भर्खरै :

अन्याय अन्त्य गर्न अझै सङ्घर्ष आवश्यक

आज ८ मार्च अर्थात् अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको दिन । सन् १९१० मा एक जर्मन समाजवादी नेता, साम्राज्यवाद तथा युद्धविरोधी योद्धा क्लारा जेट्किनको प्रस्तावअनुसार महिला आन्दोलनको स्मरण गर्न प्रत्येक ८ मार्चको दिनलाई श्रमिक महिला दिवसको रूपमा मनाइँदै आएको हो । महिला आन्दोलनबाट महिला कामदारहरूले मतदानको अधिकार पाएका थिए भने बालश्रमको अन्त्य र धेरै काम कम ज्याला दिने व्यवस्थाको अन्त्य भएको थियो । साम्राज्यवादी देशहरूको हातहतियारको होडबाजी र विश्वयुद्ध रोकी विश्वमा शान्ति कायम गर्न, ८ घण्टाको समय निर्धारण गर्न, विभिन्न शोषणको अन्त्यको स्मरण गर्न सन् १९११ देखि यो दिवस मनाइँदै आएको हो ।
महिलाहरूको सङ्घर्षशील भावना अहिले पनि खाँचो छ । अहिले पनि देशमा असमानता र भेदभाव छ । देशमा पुँजीवादी व्यवस्था छ । महिलाहरूको व्यक्तित्व विकास गर्ने समान अवसर छैन । महिला बेचबिखन रोकिएको छैन । महिलालाई वेश्यालय पु¥याएर आयआर्जन गर्ने अपराधीहरू अहिले पनि सक्रिय छन् । महिला हत्या हिंसा रोकिएको छैन । कहिले ‘बोक्सी’ त कहिले दाइजोको नाममा महिलाहरू पीडित भइरहेका छन् । शारीरिक र मानसिक यातना, गाउँ निकाला, अर्धनग्न बनाएर आँगनमा बाँध्ने, दिशा खुवाएर कुटपिट गर्ने घटना अद्यापि छ । यस्ता आपराधिक घटना अन्त्य गर्न कामदार महिलाहरूको हितको निम्ति कामदार महिलाहरू सचेत र सङ्गठित हुनुपर्छ, सङ्घर्ष अघि बढाउनुपर्छ ।
पुँजीवादी व्यवस्था भएसम्म महिला बेचबिखन अन्त्य हुनेछैन, महिला हत्या–हिंसा घट्ने छैन । महिला हक अधिकारको निम्ति, असमानताको खाडल पुर्न, व्यक्तित्व विकासमा समान अवसर पाउन, समाजवादी व्यवस्था आवश्यक हुन्छ । हो, त्यो समाजवादी व्यवस्था तत्काल स्थापना हुँदैन । यसका लागि पूर्वाधार तयार गर्न सङ्घर्ष गरिरहनुपर्छ, राजनीतिक र सैद्धान्तिक चेतना दिनुपर्छ । समाजवादी व्यवस्थामा तल्लो वर्गको हित हुन्छ । योग्यताअनुसार काम र कामअनुसारको ज्यालाको बन्दोबस्त हुन्छ । महिला र पुरुषको भेद अन्त्य हुनेछ । धनी र गरिबबीचको भेद कम हुनेछ । सबैले व्यक्तित्व विकास गर्ने समान अवसर पाउँछ । सामाजिक र राजनीतिकरूपले अगाडि हुन्छ । शोषण समाप्त हुन्छ । महिलाहरू सामन्तवादी, पुँजीवादी, विस्तारवादी र साम्राज्यवादी शोषणबाट मुक्ति हुनेछन् । सबैले उच्च शिक्षा हासिल गर्ने अवसर पाउँछ र रोजगारीको सुनिश्चित हुन्छ । कुनै पनि क्षेत्रमा महिलाहरूको स्थान र योगदान कम हुनेछैन । यी सेवा र सुविधा पाउन प्राप्त अधिकार उपयोग गर्दै समाजवादी व्यवस्थाको लागि सङ्घर्ष गरिरह्नुपर्छ । यही उद्देश्य राखेर महिलाहरू अझ बढी उत्सुक, जागरुक, सचेत र सङ्गठित हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *