भर्खरै :

युक्रेनमा अमेरिकी छद्म युद्ध-२

दोस्रो पक्ष : आणविक प्रभुत्वको भोक
यहाँनिर संरा अमेरिकाको साम्राज्यवादी रणनीतिको दोस्रो पाटोतिर फर्किन आवश्यक छ । यतिञ्जेल मैले भूराजनीतिक कोणबाट ठूलो साम्राज्यवादी रणनीतिबारे चर्चा गरेँ । पूर्व सोभियत सङ्घको भूभाग र सोभियत प्रभाव क्षेत्रमा (अमेरिकी) विस्तारबारे बताएँ । यो विचारलाई ब्रिजेजिन्स्कीले एकदम प्रभावकारीरूपमा अघि सारेका थिए । तर अमेरिकी ठूलो साम्राज्यवादी रणनीतिको अर्को पाटो पनि छ । त्यो हो नयाँ आणविक वर्चस्वको भोक । अमेरिकी भूराजनीतिबारे लेखिएको ब्रिजेजिन्स्कीको पुस्तक ‘ग्य्रान्ड चेसबोर्ड’ पढ्नुभयो भने त्यसमा आणविक हतियारबारे एक शब्द पनि भेटिन्न । उनको पुस्तकमा आणविक भन्ने शब्द पाइन्न भन्दा हुन्छ । रुससम्बन्धी अमेरिकी रणनीतिमा यो कुरा एकदम महत्वपूर्ण छ । सन् १९७९ मा अमेरिकामा जिम्मी कार्टर राष्ट्रपति थिए । ब्रिजेजिन्स्की उनका राष्ट्रिय सुरक्षा सल्लाहकार थिए । त्यति नै बेला परस्पर निर्धारित विनाश (म्याड, म्युचुअल एस्युर्ड डिस्ट्रक्सन) भन्दा पर जाने र संरा अमेरिकाले आणविक वर्चस्वको तेजोबध (काउन्टरफोर्स) रणनीति अपनाउने निर्णय भयो । यो रणनीति अनुसार युरोपमा आणविक मिसाइलहरू राख्ने कुरा पनि थियो । ‘प्रोटेस्ट एन्ड सरभात्’ मा छापिएको ‘अमेरिकालाई एक पत्र’ नामक लेखमा माक्र्सवादी इतिहासकार र आणविक हतियारविरोधी अभियन्ता इपी थोम्सनले ब्रिजेजिन्स्कीले नै अमेरिकी रणनीति तेजोबध युद्धतिर सरेको स्वीकारेको उल्लेख गरेका छन् । (उनको सो लेख सन् १९८१ मा मन्थली रिभ्यू प्रेसबाट प्रकाशित भएको थियो ।)
यसबारे व्याख्या गर्न इतिहासमा अलि अघि जानुपर्छ । सन् १९६० को दशकमा आणविक हतियारको क्षेत्रमा सोभियत सङ्घ संरा अमेरिकाको काँधसम्म पुगेको थियो । यसबारे पेन्टागन र अमेरिकी सुरक्षा निकायहरूमा ठूलो बहस भएको थियो किनभने आणविक बराबरीको अर्थ म्याड हुन्थ्यो । म्याडको अर्थ परस्पर निर्धारित विनाश थियो । जुनसुकै देशले आक्रमण गरे पनि दुवै ध्वस्त हुने निश्चित थियो । रोबर्ट म्याकेनमारा राष्ट्रपति जोन एफ केनेडीका रक्षामन्त्री थिए । म्याकेनमाराले नै म्याडसम्म पुग्ने तेजोबध नीति अघि सारेका थिए । निश्चय नै दुईखाले आणविक हमलाहरू छन् । एउटा मूल्य प्रतिरोध (काउन्टरभ्याल्यू) गर्नु हो । त्यो भनेको विरोधी देशका सहरहरू, जनता र अर्थतन्त्रमाथि धावा बोल्नु हो । यिनै कुरामा आधारित छ म्याड । अर्को खालको हमला तेजोबध युद्ध हो । शत्रुले हमला गर्नुअघि नै उसको आणविक शक्ति नष्ट गर्नु यसको लक्ष्य हो । तेजोबध रणनीति पहिले हमला गर्ने रणनीतिजस्तै हुने स्पष्ट छ । म्याकेनमाराको कार्यकालमा अमेरिकाले तेजोबधका उपायहरू खोज्न सुरु ग¥यो । त्यतिबेला म्याकेनमाराले यस्तो सोच पागलपन हुने निक्र्योल गरे । उनले म्याडलाई संरा अमेरिकाको रोकथाम नीति बनाउने निर्णय गरे । त्यो नीति सन् १९६० र ७० को दशकसम्म कायम रह्यो । तर सन् १९७९ तिर कार्टर प्रशासनले ब्रिजेजिन्स्कीको विचारबमोजिम तेजोबध रणनीति लागू गर्ने निर्णय ग¥यो । त्यतिबेला अमेरिकाले पेर्सिङ २ मिसाइलहरू र आणविक हतियारसहितका क्रुज मिसाइलहरू युरोपमा तैनाथ गर्ने निर्णय ग¥यो । त्यसले गर्दा युरोपमा आणविक निःशस्त्रीकरणको आन्दोलन उठ्यो । महान् युरोपेली शान्ति आन्दोलन उभारमा आयो ।
वासिङटनले सुरुमा मध्यम खालका पेर्सिङ २ आणविक मिसाइलहरू र क्रुज मिसाइलहरू युरोपमा तैनाथ ग¥यो । युरोप र अमेरिकामा चलेका शान्ति आन्दोलनहरूको लागि यो निकै ठूलो मुद्दा बन्यो । आणविक युद्धको खतरा एकाएक बढ्यो । रोनाल्ड रेगन प्रशासनले जोडतोडका साथ तेजोबध रणनीति अघि बढायो । त्यसमा तिनीहरूले आफ्नो रणनीतिक प्रतिरक्षा अगुवाइको प्राविधिक योजना पनि थपे । यसलाई ‘स्टार वार’ (नक्षत्र युद्ध) भनेर चिनिन्छ । यो नीति शत्रुका सबै मिसाइलहरू तहसनहस पार्ने प्रणालीमा आधारित थियो । यस्तो सोच हावादारी कल्पना मात्र थियो । अन्त्यमा तिनताकाको आणविक हतियारको होडबाजी रोकियो । युरोपमा बर्लिन पर्खालको दुवैतिर शान्तिको पक्षमा चलेका जनआन्दोलनहरू र संरा अमेरिकामा चलेको ‘आणविक हतियारको होडबाजी बन्द गर’ आन्दोलनले त्यो होडबाजी रोकिएको थियो । सोभियत सङ्घमा गोर्भाचोभको उदय हुनु होडबाजी रोकिनुको दोस्रो कारण थियो । तर, सोभियत सङ्घको विघटनपछि वासिङटनले तेजोबध रणनीतिमा अघि बढ्ने निधो ग¥यो । ऊ आणविक वर्चस्वको भोक शान्त पार्नतिर लाग्यो ।
तीन दशकसम्म वासिङटनले तेजोबधजन्य हातहतियार र रणनीतिहरू बनाइरह्यो । यस दिशामा अमेरिकी क्षमता बढाइरह्यो । सन् २००६ मा अमेरिका आणविक वर्चस्वनजिक पुगेको घोषणा भयो । अमेरिकी बृहद् रणनीतिको प्रमुख केन्द्र परराष्ट्र सम्बन्धको परिषद्ले ‘फरेन अफेयर्स’ नामक पत्रिकामा त्यो घोषणा छापेको थियो । ‘फरेन अफेयर्स’ मा छापिएको लेख अनुसार अमेरिकाले निसानाबाजी र सेन्सिङ प्रविधिमा सुधार गरेको हुनाले चीनले अमेरिकी आक्रमणबाट आफूलाई बचाउन नसक्ने निष्कर्ष दिएको थियो । त्यस्तै आफ्नो आणविक प्रतिरोध क्षमताको भरमा रुस अमेरिकी आक्रमणबाट जोगिन नसक्ने सो लेखमा दाबी गरिएको थियो । वासिङटन पूर्ण आणविक वर्चस्व हासिल गर्ने दिशातिर लाग्यो । साथै युरोपमा नाटोको आकार बढाइँदै थियो । किनभने तेजोबध रणनीतिको एउटा पक्ष तेजोबध गर्ने हतियारहरू सकेसम्म रुसको सीमासम्म पु¥याउनु थियो । यसो गर्दा रुसले प्रतिकार गर्ने उछार पाउन्नथ्यो ।
यो रणनीतिमा रुस प्रमुख तारो थियो । त्यसपछि चीनको पालो आउने स्पष्ट थियो । तर, ट्रम्पले रुससँग शान्ति कायम गर्ने निर्णय गरे र चीनमा केन्द्रित भए । अलि समयलाई कुरा ट¥यो । नाटोको आकार बढाउनु आणविक वर्चस्व हासिल गर्ने नीतिको अभिन्न अङ्ग थियो । ट्रम्प आएपछि अलि समयलाई अमेरिका वा नाटोको ठूलो रणनीति धर्मरायो । तर, बाइडेन सत्तामा आउँदाबित्तिकै रुसको युक्रेन पासो कसिलो बनाएर खेर गएको समयको भर्पाइ गरियो ।
यसो हुँदै गर्दा अहिले पुँजीवादी राज्य बने पनि र ठूलो शक्ति आर्जन गरेका रुसीहरू मूर्ख भइबसेका थिएनन् । उनीहरूले आउँदा दिन देखे । सन् २००७ मा भ्लादिमिर पुटिनले एकध्रुवीय विश्व असम्भव भएको र संरा अमेरिकाले आणविक वर्चस्व हासिल नगर्ने घोषणा गरे । रुस र चीनले अमेरिकी तेजोबध नीतिको हाराहारीमा हतियारहरू निर्माण गर्न थाले । पहिले हमलाको विचार भनेको हमलाकारीले भूइँबाट गर्ने मिसाइल आक्रमण हो । आक्रमण गर्ने साधन चल र अचल दुवै हुनसक्छ । साथै यसले पनडुब्बीहरू खोजेर तिनलाई नष्ट पनि गर्छ । संरा अमेरिकाले मात्र त्यसो गर्ने क्षमता राख्छ । त्यसपछि एन्टी ब्यालिस्टिक मिसाइल प्रणालीले सबै आक्रमणहरूको प्रतिवाद गर्न थाल्छ । स्वाभाविक रूपमा रुस र चीन अर्कोतिर हुनेछन् र तिनीहरू पनि ठूला आणविक शक्ति हुन् । तिनलाई अमेरिकाको यो चालबाजी थाहा छ । त्यसैले आफ्नो रक्षात्मक शक्ति वा प्रत्याक्रमण क्षमता बढाउन उनीहरूले सकेको गर्ने नै भए । केही वर्षको अन्तरालमा रुस र चीनले हाइपरसोनिक मिसाइलहरू निर्माण गरे । यी मिसाइलहरू एकदम बेगले उड्छन्, ध्वनिको गतिभन्दा पाँच गुना बेगिलो हुन्छन् । यसबीच केही गर्ने वा जवाफ फर्काउने समय नै मिल्दैन । त्यसैले एन्टी ब्यालिस्टिक मिसाइल प्रणालीको पनि केही सीप चल्दैन । यसले अमेरिकी तेजोबध क्षमतालाई कमजोर तुल्याइदिन्छ । अमेरिकाले यस्तो खालको हाइपरसोनिक मिसाइल प्रविधि अझैसम्म विकास गरेको छैन । यस्ता हतियारलाई चीनले ‘पिनयिन’ (गुप्त भाला) भन्ने गर्छ । एकदम शक्तिशाली सैन्य शक्तिविरुद्ध कमजोरहरूले प्रयोग गर्ने हतियार भन्न खोजेको हो । हाइपरसोनिक मिसाइलले रुस र चीनको आधारभूत छेकबार बलियो बनाउँछ र उनीहरूविरुद्ध कसैले पहिले हमला गरे प्रत्याक्रमण क्षमता बढाएर उनीहरूलाई जोगाउँछ । यही नै अमेरिकाको पहिलो हमला क्षमतासामु मुख्य चुनौती बनेको छ ।
यो आणविक खेलको अर्को पक्ष अन्तरिक्षमाथि अमेरिकी वा नाटोको वर्चस्व हो । यसकै कारण अहिले पेन्टागनको निसानाबाजी एकदम अचुक हुन पुगेको छ । यसले गर्दा मिसाइल प्रहार गर्ने एकदम कडा अखडालाई पनि अचुक निसानाबाजीकै कारण सानो हतियारले ध्वस्त पार्न सक्छ । साथै उसले पनडुब्बीलाई पनि सजिलै तारो बनाउन सक्छ । यो कुरा भूउपग्रह प्रणालीमा निर्भर हुन्छ । अचुक निसानाबाजीले गर्दा नै अमेरिकाले मिसाइल हान्ने कडा अखडालाई ध्वस्त पार्ने वा आणविक हतियार प्रयोग नगरी वा ससाना आणविक हतियारले शत्रुका अखडाहरू नियन्त्रणमा लिने विश्वास गरिन्छ । अमेरिकाको यो क्षमताभन्दा माथि पर्न रुसी र चिनियाँ सेनाले भूउपग्रहमा आधारित हतियारहरूमा ध्यान दिँदै छन् ।
आणविक हिउँद र मानवसंहार
अबका कुराहरू नराम्रो लाग्न सक्छ । तर आणविक हिउँदबारे छलफल गर्नैपर्ने हुन्छ । अमेरिकी सेना (र मेरो विचारमा रुसी सेना पनि) आणविक युद्धको विज्ञानमा धेरै अघि बढिसकेको तिनका बाहिरिएका दस्तावेजहरू पढ्दा थाहा हुन्छ । आणविक सशस्त्रीकरण र आणविक युद्धबारे तिनका बाहिरिएका दस्तावेजहरू पढ्दा कहीँकतै पनि आगलागीको कुरा भेटिन्न । तर आणविक हमला भएको खण्डमा धेरैको ज्यान आगलागीबाट जानेछ । तापआणविक हमला एउटा सहरमा १५० वर्ग माइल क्षेत्रमा फैलिन सक्छ । आणविक युद्धको विश्लेषण गर्ने बेला सैन्य संस्थाहरूले आगलागीको विषय छुटाउने गर्छन् । म्याडकै विश्लेषणमा यस्तो बेवास्ता गरिएको छ । तर यस्तो गर्नुको अर्को कारण पनि छ । यस्तो आगलागीले आणविक हिउँद ल्याउँछ ।
सन् १९८३ मा युरोपमा तेजोबधजन्य हतियारहरू राखिँदै गर्दा सोभियत सङ्घ र संरा अमेरिकाका वायुमण्डलसम्बन्धी अध्ययन गर्ने वैज्ञानिकहरूले मिलेर अनुसन्धान गर्दै थिए । तिनीहरूले पहिलो आणविक हिउँदको मोडल विकास गरे । सोभियत सङ्घ र अमेरिकाका मुख्य वैज्ञानिकहरू जलवायु परिवर्तनसम्बन्धी अनुसन्धानमा संलग्न थिए । यो भनेको आणविक हिउँदको विपरीत हो । आणविक हिउँदजस्तो जलवायु परिवर्तन फ्याट्टै हुन्न । वैज्ञानिकहरूले के पत्ता लगाए भने विश्वका १०० वटा सहरमा आगलागी भए विश्वको तापमान घट्नेछ । त्यसबेला वैज्ञानिक कार्ल सागनले ‘दशौँ डिग्री सेल्सियस’ घट्ने बताए । त्यसमा थप अनुसन्धान गरेर वैज्ञानिकहरूले २० डिग्री सेल्सियस घट्ने बताए । तर यसको अर्थ के होला, कल्पना गरी हेरौँ । आगलागीले आकाश (स्ट्राटोस्फेयर) मा धुवाँ र ध्वाँसो फाल्नेछ । यसले गर्दा पृथ्वीसम्म आउने घामको ७० प्रतिशत ऊर्जाको बाटो बन्द हुनेछ । यसले गर्दा पृथ्वीभरि हुने खेतीपाती बन्द हुनेछ । यसले सबै वनस्पति नष्ट हुनेछ । उत्तरी गोलार्धमा हुने प्रत्यक्ष आणविक असरले दक्षिणी गोलार्धका पनि सबैलाई मार्नेछ । पृथ्वीमा थोरै मान्छे मात्र बाँच्नेछन् ।
आणविक हिउँदसम्बन्धी अध्ययन अनुसन्धानलाई अमेरिकी सेना र संस्थापनले आलोचना गरेका छन् । बढाइचढाइ गरेको आरोप लगाएका छन् । तर, २१ औँ शताब्दीमा, सन् २००७ को आरम्भमा आणविक हिउँदसम्बन्धी अध्ययन अनुसन्धानहरू बढेका छन् । बारम्बार अघिका निष्कर्षहरूको पुष्टि भएको छ । ती अध्ययनले भारत र पाकिस्तानबीच युद्ध भएर हिरोसिमामा जत्तिकै आणविक बमहरू खसे पनि कडा आणविक हिउँद आउने देखाएका छन् । त्यो आणविक हिउँदले समेत पृथ्वीमा आउने सौर्य ऊर्जा घटाउनेछ र करोडौँ पृथ्वीबासीलाई मार्नेछ । यसको उल्टो नयाँ अध्ययनहरूले के देखाएका छन् भने विश्वभरि हुने तापआणविक युद्धले ल्याउने आणविक हिउँदको क्षति सन् १९८० को दशकमा भएका अध्ययनहरूले देखाएभन्दा कहालिलाग्दो हुनेछ । विज्ञान यही हो । विश्वका प्रतिष्ठित वैज्ञानिक प्रकाशनहरूले र अनुसन्धानहरूले यो कुरा पटकपटक पुष्टि गरेका छन् । विश्वव्यापी तापआणविक गतिविधि भए त्यसले पृथ्वीका सबै मानिसहरू मारिने र दक्षिणी गोलार्धमा कताकति केही प्रजातिहरू बाँकी रहने विज्ञानले स्पष्ट पारिसकेको छ । सर्वनाश हुनेछ, मानवसंहार हुनेछ ।
सुरुमा म्याकेनमाराले तेजोबधको नीति उचित हुने ठाने किनभने त्यो सहरी नीति नहुने उनले देखेका थिए । अमेरिकाले एउटा भागमा आक्रमण गरेर आणविक हतियारहरू नष्ट गर्ने र सहरहरूलाई नछुने सोचिएको थियो । तर त्यो नीति छिट्टै त्यागियो । त्यसलाई कसैले विश्वास गरेन किनभने धेरैजसो (सैन्य) नियन्त्रण केन्द्रहरू सहरमा र सहरनजिक छन् । सहरमा आक्रमण नगरी एकैबाजी आणविक केन्द्रहरू नष्ट गर्न सकिन्न । जहाँसम्म प्रमुख आणविक शक्तियुक्त देशहरूको कुरा छ, तिनको आणविक भण्डारलाई पूर्णतः ध्वस्त पार्न सकिन्न । आणविक शक्तियुक्त एउटा देशको गठ्ठाघरमा भएका थोरै हतियारले मात्र विपक्षीका सम्पूर्ण सहरहरू धुलोपिठो पार्न सक्छन् । अर्कोथरी सोच्नु खतरनाक कल्पना मात्र हुन्छ । त्यसले मानव जातिलाई निमिट्यान्न पार्ने विश्वव्यापी तापआणविक युद्धको खतरा बढाउनेछ । यसको अर्थ तेजोबध नीतिमा चुर्लुम्म डुबेका विश्वका प्रमुख आणविक विश्लेषकहरू पागलपन प्रसार गर्दै छन् । आणविक युद्धका रणनीतिकारहरू युद्धपछि पनि आफू बाँच्ने स्वाङ पार्दै छन् । आजभोलि विश्वव्यापी तापआणविक युद्धले जुन अर्थ दिन्छ, म्याड योजना त्योभन्दा नरम रहेको अहिले हामीलाई थाहा छ । परस्पर निर्धारित विनाश (म्याड) भनेको दुवैतिरका करोडौँ जनता नष्ट हुनु हो । तर, आणविक हिउँद भनेको पृथ्वीबाट मान्छे नै नामेट हुनु हो ।
तेजोबध रणनीति भनेको पहिले हमला गर्ने क्षमता बढाउनु वा आणविक वर्चस्व कायम गर्ने भोक हो । यसले गर्दा आणविक हतियार थुपार्ने होडबाजी बढ्दै जान्छ । यसले म्याडजस्ता योजनाहरू टार्ने आशा लिइन्छ । वास्तवमा त्यसले मानव जातिलाई कालको मुखमा धकेल्दै पनि लग्छ । आणविक हतियारहरूको सङ्ख्या सीमित नै भए पनि खासगरी अमेरिकी आणविक गठ्ठाघरको कथित ‘आधुनिकीकरण’ तेजोबध गर्ने शक्ति बढाउन र पहिले आक्रमण गर्न सक्ने बन्नलाई गरिन्छ । त्यसकारण वासिङटन एबीएम सन्धि र मध्यम दूरीको आणविक मिसाइल सन्धिजस्ता आणविक सन्धिहरूबाट बाहिरियो । यी सन्धिले तेजोबध हतियारको विकास रोक्ने र आणविक वर्चस्व कायम गर्ने पेन्टागनको भोकमा हस्तक्षेप गर्ने ठानियो । वासिङटन यी सबै सन्धिहरूबाट बाहिरियो । तर आणविक हतियारहरूको सङख्या सीमित गर्ने कुरामा ऊ राजी भयो किनभने त्यतिबेला खेल अर्कै तरिकाले खेलिएको थियो । अहिले अमेरिकी रणनीति मूल्यबधमा भन्दा पनि तेजोबधमा केन्द्रित छ ।
यी सबै कुरा छोटो समयमा बुझ्न गाह्रो छ । तर संरा अमेरिका वा नाटोको साम्राज्यवादी ठूलो योजनाका दुई पक्ष छन् भनी बुझ्नु महत्वपूर्ण छ । क्रेमलिनले आफूमाथि खतरा किन देख्यो, अहिले लिएको कदम किन लियो र यो छद्म युद्ध विश्वकै लागि हानीकारक किन छ भनी बुझ्न यति कुरा हामीले बुझ्नैपर्छ । निष्कण्टक विश्व वर्चस्वका लागि भएका यी सबै चलखेलले हामीलाई विश्वव्यापी तापआणविक युद्ध र मानवसंहारको मुखमा धकेलेको कुरा अहिले हामीले मनमा लिन आवश्यक छ । समस्याको एउटै उत्तर छ । शान्ति, पर्यावरण र समाजवादको पक्षमा विश्वभरि जनआन्दोलनहरू उठाएर यस्तो उत्तर दिन सकिन्छ ।
समाप्त
(The US Proxy War in Ukraine)
-MROnline
अनुवादः आर. सुरेश

Leave a Reply

Your email address will not be published. Required fields are marked *