भर्खरै :

देश र जनताको सेवा गर्नेलाई भोट

राजनीतिक दलहरू कुनै न कुनै दर्शन, सिद्धान्त र विचारबाट चलेका हुन्छन् । दर्शन, सिद्धान्त र विचारविनाको कुनै दलले दिशा निर्देश गर्नसक्दैन । दलको दर्शन, सिद्धान्त र विचारकै आधारमा कुन दलले कुन वर्गका जनताको पक्ष लिन्छ भन्ने ज्ञात हुन्छ । दलले अँगालेको सिद्धान्त र विचारको आधारमा राजनीतिक गतिविधि हुन्छ र त्यसअनुसार जनताले दलप्रति विश्वास गर्छन् । तर, सबै जनता अझै राजनीतिक, सैद्धान्तिक र वैचारिकरूपले सचेत, सङ्गठित नभएको हुँदा कति जनता लोभलालच, पैसाको प्रलोभन, जागिर, ठेक्कापट्टा र धम्की, दबाबको आधारमा राजनीतिक दलमा लागेका हुन्छन् र निर्वाचनमा तिनै दललाई मतदान गर्छन् । एकातिर जनता लोभलालचमा फसेका हुन्छन् भने अर्काेतिर कति राजनीतिक दलका नेताहरू जनतालाई लोभलालचको प्रलोभन देखाएरै आफूतिर तान्छन् या तानिरहेका हुन्छन् । यसैले कति जनता जित्नेलाई भोट हाल्ने कुरा गर्छन् । जनताको अभिमत जित्नेलाई होइन, जनताको सेवा गर्ने या सेवा गरिरहेको दललाई हो ।
आश्चर्यको विषय त निर्वाचनमा ठूला या सत्तासीन दलका नेताहरू सिद्धान्त र विचारको कुरा गर्दैनन्, जनतालाई सचेत पार्ने, देशभक्त र सिद्धान्तनिष्ठ बनाउने काम गर्दैनन् । उनीहरू झूट फलाक्छन्, भ्रमात्मक कुरा प्रचार गर्छन्, लोभलालच देखाउँछन् । उनीहरू जनतालाई सचेत पारेर मत लिँदैनन् । जसरी भए पनि जित्ने दाउ रच्छन् या साम, दाम, दण्ड र भेदको नीति अँगाल्छन् । यसरी सिद्धान्त र विचार थाती राखेर जितेका दलहरूले कसरी जनताको सेवा गर्छन् ? सिद्धान्त र विचारमा दृढ अडान भएका दलका नेताहरू विदेशीसामु झुक्दैनन्, विदेशीको इसारामा चल्दैनन्, असमान सन्धि सम्झौता गर्दैनन् र देशलाई दूरगामी असर पर्ने कुनै काम गर्दैनन् । सत्तारुढ र ठूला दलका नेताहरूमा अडान नभएकै कारण उनीहरूको दलमा सैद्धान्तिक सङ्कट देखिएको हो, सिद्धान्तमा विचलन भएको हो ।
सत्तारुढ र ठूला दलहरू सिद्धान्त र विचारमा नमिले पनि भागबन्डामा मिल्छन्, पैसा बगाएर निर्वाचन जित्न उनीहरू मिल्छन् । असमान सन्धि सम्झौता गर्न उनीहरू पछि पर्दैनन् । ऋण लिएरै, विदेशी सहयोगमै भर परेर बजेट बनाउँछन् र पारित गर्छन् । भ्रष्टाचार, कमिसन र कालाबजारीलाई छुट दिन्छन् । अनि देशमा कसरी सुशासन हुन्छ ? देशले कसरी विकास गर्छ र जनताको जीवनस्तर बढ्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *