भर्खरै :

स्वाधीन देशहरू साम्राज्यवादी नीतिको विरोधमा एकगठ हुनु जरुरी

देश सानो ठूलो होला, धनी गरिब होला तर सार्वभौम सम्पन्न हुन्छ । नेपाल पनि सार्वभौम सम्पन्न देश हो । हरेक देशको आफ्नो ऐन कानुन हुन्छ । आफ्नो देशको ऐन कानुन अरू देशले मान्नुपर्छ भन्ने छैन, अरू देशको ऐन कानुन पनि नेपालले मान्नुपर्छ भन्ने छैन । तर पनि अरू देशको एक कम्पनीको कानुन मान्नुपर्ने बाध्यता नेपालमा कसरी भयो ? के ठूला देशको अर्ती उपदेश साना देशले आँखा चिम्लेर मान्नैपर्ने ? के साना देशहरू ठूला देशका शासकहरूको अधीनमा बस्नैपर्ने ? देउवाको नेतृत्वमा बनेको गठबन्धन सरकारले एमसीसी सम्झौता अनुमोदन गरेर नेपालको संविधान विपरीत एउटा कम्पनीको ऐन लागु गर्नुपर्ने काम ग¥यो । यो जति निर्लज्जता अरू के रह्यो ? एमसीसीको ऐन कानुन लागु हुने अनि सरकारको ऐन कानुन या संविधान लागु नहुने यो कस्तो विधि ! नेपालको कानुन कसरी एउटा कम्पनीको मातहतमा हुन्छ ? नेपालको स्वाधीनतामा असर पर्ने काम सरकारले गर्न मिल्छ ? देशको सार्वभौमिकतामा आँच पु¥याउने काम के सरकार किन गर्छ ?
एउटा विदेशी कम्पनीको विकास योजना लागु गर्न नेपालको कानुन मान्य नहुने अमेरिकी योजना नेपाललाई कठपुतली बनाउने योजना हो । यो नेपाललाई उपनिवेश बनाउने अमेरिकी योजना हो । यसरी नेपाल सरकार झुक्दै गएपछि ठूला शक्ति राष्ट्रले फसाउँदै जान्छ र फसाइरहेको छ । एमसीसी सम्झौतामा नेपाल सरकार चुकेकै हो, नेपाल सरकार अमेरिकी प्रशासनको धम्कीसामु झुकेको या आत्मसमर्पण गरेको प्रमाण हो । यो इतिहासमा कलङ्क भएर रहिरहनेछ ।
सार्वभौम देशहरू जतिसुकै सानो ठूलो भए पनि समान हुन्छन् । सार्वभौम देशका शासकहरू अरू देशको अगाडि झुक्दैनन्, आत्मसमर्पण गर्दैनन्, आफ्नो देश हितविपरीत र कानुनविपरीत काम गर्दैनन्, सन्धि सम्झौता गर्दैनन् । तर, नेपाल सरकारहरू देश हितविपरीत सन्धि सम्झौता गर्दै छन्, देशको अस्तित्वमा बाधा पार्ने काम गर्दै छन् । देशलाई दूरगामी असर पर्ने, आँच पुग्ने काम गर्दै छन् । यस्तो काममा नेकाका देउवामात्र होइनन् माओवादी केन्द्रका दाहाल र एकीकृत समाजवादीका नेपाल पनि फसेका छन् । यसरी आर्थिक सहयोग र विकासको नाउँमा नेपाल सरकार फस्दै छ । परिणामतः नेपाल ठूला देशको कठपुतली बनेको छ, नेपाल अरू देशको परेड खेल मैदान बनेको छ । नेपाली भूमि प्रयोग गरेर अरू मित्र देशलाई घेरा हाल्ने, मित्र देशहरूलाई जुधाउने काम अमेरिकाले गरिरहेको छ । अमेरिकाले बेलाबखत आक्रमण गर्ने धम्की दिइरहेको छ । शक्तिशाली अमेरिकाको यो एक प्रकारको नदेखिने आक्रमण हो, आफ्नो हैकममा राख्ने चाल हो । अतः संसारका सबै स्वाधीन देशहरू साम्राज्यवादी नीतिको विरोधमा एकगठ हुनुपर्छ, साम्राज्यवादी नीति संसारबाट परास्त गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *