अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
कृषिमा धेरै थरीका थोकहरू छन् । धेरै थरीका फलफुलहरू, खाद्य बालीहरू, पशुपालन गर्ने खेतबारी खनजोत गर्ने, धान, मकै, गहुँ, फापर, मास, भटमास, कोदो, गहत, बोडी, पशु राम्रो गरी पाल्नुपर्ने खोले, पानी, घास, स्याउला, पराल भुसाजस्ता खाद्य, पशुपालन, गोठ दैनिक सफा गर्नुपर्ने कुरा, पशुबाट उत्पादन हुने गोवर खेतबारीमा पु¥याउनुपर्नेमा हाम्रा ध्यान जानुपर्छ । दूध, दही, घ्यू, मही दैनिक खानुपर्ने, पशुलाई सफा राख्न लगनशील बन्नुपर्ने, पशुको रोग ब्याधिमा चासो राख्नुपर्ने आदि काम पशु चरणमा पनि ध्यान राखेमा हामीले राम्रो उपलब्धि गर्नसक्छौँ । हामी रोग ब्याधिबाट पनि टाढा हुन्छौँ । यी सबै कृषिसँगै सम्मिलित कुराहरू हुन् । हाम्रो घर वरिपरिका बसोबास गर्ने व्यक्तिहरू कृषि नै सर्वश्रेष्ठ मानेर खाद्यान्न घरभित्र भित्र्याउँछन् । कृषिमा यसरी सम्मिलित भएनौँ भने हामी दुःख पाउँछौँ । पशुका लागि घाँस, पराल, दाना, खाद्य उत्पादन गाउँ बेसीको भारी ल्याउने यी सबै कृषिकै उपज हुन् । हाम्रो घर वरिपरि रहेका केरा, अम्बा, नासपाती, आँप, कागती, हलुवावेद, ज्यामीर, बिमिरो, ओखर, भोगटे, निबुवा यी सबै बिरुवाहरू मैले अन्तैबाट ल्याएर सारेर हुर्काएँ । बासी फलफुल खान परेको छैन । पैसा पनि खर्च भएको छैन । यस्तो घरकै उत्पादन ताजा खान पाउने पेसालाई हामी सबैले सुधार गर्नुपर्छ । बढी उत्पादन भित्र्याउनुपर्छ । त्यसो भन्दाभन्दै मलाई नातिले ओठे जवाफ दियो – यो सा¥है फोहोरी काम छ नि हजुरबुबा ¤ यस्तो काम गरेर रोग लाग्दैन ? अरू सफा हुने काम गर्न सकिँदैन ? मैले उसलाई सम्झाएँ, तिमीले अलि बुझ्ने कोशिश गरन । म जीवनभरि कृषि नै गरेको छु । कृषि गर्दा मैलो, फोहोर, धुलो, चोटपटक लाग्ने स्वाभाविक हो । त्यसलाई हामीले सफा गरिहाल्न जानुपर्छ । दिनभरि कृषिमा लगाएका लुगा घर गई सफा गर्नुपर्छ । हात खुट्टा जिउ फोहोर ठाउँलाई सफा गर्नुपर्छ । कृषि कर्म गर्दा लाउने लुगाहरू बेग्लै चाहिन्छ । साना चोट पटकलाई लगाउने मलम घरमा राख्नुपर्छ । मेरो अनुभवमा कृषि फोहोरी काम होइन । कृषि हाम्रो संरक्षण गर्ने व्यवसाय हो ।
तिमीलाई थाहा छ ? हाम्रो देशको कुल जनसङ्ख्यामध्ये ७५ प्रतिशत व्यक्तिले कृषि क्षेत्रलाई नै योगदान दिइरहेका छन् र कृषिमै रमाएका छन् । यो कुरा तिमीलाई कस्तो लाग्छ ? भन्दै गर्दा नातिनी शीतल प्रश्न गर्छिन्, हजुरबुबा, खाद्य चुहावट भनेको के हो ? खाद्य चुहावट भनेको उत्पादित अन्नबालीहरूलाई राम्रोसँग भण्डारण गर्न नजान्नु तथा अनावश्यक खर्च गर्नु भन्ने हो । बाली लगाउँदा लगाउने समयमा सुझबुक नपु¥याउनु, काँचो बाली भित्र्याउनु, बालीलाई छाडा वस्तुभाउबाट नजोगाउनु, पशुपक्षी, मुसा, बाँदर, दुम्सी आदिबाट नजोगाउनु, घरका अन्नलाई समयमा बजारमा नपु¥याउनु, खाना खाने अन्नमा मिसावट हुनु, दूषित औषधि हालेर अन्नबाली छिटो भित्र्याउनु, वनस्पति उपचारसम्बन्धी प्राविधिक ज्ञान नहुनु, कृषि नीतिको नैतिक जिम्मेवारीबाट पन्छिन खोज्नु ठीक होइन । त्यसरी नै झूटा कुरा गरी उपभोक्तालाई उत्पादन बिक्री गर्नु, आफूले उत्पादन गरी उपभोग गरेको कुरा उपभोक्तालाई नदिनु, मेरो उत्पादनमा कुनै कमजोरी भए जिम्मेवारी लिन्छु भन्न नसक्नु, पशुजन्य प्राणीलाई बढी अन्न खुवाउनु, भोजभतेरमा बढी अन्न मिल्काउनु, कृषिकर्मका कठोर दुःखहरूलाई जनमानसमा बुझाउन नसक्नु, सरकारले भण्डारण गरेका खाद्यान्नहरू लामो समयसम्म वितरण गर्न नसक्दा सड्ने, गल्ने अवस्थामा पुगेको समाचार आएकै हो ।
बढी समय टीभी हेर्नु, टीभी हेर्ने समय नमिलाउनु, आफूभन्दा ठूलाबडाले भनेको नमान्नु, सफा ताजा खाना नखानु, बिहान बेलुका दाँत ब्रस नगर्नु, पढाइमा ध्यान नदिनु, पत्रपत्रिका पढ्ने बानी नगर्नु, आफ्ना साथीलाई घरको उत्पादन र व्यवहारिक उपदेश नसुनाउनु आफ्नो मुख्य काम छोडी खेलाइतिर बढी ध्यान दिनु आदि सबै सही होइनन् । यो नैतिकता, आदर्श, जिम्मेवारी र कर्तव्यको चुहावट हो । यस प्रकारको चुहावट रोक्न माथि भनेअनुसारका कामलाई सच्याउन ठीकसँग गर्नुपर्दछ । कतिपय युवायुवतीहरू स्वदेशमै काम नगरी धन कमाउने लोभमा विदेश जानु हुँदैन भनेर म सुझाव दिन्छु । भविष्यमा कृषि विषय पढेर कृषिलाई विकसित बनाउनु पर्दछ भन्ने मेरो सुझाव छ ।
कृषि पढेर डाक्टर इन्जिनियर भइन्छ र हजुरबुबा ? भन्ने सन्ध्या नातिनीको यस प्रश्नले म अझ बढी उत्साहित हुन्छु र उसलाई बुझाउने कोशिश गर्दछु । हो, यस क्षेत्रमा पनि ठूलो डाक्टर इन्जिनियर, वकिल बन्न सकिन्छ । के त्यो गाईको डाक्टर हो हजुरबुबा ? हो, बाबुनानी हो । के गाईवस्तुलाई रोग लाग्दैन र ? के तिनीहरूलाई उपचारको आवश्यकता पर्दैन र ? तिनीहरूलाई पनि डाक्टरको आवश्यकता पर्दछ । हामीले पशुहरू जोगाउनुपर्छ । पशुधन जोगाए देश धनी हुन्छ । पशुहरूको महत्वबारे सबै जानकार हुनुपर्दछ । डाक्टर इन्जिनियरको प्रत्यक्ष मायाममता पाए भने सुख्खा जमिन पनि उर्वर मलिलो रसिलो बन्न सक्दछ । हामीले यही माटोमा नयाँ नयाँ अन्न बालीको नयाँ नयाँ सम्भावनाको खोजी गर्नुपर्दछ । अहिले कृषिप्रधान देश भनेर जसरी चिनिएको छ भविष्यमा चिनाइरहनको लागि अबका पुस्ता बढी सक्रिय र सचेत हुनुपर्दछ । खेतीपातीका साथसाथै हिमाली जडीबुटी औषधि तथा चौरी गाईको दूध उत्पादनमा विशेष ध्यान दिनुपर्दछ । अबको नेपाल कृषिमा क्रान्ति भएको नेपाल हुनुपर्दछ । कृषि क्षेत्रको विकासमा ध्यान दिइएन भने देशमा भोकमरीको सिर्जना हुनसक्दछ ।
भोकमरी भनेको खान नपाउनु हो । भोकमरीको सिर्जना भएमा समाजमा विकृति फैलिन्छ, संस्कृति मेटिन्छ, प्रकृति नासिन्छ र त्यसको जिम्मेवारी अहिलेको नयाँ पुस्ता हुनेछ ।
मैले देशका तमाम बालबालिकालाई जानकारी दिने र कृषिप्रति प्रेरित गर्ने उद्देश्यले यो कुरा भन्दै छु । प्रायजसो विद्यार्थीको भविष्यमा डाक्टर, इन्जिनियर, पाइलट बन्ने इच्छा हुन्छ । बन्न सक्नु राम्रो हो, तर त्योमात्र राम्रो हो भन्ने हुँदैन । राम्रो पढेर कृषि शिक्षाका क्षेत्रमा पनि ठूलो उपलब्धि दिन सकिन्छ । कृषिमा पनि डाक्टर इन्जिनियर बन्न सकिन्छ । यस क्षेत्रमा लागेर सेवा गरेमा तिमीहरूलाई हजारौँ व्यक्तिसँग परिचित गराउँछ । शिक्षाले मानिसलाई चेतनशील बनाउँछ भने कृषि उत्पादनले जगत् पालिन्छ । अहिलेसम्मको कृषि उत्पादन अपूर्ण र अलिनो बनेको छ । कृषिले योग्यशक्ति खोजेको छ । यसमा तिमीहरू तयार हुनुपर्दछ । तिमीहरूले अब नेपाललाई वास्तविकरूपमा कृषिप्रधान देश बनाउनुपर्दछ । यसो हुन सकेमा पछिल्ला पिँढीले तिमीहरूलाई धन्यवाद दिनेछ ।
हाम्रो घर अगाडि ओखर फलेको छ । तिमीहरू मीठो–मानी खाइरहेका छौँ । यो बदाम छोडाएजस्तो राम्रो र स्वादिलो पनि छ । मैले रोपेर तिमीहरूलाई खाने मौका मिल्यो । यो ओखरको बोट मलाई भक्तपुरको जगाती घर भएका न्हुच्छेभक्त जोशीले दिएका थिए । उनी कृषिका जेटीए हुन् । उनीसँग मेरो साधारण परिचय थियो । मेरो कृषिप्रतिको लगनशीलता देखेर उनले मलाई यो राम्रो ओखरको बोट उर्वर ठाउँमा रोपेर हुर्काउनु भनेका थिए । मैले उनको भनाइलाई आज्ञा शिरोपर गरी तिमीहरूलाई फल खुवाउन सफल भएँ । उनीहरूले जागिरबाट अवकाश लिएको सुनेको छु । यस्ता कृषि विज्ञहरूलाई सरकारले खोजेर उनीहरूको अनुभवलाई कृषिमा प्रयोग गर्नुपर्दछ । यस्ता अनुभवी व्यक्तिहरूलाई सम्मान गर्नुपर्दछ । तिमीहरू पनि न्हुच्छेभक्तजस्तै विज्ञ, कृषिप्रेमी बन्नु भन्ने मेरो आशय रहेको छ ।
कृषिप्रति घृणा होइन प्रेम गर्नुपर्छ, नाति र नातिनीलाई यही ज्ञान भर्नुपर्छ । किसानको पहिचान र सत्कार चाहिन्छ ।
तस्बीरः अनलाइन खबर
Leave a Reply