भर्खरै :

राजा र प्रजातन्त्र नभए देश नरहनेबारे एक सैद्धान्तिक छलफल

प्रतिबन्धित नेपाली काङ्ग्रेसले ‘राष्ट्र पुकार’ मार्फत बरोबर ‘राजा नभए देश रहँदैन, प्रजातन्त्र नभए देश रहने छैन’ भन्ने नारा प्रस्तुत गर्दै आएको छ । यही कुरालाई राष्ट्र पुकार ले २१ फागुन २०३८ को अङ्कमा फेरि सम्पादकीयमा उल्लेख गरेको छ ।
नेपालीमा एउटा उखान छ– ‘मही माग्नु ढुङ्ग्रो लुकाउनु ।’ सायद नेपाली काङ्ग्रेसले त्यही नारालाई आफ्नो राजनीतिक दर्शन र सिद्धान्तको रूपमा मानेको दाबा गर्छ । यदि दाबा सही भए त्यस्ता सिद्धान्तकारहरूले ऐतिहासिक र राजनीतिकरूपले देश र जनतालाई विश्वासघात गर्दै छन्् भन्ने कुरा प्रस्ट हुन्छ ।
नेपालको वर्तमान परिस्थितिमा राजा र राजतन्त्रको आवश्यकताबारे आ–आफ्नो समझदारी होलान् । यो एक भिन्नै विषय हो । तर, पश्चिमेली राजनीतिशास्त्रको अध्ययन गर्दा सिद्धान्ततः राजा र प्रजातन्त्र ठीकविपरीत वस्तु देखिन्छ । जहाँ साँचो अर्थमा गणतन्त्रको भावना बलियो रहन्छ वा प्रजातन्त्र बलियो हुन्छ, त्यहाँ राजा र राजतन्त्रको अभाव रहने गर्छ र रहे पनि सम्झौताअनुसार सीमित रहन्छ । सीमित वा वैधानिक राजतन्त्र बेलायतमा जस्तै पुँजीपति वर्ग र पुँजीवादी व्यवस्थाकै सेवक रहन्छ । त्यस्तै यदि एक व्यक्तिको हुकुम चलेमा वा एक व्यक्तिको प्रभाव बढी भएमा नाउँले गणतन्त्र भए पनि त्यो शासन व्यवस्था राजतन्त्र नै हुन्छ । यस अर्थमा जहाँ प्रजातन्त्र रहन्छ त्यहाँ साँचो अर्थमा राजा र राजतन्त्र रहँदैन । यसकारण, फ्रान्सेली राजा चाल्र्स दसौँले आफूलाई बेलायतको राजा हुन अस्वीकार गरेका थिए । उनले भनेका थिए, “बेलायतको सम्राट भएर राज गर्नुभन्दा त म दाउरा काट्ने दाउरे बन्नु राम्रो सम्झन्छु ।”
बेलायतको पुँजीवादी क्रान्ति राजा चाल्र्सकै विरोधमा भएको थियो र फ्रान्सेली राज्य क्रान्ति पनि राजा लुइकै विरोधमा भएको थियो । रुसको १९१७ को फ्रेबुअरी क्रान्ति र चीनको १९११ को क्रान्ति पनि क्रमशः राजा जार र छिङ्ग वंशकै विरोधमा भएको थियो । अफगानिस्तान, इरान र इथोपियामा राजा छउञ्जेल प्रजातन्त्र थिएन र प्रजातन्त्र आउँदा यहाँ राजा रहेनन् । बेलायतमा चाल्र्स प्रथमको शासनमा प्रजातन्त्र थिएन । चाल्र्स प्रथम काटिँदा प्रजातन्त्र थियो । फेरि क्रामवेल प्रोटेक्टोरेट (राष्ट्रपति) भए । उनको हातमा शासनको केन्द्रीकरण हुँदै गयो । उनको छोरोलाई राजगद्दी दिन खोज्दा त्यहाँ पुनः राजतन्त्र स्थापना भयो र प्रजातन्त्र रहेन । त्यस्तै फ्रान्समा लुई सोह«ौँको शासन छँदा प्रजातन्त्र थिएन । लुई मारिए, प्रजातन्त्र स्थापना भयो । प्रजातन्त्रवादी नेपोलियन राजा भए, उनको छोरालाई स्पेनको गद्दी दिने बन्दोबस्तसमेत भयो । फेरि फ्रान्समा राजतन्त्र फक्र्यो र प्रजातन्त्र समाप्त भयो । पछि नेपोलियन र उनका भतिजा नेपोलियन तेस्रो खतम भए, प्रजातन्त्र पुनः स्थापना भयो । यो ऐतिहासिक तथ्य हो, तर कतैकतै (कम्बोडिया र लावसमा जस्तै) राजा र राजकुमारहरूले साम्राज्यवादको विरोधमा देशको मुक्ति र प्रजातन्त्रको निम्ति पनि लडेका छन्, त्यो भिन्नै सन्दर्भ हो ।
राजनैतिक वा वर्गीयरूपले राजाले सामन्त वर्गको प्रतिनिधित्व गरेको हुन्छ । पुँजीपति वर्गले आफ्नो आर्थिक र राजनैतिक हुकुमको निम्ति सामन्त वर्गसँग सङ्घर्ष गरेको थियो । सङ्घर्षमा सामन्त वर्गले पानी खायो र पुँजीपति वर्गले विजय पायो । गुमेको सत्ता पुनः प्राप्तिको निम्ति सामन्त वर्गले राजनैतिक, आर्थिक, सैनिक, कूटनैतिक आदि अनेक प्रकारका सङ्घर्षलाई चालू नै राख्यो । किसान र मजदुर वर्गले पनि वर्गीय हितको निम्ति सङ्घर्ष छेड्दा पुँजीपति वर्ग एक्लो भयो अनि पुँजीपति वर्ग र सामन्त वर्ग एक हुन पुग्यो । राजतन्त्र र गणतन्त्रको दुई विपरीत बाटोको बीचको स्थिति वैधानिक राजतन्त्रको जन्म भयो । तर, उत्पादनका साधनहरूको विकास र उत्पादन शक्तिहरूको सम्बन्धमा आउने परिवर्तनहरूले सामन्त वर्ग र राजालाई पुँजीवादी बनाइदियो । यसकारण, सन् १८३० को जुलाई क्रान्तिबाट आएका फ्रान्सेली राजा फिलिपलाई ‘बैङ्कहरूको राजा’ र ‘शाही पुँजीपति’ भन्ने गरिन्थ्यो । उता पुँजीपति वर्ग आफू पनि नयाँ खान्दानी वा सामन्त वर्गमा फेरियो । नयाँ खान्दानी वा सामन्त वर्गको उदय र विकासले व्यापक र अत्यन्त बहुमत जनता काम–मामको साधनबाट वञ्चित भए र नाउँको मात्रै प्रजातन्त्र हुने भएकोले सरा अमेरिका र फ्रान्स जस्तो गणतन्त्रवादी देशका राष्ट्रपतिहरूलाई आज नयाँ ‘सम्राट’ पनि भन्ने गर्छन् । भारतमा संजय गान्धीलाई ‘राजकुमार’ भन्न थालेका थिए र इन्दिरा गान्धीलाई ‘महारानी’ । किनभने, आपत्कालको बेला त्यहाँ प्रजातन्त्र लोप भइसकेको थियो । यसकारण, ‘प्रजातन्त्र नभए राजा रहने छैनन्’ भन्ने समझदारी सैद्धान्तिक, राजनैतिक र ऐतिहासिकरूपले नै असत्य छ । राजीव गान्धी सत्तामा चुनावबाट पुगेका थिएनन् । त्यसकारण, भारतमा ‘राज सम्राट’ को लक्षण वा ‘राजतन्त्र’ को पुनः स्थापना भयो भन्ने चर्चा छ ।
प्रतिबन्धित नेपाली काङ्ग्रेसको अर्काे समझदारी हो, ‘राजा नभए देश रहँदैन ।’ यो समझदारी पनि त्यतिकै असत्य हो । चाकडी, चुकडी, चिप्लो घसाइ र आत्मश्लाघाको प्रवृत्तिलाई बढावा दिने उपायले प्रजातन्त्र ल्याउँदैन बरू जनतालाई बाटो बिराउन दिनेछ र सामन्तवादलाई मल–जल पुग्नेछ । सामन्तवादलाई मलजल पु¥याउने दर्शन, सिद्धान्त र नारा कहिल्यै साँचो अर्थमा प्रजातन्त्रवादी हुनसक्दैन ।
एक वन्य र बर्बर जातिको विकासले र आफ्नो गणको रक्षाको निम्ति राजसत्ताको उदय भयो । त्यही गणनायक पछि राजा बने । राजाले परिवर्तनउन्मुख समाजलाई नेतृत्व दिन नसक्दा समाजमा फेरि प्रजातान्त्रिक र गणतान्त्रिक भावनाले बलियो जग लिन थाल्यो । समाजमा बरोबर प्रत्यक्ष र अप्रत्यक्षरूपमा राजतन्त्र र प्रजातन्त्रको स्थापना र पुनःस्थापना हुँदै आएको रोम र ग्रीसको मात्रै होइन विभिन्न देशको इतिहासले पनि बताउँछ । तर, राजा र राजतन्त्रको प्रादुर्भावभन्दा पहिले र राजा र राजतन्त्रको समाप्तिपछि पनि देश र जनता रहेकै पाइन्छ । संरा अमेरिका पत्ता लगाउँदा त्यहाँ राजा र राजतन्त्र थिएन । तर, त्यो संसारको सबभन्दा धनी र एक महावली राष्ट्र छ ।
त्यस्तै फ्रान्स, पश्चिम जर्मनी, रुस, चीन, भारत, अफगानिस्तान, इरान, इथोपिया आदि देशका राजा र राजतन्त्रहरू इतिहासका तथ्यहरू बनिसके । तर, ती देशहरू बाँकी नै छन्् र कति त बलिया नै छन् । भियतनामी राजा बाउदाई आए र गए, तर भियतनाम विश्वको तेस्रो सैन्य शक्तिको रूपमा विद्यमान छ । लाओसका राजा राजसभाका सल्लाहकार भए, लाओसको नक्सा बाँकी नै छ । कम्बोडिया राजखानदानकै कारणले गणतन्त्र भयो, राजा सिंहानुक राजासिंहासनबाट च्युत भएर प्रजा बने, कम्बोडियाली राष्ट्र ज्युँदै छ । राजा नरहेमा देश नरहने भए अमेरिकाबाहेक आज संसारका सबैजसो प्रजातन्त्रवादी देशहरू विश्वको नक्सामा रहने थिएनन् । राजा रहँदैमा देश रहने भए नेपालमा आज बाइसे र चौबिसे राजाजस्ता भूरे–टाकुरे र मल्ल राज्यहरू बाँकी नै रहने थिए ।
ऐतिहासिकरूपले हेर्दा जनता रहे राजा र राजतन्त्र रहने गर्छ र देश र जनता नरहे पुरानो राजा र राजतन्त्र लोप हुनेरहेछ । देश नरहे राजा एक इतिहासको ज्युँदो पात्रमात्रै रहने गर्छ ।
यसकारण, प्रतिबन्धित नेपाली काङ्ग्रेस, ‘राष्ट्र पुकार’ र लेखकको ‘प्रजातन्त्र नभए राजा रहँदैन र राजा नभए देश रहँदैन’ भन्ने नारा वा समझदारी सिद्धान्ततः गलत छ, ऐतिहासिकरूपले असत्य छ र राजनैतिरूपले एक छलमात्रै सावित हुन्छ ।
स्रोतः समाजवाद र सान्दर्भिक विषयवस्तु

Leave a Reply

Your email address will not be published. Required fields are marked *