फेब्रुअरी १४ अर्थात् प्रेम दिवस ! नेपाली युवायुवतीले पनि सदाझैँ ‘प्रणय दिवस’ मनाए† प्रेम दिवसमा प्रेमिल जोडीका तस्बिरहरूले ढाकिएको छ सामाजिक सञ्जाल† शुभकामनाको बर्सात् पनि । यसलाई ‘भ्यालेन्टाइन डे’ भनेर नयाँ दिवसको रूपमा लिइए तापनि प्रेम कुनै नयाँ कुरा होइन ।
प्रेमबारे अनेक काव्य लेखिएका छन् । एडमइभ, राधाकृष्ण, लैलामजनु, हिरराँजा, मुनामदन र अरू कथाहरू पनि नेपाली समाजमा चर्चित छन् । संसारमा असङ्ख्य प्रेमीप्रेमिका छन् तर माक्र्स र जेनी, लेनिन र क्रुप्सकाया, माओ र याङकाइ हुइ, किम इल सुङ र किम जोङ सुकको प्रेमलाई अद्वितीय मानिन्छ । प्रश्न उठ्छ – के प्रेम व्यक्तिगत मामिलामात्र हो ? कुनै व्यक्तिको प्रेम के समाज रूपान्तरको माध्यम बन्न सक्छ ? यसबारे घोत्लिनु आवश्यक ठान्दछु ।
कार्लमाक्र्स र जेनीको प्रीति
२०४४ सालमा आर. लामाको एउटा पुस्तक प्रकाशित भएको थियो – ‘तिमी मेरो आत्मा, मेरो शृङ्गार’ । पुस्तकमा समावेश गरिएका लेखहरू २०३९–२०४० तिरै ‘साकार’ साप्ताहिकमा प्रकाशित भइसकेका रहेछन् । प्रेमबारे यस पङ्क्तिकारको धारणाको जग त्यही पुस्तकबाट उठेको ठान्दछु । त्यो पुस्तकको नामकरण सार्थक बनाउने लेख पनि त्यही हो – ‘तिमी मेरो आत्मा, मेरो शृङ्गार’ । लेखको प्रारम्भतिरै कार्ल माक्र्स र जेनी माक्र्सबीचको प्रेमको सन्दर्भ उल्लेख छ –
“जेनी र युवा माक्र्सको प्रेमकथा एक आदर्श प्रेमकथा हो । त्यसमा भावनाका गहिराइ र विचारको व्यापकता थियो । दुवैको प्रेम र विवाहले मानव समाजलाई अगाडि बढाउन सहयोग पुग्यो । संसारमा सर्वहारा क्रान्ति र वैज्ञानिक समाजवादबारे चर्चा चलिरहेसम्म जेनीको प्रेम, विवाह र योगदानलाई मानिसले बिर्सने छैनन् ।” माक्र्सकी जीवनसङ्गिनी जेनीले एउटा सन्दर्भमा भनेकी छिन्, “सङ्घर्षले मानिसलाई इस्पात बनाउँछ, प्रेमले मानिसलाई उत्साहित बनाउँछ ।” जेनीको जीवनसङ्घर्षको सार यसै भनाइमा निहीत छ ।
“ममा कैयौँ नराम्रा कुरा छन् । तर, ममा भएको सबैभन्दा राम्रो कुरा हो– तिमीप्रतिको प्रेम ।” जेनीले माक्र्सलाई लेखेको एउटा पत्रमा अभिव्यक्त यस भनाइले माक्र्ससँगको जेनीको प्रेमको आयतन अभिव्यक्त हुन्छ । माक्र्सले पनि जेनीलाई जीवनभर प्रेम गरे । “एउटा सच्चा क्रान्तिकारी, महान् प्रेमको भावनाद्वारा निर्देशित हुन्छ” भन्ने चे ग्वेभाराको भनाइ माक्र्स र जेनीको प्रेम प्रसङ्गबाटै निःसृत हुनुपर्छ ।
जेनी सम्भ्रान्त घरानाकी केटी थिइन्, राजकुमारीजस्ती । उसबेलाको सम्भ्रान्त वर्गबीच उनको सुन्दरताको खुबै चर्चा हुन्थ्यो । एकदिन जेनीले माक्र्सको प्रेम प्रस्तावलाई सहर्ष स्वीकार गरिन् र जिन्दगीभर दुःखसँग सङ्घर्ष गर्न तयार भइन् । माक्र्सले सधैँ कठिनाइ र अभाव भोग्नुप¥यो । शासकहरूले उनलाई कहिल्यै चैनपूर्वक बस्न दिएनन् । सर्वहारा वर्गको पक्ष लिँदा माक्र्सले निर्वासनको कठिन जीवन भोग्नुप¥यो । गुजारा चलाउन घरका सामान बेच्नुप¥यो । केटाकेटी मर्दा कात्रो किन्ने पैसा जम्मा गर्न सकेनन् । जेनीमा माक्र्सलाई बुझ्ने उच्च वैचारिक आधार नभएको भए त्यो प्रेम सम्बन्ध अमर हुन सक्दैनथ्यो ।
“ममा कैयौँ नराम्रा कुरा छन् । तर, ममा भएको सबैभन्दा राम्रो कुरा हो– तिमीप्रतिको प्रेम ।” जेनीले माक्र्सलाई लेखेको एउटा पत्रमा अभिव्यक्त यस भनाइले माक्र्ससँगको जेनीको प्रेमको आयतन अभिव्यक्त हुन्छ । माक्र्सले पनि जेनीलाई जीवनभर प्रेम गरे । “एउटा सच्चा क्रान्तिकारी, महान् प्रेमको भावनाद्वारा निर्देशित हुन्छ” भन्ने चे ग्वेभाराको भनाइ माक्र्स र जेनीको प्रेम प्रसङ्गबाटै निःसृत हुनुपर्छ ।
भगतसिंहको प्रेम
के कुनै क्रान्तिकारी एक प्रेमी हुन्न ? हुन्छन् पक्कै । भगतसिंह हुन् एक उदाहरण । भगतसिंह भारतीय स्वतन्त्रता सङ्ग्रामका एक क्रान्तिकारी युवा थिए । ‘बहिरो’ अङ्ग्रेजको कान खोल्न उनले भारतीय संसद् बैठकमै बम फाले । उनी पक्राउ परे, सहादत भए । प्रेमले नै भगतसिंहको वैयक्तिक सुन्दरतामा ज्यान थपेको थियो ।
नेसनल कलेजमा अध्ययनरत छँदै एउटी सहपाठीसँग भगतसिंहको प्रेम बस्यो । उनको व्यक्तित्वबाट प्रभावित भएर उनकी सहपाठी क्रान्तिकारी समूहमा आबद्ध भइन् । संसद् भवनमा बम फ्याँक्ने ‘मिसन’ को तैयारी हुँदै थियो । एउटा बैठकमा भगत सिंहका मित्र सुखदेवले ठट्टा गर्दै भनेछन्, “तिमी त्यस केटीको कारण मिसनमा जाँदैनौ ! किनभने, तिमी उनलाई सा¥है प्रेम गर्छौ ।” बैठकमै भगतसिंह र सुखदेवबीच नारी, प्रेम र यौवनको सम्बन्ध आदि विषयमा गम्भीर बहस भयो । त्यतिले चित्त बुझेन भगतसिंहको । राति प्रेम तथा मानवीय संवेदनाबारे सुखदेवको नाममा उनले एउटा चिठी लेखे ।

भगतसिंह
सुखदेवको त्यो घोचपेचपछि भगत सिंहले अर्को बैठक बोलाएर संसद् भवनमा बम फ्याँक्ने टोलीमा आफ्नो नाम लेखाए । सन् १९२९ अप्रिल १८ मा भारतीय संसद् भवनमा बम फ्याँक्ने मिसनमा जानुअगाडि भगतसिंहले सुखदेवको नाममा लेखेको एउटा चिठी चर्चित छ । उनी लेख्छन्, “प्रेमले सधैँ मानिसको चरित्रलाई माथि उठाउँछ । यसले कहिल्यै पनि कुनै व्यक्तिको चरित्रलाई तल झार्दैन ।” भगतसिंहको प्रेम भारतको स्वतन्त्रताको बाधक बनेन ।
मानसिक सुन्दरताको प्रतीक हो प्रेम
धेरै नेपालीले वसन्त मौसममा नौलो जीवनको सुरुआत गरेका हुन्छन् । वसन्त ऋतुको आगमनसँगै नयाँ पालुवा पलाउँछन्, गहुँबाली हरियो भई लहलहाउन थाल्छ, बचेराहरू पनि गुँडबाट निस्केर सांसारिक जीवनमा विचरण गर्छन्, प्रकृति रङ्गिन र स्वप्निल हुन्छ । शिशिर ऋतुको कठ्याङ्ग्रिँदो दिन बितेपछि आउने वसन्त सबैको निम्ति प्रिय हुन्छ, न जाडो न गर्मीको
मौसम कसलाई पो मन पर्दैन र !
वसन्तलाई परिवर्तनको उपमा दिन पनि सकिन्छ । जीवनमा सधैँ कठिनाइमात्र हुँदैन सुखसागरको मौसम पनि आउँछ भन्ने आशा जगाइदिने यस ऋतुले मानिसमा उत्साह र उमङ्ग भर्नु पनि उत्तिकै स्वाभाविक छ । प्रेम प्राकृतिक हुन्छ । जीवनसाथीको चयन पनि स्वाभाविक एवम् प्राकृतिक छ । जसरी प्रकृतिको आफ्नो नियम छ त्यसरी नै समाजले जीवन निर्वाहका केही नियम बसालेको छ, शताब्दीऔँदेखि । समाजले निर्धारण गरेका सामाजिक मूल्य र मान्यतामा अडिएको प्रेमले मानिसको जीवनलाई सहज र सफल बनाउँछ । आजकल युवाहरूमा देखिएको पश्चिमा संस्कृतिको अन्धनक्कल प्रवृत्ति बढ्दो चिन्ताको विषय पनि त्यत्तिकै स्वाभाविक छ । अल्लारे प्रेमको कारण हत्या, आत्महत्या, अपहरणजस्ता घटना भइरहेका छन् । आफ्नो समाज, परिस्थिति, सोचअनुसारको जीवनसाथी चयन गरियो, परिवारको पृष्ठभूमि मिल्यो भने प्रेमले सफलता प्राप्त गर्ने सम्भावना हुन्छ । अन्यथा, बिछोडलगायत अनेक दुर्घटनाको सिकार हुनुपर्दछ ।
जीवनसाथी छनोट गर्दा इज्जत, नैतिकता, इमानदारी, समाजप्रतिको जिम्मेवारीबोध, देशको निम्ति योगदानलाई नापो बनाएको भए हाम्रो समाजमा अनैतिकता, बदमासी, व्यभिचारले स्वतः विस्थापित हुन करै लाग्थ्यो ।
स्वतन्त्रताको नाम हो प्रेम
प्रेम अनुभूतिको विषय हो । भावना छुन सकिन्न तर अनुभव हुन्छ । प्रेममा त्याग, समर्पण र विश्वास हुन्छ । प्रेममा वार्ता हुन्छ, आपसी छलफल हुन्छ मैले जे भनेको छु त्यही हुनुपर्छ भन्ने मान्यता हुन्न† एकले अर्कोको आशा र इच्छा त्यसै पनि बुझिन्छ । प्रेममा एकको इच्छा अर्कोमा लादिन्न बरु शालीन अस्वीकृति हुन्छ । प्रेममा असहमति पनि राख्ने स्वतन्त्रता हुन्छ । प्रेममा एकजनाको स्वार्थको लागि अर्कोलाई प्रयोग गरिन्न । प्रेम अनुशासित हुन्छ तर बन्धन होइन । धागो भएन भने चङ्गा उड्दैन । प्रेम गर्दा लाज पनि लाग्छ तर प्रेमी निर्लज्ज हुन्नन् । प्रेमीको वैचारिक स्वतन्त्रताको निम्ति गर्धन पनि थापिन्छ । बेमेलमा पनि मेल हुन्छ । कहिलेकाहीँ मेल हुँदाहुँदै बेमेल हुनसक्छ । विचार उही हुनसक्छ तर दृष्टिकोण फरक हुनसक्छ । फरक दृष्टिकोणमा निराशा हुन्न । प्रेम सुख र दुःख हो । दुःखमा साथ हुन्छ । भौतिक चिजमा प्रेम अडिन्न । प्रेम घर, गाडी, डिनरको तराजुमा जोखिन्न । प्रेममा ‘…साग र सिस्नु’ पनि आनन्दी मनले खाइन्छ । प्रेम अश्लील, भद्दा, अभद्र कदापि हुन्न । प्रेम सधैँ सुन्दर हुन्छ ।

एँगेल्स र मेरि बर्नस्
कुनै समय चिनियाँ केटीले वर खोज्दा हातमा माटो लागेको केटा खोज्दथे । श्रमको सम्मान गर्ने, श्रमिकलाई माया गर्ने, काम गरी खान लज्जाबोध नगर्ने, देशको सार्वभौमिकतालाई प्राणभन्दा प्यारो ठान्ने, सामूहिक भावनालाई प्राथमिकता दिने, कमजोरलाई उठ्न सहारा दिने, सत्य बोल्न निर्भीक हुने, गलत कुरोलाई जस्तै परिस्थितिमा पनि सत्य नभन्ने, व्यक्तिगत हितभन्दा समाजको हित सर्वोपरि ठान्ने, अरूलाई चोट लाग्दा पीडाको अनुभव गर्ने, म होइन हामी भन्ने, सार्वजनिक सम्पत्तिको रक्षा गर्ने आदि गुण हरेक प्रेमीप्रेमिकाले धारण गर्ने हो भने संसार अझै सुन्दर हुन्थ्यो । ‘आफू मिटाइ अरूलाई दिनु’ मा सुखानुभूति गर्ने मानिसले नै साँचो प्रेमको अनुभव गर्छन् ।
प्रेम सामन्तकालमा प्रतिबन्धित थियो । भ्यालेन्टाइन एउटा दास थिए र उनलाई प्रेम गर्ने प्रतिबन्ध थियो । शासक वर्गले श्रमिक वर्गलाई प्रेममा प्रतिबन्ध लगाएको थियो । पुरानो सामन्ती समाजमा प्रेम असम्भव हुन्छ । तर, आज हाम्रो समाज बदलिएको छ । चिनाजानी, भावनाको साटफेर, विचार–विमर्श, सांस्कृतिक आदान–प्रदान आदिको निम्ति प्रेम एक सशक्त माध्यम बन्नसक्छ ।
सुन्दरताको अर्थ
प्रेमको निम्ति राम्रो एउटा सर्त हो । राम्रो के ? रूपमा राम्रो कि गुणमा ? आवरण राम्रो हुँदैमा कोही राम्रो वा राम्री हुने हो र ? सुकरातको अनुहार र शरीर कुरूप मानियो तर विश्वलाई महत्वपूर्ण ज्ञान दिए । लुई पाश्चरले कीटाणु सिद्धान्तको प्रतिपादन गरे । पाश्चर प्यारलसिस रोगबाट पीडित भए । हेलन केलर आँखा देख्दिनथिन्, ज्ञानको क्षेत्रमा उम्दा भइन् । ‘समयको इतिहास’ लेख्ने वैज्ञानिक स्टेफन हकिन्स बोल्न चल्न सक्दैनथे ।
गोरो राम्रो, कालो वर्ण नराम्रो भन्ने आमधारणा पाइन्छ । तराईमा कालो वर्ण उपयुक्त हुन्छ नत्र चर्को घाम थेग्नै सकिन्न । कालो वर्ण हुनु प्राकृतिक कुरा हो । अश्वेत आन्दोलनका राजनेता नेल्सन मण्डेलाको विश्वले प्रशंसा गरेकै छ । गर्मीमा सुतीको कपडा नलगाई रेशमी कपडा लगाएर फेसन शो गर्ने, चिसोमा पातला र छोटा कपडा लगाएर राम्रो हुन खोज्ने युवायुवतीले कुनै पनि फेसन प्रकृतिसापेक्ष हुनुपर्छ भन्ने कुरामा गम्भीर चिन्तन गर्नु आवश्यक छ ।
शारीरिक सुन्दरतालाई मात्र आधार बनाई गाँसेको प्रेम केही समय रङ्गिन होला, दिगो हुँदैन, किनभने शारीरिक सुन्दरता फूलजस्तै ओइलाउँदै जान्छ । मानसिक सुन्दरता नै यस्तो बीज हो जो सदावहार रहन्छ ।
शैक्षिक योग्यता, उत्तम विचार, निःस्वार्थ भावना, त्याग, समर्पण नभई कुनै महिला पुरुषको व्यक्तित्व खुल्नै सक्दैन । असल चरित्र नै सुन्दरता हो । हो, सबैजना महान् हुनसक्दैनन् । सारमा, प्रयास वा मनोकाङ्क्षा महान् लक्ष्यतिर उन्मुख हुनु आवश्यक छ ।
अन्तर्जातीय प्रेम
समाज बदलियो । परिस्थिति उही छैन । शताब्दीऔँ अघिका मूल्य र मान्यताहरू फेरबदल भए । आजका युवा गाउँ वा टोल वा पुरानो सीमित घेरामा बाँधिएका छैनन्, पढाइ वा कामको सिलसिलामा टाढाटाढा पुगेका छन् । युवा पुस्ताले कसैसँग प्रेम प्रस्ताव राख्दा वा ‘लभ’ गर्दा जात सोध्नु औचित्यपूर्ण बन्दैन । अन्तर्जातीय विवाहको संस्कृति झाङ्गिदो छ । नेवार, बाहुन, क्षेत्री, गुरुङ, थारुबीचमात्र होइन ‘पानी नचल्ने’ ले ‘पानी चल्ने’ सँग प्रेम गरी सामाजिक सम्बन्ध अगाडि बढाएका छन् । स्वदेशीयमात्र होइन अन्तर्देशीय विवाहको चलन पनि दिनप्रतिदिन बढिरहेको छ ।
अन्तर्जातीय विवाह आणुवंशिक विविधताको निम्ति उपयुक्त छ भन्ने वैज्ञानिक पुष्टि भएको तथ्य हो । पुरानो पुस्ताले रगतको सम्बन्धमा विवाह उपयुक्त छैन भन्नुमा समेत वैज्ञानिकता छ । जति टाढाको नाता भयो उति नै विवाहयोग्य भन्नुको अर्थ पनि राम्रो आणुवंशिक विविधताको विकासतर्फ परिलक्षित छ भन्न सकिन्छ । साथै नयाँ पुस्ता फरक वा नयाँ संस्कृतिसँग घुलमिल होस्, नेपाल र नेपालीको एकता प्रगाढ होस् भन्ने दृष्टिले समेत अन्तर्जातीय विवाह उपयुक्त हुन्छ भन्ने कम्युनिस्ट पार्टीका कार्यकर्ता धेरै छन् । अबको सामाजिक सम्बन्ध हिमाल, पहाड र तराईबीच बढ्नु स्वाभाविक र उत्तम छ ।
एँगेल्स एक युवा थिए, १२ कक्षा पढेका । परिवारको बुझाइमा उनी ‘लिकमा नलागेको’ ठानेर पिताले व्यवहारको भारी बोकाइ दिने सोचे । उनलाई लण्डनको व्यापार हेर्न पठाइयो । एँगेल्स कारखानाबाहिर फूल बेच्ने एउटी केटीसँग आकर्षित भए । मेरी बर्नस् नामकी तिनी फूल बेच्ने केटीकी आमा एँगेल्सकै कारखानामा काम गर्ने मजदुर रहिछिन् । एँगेल्सले आफ्नी प्रेमिकाकी आमाले काम गर्ने उद्योगका मजदुरहरूकोे जीवनको अध्ययन गरे । मेरी बर्नस्ले नै एँगेल्सलाई बेलायतका मजदुरको अवस्थाबारे अध्ययन गर्न सघाइन् । फलस्वरूप ‘बेलायतमा मजदुर वर्गको अवस्था’ नामक पुस्तक तयार भयो । जेनी माक्र्सले प्रेमले उत्साहित गर्छ, उद्देश्यको निम्ति समर्पित बनाउँछ भनेजस्तो ।
अन्त्यमा, कार्ल माक्र्सका अनन्य मित्रको प्रेम प्रसङ्गबाट बिट मार्छु । एँगेल्स एक युवा थिए, १२ कक्षा पढेका । परिवारको बुझाइमा उनी ‘लिकमा नलागेको’ ठानेर पिताले व्यवहारको भारी बोकाइ दिने सोचे । उनलाई लण्डनको व्यापार हेर्न पठाइयो । एँगेल्स कारखानाबाहिर फूल बेच्ने एउटी केटीसँग आकर्षित भए । मेरी बर्नस् नामकी तिनी फूल बेच्ने केटीकी आमा एँगेल्सकै कारखानामा काम गर्ने मजदुर रहिछिन् । एँगेल्सले आफ्नी प्रेमिकाकी आमाले काम गर्ने उद्योगका मजदुरहरूकोे जीवनको अध्ययन गरे । मेरी बर्नस्ले नै एँगेल्सलाई बेलायतका मजदुरको अवस्थाबारे अध्ययन गर्न सघाइन् । फलस्वरूप ‘बेलायतमा मजदुर वर्गको अवस्था’ नामक पुस्तक तयार भयो । जेनी माक्र्सले प्रेमले उत्साहित गर्छ, उद्देश्यको निम्ति समर्पित बनाउँछ भनेजस्तो । यस्ता प्रेमकथाहरू थुप्रै होलान्, यसपटक यतिमात्रै !
Leave a Reply