भर्खरै :

कविताहरू

म नेवार

— चन्द्रबहादुर उलक
म नेवार !
उपत्यकाको हकदार,
कहिल्यै राजा हुन नपाएको
हिजो पनि प्रजा
आज पनि प्रजा नै बनेको,
असीमित खुसी बोक्ने,
रिस खप्न नसक्ने,
कला र संस्कृतिले देश सिङ्गार्ने
भाषा र साहित्यको ढुकुटी भर्ने,
मुठीभरि सीप बोक्ने
मुटुभरी सिर्जनाका फूलहरू फुलाउने
यद्यपि, कसैले मान्यता नराखेको
सदा सवर्दा शासक वर्गको आँखाको धुलो बनेको
म नेवार ।

प्रत्येक महिना पर्व र जात्रा मनाउँछु,
एक टुक्रो मासु पाएपछि दशैँ सम्झन्छु,
एक बटुको रक्सी पाएपछि
पाहाँचह्रे (घोडेजात्रा) सम्झन्छु
ज्यालाविहीन ज्यामी हुँ म ।
मैले आमासँग मम्मी साटेको छु/बुबासँग ड्याडी,
साटेको छु मैले काकासँग अङ्कल/काकीसँग अन्टी ।
मलाई नेवारी भोज मनपर्दैन–
पार्टी मनपर्छ,
ज्यःना (बिहानको खाना) मनपर्दैन,
बेलि (बेलुकाको खाना) मनपर्दैन,
लन्च र डिनर मन पराउँछु,
कउला (बिहानको खाजा) मनपर्दैन
बजि (दिउँसोको खाजा) मनपर्दैन
ब्रेकफास्ट र स्नाय्क मन पराउँछु ।

जन्मदिनको सगुन मनपर्दैन
हिउँभन्दा चिसो केक
काट्दै ‘हाय्पि वर्थ डे टु यु’
गीत गाउन मन पराउँछु ।

बिगतमा –
सुकुन्दा बाली भाग्य चम्काउँथेँ
जन्मदिनमा,
आजभोलि बलिरहेको मैनबत्ती
एकसासले निभाउँदै
भाग्य धमिलो पार्ने गरेको छु,
मेरो संस्कृति जोगाउन
आवाज बुलन्द पार्ने गरेको पनि छु ।

मैले पुर्खाको घर बेचेको छु/खेत बेचेको छु
धनको लोभमा आफ्नो गाउँ बेचेको छु/ठाउँ बेचेको छु,
बेचेको छु मैले आफ्नो भाषा र भेष पनि
हिजो आज म,
आफ्नो गाउँ खोज्दै छुु/ठाउँ खोज्दै छु
आफ्नो भाषा र भेषको महत्व बुझ्न थालेको छु
साथै, म मेरो देशमा मेरो राज्य खोज्ने भएको छु ।
(नेपालभाषा कविताबाट अनुदित)
……………
शब्दको जिन्दगीमा निम्तिने पिर

— सत्यराम कासिछ्वा
शब्द व्यक्तिको जिन्दगी
जिन्दगीको हरक्षणमा शब्द व्यवहार
दुःख पीडामा कहिले हास्य त कहिले व्यङ्ग्य
त्यसैमा हुन्छ शब्दको व्यवहार
उमङ्ग रोमाञ्चकतामा नि शब्दको रस
जीत र उल्लासको भावमा नि
हुन्छ जीवन सार्थक बनाउन शब्द !

जबसम्म हुन्छ संसार
तबसम्म हुन्छ शब्द व्यवहार
प्रजातन्त्रको उदय होस् या निरङ्कुशताको अन्त्य
त्यसको लागि चाहिन्छ शब्दको व्यवहार
विश्वमा युद्ध वा शान्ति
त्यो नि शब्दकै करामत
आज युक्रेन रसियाको युद्ध
शब्द व्यवहार नमिल्दाको परिणाम !

जनता शब्दका सर्जक
जनताको आकाङ्क्षा, मनोभाव आवश्यकता नै
शब्द सिर्जनाको आधार
सिर्जित शब्दको अपेक्षा
हुने गर्छ व्यवहारमा परिवर्तन
अनि परिवर्तनको लागि मापन
चुनाव वा क्रान्ति !

यहाँ शब्दको होइन चुनाव
जसले बढी खर्च उही उम्मेदवार
जसले पैसा बाँडफाँड
जीत उसैको पोल्टामा
शब्दहरू नोटमा चल्बलाउन थाल्दा
शब्दको भोटमा व्यापार
यहीँ व्यापारले लियो
पिरको जन्म !

क्रान्ति नेतृत्वको अवस्थामा
परिवर्तनको लागि भयो व्यापार
निमुखाको रोजीरोटीले आज
शिक्षा दिन नसकेको पिर
शिक्षा जीवन्त नहुँदा
विदेश पलायनको पिर
आधारभूत आवश्यकता गर्न नि
सर्वसाधारण जनताको पिर
पिरको चिरकालीन अवस्थाले
नेतृत्वको नहोस् शिर छेदनको चित्रण !
……………….
बम खसाल्ने ठाउँहरू

—रानाजी
(दृश्यः नयाँबानेश्वर । समयः अपराह्न, २०७८ फागुन १५ । हजारौँ, होइन लाखौँ, किनभने आइरहन्छन्, गइरहन्छन् पसिना बेच्न जम्जमाइरहेका बेरोजगार युवाहरू । आक्रोशित समाज, बाल–वृद्ध, छात्रा र कामदारहरू पनि रातो झन्डा उचालेर बम्किरहेका । एउटा कामरेड, किन कामरेडै ? किनभने काङ्ग्रेसलाई बोल्न आउँदैन, पढ्न पनि आउँदैन । यो लाछी समय देखेर एउटा भरिलो कामरेड बोल्न थाल्छः (बोल्नुमात्र त हो रहेछ के) समृद्धि, सङ्घीयता, सार्वभौम, सुख सबै आएको उनीहरूकै लागि । देशदोहन बेसरी दौडिरहेछ, सिटामोलचाहिँ सकियो । ललिता निवास छ, सुनका थालहरू छन्, ओम्नी समूह छ, ओमिक्रन छ, बतास आएर गयो, मूकदर्शकहरूको घुइँचो यो कविताभन्दा धेरै लामो)

ऊ धड्याम्म पड्कियोः

घनले बेस्मारी हान र
चिराचिरा पारिदेऊ
खुमलटारमा
गाडधन उघ्राइरहेको
दाउद इब्राहिमको टाउको ।

तारेभिरको जङ्गलबाट
ठोक ग्रिनेट
र उडाइदेऊ
बुढानीलकण्ठ दरबार !
यही नै भ्रष्टाचारको दृश्य प्रमाण हो ।

ढालिदेऊ अब
सिंहदरबार पनि
धेरै बदनाम भइसक्यो ।

समय–समयमा
सलबलाइरहन्छ
धमिलो पानीमा
मुर्कट्टाको पुच्छर
र जुर्मुराइरहन्छ
सामन्तको श्रीपेच
बुढेसकालको वृथा बिहा ।

सहस्र तोप पड्काऊ
र भत्काइदेऊ
स्वाधीनताको कारागार
लैनचौरको भूतावास ।
अस्मिताको यो खडेरीमा
फोडिदेऊ फोहरा दरबार ।

हान बज्र र
चकनाचुर पार
बर्नस्टिनको बल्खु दरबार ।

अदम्य साहसका सैपाल
जोधाहा युवाहरू
उठ ! आलिङ्गनबाट
समाऊ जोडले
विजयश्रीको लगाम ।

तिम्रो छेउमै तम्तयार छ
सामलको डोको
पिठो, नुन र खुर्सानी
हत्केलाभरि युरेनिअम
झोलाभरि डाइनामाइट ।
अति भयो नाङ्गो नाच !

(त्यही दिन अग्रगामी कम्युनिस्टहरूले टेको लगाएको सार्वभौम प्रतिनिधिसभाको बहुमतले एमसीसी सम्झौता पारित ग¥यो, श्रद्धाञ्जली !)

(फेब्रुअरी २०२२, सानोथिमि)

Leave a Reply

Your email address will not be published. Required fields are marked *