नेपालकै पहिलो पहल – ख्वप आदर निकेतन
- कार्तिक २०, २०८३
संविधान सभा निर्वाचनमा मतदान गर्न लामबद्ध भेनेजुयाली जनता
संरा अमेरिकाको चर्को दबाब र प्रतिपक्ष राजनीतिक पार्टीको अवरोधबीच आइतबार भेनेजुयलामा संविधान सभा निर्वाचन भयो । निवार्चनबाट कुल दुई करोड मतदाताहरुले ५ सय ४५ जना संविधान सभा सदस्य निर्वाचित गर्नेछन् । राष्ट्रपति निकोलस माडुरोले भेनेजुयलामा चालु द्वन्द्व अन्त्य गर्ने, देशमा शान्ति पुनस्र्थापना गर्ने र भेनेजुयलाका जनता, विशेषतः कामदार जनतालाई भेनेजुयलाको भविष्य निर्णय गर्न दिने उद्देश्य पूरा गर्नु नै संविधान सभाको प्रमुख ध्येय भएको बताएका छन् ।
भेनेजुयलामा लामो समयदेखि प्रतिपक्ष राजनीतिक दलले माडुरो सरकारलाई असफल बनाउन हिंसात्मक सङ्घर्ष गर्दै आएको छ । भेनेजुयलाको प्रतिपक्ष शक्तिले त्यहाँको सम्भ्रान्त र कुलीन वर्गको प्रतिनिधित्व गर्दै आएको छ र उनीहरुलाई प्रत्यक्ष रुपमा संरा अमेरिकी शासक वर्गको समर्थन छ ।
ह्युगो चाभेजको असामयिक निधनपश्चात भेनेजुयलामा माडुरोले बोलिभारियाली क्रान्तिको नेतृत्व गरिरहेका छन् । दक्षिण अमेरिकी चिन्तक सिमोन बोलिभारको नाममा थालिएको बोलिभारियाली क्रान्ति ल्याटिन अमेरिकी समाजवादी क्रान्ति हो । माडुरो नेतृत्वको सरकारले चाभेजले जग बसालेको समाजवादी समाजलाई अघि बढाउन खोजिरहेको छ । तर अन्तर्राष्ट्रिय पूँजीवादको आडभरोसा प्राप्त भेनेजुयाली कुलीन वर्ग समाजवादी आन्दोलन ध्वस्त बनाउन राजनीतिक सङ्घर्षको नाममा अराजनीतिक उपद्रव मच्चाइरहेका छन् । तसर्थ अहिले भेनेजुयलामा चालु राजनीतिक द्वन्द्व समाजवाद र पूँजीवादबीचको द्वन्द्व हो ।
माडुरो सरकारले संविधानमा उल्लेख भए बमोजिम नै संविधान सभाको निर्वाचन आह्वान गरेका हुन् । संविधानले संविधान सभाको निर्वाचन गर्न राष्ट्रपतिलाई पूर्ण अधिकार दिएको छ । प्रतिपक्ष राजनीतिक शक्तिले भने जस्तै उनले जनमत सङ्ग्रह पनि गराउन सक्छन् । तर संविधान सभा निर्वाचन गराउनमा पनि कुनै रोक भने छैन । उनले संवैधानिक बन्दोबस्तअनुसार नै संविधानसभा चुनावको विकल्प रोजेका हुन् ।
यसर्थ भेनेजुयलामा संविधान सभाको निर्वाचनको विरोधमा आमहड्ताल गर्ने सरकारविरोधी राजनीतिक शक्ति र तिनलाई आडभरोसा दिने संरा अमेरिकी शासक वर्ग स्वंय संविधानको विरोधमा छन् । संविधानको प्रजातान्त्रिक पद्धतिलाई नमान्नु प्रतिपक्ष राजनीतिक शक्तिको गैरकानुनी राजनीतिक पूर्वाग्रह हो भने संविधानसभाको निर्वाचन भए नाकाबन्दी थोपर्ने संरा अमेरिकी राष्ट्रपतिको धम्की सावभौम देशमाथिको हस्तक्षेप हो ।
आफूलाई प्रजातन्त्रको ठेकेदार मान्ने संरा अमेरिकाले कुनै सार्वभौम देशले त्यहाँको संविधानबाट निदृष्ट पद्धतिअनुसार राजनीतिक अवरोध अन्त्य गर्न खोज्दा नाकाबन्दीको धम्की दिनु प्रभुत्ववादी सोचको परिणाम हो ।
भेनेजुयलामा सम्पन्न संविधानसभाको निर्वाचन प्रजातान्त्रिक अभ्यासको उदाहरण हो । संविधानसभा निर्वाचन बहिस्कार गरेर प्रतिपक्ष शक्तिले गल्ती मात्र गरेका छैनन् बरु भेनेजुयलालाई लामो समयसम्म अस्थीरता र द्वन्द्वको भड्खालोमा जाँकेको छ । यसबाट भेनेजुयला र भेनेजुयाली सरकारको कुभलो चाहने शक्ति प्रतिपक्षी शक्ति र संरा अमेरिकी साम्राज्यवाद नै हो भन्ने प्रष्ट बनाएको छ ।
भेनेजुयाली समाजवादी आन्दोलन विश्व समाजवादी आन्दोलनको हिस्सा भएकोले त्यो समाजवादी आन्दोलनको रक्षामा ऐक्यबद्धताको हात बढाउनु सम्पूर्ण विश्वका समाजवादी जनताको कर्तव्य हो । संरा अमेरिकी साम्राज्यवादविरोधी आन्दोलनलाई अझ गतिवान बनाउनु आज भेनेजुयाली समाजवादी आन्दोलनप्रतिको ऐक्यबद्धता हुनेछ ।
Leave a Reply