भर्खरै :

कोरिया प्रायःद्वीपमा स्थायी शान्ति बहाली हुन्छ

हाम्रो निमन्त्रणामा पाल्नुभएका प्रमुख अतिथि, विशेष अतिथि, अतिथिहरूलगायत उपस्थित सबैमा कोरिया पुनःएकीकरण सहयोग समिति र कोरिया अध्ययन मण्डलको तर्फबाट म यहाँहरूलाई हार्दिक स्वागत अभिवादन टक्र्याउँछु ।
सन् १९४५ मा सैन्यवादी जापानी उपनिवेशबाट मुक्त भएको कोरिया प्रायःद्वीप साम्राज्यवादी अमेरिकाले कम्युनिष्टहरूलाई विस्तार हुन नदिन उत्तर र दक्षिणमा विभाजित गरेको थियो । यसबाट कोरियाको उत्तरी भाग स्वतन्त्र र स्वाधीन रह्यो भने दक्षिणी भाग साम्राज्यवादी अमेरिकाको उपनिवेश बन्यो जुन आजका दिनसम्म पनि कायम रहेको छ । कोरियाको मुक्त उत्तरी भागमा स्थापित व्यवस्थाले स्वाधीन कम्युनिष्ट शासनमाथि साम्राज्यवादी अमेरिकाको बक्र दृष्टिमात्र परेन कम्युनिष्ट विचार वरपरका देशमा समेत फैलने डर साम्राज्यवादी र तिनका कठपुतलीहरूमा फैलियो । त्यसैको परिणाम सन् १९५० देखि १९५३ सम्म कोरिया प्रायःद्वीपमाथि युद्ध थोपरियो । साम्राज्यवादी अमेरिकाका कठपुतली दक्षिणका शासकहरूले तीन दिनभित्र उत्तर कोरियालाई अधीनमा पार्ने हल्ला पनि गरेका थिए । स्वतन्त्र र स्वाधीन उत्तर कोरियाविरूद्ध साम्राज्यवादी अमेरिका र तिन्का झण्डै डेढ दर्जन पिच्छलग्गू देशहरू त्यस युद्धमा सामेल भएका थिए । तर पितृभूमिको रक्षाको लागि उत्तरका वीर जनताले युद्धपिपासुहरूलाई दक्षिणी भागको छेउसम्म धपाएका थिए । चीनलगायतका स्वाधीनताप्रेमी विश्वका जनताको सहयोग पाएर उत्तर कोरियाले डेढ दर्जन आक्रमणकारी देशका सेनासँग बहादुरीपूर्वक लडे र पितृभूमिको रक्षा गरे ।
साम्राज्यवादी र प्रतिक्रियावादीहरूले कोरिया युद्ध उत्तरले दक्षिणमाथि हमला गरेर सुरू भएको हल्ला आज पनि गरिरहेका छन् । तर संयुक्त राष्ट्र सङ्घको झण्डा बोकेर साम्राज्यवादी अमेरिका र तिनका कठपुतलीहरूले युद्ध भड्काएको यथार्थलाई सभ्य र निष्पक्ष विश्लेषकहरूले दाबीका साथ प्रमाणहरू जनसमक्ष ल्याएका छन् ।
झण्डै तीन वर्ष चलेको त्यो युद्धमा उत्तर कोरियाले धेरै धन–जनको क्षति व्यहो¥यो । ‘तीन दिनमा उत्तर कोरियालाई ध्वस्त पार्ने’ भनी डीङ हाँक्ने साम्राज्यवादी अमेरिका र तिनका कठपुतलीहरूले उत्तर कोरिया तङ्ग्रिन तीनसय वर्ष लाग्ने हचुवा अनुमान पनि गरेका थिए । तर प्रजग कोरिया साम्राज्यवादीहरूको नाकाबन्दी, युद्ध र धम्कीको सामना गर्दै उसले आफ्नो अस्तित्वमात्र बचाएको छैन आत्मनिर्भर विकास र निर्माणसमेत उल्लेख्य गरेका छन् । इँटको जवाफ पत्थरले दिने चेतावनी दिन समेत सक्षम भएको छ । यसको एउटा बलियो प्रमाण सन् १९५३ जुलाई २७ मा भएको युद्धविराम पनि हो । त्यसबेला अन्तर्राष्ट्रिय क्षेत्रमा साम्राज्यवादी अमेरिकाको झण्डै एकछत्र दादागिरी चल्थ्यो । तर त्यसले उत्तर कोरियाको अस्तित्व मेटाउन सकेन । त्यति शक्तिशाली अमेरिका एउटा सानो विकासशील देशसँग युद्ध विराममा हस्ताक्षर गर्न वाध्य भएबाटै कोरियाली सरकार र जनताको वीरता र बहादुरी घामजत्तिकै प्रस्ट हुन्छ । कोरिया कमजोर भएको भए शक्तिशाली अमेरिका युद्ध विराममा आउने थिएन ।
यद्यपि, शान्तिप्रेमी प्रजग कोरिया युद्धविरामलाई स्थायी शान्ति सम्झौताबाट विस्थापित गर्न आग्रह गरिरहेको छ । तर युद्धपिपासु साम्राज्यवादी र प्रतिक्रियावादी तथा तिनका कठपुतलीहरू अझै युद्धको मानसिकता बोकेर बसेका छन् । हामीलाई विश्वास छ जसरी वीर कोरियाली जनता शक्तिशाली अमेरिकालाई युद्धविराममा हस्ताक्षर गर्न वाध्य पार्न सफल भएका थिए त्यसरी नै विश्वका युद्धविरोधी र शान्तिप्रिय जनताले कोरिया प्रायःद्वीपमा स्थायी शान्ति बहाली गर्न युद्ध पिपासुहरूलाई वाध्य पार्नेछन् ।
(कोरिया अध्ययन मण्डल र कोरिया पुनः एकीकरण सहयोग समिति, नेपालको संयुक्त आयोजनामा ‘कोरियाली प्रायःद्वीपको वर्तमान स्थिति’ विषयक साउन १२ गते भएको प्रवचन कार्यक्रममा कोरिया अध्ययन मण्डलका अध्यक्ष चैत्यराज शाक्यले बोल्नुभएको मन्तव्यको सारसङ्क्षेप –सं)

Leave a Reply

Your email address will not be published. Required fields are marked *