भर्खरै :

भाषिक प्रयोगमा लापरबाही !

भाषा भनेको जनजिब्रो हो । अर्थ बुझियो भने वक्ताले अशुदै बोले पनि त्यो भाषा हुन्छ । तर, यो भनेको भाषाको कथ्यरूपमा मात्र लागू हुन्छ । लेख्यरूपमा पुगेपछि भाषा व्याकरणद्वारा बाँधिन्छ । कथ्यरूपमा मात्र रहेको भाषालाई व्याकरणले नियमन गरेर प्रयोगमा ल्याउन सकेन भने, त्यो भाषाको मौलिकता पनि हराउँदै जान्छ अनि कालान्तरमा भाषाकै लोप हुन पनि सक्छ । कथ्य रूपमात्र भएका संसारका धेरै भाषाहरू यसरी नै लोप भएका उदाहरण पनि छन् ।
भाषिक जीवन्तताका लागि भाषिक प्रयोगमा त्रुटि हुनु र भाषा बिस्तारै तर थाहै नपाइकन परिवर्तन हुँदै जानु स्वाभाविक मानिन्छ । तर, यसमा जबरजस्ती हुनु हुँदैन ।
अन्य भाषामा झैँ नेपाली भाषामा पनि शब्दनिर्माण र वाक्यगठनको आफ्नै नियम र सीमा भएको कुरा स्मरणीय छ । तर, यसमा जानेर, नजानेर, सिक्न नचाहेर वा लापरबाही गरेर पनि प्रशस्त गलत प्रयोग भएको पाइन्छ । यस्ता गल्तीहरू शब्दप्रयोग र वाक्यगठनमा सराबरी हुने गरेका छन् । यसो अवस्था आउनुको कारण, वक्ताको मातृभाषा अलग हुनु पनि हो । यो सानो लेखमा यसकै बारेमा थोरै कुरा उठाउने प्रयास गरिएको छ ।
आजकल धेरैले, ‘म भर्खर मिटिङ सकाएर÷सक्काएर आएको’, ‘मैले यही साल प्लस टु सकाएको÷सक्काएको’, ‘म क्लास सकाएर÷सक्काएर हिँडिहालेँ,’ ‘भोज सकाएर÷सक्काएर आउँदा रातिको बाह्र बजेको थियो’, ‘जुलुस सकाएर÷सक्याएर हामी खाजा खान थाल्यौँ जस्ता वाक्यहरू प्रयोग गरेको सुनिन्छ ।
यस सन्दर्भमा केही क्रियाका चलनचल्तीका रूपहरू हेरौँ ः
(क) पढ्छु, पढेर, पढेँ (ख) पढाउँछु, पढाएर, पढाएँ
(क) लेख्छु, लेखेर, लेखेँ (ख) लेखाउँछु, लेखाएर, लेखाएँ
(क) सिक्छु, सिकेर, सिकेँ (ख) सिकाउँछु, सिकाएर, सिकाएँ
(क) सक्छु, सकेर, सकेँ (ख) सकाउँछु, सकाएर, सकाएँ
यहाँ (क) का शब्द (क्रिया) हरूले कर्ताले कुनै निश्चित समयमा आफ्ना लागि आफैँले काम गरेको भन्ने अर्थ बुझाउँछन् । (ख) का शब्द (क्रिया) हरूले भने कर्ताले अरूका लागि आफूले काम गरेको÷गरिदिएको अर्थ बुझाउँछन् । पढ्नु–पढाउनु, लेख्नु–लेखाउनु, खेल्नु–खेलाउनु भएजस्तै, सक्नु–सकाउनु भएको हो र ‘सक्नु’ भनेको आफैँले काम गरेर वा आफैँमा सामथ्र्य भएर कुनै काम सिध्याउनु हो भने ‘सकाउनु’ भनेको ‘थालिएको कुनै काम आफूले पूरा नगरी अरूलाई समाप्त गर्न लगाउनु वा अरूको सहायताले सक्न लगाउनु’ हो । त्यस्तो व्यक्ति सक्षम रहेनछ भने उसलाई ‘सक्ने पार्नु÷सक्ने बनाउनु’ भन्ने अर्थ पनि दिन्छ ‘सकाउनु’ क्रियाले । नेपाली व्याकरणमा हँसाउनु, रुवाउनु, डुलाउनु, कुदाउनु, उठाउनुजस्ता क्रियालाई ‘प्रेरणार्थक क्रिया’ भनिन्छ । यी क्रियाका अप्रेरणार्थक रूप हाँस्नु, रुनु, डुल्नु, कुद्नु, उठ्नु हुन् ।
माथिका ‘म भर्खर मिटिङ सकाएर÷सक्काएर आएको’, ‘मैले यही साल प्लस टु सकाएको÷सक्काएको, ‘म क्लास सकाएर÷सक्काएर हिंडिहालें,’ ‘भोज सकाएर÷सक्काएर आउँदा रातिको बाह्र बजेको थियो’, ‘‘जुलुस सकाएर÷सक्याएर हामी खाजा खान थाल्यौँ’ जस्ता वाक्यहरूमा प्रयुक्त ‘सक्नु’ क्रियाका रूपहरू, ‘ती कामहरूमा आफैँ सहभागी भएर आफैँले सकेको’ वा ‘काम गर्दागर्दै आफैँ सकिएको’ भन्ने अर्थमा प्रयोग भएका हुन् । अरूलाई आज्ञा दिएर, आदेश दिएर, अनुरोध गरेर वा सक्षम बनाएर काम सक्न लाएको हुँदै होइन ।
भाषा निश्चय नै परिवर्तनशील हुन्छ र परिवर्तनको अवस्थाका क्षेत्रहरू पनि विभिन्न छन् । अनि भाषामा त्रुटि पनि भइरहेको हुन्छ, हुँदै जान्छ । त्यसका पनि विभिन्न क्षेत्र र अवस्थाहरू छन् । यी कुरालाई भाषाविद्हरूले व्यापक चर्चा गरेका छन्् । भाषाका मानक र स्वतन्त्र प्रयोक्ताहरू अनि क्षेत्रगतरूपमा विभिन्नता भएका वक्ताहरूलाई भने एकअर्काका प्रयोगहरू निकै अस्वाभाविक लाग्ने गर्छन् । आ–आफ्नो अभ्यस्तताका कारण, त्यस्तो हुनु स्वाभाविकै हो । यस सन्दर्भमा बीचमा ‘न’ थप्ने चलन (आउँदैन . आउँन्दैन, हुँदैन . हुन्दैन, दिँदैन . दिँन्दैन… …)पहाडी मङ्गोलियन मूल मानिने जातजाति र उपत्यकाका नेपालभाषीहरूमा अनुभव गर्न सकिन्छ ।
बोलाइमा जताततै यस्तो प्रयोग भएपछि, त्यसको प्रभाव लेखाइमा पनि प्रशस्त देखिन थालेको छ । यसो हुनुमा आजकल जताततै खुलेका एफ एम रेडियोका कार्यक्रम प्रस्तोताहरूले पनि सघाएका छन् । टीभी कार्यक्रम सञ्चालक र पत्रकारहरू पनि जिम्मेवार छन् । कतिपय अवस्थामा, नेताका भाषण पनि जिम्मेवार होलान् । अनि सडक, कार्यालय जताततै गलत वर्णविन्यासहित टाँगिने परिचयपाटीहरूले पनि ठूलो भूमिका निर्वाह गरेका छन् । तिनलाई देख्दा नेपाली भाषाप्रेमीहरूले शिर निहु¥याएर हिँड्नुपर्ने छ । कतै शुद्ध लेखेको देखियो भने ‘लेखक’ लाई मनमनै धन्यवाद दिँदै ती महानुभाव को होलान् भनेर भेट्न मन लाग्छ । चाउचाउ, बिस्कुट, साबुनजस्ता कतिपय वस्तुहरूमा लेखिएका गलत वर्णविन्यासले पनि विद्यार्थी वर्गमा सकारात्मक सन्देश दिंदैन ।
गलत वर्णविन्यास तथा अशुद्धिको स्तर शब्द तहमा मात्रै होइन, वाक्य तहका पनि जताततै देख्न पाइन्छ । आजकल अशिक्षितले भन्दा पनि शिक्षित वर्गले नै ‘मैले के भन्छु भने…’, ‘मैले दाल खान्नँ’, ‘मैले यस्तो गल्ती गर्दिनँ’ जस्ता वाक्यहरू प्रयोग गरेको सुनिन्छ । तर व्याकरणमा सामान्य चासो राख्ने जोसुकै नेपालीभाषीलाई पनि के थाहा छ भने, नेपाली व्याकरणमा सामान्य वर्तमान कालका वाक्यमा कर्तामा ‘ले’ लाग्दैन । त्यसैले यी वाक्यहरू मानक लेखाइ र व्याकरणिक हिसाबले गलत छन् ।
मातृभाषा फरक परेका कारण अन्यत्र पनि लिङ्ग, वचन, पुरुष, काल, भाव तथा आदरका सन्दर्भमा शिक्षित व्यक्तिहरूबाटै प्रशस्त गलत प्रयोगहरू भएको देख्न÷सुन्न पाइन्छ । यस्ता कुरामा खासगरी शिक्षक, विद्यार्थी, सञ्चारकर्मी र नेपाली भाषालाई माया गर्ने सबैले ध्यान दिन सकेमा मात्र हाम्रो राष्ट्रभाषाको सुन्दरता र इज्जत कायम रहन्छ ।
‘सानातिना कुरा त हो नि !’, ‘बोल्दा बुझिए भैहाल्यो नि !’ भनेर बेवास्ता गर्न थालियो भने भाषामा ऐजेरु पलाउँदै गएर यसको मौलिकता र सुन्दरता बिस्तारै हराउँदै जान्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *