‘स्टन्ट’ मा मग्न गृहमन्त्रीलाई छैन प्रक्रियाको सुझबुझ
- बैशाख ६, २०८३
फागुन महिना, दिउँसोको समय टन्टलापुर घाम लागिरहेको थियो । म काम विशेषले चाँगुनारायण नगरपालिका वडा नं. २ दुवाकोटको दाकाचा, न्हतिमा थिएँ । स्थानीय टोलबासीहरूको दाकाचा फाँटमा जग्गा रहेको र वर्षात्को समयमा सबैको जग्गा डुबानमा परेकोले राजकुलो फराकिलो पार्न दुई वटा डोजरलाई परिचालन गर्दै थियौँ । मलाई कुलो फराकिलो पार्न बनाएको कुलो व्यवस्थापन समितिको अध्यक्ष बनाइएको थियो र दुई वटा डोजर ल्याई राजकुलो फराकिलो पार्ने कार्य भइरहेको थियो । फाँटका दाजुभाइहरूको अनेक थरी भएको हुँदा काममा संयोजन गर्न सहज थिएन । डोजरसँगै सरोकारवाला जग्गाधनी दाजुभाइहरू धेरै जग्गा नताँछ्न कराइरहेका थिए । त्यस्तैमा मेरो मोबाइलमा एक अपरिचित नम्बरबाट कल आयो । आफू व्यस्त भएकोले मैले तत्काल फोन रिसिभ गरिनँ । तर, उताबाट लगातार कल आइरहेकोले जरूरी नै भएर होला भनी उठाएँ ।
उताबाट आवाज आयो, “नमस्कार वडाध्यक्षज्यू, म कृष्णनारायण सुवाल (परिवर्तित नाम) बोलेको हुँ । मेरो तपाईँसँग अत्यन्त जरुरी काम छ । तपाईँलाई अहिले नै भेट्न चाहन्छु । त्यसैको लागि वडा कार्यालय आएको तर तपाईँ हुनुहुन्न रहेछ यहाँ । तपाईँ कहाँ हुनुहुन्छ ? म त्यही ठाउँमा भेट्न आउँछु ।”
मैले उहाँलाई भनेँ, “म अहिले व्यस्त छु । फिल्डमा अलि विवादित विषयमा काम गर्दैछु । तत्कालै तपाईँलाई समय दिन असमर्थ छु । चार बजेतिर म वडा कार्यालयमा नै आउँछु, अनि भेट्छु, तपाईँलाई ।”
उहाँले फेरि भन्नुभयो, “म फिल्डमा नै आउँछु । पाँच मिनेटमात्र समय लिन्छु । एकदमै जरुरी काम छ । अहिले तपाईँसँग भेट भएन भन्ने मेरो करोडौँ नोक्सान हुन्छ । त्यो नोक्सानी हुनबाट तपाईँले मात्र बचाउन सक्नुहुन्छ । त्यसैले तपाईँ कता हुुनुहुन्छ, त्यत्तिमात्र भन्नुस्, म त्यहीँ आइपुग्छु । तपाईँले पाँच मिनेटमात्र समय दिनुभएपुग्छ ।”
अत्यन्त जरूरी भनेकोले मैले उहाँलाई न्हतिमा नै आउन अनुरोध गरेँ । न्हतिमा उहाँको पनि जग्गा र घर रहेछ । टोलबासी प्रायः सबैको घर र जग्गा त्यहाँ रहेका छन् । उहाँ दस मिनेटमै न्हतिमा आइपुग्नुभयो । उहाँको अनुहार निकै हतासिएको, रातो पिरो र डरले भरिएको जस्तो देखिन्थ्यो । उहाँलाई पक्कै ठुलै आपत् परेको होला भनी अनुमान गरेँ । उहाँ मेरो आफ्नै छिमेकी हुनुहुँदो रहेछ । उहाँको बुबा रामहरि सुवाल (नाम परिवर्तित) र कान्छो भाइ दिपेश सुवाल (नाम परिवर्तित)मात्र घरमा बस्नुहुँदो रहेछ । उहाँ र माहिलो भाइ (राम सुवाल) नयाँ घर बनाई सूर्यविनायकमा बस्नुहुँदोरहेछ । उहाँहरूको आमा पहिल्यै बितिसक्नुभएको थियो भने चार दिदी बहिनीको पनि विवाह भइसकेको थियो । टोलको छिमेकी र दाइको साथी पनि भएकोले मलाई उहाँको पारिवारिक पृष्ठभूमिलगायत हालको अवस्था पनि थाहा थियो ।
उहाँ आइपुग्नुभएपछि म अलि डोजरको आवाज कम हुने स्थानमा गएर कुरा गरेँ । मैले कृष्णनारायण दाइलाई सोधेँ, “तपाईँलाई के त्यस्तो आपत् आइप¥यो ? अत्यन्त जरुरी काम छ भन्दै हुनुहुन्थ्यो ।”
मेरो प्रश्न टुङ्गिन नपाउँदै उहाँले भन्नुभयो, “हामी तीन दाजुभाइको तीन दिन अगाडिमात्र आपसी घरसल्लाहमा अंशबन्डा गरेका थियौँ । मालपोत कार्यालयबाट पास पनि भइसकेको छ (उहाँले गोजीबाट बन्डापत्र कागज मलाई देखाउनुभयो) । बन्डापत्र अनुसार बुबालाई एक रोपनी चार आना दुई पैसाको यही न्हतिको जग्गा राखेका थियौँ । साथै बुबा कान्छो भाइ दिपेशसँग बस्ने भनेकोले बुबाको शेषपछि बकसपत्र दिने कुरा पनि उल्लेख गरेका छौँ । तर, अहिले भाइले त्यही बुबालाई राखेको जग्गा हालैको बकस पत्र गरी लिन लागेको छ र त्यसको लागि भाइ र बुहारीले बुबालाई मानसिक यातना दिइरहेका रहेछन् । आज बिहान पनि बुबा मेरो घरमा आएर रुन आउनुभयो । मलाई कान्छो छोराले हालैको बकसपत्र गरिनदिए घरबाट निकाली दिन्छु भनेको छ भनी दुःख पोख्नुभयो । बुहारीले घरमा खानासमेत खान दिएन भनेर मकहाँ खाएर जानुभयो । त्यसैले तपाईँले तत्कालै भाइलाई वडा कार्यालयमा बोलाएर सम्झाइदिनुप¥यो ।”
त्यसपछि उहाँले कसरी बन्डापत्र गरियो र कसरी सहमति गरियो भन्ने कुरा बेलिविस्तार लगाउनुभयो । पाँच मिनेट समय मागेको मान्छेले मलाई आधा घण्टा आफ्नो घरको कथा सुनाउनुभयो । त्यसपछि मैले उहाँकै अगाडि उहाँको भाइलाई फोन लगाएँ र भनेँ, “दिपेश भाइ नमस्ते, म वडाध्यक्ष बोलेको हुँ । तपाईँका विषयमा वडामा उजुरी परेको छ । तपाईँ भोलि एघार बजे वडामा आउनुहोस् है ।” दिपेश भाइले कुन विषयमा उजुरी परेको भनी प्रतिप्रश्न गरे । मैले “तपाईँहरूको बन्डापत्रको विषयमा हो, भोलि छलफल गरौँला” भनी फोन राखेँ । त्यसपछि तत्कालै वडा कार्यालय सचिवलाई कल गरेर भोलि बिहान रामहरि सुवालको पारिवारिक अंशबन्डा सम्बन्धमा छलफल गर्न बैठक बोलाउनको लागि निर्देशन दिएँ ।
वडाको बैठक हल मान्छेले खचाखच भरिएको थियो । बोलाएको सङ्ख्याभन्दा दोब्बर मानिस उपस्थित भएको जस्तो लाग्यो । जनप्रतिनिधिहरू सबै र टोलका आदरणीय व्यक्तिहरूको पनि उपस्थिति थियो । मैले उजुरीकर्ता कृष्णनारायण दाइलाई आफ्नो कुरा छोटकरीमा राख्न अनुरोध गरेँ ।
उहाँले भन्नुभयो, “बुबा र हामी तीन दाजुभाइको सहमतिमा बन्डा गरेका थियौँ । बुबालाई एक रोपनी चार आना दुई पैसा जग्गा राखेको कान्छो भाइले सहमतिविपरीत हालैको बकसपत्र लिन खोजेको र बुबालाई मानसिक यातना दिएकोले मात्र वडामा उजुरी दिएको हुँ । वडाले हामीलाई न्याय दिनुप¥यो ।” माइलो भाइको पनि त्यही कुरा रह्यो । अनि बोल्ने पालो कान्छो भाइलाई दिएँ ।
उनले भने, “सहमतिमा बन्डापत्र गरेको कुरा सही हो । बन्डापत्रमा बुबाको शेषपछि मात्र मलाई सम्पत्ति आउने कुरा उल्लेख छ । म त्यही अनुसारमात्र सम्पत्ति लिन्छु । दाइले भने जस्तो मैले बुबालाई मानसिक यातना दिएर हालैको बकसपत्र लिन लागेको होइन । म बुबालाई पनि राम्ररी पाल्छु ।” त्यसपछि बुबालाई बोल्ने पालो दिएँ ।
बुबाले भन्नुभयो, “म कान्छो छोरासँगै बस्छु । मेरो शेषपछि कान्छोले नै सम्पत्ति खान्छ । मलाई केही मानसिक यातना दिएको छैन । छोरा बुहारीले केही दुःख दिएको छैन ।”
बुबाको कुरा सकिएपछि जनप्रतिनिधि र स्थानीय भलादमीलाई पनि बोल्ने पालो दिएँ । प्रायः सबैले मिलेर बन्डा भएको राम्रो भएको र शेषपछि मात्र कान्छोलाई सम्पत्ति जाने गर्नु राम्रो भएको बताउनुभयो । त्यसपछि मैले कुनै पनि छोराले बुबालाई मानसिक प्रताडना दिन नपाइने र बुबाको शेषपछि मात्र पाल्नेले सम्पत्ति खान पाउने निर्णय सुनाएँ र निर्णयमा सही गर्न लगाएँ । सम्बन्धित परिवारलगायत सबैले मेरो निर्णयलाई स्वीकार गर्नुभयो । त्यसपछि मैले औपचारिकरूपमा बैठक सकाएँ ।
तर, जेठो छोरा कृष्णनारायण सुवाललाई आफ्ना कान्छो भाइमाथि विश्वास लागेको थिएन । पछि पछि पनि उहाँले मलाई आफ्नो भाइ विश्वासिलो नभएको र भाइबुहारी मिलेर दैनिक बुबालाई मानसिक र शारिरीक यातना दिएर हालैको बकसपत्र लिई छोड्नेछ भनी ठोकुवाका साथ भन्नुभयो । साथै बुबा दैनिकरूपमा खेत जाँदा रुने गरेको र घरमा कान्छाले खान नदिएको गुनासो गर्ने गरेको बताउनुभयो । तर, बैठकमा उहाँको बुबाले केही भन्नुभएको थिएन । त्यसैले हामीले धेरै चिन्ता लिने कुरा भएन ।
त्यसपछिका दिनहरूमा मेरो उहाँहरूसँग सम्पर्क भएन । करिब पन्ध्र दिनपछि फेरि कृष्णनारायण दाइको कल आयो । उहाँले तत्कालै भेट्न चाहेको बताउनुभयो । मैले पनि विषयको गाम्भीर्यतालाई ध्यानमा राखी वडामा आउन अनुरोध गरेँ । उहाँ तत्कालै वडामा आउनुभयो र भाइले हालैको बकसपत्र पास गरी बुबाको जग्गा लिएको कागज मलाई देखाउनुभयो । मैले सरसर्ती बकसपत्र पढेँ । साँच्चिकै हालैदेखिको बकसपत्र रहेछ । हामी दुवै जना केही समय मुखामुख गरिरह्यौँ । मानिसहरू सम्पत्तिको निम्ति मानिस कति तलसम्म गिर्न सक्दारहेछन् भन्ने यो तड्कारो उदाहरण थियो । करोडौँ जाने जग्गा देखेपछि मनमा पक्कै पाप पलाउँदो रहेछ । आफ्नै बुबासमेत भन्दा रहेनछन् । मान्छे कति पापी र लालची हुँदो रहेछ । जग्गाको मूल्य आकासिएकोले पनि मानिसहरूमा यस्तो पाप पलाएका होलान् । तर, आफ्नै बुबाको जग्गा पनि जिउँदै लिनु भनेको के सही हो त ? सहमतिको बन्डापत्र विपरित हालैको बकसपत्र लिनु भनेको त सिधैँ नाजायज होइन र ? मानिसहरू खान मात्र पाउने भए चौबाटोमा बसेर भएपनि खान्छन् भनेर बुढापाकाहरूले त्यत्तिकै भनेको होइन रहेछ ।
मलाई त्यतिखेर रिस उठेको थियो । मैले तत्कालै दिपेशलाई कल गरेँ र भनेँ, “पन्ध्र दिन अगाडि वडामा गरेका लिखित वाचा र प्रतिबद्धताविपरीत किन बुबाको नामको जग्गालाई हालैको बकसपत्र पास गरेर ल्याएको ? तपाईँलाई अलिकति लाजशरम भन्ने छ कि छैन ? यो समाजमा नैतिकता र सामाजिक न्याय भनेको हुन्छ भन्ने पनि थाहा छैन ? मान्छे सम्पत्तिको लागि त्यत्ति तल गिर्ने ? तपाईँ अहिलै वडामा आउनुस्, होइन भने म पुलिस पठाइदिन्छु । त्यसपछि केही समयमै दिपेश आइपुगे । उनलाई मैले फेरि आलोचना गरेँ । उनको आफ्नै दाजुले पनि उनको कामको आलोचना गर्नुभयो । तर, दिपेशले चित्तबुझ्दो जवाफ दिएनन् ।
कृष्णनारायणले एक हप्ताभित्र यो हालैको बकसपत्र बदर गर्न भने र नभए निकै नराम्रो चेतावनीसमेत दिए । मेरो र कृष्णनारायणको कडा वाणीले गर्दा दिपेश बोल्न सकिरहेका थिएनन् । वडाध्यक्षले नै थुन्ने अधिकार पाएको भए सायद मैले यो अधिकार प्रयोग गरिसक्थेँ होला त्यतिबेला । किनकि टोलबासीहरूको अगाडि गरेको लिखित प्रतिबद्धताविपरीत बुबाको सम्पत्ति खाने मान्छे पशुसरह हुन् र उनलाई त्यही अनुसारको व्यवहार गरेपछि मात्र उनले मानिसको व्यवहार बुझ्थे । तर, के गर्ने वडाध्यक्षका हातहरू पनि कानुनले बाँधिएका हुन्छन् । मैले एक हप्ताको समय दिएर बकस पत्र बदर गरेर ल्याउन कडा शब्दमा आग्रह गरेर दुवैलाई बिदावारी गरेँ । तर, दाजुको अनुहारमा अझैपनि भाइप्रति अविश्वास कायमै थियो ।
तापनि त्यसको चारदिनपछि नै दिपेशले हालैको बकसपत्र बदर गरी शेषपछिको बकस पत्र गरेर वडामा त्यसको प्रतिलिपि दिन ल्याए । मैले उनलाई धेरै धेरै धन्यवाद दिएँ र उनले पनि आगामी दिनमा यस्तो गल्ती नहुने विश्वास दिलाए ।
Leave a Reply