अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
सन् २०१९, सेप्टेम्बर १० मा विश्व प्रसिद्ध बेलायती ‘नेचर जर्नल’ मा दाल, भात, रोटी, सब्जी र भान्सामा दैनिकरूपमा प्रयोग गरिने मसलाहरूका बारेमा महत्वपूर्ण अनुसन्धान प्रकाशित भयो । दाल–भातको सट्टा पत्रु परिकारहरू बर्गर, पिज्जा, स्यान्डविच, चाउमिन, चाउचाऊ खाँदा मुटुरोग, मधुमेह रोग हुन्छ भन्नेबारे यस अनुसन्धानमा विशेष चर्चा गरिएको छ ।
जर्मनीको ल्युबेक विश्वविद्यालयका प्राध्यापक राँल्फ लुडविजको नेतृत्वमा भारतीय डा. यास्क गुप्ता र उनका २ जना वैज्ञानिक साथीहरूको समूहले मिलेर गरेको उक्त अनुसन्धानबाट नेपाल र भारतको भान्सामा पाक्ने दाल भात र तरकारीको परिकारलाई स्वस्थकर रहेको पुष्टि गरेको थियो ।
चारजना विशेषज्ञ वैज्ञानिकहरूले २ वर्षको समय लगाएर गरेको अनुसन्धानमा परम्परागत दाल भात र पत्रु खानाहरूको तुलनात्मक अनुसन्धानले देखाएको छ, दाल भात उत्तम खाना हो ।
भलाकुसारी गर्दा ‘भात खानुभयो ?’ भनेर सोधिन्छ ।
दालमा (प्रोटिनयुक्त) र सब्जी (भिटामिन र मिनिरल्सयुक्त) सबै सँगै खाँदा सेवनले शरीरलाई सञ्चो गर्छ । अतः ‘भात खानु भयो ?’ भनेर सोध्नुको अर्थ ‘सन्चो हुनुहुन्छ’ नि, भन्नु हो ।
मौलिक पकाउने शैली, तरकारीहरूको विविधता, मसलाहरूको औषधीय गुण, ताजा अचार आदिले खाना सन्तुलित एवं दाल– भातलाई रुचिकर बनाउँछ । यसरी पाकेको खानाले शरीरलाई स्वस्थ बनाउँछ । स्वस्थ भोजनले मानव शरीरका खरबौँ खरब कोषहरूलाई लगातार उर्जा सञ्चार गर्छ । कोष थाक्न दिँदैन फलतः शरीर थाक्न पाउँदैन ।
यस्तो खान छाडेर मानिसहरू प्रोटिन, क्याल्सियमको चक्की खान्छन् । हिजोआज पोषणको कुरा गर्दा ‘प्रोटिन’ ‘क्याल्सियम’ ‘आइरन’ ‘जिङ्क’, आदि क्याप्सुलका रूपमा दिएमात्र स्वास्थ्य राम्रो हुन्छ भन्ने भ्रमपूर्ण धारणा छ ।
अहिलेचाहिँ थालमा भात खाने परम्परागत चलनलाई व्यापारीहरूले थाली भनेर पस्कन्छन् । महँगो पैसा लिन्छन् ।
अहिले नेपाली खानाको रूपमा सबै भात, दाल, तरकारी, अचार, दही, कढी, पापड हुन्छ । गुन्द्रुक, गोलभेडा र टिमुरको अचार पनि हुन्छ । अर्थात्, वैज्ञानिकरूपमा हेर्दा त्यस व्यञ्जनमा शरीरलाई आवश्यक ‘सूक्ष्म पोषक’ तत्वहरू भरिपूर्ण हुन्छन् । दाल भात मिलाएर खाए पेटमा शोषण पनि राम्रोसँग हुन्छ ।
चामल सहजरूपमा उपलब्ध नहुने ठाउँहरूमा पनि त्यसको विकल्पमा अन्य अनाजहरू धन बाहेक अन्य अन्न र स्थानीयरूपमा फल्ने गेडागुडीलाई दालको परिकार बनाएर खाने गरिन्छ ।
आयुर्वेदको चरक संहिता अध्याय एकमा आहार चर्चा गरिएको छ जसमा खानाको प्रकृति, पकाउने विधि, मात्रा, ठाउँ, काल (मौसमअनुसारको खानपिन), उपयोग संस्था (भोजन गर्ने बेलाको अनुशासन) बारे पनि लेखिएको छ । एकै प्रकारको खाना मात्र खाँदा एक त त्यसबाट स्वाद प्राप्त हुँदैन भने अर्को तीर शरीरमा पोषक तत्वहरू पाइन्न ।
कारोना ‘कोभिड–१९’ महामारीको यस बेलामा स्वास्थ्यको झनै ख्याल राख्नुपर्छ । रोगसँग लड्ने शक्ति बढाउन भान्छा पाकेको दाल भात सब्जी नास्तामा ताजा फलफूल र खाजामा स्वस्थकर परम्परागत खाना नै खाने गर्नुपर्छ ।
किन चाहिन्न भिटामिनका सिसी ?
औषधिमा दिने कमिसनका कारण नचाहिने औषधि दिने, बढीभन्दा बढी औषधि दिने र सानो समस्यालाई ठूलो देखाएर औषधि दिने प्रवृत्ति अहिले फस्टाउँदै गएको छ ।
उदाहरणका लागि कसैलाई लामो समय हिँड्दा थकाइ लाग्छ, खुट्टा दुख्छ र त्यो दुखाइ र थकाइ पानीे खाएपछि, खुट्टामा मालिस गरेपछि वा आराम गरेपछि आफैँ ठीक हुन्छ । तर, कतिजना त्यो दुखाइ मानौँ कुनै रोग हो भन्ने ठानेर दुखाइ कम गर्ने औषधि खाइहाल्छन् ।
लामो हिँड्दा पसिना आएपछि र गलेपछि शरीरबाट पसिना बग्दा पानी जाने भएकाले कमजोरी अनुभव हुँदा पनि हामीलाई हत्त न पत्त कुनै औषधि पसलमा गएर भिटामिनको सिसी वा ग्लुकोज किनेर खानुपर्छ भन्ने लाग्छ । यसरी भिटामिन वा ग्लुकोज किनेर खाँदा तागत आयो भन्ने ठानिन्छ । तर, हामीहरूमध्ये कतिलाई थाहा छ कि थकाइ लाग्दा आराम गरेर एक गिलास पानीमा अलिकता नुन, चिनी र कागती हालेर खाइयो भने थकाइ कम हुन्छ ? यस हिसाबले आवश्यकताबिनै हामीले भिटामिन वा अन्य औषधिको प्रयोग गरिरहेका हुन्छौँ ।
बेलायत र अमेरिकाका क्रमशः वारविक विश्वविद्यालय र जन हपकिन्स विश्वविद्यालयका वैज्ञानिकहरूले भनेका छन्, भिटामिन झोल र चक्की किनेर खानु पैसाको बर्बादीमात्र हो र यसले स्वास्थ्यमा केही पनि फाइदा गर्दैन । करिब चार लाख ५० हजार मानिसमा गरिएको यो अध्ययनबाट पत्ता लागेको अध्ययनमा वैज्ञानिक र पोषण विशेषज्ञले भनेका छन्, भिटामिनका गोली र झोलहरू किनेर खाने मानिसहरू विभिन्न औषधि कम्पनीको विज्ञापनमा भर पर्छन् । यस्ता कम्पनीको विज्ञापन गरेर हाम्रो घरको खानेकुराले मात्रै हामीलाई शुद्ध पोषणतत्व पुग्दैन भने कुरा भन्छन् । यो गलत तथ्य हो । औषधि कम्पनीले बूढो हुँदै जाँदा विभिन्न रोगबाट बच्न पनि भिटामिनको प्रयोग गर्नुपर्छ भनेर बारम्बार भन्ने गर्दा भन्दा मानिसहरूले विश्वास गर्छन् । हामीलाई भिटामिनहरू एकदमै कम मात्रामा चाहिने भए पनि यिनको ठूलो महत्व छ । हामीहरूले खानेकुरालाई राम्रोसँग प्रयोग गर्न सकियो भने हामीलाई आवश्यक पर्ने भिटामिन त्यहीँबाट प्राप्त गर्न सकिन्छ । तर, भिटामिन ‘डी’ का लागि सूर्यको किरण आवश्यक छ । त्यसका लागि चाहिँ घाममा १५–२० मिनेट छाला देखाउनुपर्छ । त्यसैले सूर्यलाई भिटामिन ‘डी’ को स्रोत मानिन्छ ।
कतिचोटि स्वास्थ्य शिविरमा जाँदा स्वास्थ्य जाँच गराउन आएका महिलाहरूलाई केही औषधि दिइयो भने उनीहरू भिटामिन पनि दिनुस् न भन्छन् । तपाईँहरूलाई भिटामिन चाहिँदैन घरमा भएको दाल, भात, रोटी, हरियो तरकारी खानुस्, त्यही हो भिटामिन भन्दा कतिजना बिरामी साह्रै असन्तुष्ट हुने गर्छन् ।
जन हपकिन्स विश्वविद्यालयका प्राध्यापक एडगर मिलर भन्छन्, त्यसैले अब यस्ता भिटामिनजन्य औषधिहरू आवश्यक छैन भन्नैपर्छ । भोजन नै औषधि हो भन्ने सिद्धान्त कार्यान्वयन गर्न सके थप भिटामिनको आवश्यकतै पर्दैन । क्याल्सियम ज्वानो र दहीबाट प्राप्त गर्न सकिन्छ । ज्वानो सस्तो तथा भिटामिनले भरिपूर्ण भएको वस्तु हो । एक चियाचम्चा ज्वानोमा ७६ मिलिग्राम क्याल्सियम पाइन्छ । ज्वानोमा रहेको यही विशेषताले गर्दा सुत्केरी महिलालाई ज्वानोको झोल ख्वाउने चलन रहिआएको हो । ज्वानोको प्रयोगले कुपोषणको सिकार भएका बालबालिका, लामो बिमारीपछि उठेका बालबालिका, वृद्धाहरू, गर्भवती महिला सबैलाई फाइदा पु¥याउँछ ।

लेखकको फेसबुक पेजबाट
Leave a Reply