भर्खरै :

संरा अमेरिकी प्रभुत्ववादी लक्ष्यमा आधारित युक्रेन सङ्कट

सामान्यतः प्रभुत्ववाद भन्नाले हामी भौतिक (हार्ड) शक्तिले दबाउने क्षमताको रूपमा बुझ्छौँ । प्रायशः त्यो क्षमता भनेको सैनिक वा आर्थिक बलमिचाइँ हुने गर्छ । तथापि, प्रभुत्ववादको अर्को पक्ष पनि हुन्छ । विचारमा बलमिचाइँ र बुझाईमा नियन्त्रण गर्ने क्षमता पनि प्रभुत्ववाद नै हो । ‘भौतिक’ (हार्ड) र ‘अभौतिक’ (सफ्ट) प्रभुत्ववादले एक अर्कालाई टेको दिएको हुन्छ । भौतिक कारबाहीलाई सही ठह¥याउने विचारमा आत्ममूल्याङ्कन हुँदैन । त्यसमा अर्को पक्षका स्वार्थप्रति कुनै चासो हुने गर्दैन । अन्तर्राष्ट्रिय सम्बन्धका जटिलतालाई ‘असल’ र ‘खराब’ को दर्जामा विभाजन गरी हेरिन्छ । जहाँ ‘डरलाग्दो मान्छेले डरलाग्दो काम गर्छ किनभने उनीहरूलाई हाम्रो डरलाग्दो स्वतन्त्रता मनपरेको हुँदैन ।’
आमविनाशकारी हातहतियारको झुठले इराकलाई ध्वस्त पारियो । ‘डरलाग्दो मान्छे’ सद्दाम हुस्सेनबारे त्यत्तिबेला भएका गम्भीर विश्लेषणलाई आज पनि बिर्सन सकिन्न । आज रूसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई पनि मनोविश्लेषणात्मक कोणबाट हेर्ने गरिएको छ, जहाँ रूसले गरेका कारबाहीलाई विशुद्ध पुटिनमा केन्द्रित गरी हेरिएको छ । पुटिनलाई ‘रूखो पुरूष प्रवृत्ति’ अथवा ‘नेपोलियन चरित्र’ को रूपमा हेरिएको छ । रूसविरूद्ध संरा अमेरिकी नाकाबन्दीको खाका कोर्दै बाइडेनले आफ्नो पछिल्लो मन्तव्यमा युक्रेनमाथि हमलाको लागि पुटिन एक्लैमाथि दोष लगाए । उनले फराकिलो भूराजनीतिक वास्तविकतालाई देखे–नदेखेझैं गरे । आफ्नो देशको सीमासम्म नाटोको सम्भावित विस्तारलाई लिएर कुनै पनि रूसी सरकारले लिने चिन्ताबारे बाइडेनले उल्लेख गर्न आवश्यक ठानेनन् ।
यद्यपि, मलाई यहाँ अचम्म लागेको विषय के हो भने इराक र अफगानिस्तानमा भन्दा फरक अहिले संरा अमेरिका युक्रेनमा आफै गएको छैन । संरा अमेरिका कुरा धेरै गर्छ, काम कम गर्छ । उसले युक्रेनलाई निष्पक्ष शान्ति क्षेत्र बनाउन किन मिहिनेत गरेन ? यदि शान्ति नै उसको उद्देश्य हो भने उसले किन अरू शक्ति (रूस) का सुरक्षा स्वार्थलाई बेवास्ता गर्छ ? संरा अमेरिका र नाटोलाई दोस्रो विश्वयुद्धमा सोभियत सङ्घका २ करोड ७० लाख मानिस मारिएको तथ्य थाहा छ । त्यसकारण युक्रेन नाटोको सदस्य बन्ने कुराबाट रूस त्रसित भएको हुन सक्छ । त्यो कदम रूसलाई घेराबन्दी गर्ने लक्ष्यसहित अघि आएको हो । युरोपको दक्षिणी सीमास्थित लिवियामाथि हमला र युगोस्लाभियामा अवैध लडाई गरेको पनि रूससँग अनुभव छ ।
कसै कसैलाई संरा अमेरिकाले अहिले सिद्धान्तनिष्ठ अडान लिएजस्तो लाग्न सक्छ । संरा अमेरिकाले प्रजातन्त्रको रक्षा गरिरहेको बाइडेनको दाबी छ । तर, ट्रुथ डट ओआरजीका अनुसार संरा अमेरिकाले युक्रेनमा प्रजातन्त्र कमजोर बनाइरहेको छ । ‘युद्ध बन्द गर सङ्गठन’ को वक्तव्यअनुसार युक्रेनमा सन् २०१४ मा भएको राष्ट्रवादी सत्ताकब्जाले निर्वाचित राष्ट्रपतिलाई पदच्युत गरे पछि त्यहाँ राजनीतिक दलहरूमाथि दमन र प्रतिबन्ध बढेको छ । त्यसका साथै, प्रस्टै नवनाजीवादले ‘युक्रेनका राज्यका अङ्गहरूमाथि नियन्त्रण जमाएको छ ।’
त्यसकारण रूसका कदम कोही एक जना नेताको पागलपनबाट नभएको बुझ्न सकिन्छ । संरा अमेरिकाको उद्देश्य रूससँग लड्ने पनि होइन । त्यसो भए प्रभुत्ववादी प्रचारबाजी पछाडिको मूल मनसाय के हो ?
संरा अमेरिकाका भूतपूर्व प्रतिनिधि तुलसी गब्बर्डले हालै यदि युक्रेन नाटोमा सामेल नभई निष्पक्ष राज्य रहे त्यहाँको लडाई संरा अमेरिकाले रोक्न सक्ने बताएकी छन् । युक्रेन नाटोमा सामेल नभए रूस पनि आफूमाथि सुरक्षा खतरा नभएकोमा ढुक्क हुने थियो । खासमा उनी जस्तोसुकै परिस्थितिमा पनि नाटोमा युक्रेनको सदस्यता झन्डै असम्भव हुने विचार राख्छिन् । रूसलाई उक्साउन युक्रेनलाई औजारको रूपमा प्रयोग गर्ने संरा अमेरिकासँग धेरै कारण भएको गब्बर्डको विश्वास छ ।
उनको भनाइमा संरा अमेरिकी प्रजातान्त्रिक प्रक्रिया सैनिक उद्योगका व्यापारिक स्वार्थबाट नियन्त्रित छ । संरा अमेरिकी सैनिक उद्योगले आफ्ना हातहतियार बेच्न नयाँ शीतयुद्धको थालनी गर्न हमला गर्न रूसलाई उक्साइरहेको छ । ‘संरा अमेरिकाले युक्रेनी प्रजातन्त्र रक्षा गरिरहेको’ भन्ने प्रभुत्ववादी भनाइ झुठो भएको गब्बर्डको भनाइ हो किनभने संरा अमेरिकाको समर्थनमै युक्रेनका विपक्षी सङ्गठन र सञ्चारमाध्यम बन्द गराइएको छ ।
गब्बर्डको निष्कर्ष षड्यन्त्र सिद्धान्तमा आधारित देखिन्छ । बाइडेनभन्दा फरक मत राख्दै उनले रूसको सन्दर्भमा ‘कसैले पनि हामीलाई मूर्ख बनाउन नसक्ने र जायज ठह¥याउने कुनै आधार नभएको’ बताएकी छिन् । यद्यपि, यो लेखको मूल विचार हो–शान्तिको लागि हामीले प्रभुत्ववादको प्रश्रय लिनु ठीक होइन जसले हामीलाई मुखले ठीक पारी मूर्ख बनाएको थियो । अरूले कसरी आफ्ना कामलाई सही ठह¥याए भन्ने कुरा हामीले नियाल्नुपर्छ ।
युक्रेनबारे कुनै पनि निष्कर्षमा पुग्नु चाँडो हुनेछ । युक्रेन घटनाक्रम अघि बढेसँगै अरू कुरा छायामा पार्दै सत्य सतहमा आउन सक्छ । आज केही जानिफकारहरू इराकमाथिको हमला नवउपनिवेशवादी हमला भएको कुरामा फरक मत राख्न सक्दैनन् । त्यस्तै अफगानिस्तानले सैनिक उद्योगलाई बीस वर्षसम्म अकुत नाफा दिइरह्यो । बृहत् भूराजनीतिक सन्दर्भमा ‘डरलाग्दो मान्छे’ को हल्लाले कम मात्र मूल्य पाएको छ । अनि कुनै पनि कोणबाट त्यसले लाखौं मानिसको ज्यान जोगाउन सकेन । त्यसकारण शान्तिको लागि हामीले युक्रेनको सन्दर्भमा फराकिलो दृष्टिकोणलाई जोड दिनुपर्छ ।
इराक र अफगानिस्तानमा देखिएको परिणाम फर्केर हेर्दा ‘शान्तिमाथि सङ्कट’ को बेवास्ता गर्दै नाफा खोज्ने हतियार उद्योगमात्र थिएन । युक्रेन सङ्कट धेरै सम्भव विश्वव्यापी प्रतिस्पर्धामा अन्तर–एटलान्टिक एकाधिकार पुँजीलाई बलियो बनाउने बृहत् रणनीतिको हिस्सा हुनसक्छ । युरोपलाई रूसले आफूसँग भएका स्रोत दिंदै आएको ग्यासको आपूर्ति रोकिनसक्छ । त्यसको सट्टा युरोपले महँगोमा संरा अमेरिकाबाट ग्यास ल्याउनसक्छ ।
संरा अमेरिकाको प्रभुत्ववाद जहाजी मार्गमाथि नियन्त्रण र भित्री क्षेत्रमा विकासमाथि रोकमा आधारित छ । फराकिलो युरोसियाली महादेशसँग युरोप जोडिनु संरा अमेरिकाको लागि अहितकारी हुन सक्छ । नयाँ फलामे पर्खालले युरोपको भूराजनीतिक विभाजन युरोपेलीहरूको लागि भन्दा प्रभुत्ववादी स्वार्थको लागि जोखिमपूर्ण हुन्छ । सबै युरोपेलीहरूको लागि युरोपेली महादेशमा दिगो शान्ति स्थापना गर्न हामीले सामना गर्नुपर्ने भूराजनीतिक वास्तविकता यिनै हुन् ।
सीजीटीएनबाट अनुदित सामग्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *