भर्खरै :

“जनताको सेवाका लागि नेमकिपाले निर्वाचनको उपयोग गरिरहेको छ”

भक्तपुर, १० वैशाख । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं सांसद प्रेम सुवालले नेपाल मजदुर किसान पार्टीले जनताको राजनीतिक चेतनास्तर उठाउन र निःस्वार्थरूपमा जनताको सेवा गर्न निर्वाचनलाई उपयोग गर्दै आएको बताउनुभएको छ ।
नेमकिपा भक्तपुर नगरपालिका साविक वडा नं. ५ एकाइ समितिको आयोजनामा सम्पन्न कार्यकर्ता भेलामा सचिव सुवालले नेमकिपाले स्थापना कालदेखि नै समाजमा आमूल परिवर्तन ल्याउनका लागि काम गरिरहेको बताउनुभयो ।
सरकारले देशमै युवाहरूलाई रोजगार दिने र देशको समग्र विकास गर्ने नीति नलिँदा आधा करोडभन्दा बढी युवा विदेशी भूमिमा रगत पसिना बगाउन बाध्य भइरहेको बताउँदै उहाँले नेपाल सरकार र शासक दलहरूले नेपाली युवा–युवतीहरूलाई भेडाबाख्रासरि बेचिरहेका छन् भन्नुभयो ।
शासक पार्टीका नेताहरूले जनतालाई ठग्ने कार्य गरिरहेको चर्चा गर्दै उहाँले उनीहरूले नेपाली जनता र मतदाताहरूलाई मान्छे नै गन्न छोडेको प्रस्ट पार्नुभयो ।
देश र जनताको हितभन्दा विदेशी एकाधिकार पुँजीको स्वार्थलाई महत्व दिने र देशको सार्वभौमसत्ता गुम्ने एमसीसी सम्झौता पारित गर्ने शासक दलको पक्षमा नेपाली जनताको नभएको उहाँले स्पष्ट पार्नुभयो ।
भेलामा नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय उपाध्यक्ष गोविन्द दुवालले सबै पार्टी एकैखाले र एउटै भनी गरिरहेको दुष्प्रचार सही नभएको बताउँदै नेमकिपा न्यायप्रेमी र कामदार वर्गका जनताको पक्षमा स्थापनाकालदेखि निरन्तर सङ्घर्ष गर्दै आएको पार्टी भएको स्पष्ट पार्नुभयो ।
अबको निर्वाचन देशघाती र देशभक्तहरू तथा भ्रष्टाचारी र इमानदारहरूको बीचको लडाइँ हुने बताउँदै किसान नेता दुवालले देशको सार्वभौमिकता जोगिएन भने भावी पुस्ताले दुःख पाउने छन् भन्नुभयो ।
उहाँले देशको नदीनाला भारत र विदेशी कम्पनीहरूको हातमा सुम्पेका र एमसीसी सम्झौता पारित गरेका नेका, एमाले, माओवादी, राप्रपाजस्ता पार्टीहरू देशद्रोही वा देशघाती विदेशी दलाल भएको स्पष्ट पार्दै पार्टीहरूको आश्वासन होइन काम र व्यवहारलाई हेरेर जनताले मत हाल्नुपर्ने विचार व्यक्त गर्नुृभयो ।
भेलामा नेमकिपा भक्तपुर नगर समितिका प्रतिनिधि नारायणप्रसाद त्वानाबासुले नेमकिपाबाट निर्वाचित जनप्रतिनिधि र कार्यकर्ताहरूले निःस्वार्थरूपमा निरन्तर जनताको सेवा गरिरहेको बताउनुभयो ।
भनपा वडा नंं. ६ का वडाध्यक्ष हरिराम सुवालले भक्तपुर नगरपालिका र वडा कार्यालयले पाँच वर्षमा गरेका मुख्य मुख्य कार्यहरूको विवरण प्रस्तुत गर्दै ती सबै कार्यमा नगरवासीहरूको साथ र सहयोग रहेको उल्लेख गर्नुभयो ।
आयोजक समितिका अध्यक्ष जीआर थुसाले देश बचाउने र देशको हित जोगाउने सङ्घर्ष र आन्दोलनमा नेमकिपा सदैव अग्रमोर्चामा रहेको बताउँदै नेमकिपालाई विजयी बनाउनु देशभक्त जनताको कर्तव्य हो भन्नुभयो ।
कार्यक्रममा आयोजक समितिका रमेश सितिखुले पनि बोल्नुभएको थियो । भेलाले गोपीकृष्ण चाँगुभारीको संयोजकत्वमा नेमकिपा साविक वडा नं. ५ निर्वाचन परिचालन समिति गठन ग¥यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *