भर्खरै :

ताइवानको इतिहास – २ / चिनियाँ जनक्रान्ति र ताइवानको वास्तविकताचिनियाँ कम्युनिस्ट पार्टीको स्थापना

सन् १८४२ को नानकिङ्गको सन्धिपश्चात चीनभित्र हुल्न सफल पश्चिमा साम्राज्यवादीहरूले करिब असी वर्षसम्म चीनलाई लुट्ने र शोषण गर्ने कार्य ग¥यो । सन् १९१२ मा गणतन्त्र स्थापनापश्चात् पनि चिनियाँ जनताले त्रान पाएनन् । पहिलो विश्वयुद्धमा सम्बद्ध राष्ट्रहरूलाई (बेलायत, फ्रान्स, रुस) साथ दिएको चीनलाई युद्धको समाप्तिपछि पेरिसमा भएको भर्सिलिजको सम्झौताले झन् ठूलो आहत तुल्यायो । चीनको शाङ्गडोङ्ग प्रान्त विश्वयुद्धपूर्व जर्मनीको कब्जामा थियो । सम्बद्ध राष्ट्रको जीतपछि यसलाई चीनलाई फर्काउनुको साटो भर्सिलिजको सम्झौताले जापानको जिम्मा लगाउने काम गर्यो । स्मरण होस्, जापान पनि पहिलो विश्वयुद्धमा सम्बद्ध मित्र राष्ट्रहरूको पक्षमा थियो । यस्तो रवैयाले चिनियाँ जनतालाई झन्झन् पश्चिमा शक्तिहरूसँग क्रुद्ध तुल्यायो । यस्तै घटनाक्रमहरू र रुसी अक्टोबर क्रान्तिको सफलताले ऊर्जा पाएका चीनका युवा, विद्यार्थी, बुद्धिजीवी र कम्युनिस्ट विचारधाराका व्यक्तित्वहरूले साम्राज्यवाद र घरेलु सामन्तहरूको विरुद्धमा नयाँ देशभक्ति आन्दोलनको थालनी गरे । सन् १९१९ को मे चारको दिन सो आन्दोलन उत्कर्षमा पुग्यो । ‘मे चारको आन्दोलन’ को नामले चिनिने यस आन्दोलनको सुरुआत युवा, विद्यार्थी र बुद्धिजीवीहरूले गरेको भए तापनि बिस्तारै गरिब किसान र सर्वहारा वर्गको सहभागिता बढ्दै गयो ।

चीनमा संरा अमेरिकी राष्ट्रपति निक्सनको स्वागत


यही आन्दोलनको जगमा चीनमा माक्र्सवादको प्रचारप्रसारको थालनी भयो । पछि चिनियाँ कम्युनिस्ट पार्टीको स्थापना भयो । माओ त्सेतुङ, तोङ्क विउलगायतका नेताहरूको अगुवाइमा जुलाई १ सन् १९२१ मा चिनियाँ कम्युनिस्ट पार्टीको विधिवत स्थापना भयो । यसले पहिलोपल्ट चिनियाँ जनतालाई मुक्तिका लागि दुई मार्गहरू प्रशस्त गर्यो । पहिलो, साम्राज्यवादविरुद्ध र दोस्रो, घरेलु सामन्तवादविरुद्ध सशक्त मुकाबिला । कम्युनिस्ट पार्टीलाई खुलारूपमा काम गर्न करिब–करिब प्रतिबन्ध भएको समयमा पार्टीले सन् १९२३ मा नयाँ रणनीति अपनायो । पार्टीले कोमिङ्गताङ्ग पार्टीसँग एकीकृत भई सशस्त्र एकाइ गठन गर्ने निर्णय गर्यो ।
संयुक्त उत्तरी अभियान युद्ध
कोमिङताङ्गसँगको एकतापश्चात् चिकपाले व्यापक जनतालाई परिचालन ग¥यो । व्यापक जनसमर्थनका साथ चिकपासँगको यस एकीकृत पार्टीले देशको उत्तरी भागसँगै अन्य प्रान्तहरूमा रहेका साम्राज्यवादीहरूबाट पोषित युद्धसरदारहरूसँग युद्ध गरी देशको एकीकरण गर्ने राष्ट्रिय अभियानलाई प्राथमिकता दियो । ‘उत्तर अभियान युद्ध’ भनिने यस आन्दोलन सन् १९२६ मा सुरुआत भयो । भ्रष्ट युद्धसरदारका आतङ्कबाट आजित जनताले स्वस्फूर्तरूपमा यस अभियानलाई सर्मथन गरे । फलस्वरूप छोटो समयमै यस युद्धले ती युद्धसरदारहरूबाट चीनलाई मुक्त ग¥यो । यसै उत्तर अभियान युद्धका साथै चिकपा मजदुर, किसान र सर्वहारा वर्गको आन्दोलनलाई पनि उठाउन सफल भयो । साम्राज्यवादीहरूका कठपुतली युद्धसरदारहरूको पतन र चिकपाको उर्लँदो शक्तिको कारण घटनाक्रमले अर्कै मोड लिनपुग्यो । चिकपाको यस नयाँ शक्तिले एकातिर कोमिङताङ्गभित्रका बुर्जुवा, पुँजीपति र अन्य दक्षिणपन्थीहरू हच्किए भने अर्कोतिर आफ्ना स्वार्थ पूर्ति गर्दै आएका युद्ध सरदारहरूको पतनबाट साम्राज्यवादीहरू तर्सिए । उनीहरूले चीनको भूमिमा अझै आफ्ना वर्चस्व कायम नै राख्न नयाँ एजेन्टको खोजी गर्न थाले ।
च्याङ काइसेकबाट विश्वासघात
आखिरमा बुर्जुवावर्ग र दक्षिणपन्थीको कित्ताका हिमायती कोमिङताङ्गका सेनापति च्याङ काइसेकले त्यो स्वार्थ पूरा गरिदिए । साम्राज्यवाद र उनका भरौते युद्धसरदार तीर सोझिएका बन्दुकहरूलाई च्याङ काइसेक समूहले आफ्नै सहयात्री चिकपाका योद्धाहरूमाथि फकाई विश्वासघात ग¥यो । उत्तरी अभियान युद्धले एउटा निर्णायक मोड लिने बेला अप्रिल १९२७ मा भएको यस घटना चिनियाँ क्रान्तिमा ठूलो दुर्भाग्य मानिन्छ । च्याङ काइसेकले गरेको यो आम नरसंहारमा चिकपाले आफ्ना धेरै योद्धाहरू गुमाए । लाखौँ लाखको सङ्ख्यामा रहेका योद्धाहरू हजारौँमा झरे । यस्तो असह्य विपत्ति भए पनि चिकपाको नेतृत्वमा गुरिला युद्ध र ‘अगाडि फड्को मार्न पछि हट्ने’ नयाँ रणनीति अपनाउँदै सहरमा शत्रुहरूको बर्चस्व हुँदा आफूलाई गाउँमा केन्द्रित गर्ने अभियानअनुसार १९३४ अक्टोबरमा विश्व सैनिक इतिहासमा प्रख्यात ‘लङ्गमार्च’ अभियानलाई अगाडि बढाउँदै कोमिङताङ्गको विरुद्धको लडाइँलाई तीव्र पार्दै लगे ।

च्याङ काईसेक


यता चीनको यस गृहयुद्धको मौकाको फाइदा उठाउँदै १९३१ मै चिनियाँ भूमिमाथि आक्रमण थालेका जापानी साम्राज्यवादले चीनको उत्तरी भाग मन्चुरीयामाथि धावा बोलिसकेको थियो । जापानी साम्राज्यवादसँग संयुक्त भई युद्ध लड्ने चिकपाको प्रस्तावलाई च्याङ काइसेकले लत्याइदिएपछि चिकपाले आफ्नै बलबुत्तामा नयाँ गुरिला दस्ता तयार गरी जापानी साम्राज्यवादसँग युद्ध सुरु ग¥यो । यो नयाँ युद्ध दस्ता सानो र गएगुज्रेको जस्तो देखिए पनि यसले अत्याधुनिक हातहतियारले सुसज्जित जापानीहरूलाई अघि बढ्नबाट रोके र संसारलाई चकित पारेको थियो । जापानविरुद्ध चिकपासँग मिली संयुक्तरूपमा युद्ध लड्न अमेरिकाको समेत अनुरोधलाई नमानेका च्याङ काइसेक अन्ततः चिनियाँ क्रान्तिकारी युद्धदस्ताको तागतले जनसमर्थन उतातिर जाने डरले चिकपासँग युद्ध बिराम घोषणा गरी जापानविरुद्ध युद्ध लड्न बाध्य भयो । तर, च्याङ काइसेक सेनाले जापानी सेनाविरुद्ध लडेको नाटकमात्र ग¥यो । फलस्वरूप चिनियाँ क्रान्तिकारी युद्धदस्ताले नै जापानी सेनाको विरुद्ध साँच्चिकै युद्ध गर्नुप¥यो ।
कोमिङताङ्गको पतन र समाजवादको स्थापना
यता दोस्रो विश्वयुद्धको अन्ततिर अगस्त १९४५ मा जापानको आत्मसमर्पण सँगसँगै चिनियाँ भूमिमा उसको अस्तित्व सकिन नपाउँदै च्याङ काइसेकले फेरि आफ्नो बन्दुक क्रान्तिकारी सेनातिर फर्काउन थाल्छ । जुलाई १९४६ मा च्याङ काइसेकको सेनाले चिनियाँ जनमुक्ति सेनामाथि आफ्नो पूरा तागतले आक्रमण थाल्यो । तर, यतिबेलासम्म चिकपाले आफ्नो योद्धाको सङ्ख्या १२ लाख र अन्य जनमिलिसिया २२ लाखसम्म पु¥याइसकेको थियो ।चिनियाँ जनताको अन्तिम लडाइँबाट देशलाई विदेशी साम्राज्यवाद, घरेलु सामन्तवाद र दक्षिणपन्थी शक्तिबाट मुक्त गर्ने प्रण ग¥यो । आखिर तीन वर्षको लडाइँपछि पूर्णरूपमा अमेरिकी सहयोग पाएको ८ लाख सेनासहितको च्याङ काइसेकको सेनालाई जनमुक्ति सेनाले चिनियाँ मूल भूमिबाट खेदेरै छाड्यो । च्याङ्गकाईसेक र उनको सेना चीनकै भूमि ताइवान टापुमा सीमित हुन पुग्छ र यता चीन १ अक्टोबर १९४९ मा जनगणतन्त्र (Peoples’ Republic of China = PRC) घोषणा हुन्छ ।
ताइवान र अमेरिकी बेइमानी
युद्धमा नदीनाला वा समुद्रले पनि महत्वपूर्ण भूमिका खेलेका हुन्छन् । दोस्रो विश्वयुद्धमा जर्मन सेनाबाट बेलायतलाई इङ्गलिस च्यानलबाट (फ्रान्स र बेलायतबीचको समुद्री भाग) बचाएको थियो । इङ्गलिस च्यानल नहुँदो हो त जर्मन सेनाले फ्रान्सलाई जस्तै बेलायतलाई पनि केही दिनभित्रै कब्जामा लिइसकेको हुन्थ्यो । कोमिङताङ्गका सेनालाई पनि ताइवान र चिनियाँ मूल भूमि बीचको समुद्री भागले (Taiwan Strait) चिनियाँ जनमुक्ति सेनाको आक्रमणबाट जोगायो । पश्चिमा साम्राज्यवादीहरूलाई एकातिर सयौँ वर्षपछि विशाल चिनियाँ भूमि छोड्नुपर्ने कुराको पीडा थियो । अर्कोतिर पूरा एसिया प्रशान्त क्षेत्र कम्युनिस्ट विचारधाराको प्रभावले छोप्ने डर ।

अध्यक्ष माओ त्सेतुङस“ग अमेरिकी विदेश सचिव किसिङ्गर


अमेरिकाको भएभरको सहयोग हुँदाहुँदै पनि च्याङ काइसेक र उनको सेना चिनियाँ मूल भूमिमा टिक्न सकेन र चीनकै एउटा भूभाग ताइवान टापुमा भागेर सीमित हुनपुग्यो । तर, दुर्भाग्य, विशाल मूलभूमि चीन जुन क्षेत्रफलमा ताईवानभन्दा दुईसय सत्तरी गुणा विशाल र जनसङ्ख्यामा करिब ३० गुणा ठूलो चीनलाई एक सार्वभौम देशको मान्यता नदिई त्यसकै एक सानो अंश टापुमा सीमित भएको आफ्नो कठपुतली सरकारलाई गणतन्त्र चीनको (Republic of China= ROC) पगरी गुठ्याइयो । दोस्रो विश्वयुद्धसम्ममा विश्वको राजनीतिमा एक नयाँँ शक्ति भएर उदाएको अमेरिकाले आफ्नो शक्ति र पहुँचको भरमा ताइवानलाई संयुक्त राष्ट्रको सदस्यता दिलाई सिँगो चीनको प्रतिनिधि ताइवानलाई बनाएर विशाल चीनलाई हेप्ने र अपमान गर्ने काम गर्यो ।
तीन दशकको निरन्तर युद्धमा होमिएको चिनियाँ जनमुक्ति सेना र चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूलाई स्थापित समाजवादी व्यवस्था सुदृढ गर्नु र शान्तिपूर्वक देशलाई उन्नतिको बाटोमा लैजाने कुरामा आफ्नो ध्यान केन्द्रित गर्नु त थियो नै । तर, चारैतिरको पश्चिमा साम्राज्यवादीहरूको आक्रमणबाट देशलाई रक्षा गर्नु झन् ठूलो चुनौती थियो । कोरिया प्रायद्वीपको युद्ध (सन् १९५०–५३) मा अमेरिका समर्थित दक्षिण कोरियाली सेना तथा अन्य विदेशी सेनाले उत्तर कोरियाको अन्तर्राष्ट्रिय सीमामा अतिक्रमण गर्न थाले । पछि चिनियाँ जनमुक्ति सेना फेरि यसमा होमिनु पर्ने बाध्यता आयो ।
कोमिङताङ्ग सेनालाई ताइवानबाट धपाउन बेलाबेलामा आक्रमण नगरिएको होइन । इतिहासमा ताइवान स्ट्रेटको सङ्कटको नामबाट चिनिने घटनामा मूलभूमि चीनको सेना र कोमिताङ्गको सेनाबीच सन् १९५४ र ५५ मा दुई ठूलो मुठभेड भयो । यही सङ्कटको सिलसिलामा अमेरिकाले चीनको मूलभूमिमा परमाणु बम खसाल्ने धम्कीले गर्दा युद्ध त टर्छ । तर, यही घटनाले चीनले परमाणु बम बनाउने अठोट पनि गर्छ । यही मौकाको फाइदा उठाएर ताइवान टापुमा च्याङ काइसेकले अमेरिकाको पूर्ण साथ र सहयोगमा ताइवान नै मुख्य चीन भएको दाबी गर्दै रमाइरह्यो ।
भियतनाम युद्ध र अमेरिकाको बाध्यता
युद्धैयुद्धमा होमिनु पर्ने चिनियाँ जनमुक्ति सेनालाई फेरि दक्षिण छिमेक भारतसँगको सीमा विवादमा सन् १९६२ मा अर्को युद्ध लड्नु प¥यो । फेरि, अमेरिका समर्थित दक्षिण भियतनाम र समाजवादी उत्तर भियतनामबीच अर्को युद्धको थालनी हुन्छ । साम्राज्यवादी अमेरिकाले सन् १९६५ मा उत्तर भियतनाममा हवाई आक्रमण थाल्छ । सम्भवतः यो भियतनाम युद्ध दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठूलो युद्ध हुन पुग्छ । आफू युद्ध प्रविधिमा सर्वश्रेष्ठ रहेको घमण्डले मात्तिएको अमेरिकाले कुनै पनि हालतमा युद्ध जित्न नसक्ने अवस्था आउँछ । यी र यस्तै युद्धमा होमिनु पर्ने बाध्यताको कारण ताइवानको मूलभूमिसँग एकीकरण थाँती रहन्छ । यता, दिनानुदिन भियतनाम युद्धमा अमेरिकाले गरेका युद्ध अपराधहरू विश्वसामु उदाङ्गिदै जाँदा विश्वमा ऊ बदनाम हुँदै जान्छ । जति गरे पनि युद्ध उसले जित्न नसक्ने अवस्थामा पुग्छ र उल्टै उसको आर्थिक अवस्था नै डामाडोल हुनपुग्छ । भियतनामयुद्ध जसरी नै रोक्नुपर्ने अमेरिकी जनताको विरोधले अमेरिकी सडक तातिँदै जान्छ र युद्ध अमेरिकालाई निल्नु न ओकल्नु हुन्छ । परिस्थिति अमेरिकाको प्रतिकूल हँुदै थियो । तर, सुरक्षित अवतरणको कुनै बाटो अगाडि देखापरिसकेको थिएन । भियतनाम युद्धलाई जसरी पनि रोक्ने नारा लिएर राष्ट्रपति पदमा उठेका रिचार्ड निक्सन अमेरिकाको नयाँ राष्ट्रपतिमा विजयी भइसकेको थियो ।
ताइवान चीनकै आन्तरिक मामिला भएको अमेरिकी घोषणा
सन् १९६५ अक्टोबरमा पहिलो परमाणु बम परीक्षणमा चीन सफल भई परमाणु शक्तिसम्पन्न राष्ट्र बन्न सफल हुनु, एसिया प्रशान्त क्षेत्रमा अमेरिका संलग्न रहेको हरेक युद्धमा चीनको उपस्थितिले अमेरिकालाई अप्ठेरो पार्दै जानु, विशेषतः भियतनाम युद्धमा अमेरिका नराम्ररी हार खाँदै जानुले चीनप्रति आफूले दुई दशकदेखि अख्तियार गर्दै आएको आक्रमक नीतिमा १८० डिग्रीको परिवर्तन ल्याई चीनसँग नयाँ सम्बन्ध स्थापित गर्न अमेरिका बाध्यात्मक अवस्थामा पुग्छ । अमेरिकाले चीनप्रति देखाएको त्यो फरक नीतिको पहिलो सङ्केत नै ताइवान मुद्दा थियो । दुई दशकसम्म विशाल चीनलाई विश्व राजनैतिक मञ्चबाट अलग्याउँदै चीनकै एउटा सानो टापु ताइवानका आफ्नो कठपुतली च्याङ्गकाइसेक सरकारलाई संयुक्त राष्ट्रसङ्घको सदस्यता र अझ सुरक्षा परिषद्को स्थायी सदस्यता दिँदै आएको थियो । जनगणतन्त्र चीन नै यसको हकदार भएको धेरै देशको जिकिरलाई अमेरिकाले भिटो लगाउँदै रोकिराखेको थियो ।
त्यही पृष्ठभूमिमा सन् १९७१ जुलाईमा तत्कालीन अमेरिकी सुरक्षा सल्लाहकार हेनरी किसिन्जरको चीनको गोप्य भ्रमणहरूको थालनी भयो । त्यही भ्रमण र चीन अमेरिका सम्बन्धमा नयाँ आयामको सुरुआत गर्ने सिलसिलामै सन् १९७१ अक्टोबर महिनामा संयुक्त राष्ट्र सङ्घ साधारण सभाले जनगणतन्त्र चीनलाई संयुक्त राष्ट्र सङ्घको सदस्यता तथा सुरक्षा परिषद्को स्थायी सदस्यको रूपमा स्वीकार्दै ताइवानलाई निष्काशन गर्न अमेरिकाले सहमति जनायो ।

ताइवानमा संरा अमेरिकी युद्धक विमान


यसरी, दुई दशकपछि चीनले आफ्नो अधिकार प्राप्त गरिछाड्यो र अमेरिकाले आफ्नो हठ छोड्न बाध्य भयो । चीन र अमेरिकाबीच नयाँ सम्बन्ध स्थापना गर्ने सिलसिलामै भएको अर्को एउटा ब्रेक थ्रु दस्तावेज साङ्घाई विज्ञप्ति (The Shanghai Communique) थियो । महिनौँको छलफलपछि मात्र यसले अन्तिम रूप लिएको थियो र यो सम्झौताको प्रमुख मुद्दा पनि ताइवान नै थियो । यस विज्ञप्तिमा अमेरिका ताइवानको हकमा यस्तो घोषणा गर्न तयार भयो –
ताइवान स्ट्रिटको (ताइवान र मूलभूमि चीनबीचको समुद्री भाग) दुबैतर्फको भू–भाग एउटै चीन हो र ताइवान चीनकै एक अङ्ग हो । संयुक्त राज्य अमेरिकी सरकारले यसलाई कहिल्यै चुनौती दिनेछैन । ताइवानको शान्तिपूर्ण समस्या समाधान चिनियाँहरू आफै गर्छन् भन्ने अमेरिका पुनः विश्वास दिलाउँछ । यही उद्देश्यका लागि अमेरिकाले ताइवानमा रहेका आफ्ना सेना र सैन्य अखडालाई छिट्टै खाली गर्नेछ । उक्त क्षेत्रमा तनाव घट्दै गएअनुसार अमेरिकाले चरणबद्ध रूपमा आफ्नो सैनिकको फिर्ती र सैन्य अखडामा बन्द गर्दै लानेछ । (साभार :  पेज २७१, ON China, Henry Kissinger)
आज ताइवानको मुद्दालाई लिएर अमेरिकाले गरेको यस्तो लिखित वाचाको आधारमा ५० वर्षसम्म चीन शान्त कूटनीतिमै सीमित रह्यो । विश्वलाई आफूले दिएको वाचाअनुसार आफ्नै भूमि हङकङमा एक देश दुई नीतिलाई अनुसरण गर्दै छ । तर, अमेरिकाले आफ्नो वाचालाई बिर्सेर आर्थिक शक्तिको रूपमा उदाउँदै गरेको चीनको गतिलाई रोक्न ताइवानलाई उक्साउँदै, नयाँ नयाँ हतियार तैनाथ गर्दै एसिया प्रशान्त क्षेत्रमा पुनः युद्ध भड्काउने कार्य गर्दै आएको छ । ताइवानलाई सार्वभौम देशको हैसियत दिन खोज्ने अमेरिकाले सोचून्– के ‘गोवालाई’ पोर्चुगलले यस्तै प्रस्ताव राख्दा भारतलाई मान्य होला ? आफ्नै टेक्सास् र क्यालिफोर्निया राज्यहरूलाई भोलि मेक्सिकोले सार्वभौम राष्ट्रको हैसियत दिनुपर्ने वा आफूले फिर्ता पाउनुपर्ने प्रस्ताव गर्दा अमेरिकालाई मान्य होला ? होइन भने, दुनियाँको आन्तरिक मामिलामा आगो झोस्दै हतियार बेच्न खप्पिस अमेरिका आफू आन्ध्र महासागर पारी सधैँ सुरक्षित नठान्दा राम्रो होला ।

योगेन्द्रमान बिजुक्छेँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *