भर्खरै :

के सबै यथार्थवादी साहित्य प्रगतिशील हुन्छन् ?

प्रगतिशील साहित्य यथार्थवादी हुन्छ तर सबै यथार्थवादी साहित्य प्रगतिशील हुँदैनन् । यथार्थवादी साहित्य र आदर्शवादी साहित्यको बीचमा कुनै एक खास हिमालय, पहाड उभिएको छैन । कुनै पनि साहित्य तत्कालीन समयको दर्शन, राजनीति र समाज व्यवस्थामा आधारित भएको हुन्छ । दास युग र सामन्ती युगको मध्यमा अध्यात्मवादी दर्शनको आधारमा दास मालिक र सामन्तवर्गले कमारा र अर्ध–कमारा र अरू वर्गमाथि हुकुम चलाउथे । त्यसबेलाको साहित्यमा देवी–देवता र परीहरूका काल्पनिक कथा र राजा–महाराजाका कथाहरू लेखिन्थे । तर, ती सबै कथाहरू पूर्णतया काल्पनिकमात्र होइनन्, त्यस युगका साहित्यमा त्यसबेलाका यथार्थ चित्रहरू पनि पाइन्छन् । ईश्वर, स्वर्ग, देव–देवताको अज्ञात शक्तिको काल्पनिक र रहस्यमय कुराहरूजस्ता अयथार्थ कुराहरू लेख्छन् भने अर्कोतिर राजसत्ताको विषयमा बाबु र छोरा, दाजु र भाइको सङ्घर्ष, दास मालिकका कमारा– कमारीहरूमाथि आफ्नो एकछत्र प्रभुत्व, बहुपत्नी व्यवस्था, आईमाईलाई वस्तुसरि बेचबिखन गर्ने चलन सम्पत्ति र राजसत्ताको निम्ति आफ्नै गोत्रमा हुने हिंसात्मक भिडन्तले त्यसबेलाको यथार्थ चित्र दिन खोज्छ । रामायण र महाभारत यसका उदाहरण हुन् । कुन्तीको कथाले त्यस समयको मातृसत्ता र द्रौपदीको कथाले समूह विवाह, कृष्ण र गोपनीहरूको कथाले कमारी (दास) हरूमाथि मालिकको हुकुम र पितृसत्ताको सङ्क्रमणको युगलाई सङ्केत गर्छ । तर, जेहोस्, ती साहित्य दास मालिक र सामन्तहरूकै गुण–गान गर्न लेखिएका हुन् । त्यसकारण, यो जनताको पक्षको साहित्य होइन । जनताको पक्षमा नलेखिएको साहित्य प्रगतिशील हुनसक्दैन ।
युरोपको समाजमा अध्यात्मवादी दर्शन र सामन्तवादी युगको दबदबा छँदा विज्ञान र तल्लो समाजको वास्तविकतासँग साहित्य त्यतिकै टाढा थियो । पृथ्वी गोल छ भनेर सिद्ध गर्नु अपराध हुन्थ्यो र दूरबिन राक्षसको यन्त्र सावित हुन्थ्यो । तर्क, विज्ञान, सत्य र यथार्थले विषपान गरेर मृत्युलाई अँगाल्नुपर्दथ्यो । तर, सामन्तवादभित्र पुँजीवादको पेट बोक्न थाल्दछ । उत्पादन शक्तिमा फेरबदल हुन थाल्दछ । उद्योगको विकास हुन थाल्दछ । समाजमा पुँजीपति र मजदुरवर्गको उदय हुन थाल्दछ । अध्यात्मवादी दर्शनको विरोधमा भौतिकवादी दर्शनले प्रबलता पाउन थाल्दछ । दैवी सिद्धान्तको ठाउँमा सामाजिक सम्झौताको सिद्धान्तले ठाउँ लिन थाल्दछ । साहित्य अब भौतिकवादी दर्शनअनुरूप नै अगाडि बढ्न जान्छ । मतलब यथार्थवादी दृष्टिकोणको विकास हुन्छ । सामन्त र ठूला–बडाको ऐस–आराम, अल्छी, झक्की, अहङ्कारी र चरित्रहीनता र शोषणको भन्डाफोर हुन थाल्छ । यसकारण, त्यसबेलाको यथार्थवादी र पुँजीवादी साहित्य त्यस युगको तुलनामा प्रगतिशील थियो । तर, त्यही कुरा यथार्थवादको नाउँमा आज यहाँ दोह¥याइन्छ भने त्यो प्रगतिशील नहुन पनि सक्छ ।
औद्योगिक क्रान्तिले पुरानो समाजलाई पूरै ध्वस्त पारिदियो । पुरानो सामन्ती रीतिरिवाज र भावुकतालाई चकनाचुर पारिदियो । धार्मिक र राजनीतिमा लुकेको अन्याय, अत्याचार र शोषणलाई पुँजीवादले नाँगो पारिदियो । अब साहित्यले पनि नयाँ पुँजीवादी समाज र पुँजीपतिवर्गको यथार्थ चित्रण गर्न थाल्यो । सामन्ती प्रभुहरूको जस्तै यिनीहरूको पैसामा बिकिने नैतिकतालाई उदाङ्गयाइदियो । यसप्रकार, यथार्थवादी साहित्यले झन्झन् जग बसाल्न थाल्यो ।
तर, पछि यथार्थवादी साहित्यको एउटा हाँगा समाजको यथार्थ चित्रण गर्ने नाउँमा यौनवाद र छाडावादतिर लाग्यो, जसको प्रतिनिधित्व पुँजीवादी साहित्यले गर्यो । यो यथार्थवादी साहित्य भए पनि प्रगतिशील साहित्य हुन्न । अर्को हाँगा जनताको आर्थिक जन–जीवनको चित्रण गर्दै पुँजीवादी समाजको कुरा पत्ता लगाई उदाङ्गयाउन थाल्यो । मजदुर र किसानहरूको पक्षमा लेख्न थालियो । यो प्रगतिशील साहित्य हो ।
माथिका यी कुराहरूले प्रस्ट गर्छ कि यथार्थवाद स्वयम् सदा प्रगतिशील रहन्न । दास युग र सामन्त युगको काल्पनिक र बेकारका साहित्य दास मालिक तथा सामन्तहरूको गुणगान भन्दा पुँजीवादको उदाउँदो युगमा पुँजीवादी साहित्यकारहरूले यथार्थ जीवनको आधारमा लेखिएको साहित्य पुरानोको दाँजोमा अगाडि बढेको भन्नुपर्छ । दार्शनिकरूपले अध्यात्मवाद कल्पनामा उड्थे भने भौतिकवाद जमिनमा हिँड्छ, साहित्यिकरूपले दास मालिक र सामन्तहरूको गुणगानभन्दा मध्यम र पुँजीपति वर्गको गुणगान नयाँ वर्ग र बहुसङ्ख्यकको पक्षमा हुन्छ । यसकारण, त्यो प्रगतिशील थियो पुरानो साहित्यको दाँजोमा ।
तर पछि पुँजीवादको विकास देखेपछि मध्यमवर्गले पुँजीवाद र पुँजीपतिवर्गको भन्डाफोर गरिदिन्छ, त्यो प्रगतिशील कुरा हो । तर, पछि यथार्थवादी साहित्यको नाममा यौनवादी साहित्यको रचना गर्न थाल्यो । यो यथार्थवादी भए पनि जनमानसलाई बिदुल्याउने भएको हुनाले यो अप्रगतिशील साहित्य हुन्छ ।
पुँजीवादी व्यवस्थाले नै सर्वहारा वर्गलाई जन्माउँछ । भौतिकवादी दर्शनको ठाउँमा द्वन्द्वात्मक भौतिकवाद र माक्र्सवादको निर्माण हुन थाल्दछ । माक्र्सवादले पुँजीवादी व्यवस्था र त्यसको तमाम बनावटमाथि प्रहार गर्न थाल्दछ । साहित्यले मजदुर वर्गको पक्षमा कलम उठाउन थाल्दछ । पुँजीवादी र तल्लो पुँजीवादी विचारधारा र नैतिकतामाथि पनि प्रहार सुरु गर्छ । सर्वहारा क्रान्तिले समाजवाद ल्याउँछ । समाजवादको उदयपछि पुँजीवादी युगको साहित्य जतिसुकै यथार्थवादी होस्, प्रगतिशील हँुदैन । पुँजीवादको पतनपछि पुँजीवादी यथार्थवादी साहित्यलाई प्रगतिशील भन्नु त मरेको बाघको जँुगा समात्नेलाई वीर भन्नु जत्तिकै हास्यास्पद हुनेछ । यसकारण, सबै यथार्थवादी साहित्य प्रगतिशील हुँदैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *