भर्खरै :

युक्रेन युद्धपछि खुल्दै गएका वास्तविकताहरू

युक्रेनी जनताको दुःख र जेलेन्स्कीको बालहठ
रुसले युक्रेनमा विशेष सैन्य कारबाही थालेको आजले चौथो हप्तामा प्रवेश भएको छ । रुस र युक्रेन दुवै पक्षमा भएको क्षतिले सो सैन्य कारबाही भयानक युद्धमा परिणत भइसकेको छ । युद्धको कारण आफ्नो थातथलो छोडेर जान बाध्य युक्रेनी नागरिकहरूको सङ्ख्या हालसम्म तीस लाख पुगिसकेको अनुमान छ । युक्रेनको उत्तर पश्चिम सिमाना जोडिएको देश पोल्याण्डले मात्र १८ लाख युक्रेनी शरणार्थीलाई शरण दिएको समाचारमा आइसकेको छ । बिजुली बत्ती र खानेपानीको आपूर्ति बन्द भएको अवस्था, खाद्यान्न र अन्य दैनिक उपभोग्य वस्तुहरूको आपूर्ति प्रणाली नहुनु, युक्रेनी जनता बङ्करमा बास बस्न बाध्य हुनु, विशेषतः बालबच्चा र वृद्धवृद्धाहरूको बिजोगले अवस्था कहालीलाग्दो र भयावह हुँदै गएको देखिन्छ । तत्काल युद्ध नरोकिएमा युक्रेनी नागरिकहरूले अझ बढी दुःख पाउनेमा शङ्का छैन । तर, युक्रेनी राष्ट्रपति जेलेन्स्की जनताको यो कहालीलाग्दो अवस्थाप्रति त्यति संवेदनशील भएको देखिएन । बरु, उनी कहिले क्यानडाको संसद्, कहिले बेलायतको संसद्, कहिले जर्मनीको संसद् र कहिले अमेरिकाको संसद्लाई अनलाइन सम्बोधनमा व्यस्त हुँदै युक्रेनलाई सहयोग गर, अझै हतियार देऊ, रुसलाई यति नाकाबन्दीले पुगेन अझै कडा प्रतिबन्धहरूको घोषणा गर, युक्रेनको आकाशलाई हवाई उडान निषेधित क्षेत्र घोषणा गर, नाटो सैनिक आएर रुसी सेनासँग भिडन्त गर, रुससँग मलाई युद्ध गर्न एक्लो पार्याैै भन्दै रुवाबासी र बालहठ देखाउँदैछन् । उनले युद्ध अन्त्य गर्ने उद्देश्यले वार्ताको लागि पहल गर्न ती नाटो देशहरूसँग याचना गरेनन् । ती सम्बोधनहरूमा उनले युद्ध रोक्न शान्तिको लागि उनले गरेका कूटनैतिक पहलहरूका बारेमा एक शब्द पनि बोलेनन् बरु उनी युद्धले ध्वस्त पारिएका युक्रेनको फोटो र भिडिओ देखाएर नेटो राष्ट्रहरूको सहानुभूति र हतियार माग्नमात्र तल्लीन देखिए । जर्मन संसद् बुन्डेज्टागलाई सम्बोधन गर्ने सिलसिलामा जर्मन सरकारले युक्रेनको सुरक्षाभन्दा आफ्नो व्यापारलाई बढी प्राथमिकता दिएकोसमेत आरोप लगाएर कूटनैतिक मर्यादा नै उल्लङ्घन गरे । यही विषयलाई लिएर जर्मन संसद्मा जेलेन्स्कीको सम्बोधन ‘असान्र्दभिक’, ‘अशोभनीय’ र ‘अनावश्यक’ भएको भनी एक घण्टाभन्दा बढी विवाद र होहल्ला भए । (जर्मनी निवासी एक भक्तपुरका साथीले दिनुभएको जानकारी अनुसार)
युक्रेन युद्ध र युरोपमा रक्षा बजेटमा वृद्धि
युक्रेनमा विशेष सैन्य कार्यवाही गर्नुको उद्देश्यमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले प्रस्ट्याएका कारणहरूमध्ये प्रमुख थियो– युक्रेनको असैन्यकीकरण वा डिमिलिटरिलाइज्ड । सुरुमा सुन्दा रुसको यो दावा युक्रेन हमलाको लागि रुसले बनाएको बहानाजस्तो सुनिन्थ्यो । तर, सैन्य कारबाहीको २० सौँ दिनमा युक्रेन र पोल्याण्डको सीमा नजिकको याभोरिभमा युक्रेनी सैन्य अखडा रुसी सेनाको हवाई आक्रमणले ध्वस्त पारिएको थियो । उक्त सैन्य अखडा अमेरिका, क्यानडा, बेलायत, पोल्याण्ड र लाटभियालगायतका देशहरूले नेटो देशहरूका सैनिक प्रशिक्षकहरूले युक्रेनीहरूलाई सैन्य तालिम दिने केन्द्र थियो ।

शान्ति वार्तामा युक्रेनी र रुसी प्रतिनिधिमण्डल


(न्यूयोर्क टाइम्स्, मार्च १५) यसले युक्रेन नाटोको अघोषित सदस्य भइसकेको भन्ने रुसको दावी पनि पुष्टि भएको देखिन्छ । त्यस्तै युक्रेनमा अमेरिकाको जैविक हतियार निर्माण गर्ने प्रयोगशाला भएको रुसको दावालाई लिएर संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा विशेष छलफलको सेशनसमेत राखिएको थियो । युद्ध लम्बिँदै जाँदा युक्रेनलाई नेटो देश विशेषगरी अमेरिका र बेलायतले नयाँ नयाँ हतियार उपलब्ध गराउँदै त्यसको परीक्षणसमेत भएको अनुमान लगाउन मुश्किल छैन । सोही क्रममा युक्रेनले टर्कीमा निर्मित बेरेक्टर टी बी– २ विशेष ड्रोनले रुसी टंैकहरू, बख्तरबन्द गाडीहरू तथा अन्य रुसी मिसाइल प्रक्षेपकहरू ध्वस्त गर्न सफल भएको भन्ने समाचारहरू पनि आइरहेका छन् । (न्यूयोर्क टाइम्स्, मार्च १४) युरोपमा फेरि युद्धको आगो झोसी उनीहरूलाई युद्धमा फसाउँदै आफ्नो दुनो सोझ्याउने अमेरिकाको ग्रान्डडिजाइनअन्तर्गत यी सबै भइरहेको हो भन्ने कुरा पुष्टि हुँदैछ । युक्रेन युद्ध सुरु भएपछि जर्मनीले समेत आफ्नो रक्षा बजेट ह्वातै बढाएको छ । अन्य साना ठूला देशहरूले यही बाटो पछ्याउनेमा शङ्का छैन ।
युरोपलाई आर्थिकरूपमा अमेरिकाको पछाडि डो¥याउने चाल
युरोपेली देशहरूको चीनसँगको बढ्दो आर्थिक सम्बन्ध र उनीहरूको ग्यास र इन्धनकोलागि रुसप्रतिको निर्भरतालाई लिएर वर्षाैँदेखि अमेरिकाले भाँजो हाल्दै आइरहेको छ । जर्मनीलाई ठूलो दबाब दिएरै रुस र जर्मनीबीच ग्यास आपूर्ति गर्ने पाइपलाइन निर्माण हुँदै गर्दा पाँच प्रतिशत काम बाँकी रहेको अवस्थामा नोर्र्ड स्ट्रिम–२ लाई बन्द गर्न लगाउने कोशिश गर्यो । तर, जर्मनीले अमेरिकालाई फकाउँदै सो निर्माण कार्य सम्पन्न ग¥यो । तर, युरोपलाई चाहिने ग्यास अमेरिकासँग लिन उनीहरूलाई दबाब दिँदै आएको छ । अमेरिकाले जस्तोसुकै दबाब दिएपनि युरोपेली सङ्घका दुई प्रमुख देश फ्रान्स र जर्मनी युद्ध चाँडै टुगिनुपर्छ भन्ने पक्षमा रहेका देखिन्छन् । बाहिर जतिसुकै नेटो देशहरूको एकता देखिए पनि यी दुई देशहरूको मनसाय युरोपलाई युद्धमा फस्न दिनुहुँदैन भन्ने पक्षमै देखिन्छ । तर, पश्चिम युरोपका नेटोसम्बद्ध देशहरूको रुससँगको आर्थिक सम्बन्धले त्यहाँ अमेरिकी वर्चस्व समाप्त हुने देखिएर नै आजको अवस्था श्रृजना गराएको घटना क्रमले देखाउँछ । रुसको आर्थिक हैसियतलाई पश्चिमा प्रपोगण्डाले जतिसुकै न्यूनरूपमा देखाउने कोशिश गरेपनि रुसको अपार प्राकृतिक स्रोतको उपलब्धता, खाद्यान्नको अपार भण्डार, अत्याधुनिक हतियारको आविष्कार र उत्पादन, अन्तरिक्ष प्रविधिको श्रेष्ठताको कारणले उसलाई आर्थिक हिसाबले नजरअन्दाज गर्न सक्ने अवस्था भने देखिँदैन ।
रुस र युक्रेन होइन, युद्धमा सिङ्गो युरोप हारिसक्यो
युद्धले भोलि कस्तो रूप लेला, युक्रेनको भविष्य के होला र रुस कुन हदसम्म जाला भन्ने अहिलेलाई अनुमानकै विषय होला । रुसलाई युक्रेन कब्जा गर्न महिनौँ दिन लाग्यो, रुसी सेनाको ठूलो हताहतीले उनीहरूको मनोबल घट्यो, युक्रेनका साहसी सेना र नागरिकले रुसी आक्रमणलाई विफल तुल्याइदियो भन्ने प्रचार पश्चिमा मिडियाले गर्दै आएका देखिन्छ । तर, त्यही मिडियाले युक्रेनी नागरिकले अपार दुःख पाएको र हण्डर खानुपरेको, युक्रेन करिब करिब ध्वस्त भइसकेको तथा युरोपले पचास लाख युक्रेनी शरणार्थीको बोझ उठाउनुपर्नेजस्ता समाचारहरू पनि सम्प्रेषण गर्दै आएका देखिन्छन् ।

युद्ध हुनुपूर्व र भइरहँदा विभिन्न स्वार्थ समूहहरूले युद्धका घटनाक्रमहरूलाई आफ्नै अनुकूलमा व्याख्या गर्दै समाचार सम्प्रेषण गर्ने परम्परा नयाँ होइन । युद्धकोलागि उस्कानेहरू, युद्ध चर्काउँदै हतियार बिकाउनेहरू, देशहरू बीचको सम्बन्धमा भाँजो हाल्दै आर्थिक पक्ष आफ्नोमा पार्नेहरू, सनसनीपूर्ण समाचारै बिकाएर खानेहरू, शान्ति र युद्धविराममा भाँजो हाल्नेहरूको आ–आफ्नै स्वार्थको कारणले युद्ध मैदानको वास्तविकता र शान्ति एवम् युद्धविरामका पक्षमा भइरहेका प्रयास र कूटनैतिक पहलहरू ओझेलमा परिरहेका हुन्छन् । सोझोरूपमा भन्दा, युरोपमा युद्ध नै नहुनुपर्ने थियो । तर भयो, यो नै उनीहरूको हार भयो । युरोपलाई युद्धमा झोस्ने तानाबाना जसले बुन्यो उसको जीत भयो । युद्धको कारणले भएको आर्थिक क्षति सबै देशले भोग्नुपर्ने नै हन्छ । युक्रेनी शरणार्थीको बोझ प्रत्यक्ष रूपमा वरिपरिका छिमेकी सबै देशले साझा रूपले बहन गर्नुपर्ने भयो र अप्रत्यक्ष रूपमा सिङ्गो विश्वले बेहोर्नु नै छ ।
युद्ध अन्त्यको लागि पहल युरोपकै काँधमा
युद्ध सुरु भएको तेस्रो दिनदेखि नै युद्ध विराममा र अन्त्यको लागि युक्रेन र रुसी प्रतिनिधिबीच वार्ता भयो । तर, चौथो चरणसम्मको वार्ताले पनि मूर्तरूप लिन सकेन । त्यही सिलसिलामा फ्रान्स, टर्कीको पहलमा पनि दुईपक्षको सहभागितामा वार्ताको सिलसिला जारी नै रह्यो । पछिल्लो समयमा वार्तालाई मूर्तरूप दिनसक्ने शक्तिको रूपमा विश्वले चीनबाट अपेक्षा गरेको देखियो । अमेरिकाको भूमिका भन्ने युद्ध भड्काउने खालको रह्यो । आफ्नो समकक्षी राष्ट्रपति पुटिनलाई अमर्यादित शब्द प्रयोग गर्ने, चीनलगायत अन्य राष्ट्रहरूलाई रुसलाई नसघाउन चेतावनी दिँदै हिँड्ने र आफू भन्ने युक्रेनलाई थप हतियार उपलब्ध गराउँदै हिँड्ने खालको देखियो । बाइडेनले पुटिनलाई प्रयोग गरेको शब्दहरूलाई मन नगर्दा पूर्वराष्ट्रपति ट्रम्पले एक अमेरिकी पत्रकारलाई जवाफ दिएको स्मरण गर्नु सान्र्दभिक होला । सो पत्रकारले ट्रम्पलाई– “तपाईँले पुटिनको प्रशंसा किन गर्नुहुन्छ ? ऊ त हत्यारा राष्ट्रपति (किलर) हो नि ।” उक्त पत्रकारलाई ट्रम्पले जवाफ दिएका थिए– “त्यस्ता हत्याराहरू त हाम्रो पनि धेरै छन् ।” हो, युक्रेन युद्धको लागि पुटिनलाई ‘युद्ध अपराधी’ घोषणा गर्दा हिरोसिमा र नागासाकीमा आणविक बम खसालेर दसौँ लाख निर्दोष नागरिकको निमेषभरमै हत्या गर्ने अमेरिकी राष्ट्रपतिलाई के अपराधी भन्ने …..?????? दुईवटा महायुद्धको कुरुक्षेत्र भइसकेको युरोपले अर्को महायुद्धलाई निम्त्याउनु महामूर्खतामात्र हुनेछ । युक्रेन समस्या युरोपको हो भने अब उनीहरू अमेरिकाको मन्त्रणा र आशमा होइन, उसले निर्माण गर्ने नयाँ विश्व व्यवस्थाको पछि होइन, बरु सबैको साझा भूमिका रहने नयाँ विश्व व्यवस्था र आफैले शान्तिको लागि पहल गर्नुमा नै बुद्धिमता हुनेछ । दुईवटा विश्वयुद्धको कारण उदाएको अमेरिकाले तेस्रो विश्वयुद्धबाट पनि त्यस्तै आशा गर्नु अनौठो होइन । तर, यो हुन नदिने अभिभारा भने युरोपकै काँधमा छ ।

योगेन्द्रमान बिजुक्छेँ


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *