योगिक उपकरण खरिद गरी आयात गरियो । तर, विडम्बना ¤ उत्पादित ‘डेड बन्र्ट’ म्याग्नेसाइट न आशातीत गुणस्तरको निस्कियो, न उसले कुनै अन्तर्राष्ट्रिय बजार नै पायो । उत्तरी छिमेकी देश चीनबाट उत्पादित वस्तुसँग मूल्यमा प्रतिस्पर्धा गर्न नसकी उद्योगमा गरिएको अरबौँको लगानी बालुवामा पानीजस्तै भएको छ । दोलखाको खरी ढुङ्गा र जर्मनीबाट आयातीत कारखाना बेवारिसे अवस्थामा छ ।
किन फेल भयो दोलखाको म्याग्नेसाइट खनिज उद्योग !
दोलखा जिल्लामा अवस्थित म्याग्नेसाइट र खरीढुङ्गा खानी आफैमा नराम्रो खानी होइन । यो सानो खानी पनि होइन । झन्डै ८० करोड टन म्याग्नेसाइट भएको उक्त खानी विश्वमै एक ठूलो र उच्च गुणस्तरयुक्त ढुङ्गा खानी हो । जमिनको सतहमै फैलिरहेको उक्त ढुङ्गा खानी उत्खनन गर्न पनि धेरै सजिलो र संयुक्त राष्ट्र विकास परियोजनाले सहयोग गरेको थियो । उक्त खानी उत्खनन गरी उद्योग स्थापना गर्न र पचासौँ करोड रुपियाँ लगानी गरी उद्योगको बारम्बार नवीकरण गर्ने प्रयास पनि गरियो । तर, अन्तमा बिना कुनै उपलब्धि केही सीप नलागेर उद्योग अलपत्रमा छाडियो । उक्त खानी सञ्चालन गरेर यदि यही अथवा यस्तै खानी अन्य कुनै देशमा भएको भए सयौँ अरबौँ रूपैयाँ कमाई सक्थ्यो होला । उक्त खानी र उद्योग सञ्चालनमा हजारौँ जनताले रोजगारी पाउँथे होला । तर, हाम्रो यो कस्तो दुर्भाग्य आफ्नै आँगनमा हिरा भएर पनि हामी अर्काको देशसँग भिख मागी खानुपर्ने अवस्थामा पुगेका छौँ ।
केही दिनअघि सामाजिक सञ्जाल र सञ्चारमाध्यममा एउटा सनसनीपूर्ण खबर आएको थियो । खानी तथा भूगर्भ विभागका महानिर्देशकलगायत केही अन्य सरकारी पदाधिकारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान केन्द्रमा अरबौँ रूपैयाँ भ्रष्टाचारको मुद्दा हालियो ।
देशको यो दुरवस्था कसरी भयो ? खानी विभागका हाकिमहरूविरुद्धको मुद्दा एक उदाहरणमात्र हो । यस्तै उदाहरण अन्य धेरै क्षेत्रमा व्याप्त भइरहेको कुरा हामी दिनदिनै सुन्दै र हेर्दै छौँ । तर, कुनै सुधार भएको छैन । देश विकासको हरेक क्षेत्रमा हरेक कुना काप्चामा भ्रष्टाचार र लुटतन्त्र चलिरहेकै छ ।
बन्दाबन्दै पुल भत्कियो ?
२०७८ माघ १२ गते बुधबार फेरि अर्काे त्यस्तै दुःखद खबर आयो । ‘निर्माण सकेर टेको झिक्दा नै भाँचियो ६ करोडको पुल ।’
गण्डकी प्रदेश पोखरा महानगरपालिका वडा नं ३२ गगन गौडा र वडा नं ३३ लाम्रगाँदे जोड्ने पुल निर्माण सम्पन्न भई परीक्षण गर्न लाग्दा पुल निर्माणमा प्रयोग भएको टेको झिक्दा झिक्दै गर्दा ६ करोडभन्दा बढी लगानीमा निर्माण भएको नयाँ पुल भाँचियो । यसरी बन्दाबन्दै गर्दा भाँचिने र भत्किने पुल भने नेपालमा यो पहिलो होइन । हरेक वर्ष ठाउँ–ठाउँमा यस्ता मार्मिक तथा दुःखद घटनाहरू भइरहँदा पनि यस्ता दुर्घटनाका सम्बन्धित कम्पनी वा व्यक्तिहरूलाई उचित कारबाही भएको सुनिँदैन । त्यस्तै ठेकेदार कम्पनीहरूलाई फेरि फेरि पनि देशका ठूल्ठूला निर्माण कार्यहरूको जिम्मा दिइएको कुरा सुनिन्छ । देश र जनताले यसको नतिजा बारम्बार भोगिराख्नु परेको छ ।

सन् २०२१ नोभेम्बर २८
भोजपुरमा रामप्रसाद राई गाउँपालिका र हटुवागढी जोडन ५ करोड रुपैयाँ लागत इस्टिमेटमा बनाइएको पुल निर्माण कार्य सम्पन्न हुनु अगावै भत्केको अवस्था ।


किन भत्किन्छन् नयाँ नयाँ पुलहरू बन्दा बन्दै ?
पोखराको सेती नदी माथि परीक्षण नै गर्न नपाई भत्किएको ६ करोडको पुलजस्तै एक वर्षअघि सन् २०२१ नोभेम्बर २८ मा भोजपुरमा बन्दै गर्दा एउटा पुल भत्कियो । भोजपुर जिल्लाको रामप्रसाद राई गाउँपालिका र हटुवागढी जोड्ने पुल निर्माण पूरा हुनुअगावै ५ करोडको लगानीमा बन्दै गरेको उक्त पुल भत्किन पुग्यो । त्यस्तै सन् २०२१ जुलाई २ मा सिरहा र धनुषा जिल्ला जोडिने गरी कमला नदीमाथि बनाइएको कमला पुल भत्किँदा केही स्थानीयवासिको ज्यान गएको थियो ।
यसरी नेपालमा आफूसँग भएको थोरै स्रोत र साधन प्रयोग गरी अथवा विदेशी मित्र राष्ट्रहरूसँग ऋण सहयोग र अनुदान मागी बनाइएका धेरै पुलहरू बन्दाबन्दै भत्किनु र त्यसबाट ठूलो धनजनको क्षति हुनु धेरै दुःखको कुरा हो । यसको कारण पत्ता लगाई दोषीउपर कारबाही गरी भविष्यमा यस्ता घटना नहोस् भनी सम्बन्धित निकायहरू सचेत र इमानदार हुनु आवश्यक छ ।
करोडौँ करोडको लगानीमा बन्दै गरेका आधुनिक डिजाइनका पुलहरू भत्किँदै गर्नुको विभिन्न कारणहरू हुनसक्छन् ।
१. कमसल खालको निर्माण सामग्री प्रयोग हुनु
२. पुलको डिजाइनमा त्रुटी हुनु
३. प्राकृतिक प्रकोपको कारण
४. निर्माण कार्यमा हेलचक्र्याइँ आदि ।
धेरैजसो नवनिर्मित पुलहरू बन्दाबन्दै भत्किनुको एक मूल कारणमा उक्त पुलहरू निर्माण गर्दा प्रयोग हुने निर्माण सामग्रीहरू कम गुणस्तरको प्रयोग हुनु हो । पुलहरूमा प्रयोग हुने मुख्य निर्माण सामग्री भनेको सिमेन्ट, बालुवा, रोडाढुङ्गा र स्टील (फलाम) स्ट्रक्चर हुन् ।
कुनै पनि पुलको संरचनामा प्रयोग हुने निर्माण सामग्रीमध्ये सिमेन्ट सबभन्दा महत्वपूर्ण सामग्री हो । निर्माण कार्यमा प्रयोग हुनुअगाडि निर्माण स्थलमै प्रत्येक डेलीभरी सिमेन्टको प्रयोगशाला स्थापना गरी सिमेन्टको भौतिक गुणस्तरको परीक्षण हुनुपर्दछ । यद्यपि, सिमेन्ट निर्माण गर्ने कम्पनीमा पनि त्यस्तो परीक्षण अनिवार्यरूपमा भएको हुनुपर्दछ ।
आजकल बजारमा विभिन्न ब्रान्डका, विभिन्न गुणस्तरका निर्माण सामग्री पाइन्छन् । बजारमा पाइने सबै प्रकारका सिमेन्ट उच्च गुणस्तरका हुँदैनन् र ठूलठूला भौतिक संरचनाहरूको लागि योग्य हुँदैन । तर, आर्थिक लोभमा फसेर निर्माण कम्पनीका ठेकेदार र ज्यामीहरूले निम्न गुणस्तरको र निम्न तौलको सिमेन्ट प्रयोग गर्न सक्छन् । यो पनि पुलहरू भत्किनुको अर्को कारण हुनसक्छ ।
सिमेन्टजस्तै फलाम र स्टीलका स्ट्रक्चरहरू पनि त्यही आर्थिक लोभले गर्दा कम खर्चमा निर्माण कार्य सम्पन्न गर्ने हेतुले कम वजनका स्टीलका सामानहरू प्रयोग गरेका हुन्छन् र यो पनि पुलहरू भत्किनुको कारण हुन्छ ।
तेस्रो कारण, पुल निर्माण गर्ने ठेकेदार र मजदुरहरूको लापरबाहीले पनि हुनसक्छ । समयमै निर्माण कार्यमा निरीक्षणमा हेलचक्र्याइँ र सानोतिनो गल्तिले पनि ठूलठूला क्षति हुनसक्छ ।
कुनै कुनै संरचनाहरू गलत डिजाइन र लागत मूल्य घटाउन प्रारम्भिक (ओरिजिनल) डिजाइनमा परिवर्तन गर्दा र नयाँ प्रविधि प्रयोग गर्दा भत्किन सक्छन् । तर, आजकल अति विकसित प्राविधिक युगमा ठूल्ठूला निर्माण संरचना र त्यसमध्ये पुलहरूको डिजाइनमा गल्ती हुने सम्भावना धेरै नै कम हुन्छ । त्यसमाथि धेरैजसो आधुनिक पुलहरूको डिजाइन जर्मनी, स्वीजरल्यान्ड, जापान, अमेरिकाजस्ता देशहरूबाट आयात गरिने भएको हुँदा ओरिजिनल डिजाइनमा त्रुटी भनेको प्रायः हुनसक्दैन । हाम्रो देशमा बन्दै गरेका नयाँ नयाँ पुलहरू भत्किनुको मुल कारण ठेकेदार कम्पनीहरूले आफ्नो नाफा बढाउन र ठेक्का पाउनको लागि ठाउँ–ठाउँमा विभागीय प्रमुखहरू राजनीतिक पार्टीको नेताहरू र उक्त पार्टीका भ्रातृ सङ्गठनहरूलाई खुसी पार्नको लागि खर्च गर्नु परेको रकम असुल–उपर गर्नका लागि बाध्य भएर कन्ट्रयाक्ट (ठेक्कापट्टा) मा निर्धारण गरेको गुणस्तरको निर्माण सामग्रीभन्दा बजारमा पाइने सस्तो र कमसल गुणस्तरका निर्माण सामग्रीहरू प्रयोग गर्नु नै हो भन्ने जनगुनासो छ । वास्तविकता पनि यही नै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *